Sahityapost
Nabil Bank

स्रष्टा रेबी बज्राचार्यको ‘प्यारी छोरी माया’ सार्वजनिक

Kishor Upadhyaya · पढ्ने समय: 1 मिनेट
स्रष्टा रेबी बज्राचार्यको ‘प्यारी छोरी माया’ सार्वजनिक

काठमाडौं । सिर्जना अभियान समाजको आयोजनामा उपन्यासकार रेबी बज्राचार्यको उपन्यास ‘प्यारी छोरी माया’ सार्वजनिक गरिएको छ । पाटन बखुंबहालस्थित लोक साहित्य परिषद्को सभाकक्षमा आयोजित समारोहमा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा कृति लोकार्पण गरिएको हो ।
कार्यक्रममा कथाकार ध्रुव मधिकर्मी,  अधिवक्ता विष्णु बस्याल, सामाजिक अभियन्ता राजाराम तण्डुकार तथा स्रष्टाका पिता प्रज्ञारत्न बज्राचार्यले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएकाे थियाे ।

सार्वजनिकीपछि कृतिमाथि समीक्षा गर्दै कथाकार ध्रुव मधिकर्मीले उपन्यासले स्वच्छ र हिंसामुक्त समाजको पक्षमा स्पष्ट सन्देश दिएको बताउनुभयाे । उहाँले समाजमा बढ्दो हिंसा र यातनाबाट पीडित महिला तथा बालबालिकाप्रति अभिभावकीय जिम्मेवारी, न्याय र संवेदनशीलताको आवश्यकता औंल्याएको उल्लेख गर्नुभयाे ।
अधिवक्ता विष्णु बस्यालले महिलामाथि हिंसा बढ्दै गएको र न्याय प्राप्तिमा ढिलाइ हुने अवस्था देखिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने धारणा राख्नुभयाे । सामाजिक अभियन्ता राजाराम तण्डुकारले उपन्यासमार्फत महिला हिंसाविरुद्ध चेतना फैलाउने प्रयास प्रशंसनीय भएको बताउनुभयाे ।

लेखिका रेबी बज्राचार्यले देश–विदेशमा महिलामाथि भइरहेका हिंसा र विभेदका घटनाले आफूलाई प्रभावित पारेकाले त्यसलाई साहित्यमा उतारेको बताउनुभयाे । कार्यक्रममा दिव्या बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएकाे थियाे  भने प्रज्ञारत्न बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रम सञ्चालन पूर्णिमा शाक्यले गर्नुभएकाे थियाे ।
महिला तथा बालबालिकामाथि हुने हिंसा र यौन शोषणको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त उपन्यास सिर्जना अभियान समाजबाट प्रकाशित भएको हो ।

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्...

ट्याग: test
साझा गर्नुहोस्:
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम