काठमाडौं । गीतकार तथा गजलकार राज लम्साल ‘यात्री’को गजलसङ्ग्रह ‘यात्री’ को विमोचन गरिएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित ‘सांगीतिक गजल समारोह २०८३’मा गजलसङ्ग्रह ‘यात्री’को विमोचन गरिएको हो ।
साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथि तथा प्रा.डा. शैलेन्दु प्रकाश नेपाल विशिष्ट अतिथि रहनुभएको थियो ।
पानसमा दीप प्रज्वलन तथा राष्ट्रियगानसँगै शुरु भएको कार्यक्रममा गजलसङ्ग्रह ‘यात्री’ को विमोचनपछि साहित्यकार छवि वैरागी घिमिरेले लेखकको व्यक्तित्व र गजलकार जे. सागरले कृतित्वमाथि धारणा राख्नुभएको थियो । गजलकार रूपक वनवासी र सङ्गीता थापाले सङ्ग्रहमा समावेश गजल वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै भन्नुभयो, “कुशल चित्रकारका अभ्यस्त हातले क्यानभासमा चित्रण गरेझैँ उदीयमान गजलकार राज लम्साल यात्रीले पनि आफ्नो सृजनात्मक खुबी ‘यात्री’भित्र देखाएका रहेछन् । गजलहरूको स्वादले पाठकलाई लोभ्याइरहनेछ । राज लम्साल यात्रीमा देखिएको सृजनात्मक लगाव र रचनाधर्मिता निरन्तर कायम रहोस् ।”
कार्यक्रममा प्रस्तोता बाबु त्रिपाठी र लेखकबीच गजलको रचना–गर्भबारे अन्तरक्रिया पनि भएको थियो । सो क्रममा सङ्ग्रहको नामकरणबारे प्रस्ट्याउँदै राज लम्साल यात्रीले भन्नुभयो, “पानीको यात्रा समुद्रदेखि समुद्रसम्मको हो, मलाई कहीँ पुग्नु छैन । यात्रीको यात्रा माटोदेखि माटोसम्मको हो ।”
उहाँले जीवनलाई जन्मदेखि मृत्युसम्मको यात्राका रूपमा व्याख्या गर्दै सिलसिलाबद्ध चार गजलसमेत वाचन गर्नुभएको थियो ।
अतिथिहरूमा साहित्यकार छवि वैरागी घिमिरे, कलानिधि दाहाल, गजलकार जे. सागर, गायक राज सिग्देल, साहित्यकार डा. निरज कोइराला, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाका पदाधिकारीलगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेखककी सहयात्री शर्मिला कार्की लम्साल, छोरा आशुतोष लम्साल, छोरी आरध्या लम्सालसहित १६० भन्दा बढी साहित्यप्रेमी तथा दर्शक–श्रोताको सहभागिता रहेको थियो ।
सङ्ग्रहका प्रकाशकसमेत रहेका साहित्यपोस्टका प्रधान सम्पादक तथा कार्यक्रमका सभापति अश्विनी कोइरालाले प्रवासमा रहेर पनि नेपाली कला, साहित्य र संगीतको श्रीवृद्धिका लागि लेखकले गरेको योगदानको प्रशंसा गर्दै पहिलो चरणको कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा गजलगायक राज सागरले विमोचित गजलसङ्ग्रह ‘यात्री’ भित्रका चार र सङ्ग्रहबाहिरको एक गरी पाँच गजल प्रस्तुत गर्नुभएको थियो । गायिका गायत्री त्रिपाठीले ‘सबै चाहना पूरा गर्दैन धनले पनि’ गजलमा साथ दिनुभएको थियो ।
सांगीतिक प्रस्तुतिमा तबलामा अनन्त प्रजापति, भायोलिनमा यतिराज अधिकारी, सितारमा अनिल धिताल, बाँसुरीमा रोहित भाट र गिटारमा सञ्जीव गौतमले साथ दिनुभएको थियो ।
दिउँसो ३ बजेदेखि शुरु भएको कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो ।

