यो संसारभित्र के छ भनेर मलाई कसैले सोध्यो भने म भन्छु यहाँ करोडौँ संसार छन्, हजारौँ युग छन् अनि लाखौँ करोडौँ जीवन छन् । अर्थात् यो संसार, संसारहरूको महासंसार हो । युगहरूको महायुग हो । जीवनहरूको महाजीवन हो । दृश्य हुन् वा अदृश्य, सजिव हुन् वा निर्जीव सबै अस्तित्व र अर्थ भएका यौटै आकाशको छहारी र यौटै धर्तीको काखमा रहेका सृष्टिका अकल्पनीय संरचना र तिनका अंश आफैँमा छुट्टाछुटै संसार हुन् । धर्मशास्त्रले प्रत्येक वस्तुका कणकणमा ऐश्वरीय आत्मा र चैतन्यको संसार देख्यो, विज्ञानले प्रत्येक अणु र परमाणुभित्र छुट्टै संसार भेट्यो । भौगोलिक सिमानाले संसारलाई सीमारेखामा कहाँ बाँध्यो र ? यहाँ युग फेरिइरहन्छ, जीवन परिवर्तन भैरहन्छ अनि नयाँ संसार बनिरहन्छ । त्यसैले होला यो चराचर जगतमा सबैको आ-आफ्नै संसार छ । सबैको आ-आफ्नै अस्तित्व र अर्थ छ । सबै स्वत:स्फूर्त छन्, स्वच्छन्द छन्, सबैका आ-आफ्ना विशेषता छन्, विशिष्टता छन् र विविधता छन् । आकाशको आफ्नै संसार छ, धर्तीको आफ्नै । घामको आफ्नै संसार छ, जूनको आफ्नै । प्रकृतिको आफ्नै संसार छ अनि प्रकृतिका कृतिको आफ्नै । पृथ्वी एउटै छिन् तर रूप अनेक छन्, रङ्ग अनेक छन्, पृथ्वीका अङ्ग अनेक छन् अनि यी सबै अङ्गका आ-आफ्नै संसार छन् । माटोको आफ्नै वैशिष्ट्य छ, ढुङ्गाको आफ्नै, बालुवाको आफ्नै । यही विशिष्टताभित्र विविधता छ, यही विशिष्टताभित्र बौद्धिकता छ, अनि सौन्दर्यताको संसार।
पृथ्वीको यही यौटा भूमिभित्र म मानव संसार जस्तै करोडौँ संसारहरू फैलिएको देख्छु । कहीँ मैले पढ्ने बाह्रखरीको बगैँचाभित्र शब्दैशब्दले भरिएको सिंगो संसार देख्छु । कहीँ मैले गट्टा खेल्ने ढुङ्गाभित्र भावैभावमा फैलिएको भावको संसार देख्छु । बुझेर कहाँ बुझ्न सकिन्छ र ? जति बुझ्न खोज्यो त्यति नै फैलन्छ संसार, आकाश जस्तै तन्किरहने । कमिलाको संसार नै बुझ्न कठिन छ अनि हात्तीको संसार कहाँ बुझिन्छ र ? यही संसार कहीँ मरुभूमि भयो, कहीँ हरियाली भयो, कहीँ जलाशययुक्त भयो, कहीँ पहाड पवर्तले भरियो, कहीँ हिमाल अनि खोच, बेँसी, मैदान र फाँटले ढाकियो । मानव शरीरका बाह्य अङ्गजस्तै पृथ्वीका बाह्य अङ्ग हुन सक्छन् यी विशाल रूपहरू । पृथ्वीको यस्तै एउटा विशिष्ट रूप हो मरुभूमि- जहाँ प्रकृतिले प्रकृतिलाई नै एक्लो बनाएको छ, जहाँ जीवनले जगत र जगतले जीवन खोजिरहेछ । जहाँ पानी हराएको छ, माटो हराएको छ, वन जंगल र हरियाली हराएको छ तर त्यहीभित्र सुन्दर बालुवाले सजिएको, भरिपूर्ण, रङ्गीन, रसिक, लोकप्रिय, कलात्मक अनि ऐतिहासिक संसार फैलिरहेको छ ।
