मिन थापाको सोलो कला प्रदर्शनी ग्यालरी तक्पामा मे को ९ मा उद्घाटन भयो । यो उनको दोस्रो एकल कला प्रदर्शनी थियो । सन् २०१९मा कलामा स्नातकोत्तर गरेपछि बल्ल गत साल उनले पहिलो एकल कला प्रदर्शनी गर्न भ्याएका थिए । महिनौँ समय लगाएर बढो मिहिनेतका साथ उनी डिटेलमा चित्रहरू बनाउने गर्दछन् । डिटेलमा स–साना रङ्गीचङ्गी बिन्दुहरूलाई भाका मिलाएर क्यानभासमा राख्दा यसले थुप्रै अर्थ दिन्छ । विश्व कलाको भाषामा यसलाई अप्टिकल इफेक्ट (Optical Effect) पनि भन्ने गरिन्छ । यसले कलामा हार्मोनी अनि इमोसनलाई सगोलमा प्रस्तुत गर्ने काम गर्दछ ।
यसकारण पनि उनका चित्रहरू एक अलग्ग पाराको देखिन्छ । यसले प्रशस्तै समय पनि लिन्छ । यसो हुँदा पनि प्रदर्शन हुन अलि ढिलो भएको होला । अर्को सोलो कला प्रदर्शनीको लागि काम गर्न शुरू गरिसकेको छु रे । यसले कति समय लिने हो हेर्नु नै छ । अर्थात् उनी काम चाहिँ निरन्तर रूपमा गरिरहेका हुँदा रहेछन् ।
यो कला प्रदर्शनी जुनको ६ सम्म रहनेछ । उइटनेस अफ इनर वर्ल्ड (Witnesses of Inner World) नामक यो कला प्रदर्शनीमा प्रदर्शित चित्रहरू विशेष गरेर छोराछोरी अनि आमाबाबु बीचको गहिरो सम्बन्धलाई केलाउने क्रममा देखा परेका छन् । समग्रमा हेर्दा छोराछोरीको उज्ज्वल भविष्यको लागि आमाबाबुले गर्ने गरेको बलिदानलाई केन्द्रमा राखेर यी कलाहरू उभिएका देखिन्छन् । उनका चित्रहरूमा बच्चाहरूसँग रमाइलो गरी खेल्दै गरेको सन्दर्भ थुप्रै ठाउँमा देखिन्छ । यस्ता गेट अप स्ट्यान्ड अप, स्काइ हाइट, सेल्फी प्लीज आदी अनेकौँ नामका चित्रहरू यहाँ देख्न सकिन्छ । कतै आकाशमा उफ्रँदै खस्दै गरेको दृश्य देखिन्छ । उनको टाउको चाहिँ ठूलो सनफ्लावर फूलले ढाकेको देखिन्छ । कतै डोरीमा झुन्डिएको टायरमा खेलिरहेका देखिन्छन् । कतै शून्यमा देखा परेको पिङमा रमाइरहेका देखिन्छन् । कतै चप्पललाई मोबाइल बनाइरहेका देखिन्छन् । तथापि सबैमा बिन्दुको भरमार प्रयोग छ । सनफ्लावर फूल चाहिँ जताततै देखिन्छन् । अनि यो अवस्था सिर्जना गर्न आमा बाबुले कस्तो मिहिनेत गरे, कस्तो सङ्घर्ष गरे यी अवयवहरू पनि उनका यी चित्रहरूमा यथेष्ट रूपमा देखिन्छ ।
आमाबाबुले छोराछोरीको लागि कस्ता बलिदान गर्ने गर्दछन् । समग्रमा यसको प्रभाव परिवारमा कसरी देखा पर्दछ । चित्रहरूमा यसैको बिम्बलाई पनि महसूस गर्न सकिन्छ । जाइन्ट सोल्जर नामक उनका चित्रमा यो भावनात्मक यथार्थ राम्ररी उतारिएको देखिन्छ । आनन्द अनि शान्त भावकासाथ एउटा व्यक्ति टाउको भरी अनेकौँ फूलका गुच्छाहरू सम्हालेर उभिएका देखिन्छन् । फूलका गुच्छाहरू सुखानुभूतिको प्रतिकात्मक बिम्ब पनि हो । यसैमा स–साना सयौँको मात्रमा रङ्गीन थोप्लाहरू देखिन्छन् । यसैबाट पृष्ठभूमि पनि वनेको छ । यसैबाट व्यक्तिका आकारहरू पनि निर्माण भएका छन् । यो अलि गाह्रो अनौठो कलागत संरचनाले स्वभावतः भावकलाई भने यथेष्ट रमाइलोपन दिन्छ । अनि उनको काँधमाथि उनैको छोराछोरीहरू क्रमशः ठूलो देखि सानो हुँदै अर्को अनि अर्को माथि अर्को चढेर बसेका देखिन्छन् । केटाकेटीको लागि कार्टुनका पात्रहरू जस्तै फेन्टम आदि इत्यादि मास्कको रूपमा हरेकका मुहार ढाकेको अवस्थामा देखिन्छ । किसमकिसिमका मेकअपका साथ एकले अर्कालाई बोकिरहेको दृश्य अनौठो प्रकारले देखिनु पनि यो उनका श्वैरकाल्पनिक संरचना हो । अन्तमा सानो वालिका हर्सोल्लासका साथ रमाइरहेका देखिन्छन् ।
सबैभन्दा रमाइलो दृश्य चाहिँ हरेकका मुखाकृतिहरू किसिमकिसिमबाट देखिनु पनि रहेको छ । यस्तै गरी स्पिस अफ प्रोटेक्सनमा पनि आकाश उँदी खोसार्नीका तहहरू एक माथि अर्को खप्टिएर देखा पर्दछ । अनि बीचमा चाहिँ गोलाकारमा अन्य फलफूल रहेको छ । पृष्ठभूमि अनि यता भूइतिर चाहिँ यस्तायस्तै बिन्दुहरूको थुप्रो देखिन्छ । काम माइन्डमा (calm mind ) पनि एउटा मान्छेको टाउको माथि तरबुजा, फर्सी अनि आँप आदी तह तह लागेर बसेका देखिन्छन् । मुखका चारैतिर माछाहरू कुदिरहेका देखिन्छन् । मदर व्यलेन्स नामक चित्रमा बच्चा च्यापेर टाउकामा थुप्रै घडाहरू राखेर एउटा महिला हाट–बजार गर्न गइरहेको देखिन्छन् । सुपरफादरमा बाबुले छोराछोरीलाई हावामा उछाल्दै गरेको पनि देखिन्छ । अनि पुस्तकहरू चारैतिर छरिएका पनि देखिन्छन् । अर्थात् छोराछोरी रमाइलो पनि गरून् अनि पढून् पनि भन्ने आशा आदि पनि हो यो । ज्यो राइड अफ लाइफ मा साइकलमा टन्न केटाकेटी राखेर कहीँ जाँदै गरेको दृश्य पनि देखिन्छ । अनि सेल्फी प्लीज भन्ने चित्रमा केटाकेटीहरू चप्पललाई मोबाइल बनाई सेल्फी खिचिरहेका रमाइलो परिदृश्य पनि देखिन्छ । यस्ता यस्तै कथा बोकेका अनगिन्ती कामहरू यहाँ अवलोकन गर्न सकिन्छ । सबैभन्दा रमाइलो कुरा भनेको चाहिँ तहतह लगाएर वस्तुलाई संयोजन र प्रस्तुत गर्नु नै देखिन्छ । उनको छानेको सर्वथा नयाँ विषयवस्तु अनि अनौठो कलागत संरचना नै उनको कलाको मूल विशेषता पनि हो ।
उनी भन्छन्–यी बिम्बहरू सबै छोराछोरीहरूको इच्छा र चाहनाहरूको प्रतीक नै हुन् । जसलाई आमबाबुले हाँसेर वहन गरिरहेको हुन्छ । छोराछोरीको चाहना नै आमाबाबुको एउटै मात्र उद्देश्य हुन्छ । अनि यसलाई पुरा गरी दिन जस्तोसुकै कष्ट झेल्नु पनि तयार हुन्छन् । म पनि शायद यसै गर्छु भन्ने लाग्छ । छोराछोरीको लागि दुख कष्ट गर्नु चाहिँ सर्वथा आफैलाई पनि (आमाबाबुका लागि) आनन्दको अनुभव नै हुने गर्दो रहेछ । मेरा आमाबाबुले पनि यसै गरे होलान् । अहिले म पनि छोराछोरीको लागि यसै गर्दै छु ।
मिनका आमाबुबा उनी सानै हुँदा काम खोज्न भारत गए । तर फर्केर कहिले आएनन् । उतै उनका आमाबुबा दुवैको मृत्यु भयो । उनको जन्म मुगुमा भएको भएको थियो । फेवातालबाट झन्डै दुई दिन हिँडेपछि हिमालको फेदउँदी उनको सानो गाउँ छ । उनलाई राम्ररी याद छैन । तर उनका आमाबाबु भारतमै देहावसन भएपछि उनलाई कसैले उनी सात वर्ष कै हुँदा काठमाडौँ ल्याएका थिए रे । यसपछि उनी यतै बसे ।
