काठमाडौँ । नेपाल वाङ्मय परिषद् धनगढीले काठमाडौँमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता तथा आख्यानकार हरिहर खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने ६ जना स्रष्टाहरूलाई सम्मान गरिएको हो ।
मनोहर लामिछानेलाई ‘नेपाली वाङ्मय साधना सम्मान २०८२’, अमृत योञ्जन तामाङलाई ‘मातृभाषा वाङ्मय साधना सम्मान २०८२’, सृजना शर्मालाई ‘आरडी प्यास–राजलक्ष्मी चटौत राष्ट्रिय प्रतिभा पुरस्कार २०८२’, कर्ण दयाललाई ‘कर्मयोद्धा सृजना सम्मान २०८२’, महेश प्रसाईलाई ‘राधिका–गोपालदत्त लघुकथा सम्मान २०८२’ तथा अच्युत घिमिरेलाई ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८२’ प्रदान गरिएको थियो ।
सम्मान दोसल्ला र नगदसहित प्रदान गरिएको हो । परिषद्ले यी सम्मानहरू २०७१ सालदेखि नियमित रूपमा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा उपस्थित अतिथिलाई गोविन्द अर्यालले स्वागत गर्नुभएको थियो । अतिथिहरू प्रा.डा. कपिल लामिछाने, लता के.सी. तथा सम्मानित स्रष्टाहरूले मन्तव्य राख्नुभएको थियो ।
सम्मानित व्यक्तित्वहरूको परिचय समीक्षक शेखर अर्याल ‘शेतिक’ले गराउनुभएको थियो । कार्यक्रममा लघुकथाकार निर्मला बराल, शुक्रराज कुँवर, रोशन पराजुली र श्यामप्रसाद श्रेष्ठले लघुकथा वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि हरिहर खनालले पुरस्कारको औचित्य र गरिमाबारे प्रकाश पार्दै स्रष्टाहरूलाई बधाई दिनुभएको थियो ।
दीपसागर पन्तले सञ्चालन गर्नुभएको कार्यक्रममा जगत् वशिष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अध्यक्ष डा. भट्टले समापन मन्तव्य राख्नुभएको थियो ।