दृश्यमा नअटाउने बालुवाका सुनौला थुम्काहरू, भन्ज्याङ्ग र समथर मैदानहरू (जसलाई अंग्रेजीमा स्याण्ड ड्यून्ज् भनिन्छ ) प्रकृतिले प्रदान गरेका मरुभूमिका उत्कृष्ट सृजनाहरू हुन् । हावाको अकल्पनीय कलाकारिताबाट बालुवाको सुन्दर संसार निर्माण हुन्छ । अविभाज्य देखिने सुक्ष्म कणहरू एक आपसमा यसरी एकीकृत देखिन्छन् कि, सिङ्गो दृश्य एउटै चट्टानझैं लाग्छ । यो अद्वितीय कला हावाका प्रत्येक बहावहरूमा निर्भर रहन्छ । कति परिश्रमी, पराक्रमी र कलामा निपुण छ हावा ? कति स्फूर्त र चञ्चल छ बालुवा अनि कति प्रिय छ रोशनी ? यिनीहरूकै कला र शक्ति समिश्रणबाट नयाँ कलाको जन्म हुन्छ । वक्र आकारमा सजिएका कुनै नागबेली जस्ता धारिला पहाडी रेखाहरू, कुनै चन्द्रमाको स्पर्शले जमिनमा कोरिएका अर्धचन्द्र आकारमा निर्मित थुम्काहरू, कतै नौलाखे तारालाई प्रतिबिम्बित गर्ने समथर फाँटहरू, पहाडको तलदेखि माथिसम्म खेतका आलीजस्ता देखिने गह्रा र बुट्टेदार बारीका पाखाहरू हावाले बालुवासँग लुकामारी खेल्दा कुँदेका प्राकृतिक चित्रहरू हुन् । हावाको चाँप र वेगसँगै यिनीहरूको स्वरुपमा पनि परिवर्तनको पुनरावृत्ति भैरहन्छ । बालुवाको समुद्र हुनसक्छ यो । यिनीहरू समुद्रको छालझैँ कहिले उठ्छन् त कहिले बस्छन् अनि कहिले छिन्नभिन्न भई क्षणभङ्गुरतामा परिणत हुन्छन् । यी लोभलाग्दा ड्यून्जहरू बनाउन हावा र बालुवाका कति इन्जिनियरहरू अहोरात्र खटिएका होलान् ? दुनियाँलाई के थाहा ? यी नै सूक्ष्म सुन्तला रङ्गका कणहरू बुर्कुसी मार्दै एकसाथ जमिनबाट आकाशतर्फ उडेपछि हावा चलेको संकेत हुन्छ । कहिलेकाहीँ यी सूक्ष्म कणहरू बालुवाको आँधीबेरी बनेर नाचिरहेका हुन्छन् । तथापि यो प्रकृतिको अनन्त यात्रा हो । सूर्यका किरणहरूसँगसँगै यी बालुवाका थुम्काहरूमा सौन्दर्यको पर्दा उघ्रिन्छ र लालित्यता छाउँछ । अनि सूर्यास्तसँगै गोधूलि साँझमा चाँदनीको शीतल छहारीमा सुन्तला र बैजनी रङ्गको विशाल पछ्यौरी बनी , काला चट्टाने पहाडको शिखरबाट जान्छ ।
यो संसार विचित्रताको चित्र हो । यहाँ हरेक प्राणी, जीवजन्तु र वनस्पतिको रूप फरक फरक छ- रङ्ग फरक छ, प्रत्येकको गला फरक छ, कला फरक छ, कोहीसँग कसैको मिल्दैन किनकि स्वयं सृष्टि अदभूत अनि अथाह छ । पृथ्वी एउटै छिन् तर बनावट फरक छ । कतै जलाशयको भण्डार- समुद्र, सागर, महासागर, कतै कञ्चन हिमश्रृङ्खलाहरूको अविछिन्न अभ्युदय, कतै रमणीय त कतै कहालीलाग्दा पहाडहरूको जमघट, कतै हरियाली समथर घाँसे मैदान, उपत्यका र फाँट अनि कतै सुख्खा मरुभूमि र नाङ्गा चट्टाने पहाडहरूको उपस्थिति, पृथ्वीका बाहिरी आकृतिहरू हुन् । पृथ्वीका प्रत्येक प्राणी, जीवजन्तु, वनस्पति र पर्यावरणमा आ-आफ्नै कला, सौन्दर्य र वैशिष्ट्य रहेको छ, तर यो सुन्दरताको अनुभूति गर्न सौन्दर्यको गहिराईमा डुब्नुपर्छ । म सुन्दरता आवरणमा होइन, अन्तरहृदयमा देख्छु, भावनामा देख्छु, शुद्ध विचार र आत्माको गहिरो अनुभूतिमा देख्छु । सत्य र यथार्थमा देख्छु अनि सौन्दर्य, हेर्ने दृष्टिकोणमा देख्छु ।
हिमालको आफ्नै सौन्दर्य छ, पहाडको आफ्नै । समुद्रको आफ्नै छ त झरनाको आफ्नै । मरुभूमिको आफ्नै सौन्दर्य छ त हरियालीको आफ्नै । आ-आफ्नै सौन्दर्यले सजिएका प्रकृतिका रत्नहरू न कहिल्यै खुइलेर जान्छन्, न ओइलेर नै । यस्तै मरुभूमिको सौन्दर्य बोकेर बसेको बालुवाको संसार, त्यसमा पनि रातो बालुवा धर्तीको एक अलौकिक उपहार हो । सूर्यको प्रचण्ड तापमा चम्कन सक्ने, कठोर धरातलमा मोहनी छर्न सक्ने, मरुभूमिमा भोक, तिर्खा, थकाई र तनावलाई बिर्साउने, छुट्टै संसारको अनुभूति दिलाउने, उत्साह र उमङ्गको तृष्णा मेटाउने रमणीय संसारको दृश्यावलोकन गराउने सुनौला बालुवाका पहाडहरू साँच्चिकै प्रकृतिका कलात्मक नमुना हुन् । पृथ्वीका हड्डी जस्ता देखिने कुनै सुन्तला रङ्गका, कुनै डढेलोले खाएजस्ता, कुनै आगोको ज्वालोजस्ता अनि कुनै तीखा र धारिला त्रिशूल बनेर नि:शब्द उभिएका तर भावैभावले भरिएका रंङ्गीविरङ्गी नाङ्गा पहाडहरू मरुभूमिको सौन्दर्यका पहरेदार सिपाही हुन् ।