उनलाई लाग्यो । उनका बाबुआमा उनैका लागि जीवन सुख शान्तिले बितोस् भन्ने चाहना राखेर विदेशमा दुख गर्न गएको हुँदो हो । बाहिर विदेशमा कति दुःख व्यहोरे होलान् । यही परिकल्पना गर्दै अहिले आफ्नै छोराको भविष्य सुखमय होस् भन्नकोखातिर उनी आफैले पनि गरिरहेको दुखलाई पनि सम्झन्छन् । अनि यसैको प्रतिबिम्बको रूपमा उनका यी चित्रहरू बन्दै गएका हुन् । यसको प्रतिबिम्ब उनको एउटा चित्र ब्यालेन्स अफ लाइफ मा देखिन्छ । जहाँ एउटा महिला टाउको माथि अनगिन्ती इँटाहरू बोकेको अवस्थामा देखिन्छन् । स्वभावतः मजदुरी गर्दैछन् भन्ने त्यसै पनि झल्कन्छ । तर पनि उनी हँसिलो मुद्रामा देखिन्छन् । पृष्ठभूमिमा ठूलाठूला बिन्दुहरूको जङ्गल छ । अनि अग्र भागमा सयौँको मात्रमा सूर्यमुखी फूलहरू लटरम्म भएर फूलेका देखिन्छन् । सायद यस्तायस्तै प्रतिकात्मक बिम्बहरू राखेर उनी अवस्थालाई खुसी भएको देखाउन चाहन्छन् । सूर्यमुखी फूल चाहिँ जहाँ पनि देखा पर्नु चाहिँ संयोग पटक्कै होइन यो आफै पनि सुखानुभूतिको बिम्ब पनि हो । उनका चित्रहरूमा एकातर्फ दुखका, दैनिकी का अनि केटाकेटी मनोरञ्जन गरिरहेका देखाइए पनि सूर्यमुखी फूललाई कहिन कहीँ राखे कै देखिन्छ । त्यसो त हाम्रै परम्परामा पनि कमलको फूल देवी देवतालाई साह्रै मन पर्ने फूल हो । आसन अनि आयुधमा पनि यस्ता फूलहरू देखिन्छन् । यी र यस्तै हाम्रै आफ्नै मोटिफहरूलाई समातिबस्नु पनि उनको एक अलग्ग प्रस्तुति देखिन्छ ।
आफ्नै परिवार, केटाकेटी हुर्काउन बढाउन कलाकार आफैले धेरै अनुभव गरे । अनि आफ्नै यही अनुभव, देखेसुनेका, भोगेका अनुभूतिहरू भावनाको रूपमा क्यानभासमा पोखिन पुग्दा यी कलाहरू श्वैरकाल्नक रूपमा देखा परेका हुन् । छोराछोरीहरू खुसी होऊन् । जीवनभर रमाइरहून् भन्नका खातिर आमा बाबुले जीवनभर गरेको सङ्घर्षको कथा हो यी चित्रहरू । जिम्मेवारीको भारको वहन गर्न अनि केटाकेटीको भावी जीवनको सपनाबीच हुने गरेको यथार्थता आदि इत्यादिको सेरोफेरोमा यी कलाहरू बन्न पुगेका देखिन्छन् । यसकारण पनि उनका कलामा कल्पनाशील यथार्थवादी हुँदै गर्दा अनेकानेक पात्रहरू अचम्मका क्रियाकलाप गरिरहेका देखिन्छन् । फोर होमनियास फ्रेण्डस नामक चित्रमा एउटा लोकगाथालाई लिएर यसैलाई मिल्दो चित्र पनि बनाएका छन् । तल हात्ती नाचिरहेको अवस्थामा देखिन्छ । यसमाथि बाँदर अनि यसमाथि खरायो, यसमाथि चरा बनाएर चराले चाहिँ आकाशमा झुण्डिएको फल खान खोजिरहेको दृश्य देखिन्छ । अझ रमाइलो पक्ष चाहिँ यही कन्सेप्टमा उनले एउटा मूर्तिकारलाई यस्तै मूर्ति बनाउन लगाए । अनि यी पात्रहरूमा बाहिरबाट यस्ता रङ्गीचङ्गी थोप्लाहरू चाहिँ उनैले लगाइदिए । अर्थात् यो एउटा कोल्याबोरेटिभ कलाको रूपमा पनि देखिन आयो । यो मूर्ति पनि यहाँ प्रदर्शनमा राखिएको छ ।
