सुनसरी । कवि विमल गुरुङ स्मृति पुस्तकालयले कविता तथा नेपाली भाषाका कृति आह्वान गरेको छ । आगामी कात्तिक १९ गते आयोजना हुने ३५ औँ राष्ट्रिय कविता महोत्सवका लागि कविता तथा ‘विमल गुरुङ कृति पुरस्कार’का लागि नेपाली भाषाका कृति आह्वान गरिएको हो ।
मङ्गलबार धरानमा बसेको पुस्तकालय सञ्चालन समितिको पूर्ण बैठकले कविता महोत्सवमा सहभागी हुन कविता र कृति पुरस्कारका लागि पुस्तक आह्वान गर्ने निर्णय गरेको हो ।
पुस्तकालय सञ्चालन समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोका अनुसार पुस्तकालयमा औपचारिक रूपमा दर्ता भएका कृतिमध्ये निर्णायक मण्डलले उत्कृष्ट १० कृति छनोट गर्नेछ । तीमध्ये एक उत्कृष्ट कृतिलाई ताम्रपत्र, दोसल्ला र नगद २ लाख रुपैयाँसहित ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिनेछ ।
यसअघि उक्त पुरस्कार बेलायत निवासी नरेश काङ्माङ राईको कविता सङ्ग्रह ‘तेप्लायु’, गोरखाका चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’, भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’, इलामका निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘शब्दथुम’ तथा सञ्चारकर्मी एवं आख्यानकार बसन्त बस्नेतको ‘सिमसारा’ ले प्राप्त गरिसकेका छन् ।
पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले कृति पुरस्कारका लागि २०८२ सालभरि प्रकाशित आख्यान तथा गैरआख्यान विधाका सबै कृतिलाई समावेश गरिएको जानकारी दिनुभयो । नेपाल तथा विदेशमा रहेका लेखक, कवि तथा साहित्यकारहरूले नेपाली भाषामा प्रकाशित कृतिका चार प्रति आगामी असोज १५ गतेभित्र पुस्तकालयमा दर्ता गरिसक्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट ठहरिएका कवितामध्ये प्रथमलाई स्वर्ण पदकसहित २१ हजार रुपैयाँ, द्वितीयलाई रजत पदकसहित १९ हजार रुपैयाँ र तृतीयलाई कास्य पदकसहित १८ हजार रुपैयाँ प्रदान गरिनेछ ।
कविता महोत्सवमा सहभागी हुन इच्छुकले आफ्ना कविता पुस्तकालयको आधिकारिक इमेल (bimal1234gurung@gmail.com) मा पठाउनुपर्ने समितिले जनाएको छ ।
उक्त अवसरमा नगद १० हजार रुपैयाँसहित एक जना युवा स्रष्टालाई ‘विमल गुरुङ स्मृति पुस्तकालय प्रतिभा सम्मान’ पनि प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
सञ्चालन समितिका अनुसार कृति पुरस्कार, प्रतिभा सम्मान तथा राष्ट्रिय कविता महोत्सवका विजेताहरूलाई कवि विमल गुरुङको ५५ औँ जन्मजयन्तीका अवसरमा कात्तिक १९ गते आयोजित विशेष समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