दुनियाँले मरुभूमिको यात्रालाई ‘डेजर्ट सफारी’ भन्ने गरेको छ । यही मरुभूमिको सौन्दर्यावलोकन गर्न संसारबाट पर्यटकहरूको भीड लाग्ने गर्छ । यहाँ रातो बालुवासँग मान्छेले मरुभूमिको सुखानुभूति प्राप्त गर्छ । बालुवाका पहाड र खोँच अनि मैदानहरूमा चारपाङ्ग्रे मोटरसाइकल -क्वाड बाइक र बालुवामा गुड्ने थरिथरिका गाडीहरूमा आफूलाई यात्रा गराई पर्यटकहरूले बालुवासँग स्पर्श गर्छन् र सौन्दर्यानुभूति प्राप्त गर्छन् । गाडीका पाङ्ग्राहरूले उडाउने बालुवाको इन्द्रेणी आकारको दृश्यमा आफूलाई कैद गर्दै पर्यटकहरू बालुवाको अन्तस्करणमा प्रवेश गर्छन् । पाउदेखि शिरसम्म बालुवाले आफूलाई स्पर्श गराउने, बालुवासँगै उड्ने, बालुवासँगै गुड्ने, अतृप्त तृष्णालाई तृप्त पार्दै अनन्तसम्म बालुवाको संसारलाई नियालिरहन्छन् । कति कञ्चन, मुलायम र कति सुन्दर छ बालुवा ? न धुलो न मैलो, हत्केलामा राखेर हेर्दा सुनका दानाजस्ता देखिने बालुवाका कणहरू शरीरमा सुनका सिताराझैं सजिएका हुन्छन् । कसरी बने अनि कहाँबाट आए होलान् यी सुनका मार्वलहरू ? सुनौला पहाडका टुक्राहरू हुन् या समुद्रका सुकेका आँशु हुन् ? हावाका कथा हुन् या सूर्यका तेजस्वी किरणले रङ्गिएका धुलोका कण ? कति ऐक्यबद्धता छ बालुवामा ? सबै भिन्न भिन्न छन् तर एकसाथ छन् । छिनमै छिन्नभिन्न हुन्छन् तर फेरि एक अर्कामा समाहित हुन्छन् । यस्तै एकता र मित्रता मानव मानवबीच भएको भए कति शान्त र सुशील हुन्थ्यो होला संसार ? हो, मान्छे भित्रभन्दा बाहिर मनपराउँछ, अँध्यारो हैन उज्यालो मन पराउँछ, कोठाभन्दा आँगन र आँगनभन्दा पर बगैँचा हेर्न मन पराउँछ । प्रकृतिसँग टाढा हैन नजिक रहन चाहन्छ, सधैं सुन्दर दृश्य देख्न चाहन्छ, फरकफरक आकृति र भूगोल देख्न चाहन्छ, जसरी बालुवाले नयाँ नयाँ चित्रहरू कोर्छ ।
मरुभूमिको यात्रासँग ऊँटको ऐतिहासिक, वीरता र सभ्यताको प्रतिविम्ब स्थापित भएको छ । उसको आफ्नै इतिहास छ, आफ्नै जीवन छ, मानवसँगको आफ्नै नाता छ । मानव सभ्यताको विकास, जीवनयापन र मरुभूमिको पर्यावरणमा यो जनावरको छुट्टै पहिचान रहेको छ । कठोर भौगोलिक वातावरणमा पनि बाँच्न सक्ने, लामो समयसम्म पानी र खानाबिना हिँड्न सक्ने, मरुभूमिमा पनि जिउन सक्ने यो जनावर र मान्छेबीचको सम्बन्ध युगौँयुग पुरानो छ । ‘मरुभूमिको जहाज’ भनेर चिनिने ऊँट, प्राचीन समयमा साँच्चिकै मान्छेहरूको जहाज बनेको थियो । कार्गो पनि यही थियो, प्लेन पनि यही थियो । एउटा देशबाट अर्को देश, एक महादेशबाट अर्को महादेश, मानव इतिहासको अनन्य सहारा थियो ऊँट।मावन सभ्यता, संस्कृति र सम्बन्धको प्रतीक थियो अनि धेर्यता, संघर्ष र अस्तित्वको युग थियो-ऊँट। मरुभूमिमा पनि जीवन हुन्छ, मरुभूमिमा पनि सौन्दर्य हुन्छ, मरुभूमिमा पनि पर्यावरण हुन्छ अनि मरुभूमिमा पनि छुट्टै संसार हुन्छ भन्ने शिक्षाको संवाहक थियो-ऊँट ।