साँचो रूपमा भन्न पर्दा आन्तरिक संसारको अर्थात् अन्तरमनको अथवा भाव र भावना जुन स्वाभावतः देखिँदैन । तर अकाट्य भएर जीवनसँग गाँसिएर बसेको हुन्छ । जस्तो कि अहिले कटक्क मन दुख्छ, कहिले भित्रबाटै अथाह आनन्दित हुइन्छ । थोरै मुखाकृतिमा यसको असर देखिँदा पनि यो किन हुन्छ, कसरी हुन्छ, यो बाहिरबाट थाहा नै हुँदैन । सम्भवतः यही भावलाई पनि खुसी हुनुको अर्थमा यसैलाई उनले आफ्नो कलाको थीम बनाएको देखिन्छ ।
छोराछोरी अनि आमाबाबुबीचको यस्तायस्तै सम्बन्ध जुन स्वाभाविकतः प्रगाढ हुने गर्दछ । तर बाहिर देखिँदैन अर्थात् मात्र क्रियाकलापको रूपमा देखिन्छन् । यो एउटा विसङ्गति जस्तै पनि हो । जुन सामान्य आँखाले यही पनि सजिलो गरी बुझिँदैन । यसभित्र अति गहिरो मर्म लुकेको छ । यहाँसम्म पुग्न भावकलाई निकै मिहिनेत गर्नु पर्ने देखिन्छ । एउटा चित्रमा चेसका गोटीहरू मात्र देखिन्छन् । पृष्ठभूमिमा बिन्दुहरू अनि यसैमा गोलाकारका ठूलाठूला चक्काहरू, चेस बोर्ड आदि इत्यादिले चेसका गोटीहरूसँग पनि खेली बस्नु पनि जीवनकै आरोह र अवरोह त हो नि जस्तो भएर देखा परेको छ । वा खुसीका क्षणहरूलाई ल्याउन पनि चेस खेलिन्छ ।
यसर्थ पनि उनका चित्रमा यथेष्ट मात्रामा फेन्टासी छ । भरपुर सपना छ । अनि विसङ्गतिको भण्डार छ । बिन्दुहरूको भरमार प्रयोग हुँदा देखिँदा अलिकता थोरै अन्तर्राष्ट्रिय कलाकार जर्ज सुरातको याद आउँछ । यी कलाकारसँग उनी अति नै प्रभावित भएको देखिन्छ । अनि उनी यो स्वीकार्छन् पनि । उनले स्नातकोत्तर गर्दा थेसिस गर्न उनै सुरातको बारेमा गरेका रहेछन् । यसकारण पनि उनीबारे, उनको कलाबारे, जीवनबारे अझ विस्तारमा उनलाई ज्ञान भएको पनि रहेछ ।
युरोपको पेरिसमा उन्नाइसौँ शताब्दीको अन्त्यतिर देखा परेका सुरातलाई नव–प्रभाववादी कलाका प्रणेताका रूपमा मानिन्छ । सुरातले अरूभन्दा आफू अलग्ग हुन यस्ता थोप्लाहरूलाई प्रयोग गरेका थिए । जुन टेक्निकलाई क्रोमोलुमिनारिज्म (Chromoluminarism) वा प्वाइन्टिलिज्म (Pointillism) पनि भनिन्छ । विशेष गरेर उनले चाहिँ पेपरमा कोन्टे क्रायन (conte crayan) प्रयोग गरेर ड्रइङको रूपमा कलाहरू बनाउँथे । अहिले नेपालमै पनि यसलाई प्रयोग भरमार रूपमा हुन थालेको देखिन्छ । मूर्त अमूर्त दुवै रूपमा यो टेक्निकलाई यहाँ पनि कलाकारले प्रयोग गर्ने गर्दछन् । यसको थप प्रयोगका रूपमा मीनले पनि प्रयोग गरेका हुन् । यसले स्वाभावतः एक प्रकारको मिठास दिएको देखिन्छ ।
सुरातको यो अति गहिरो संवेदनशीलता अनि भित्रैबाट आएको जोसको परिणतिको रूपमा यो कला देखिन्छ । यो कला तार्किक–अमूर्तताको रूपमा पनि व्याख्या गरिन्छ । जुन गणितीय परिशुद्धताको द्योतकको रूपमा पनि यसलाई हेरिन्छ । सुरातको काम अ सन्डे अफ्टरनुन अन द आइल्यान्ड अफ ला ग्राण्डे जाट नामक चित्रलाई हेरेपछि सन् १८८६ मा यसलाई नव प्रभाववादीको नामकरण गरिएको थियो । यो नामकरण गर्ने काम चाहिँ कला समीक्षक फेलिक्स फेनोनले (Felix Feneon) गरेका थिए ।
कलाकार, कला समीक्षक