ऊँटलाई मरुभूमिमा बाँच्न क्रियसोबुस, ब्ल्याकब्रस, क्याक्टस, ट्रिबुलस जस्ता स-साना बुटाबुटीहरूले सिकाए । कठोर वातावरणमा बाँच्न आँफू पनि कठोर बन्नुपर्छ भनेर बालुवाले हिँड्न सिकायो । सूर्यको प्रचण्ड तेजले धैर्यता र सहनशीलताको पाठ सिकायो अनि भविष्यको मार्ग देखायो । हावाले उभिन सिकायो, नयाँ युगको सन्देश सुनाइरह्यो । त्यही क्रियसोबुस, ब्ल्याकब्रस चपाउँदै जीवन गुजार्दै आएका ऊँटहरूको जीवनमा अहिले आधुनिकीकरण आएको छ । पुर्खाहरूले रचेको इतिहासलाई गर्व गर्दै सुखको जीवनयापन बिताइरहेका छन् । सबै हृष्टपुष्ट, सफा र प्रफुल्ल देखिन्छन् । यस्तो लाग्छ, यिनीहरू नै मरुभूमिका इतिहास हुन्, मरुभूमिका योद्धा हुन्, रक्षक हुन् । मान्छेलाई मरुभूमिसँग नजिक गराउने र मरुभूमिको प्रतिकूल वातावरणमा बाँच्न सिकाउने संघर्षशील प्राणी हुन् ।
प्रचण्ड गर्मी होस् या मुटु कमाउने जाडो, जस्तो मौसममा पनि बाँच्न सक्ने जनावर हो-ऊँट । यही मानवप्रेमी जनावर ऊँटमा सवार गरी मान्छेहरू मरुभूमिको आनन्द प्राप्त गर्छन् तर दुनियाँलाई के थाहा हामीलाई मनोरञ्जन दिने यो ऊँटले मान्छेसँगको निकटता र यो प्रेमिल युगमा आइपुग्न अनि मरुभूमिमा सौन्दर्यका किरणहरू फैलाउन कति युग पार गर्नुपर्यो ! मरुभूमिको यात्रा कति कठिन छ, जति अगाडि बढ्न खोज्यो बालुवाले उत्ति नै समात्छ, पैताला भासिन्छन् । त्यसमा पनि कताकता बालुवामा हुने विशालु सर्प र बिच्छीको डरले पाइला संकुचित बनाउँछन् । सडकमा देखिने मृगतृष्णाले आँखालाई लोभ्याइरका हुन्छन् । तर ऊँट, त्यही बालुवामा घुँडा टेकेर पर्यटकलाई स्वागत गर्छ, बोकेर घुमाउँछ अन्तमा घुँडा टेकेर बिदाई गर्छ । जति हिँडे पनि थाक्दैन, दृश्यावलोकन गराइरहन्छ । जे भन्यो त्यही मान्छ, उसले सबै भाषा बुझिसकेको छ, गन्तव्यस्थानहरूको अनुभव प्राप्त गरेको छ । मान्छेले जस्तै बोल्न सक्ने भएको भए ऊँटले मरुभूमिको सौन्दर्य र संघर्षका ऐतिहासिक कथाहरू कति सुनाउँथ्यो होला ?
के हो मरुभूमि ? धर्तीले दुनियाँलाई झुक्याउन आफ्ना सबै कलात्मक वस्त्र र श्रृङ्गारहरू एकातिर राखेर उदाङ्गो रूपमा देखाएको पृथ्वीको अन्तरआवरण हो कि मरुभूमि ? सूर्यले आफ्नो असीम सौर्य शक्ति खन्याएर आगोको रङगमा रङ्गाएको धर्ती हो कि मरुभूमि ? वायुले भएभरको वेग लगाएर हरियो घुम्टो उडाएको पृथ्वीको उजाड संसार हो कि मरुभूमि ? म त्यही अन्तरआवरणभित्र पृथ्वीको दिव्य सौन्दर्यले सजिएका जीवनहरू देखिरहेछु, त्यही सूर्यको असीम तापभित्र शीतलताको मुहान भेटिरहेछु अनि त्यही उजाडताभित्र आशा र भरोसाका द्वारहरू नियालिरहेछु । यी बालुवाका टाकुराभित्र म कल्पनाको सागर मडारिरहेको देख्छु । दर्शनको पहाड उभिएको देख्छु । साहित्यको संसार फैलिएको देख्छु । संगीतको धुन गुञ्जिएको देख्छु । जीवनको अस्तित्व र अर्थ लुकेको देख्छु अनि समयको चक्र घुमेको देख्छु । त्यही मरुभूमिको टाकुरामा थोमस मोरेले गुलाब फुलेको देखे, फ्रेन्च साहित्यकार क्लेजियोले साहित्यको नोवल पुरस्कार जिते, एरिस्टोटलले न्यायका सिद्धान्त लेखे, कैयौं वैज्ञानिकहरूले विज्ञानका प्रयोगशालाहरू पत्ता लगाए । यो प्रकृतिको अपार मोहनी रूप हो । कठिन परिस्थितिमा पनि जीवनले आफ्नो बाटो खोज्दछ र ती बाटाहरू मरुभूमिको आँगनमा पनि सम्भावना बनेर देखा पर्छन् भन्ने सन्देश बोकेको यो भूमिमा ऐश्वर्य शक्ति र सौन्दर्य अभिव्यक्त हुन्छ । यो एकान्त र मौनताभित्र विचारहरू प्रतिध्वनित हुन्छन् अनि धैर्यता, आत्मचिन्तन र संघर्षको बीज उत्पन्न हुन्छ ।
समयको गतिसँगै संसार परिवर्तन भैरहन्छ । मरुभूमिले दिनानुदिन आफ्नो रूप फेरिरहेछ । मरुभूमिले संसार हेरिरहेछ अनि संसारले मरुभूमि । मरुभूमिले विज्ञान हेरिरहेछ अनि विज्ञानले मरुभूमि । प्रविधिको आधुनिक युगसँगै मरुभूमिमा हरिया वृक्ष, पोखरी, ताल र नदीहरूले सामिप्यता बढाइरहेछन् । चराचुरुङ्गीले आश्रम पाउन थालेका छन्, बगैंचाहरूमा कोपिला लागिसकेका छन् । विलासी रिसोर्टहरूले मान्छेलाई स्वागत गरिरहेका छन् । राजमार्ग र रेलमार्गहरूले पहाडका अङ्गअङ्ग जोडिरहेका छन् । अब मरुभूमि सुख्खा छैन बरु हरिया र रसिला पहाडहरू नाङ्गा र सुख्खा हुन सक्छन् । अब मरुभूमि अपहेलित छैन बरु चाँदीझैँ टल्कने चमकदार शिखरहरू पर्दाभित्र छेकिन सक्छन् । मरुभूमिले मानव संसारभित्र भएका उजाड बस्ती र निराश मन मस्तिष्कहरूमा पनि आशाका किरणहरू फैलाएको छ । सम्भावना र परिवर्तनका द्वारहरू देखाएको छ । निराशा र उजाडपन स्थायी हुँदैन । दृष्टिकोण र प्रेरणासँगै परिवर्तन भैरहन्छन् अनि यो निराशा र उजाडताभित्र पनि कुनै न कुनै सम्भावनाको बीज बाँचिरहन्छ भन्ने सन्देश सुनाइरहेछ । मानव जीवनमा हुने मरुभूमिकरणलाई बुझ्न मान्छेमा चैतन्य छरिरहेछ । अब बालुवाको संसारमा नयाँ युग आएको छ । मरुभूमि अब शून्यताबाट पूर्णता, एक्लोपनबाट मित्रता, निराशाबाट आशा, बन्जरबाट उर्वर र उजाडबाट सौम्यतर्फ अघि बढिरहेको छ । मरुभूमि अब जीवनभूमि भएको छ ।

