Sahityapost
Nabil Bank

धर्म किनबेचमा तल्लीन ‘आधुनिक वीरहरू’ले आफू बेचिएको पत्तै पाएका छैनन् – राजकुमार श्रेष्ठ

Sahityapost · पढ्ने समय: 8 मिनेट
धर्म किनबेचमा तल्लीन ‘आधुनिक वीरहरू’ले आफू बेचिएको पत्तै पाएका छैनन् – राजकुमार श्रेष्ठ

धनकुटाको चानुवामा जन्मिनुभएका साहित्य साधक राजकुमार श्रेष्ठ हाल भक्तपुरको चाँगुनारायणमा रहेर साहित्यिक यात्रालाई अगाडि बढाइरहनुभएको छ । समकालीन नेपाली साहित्यमा उहाँ एक संवेदनशील र मौलिक पहिचान बोकेका स्रष्टा हुनुहुन्छ । रोयल चारघरे उपन्यास प्रकाशनमा ल्याएर साहित्य साहित्य क्षेत्रमा औपचारिक पाइला चाल्नुएका श्रेष्ठको हालै दोस्रो कृतिका रूपमा कवितासंग्रह किनाराका गीतहरू  प्रकाशनमा आएको छ । श्रेष्ठका सिर्जनाहरूमा जीवनका विविध रङ्ग, प्रकृति, प्रेम र मानवीय संवेदनाको सङ्गम पाइन्छ । प्रस्तुत छ, सर्जक राजकुमार श्रेष्ठसँग साहित्यपोस्टका लागि सुशीला राईले गर्नुभएको संवादको सम्पादित अंशः

अहिले “किनाराका गीतहरू”ले तपाईंलाई साहित्यको वेगमा मिसाएको छ । पाठकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

किनाराका गीतहरू कुनै एक परिवेश, कालखण्ड, वर्ग वा चिन्तनबाट मात्रै प्रभावित भएर लेखिएको कृति होइन । त्यसैल यसको प्रभाव र प्रतिक्रिया फरक फरक कालखण्ड र अनुभूतिमा फरक फरक आउने अपेक्षा छ । शुरुवाती चरणबाट नै यसले मिहीन प्रतिक्रियाहरू सँगालेको छ । पहिलो कविता कृति भएकाले पनि ती प्रतिक्रियाहरू मेरा लागि ज्यादै महत्त्वपूर्ण छन् । कतिपय संग्रहभित्र अँटेका तर कविले त्यति ध्यान नदिएका कविताहरूलाई पनि पाठक तथा समीक्षक वर्गले ज्यादै महत्त्व दिएको पाएँ । चर्चामा आएका केही कविता (जस्तै, आधुनिक वीरहरू), क्षणभरको बसाइमा सोच्दा सोच्दै लेखिएका थिए । अर्कोतिर “जिउँदो अरुण एक” जस्ता कविता पूरा गर्न मात्रै पनि करीब ६ सय किलोमिटरको बाइक यात्रा गरेर म आफ्नो जन्म स्थल पुगेको छु । यसबाट के महसूस भएको छ भने, लेखकले लेख्ने र पाठक वर्गले अनुभूति गर्ने शैली र प्रभाव फरक फरक हुन्छ । एउटा कविताको पात्र एक्कासी आफूलाई मानिसहरूको भीडमा पाउँछ र, यो कुन देशको कुन चोक हो, यो कुन शहर हो र म को हुँ भन्दै चिच्याउन थाल्छ । त्यो पात्रको चिच्याहट सबैले मन पराइदिनुभयो । केही कविताले भन्नुपर्ने कुरा नघुमाइकन प्वाक्कै भनिदिएकाले साहित्य कम र आक्रोश बढी भएको हो कि भन्ने प्रतिक्रिया पनि आए । समाजमा केही यस्ता असंगति कविले देख्यो कि केही कवितामा साहित्य भर्दा भर्दै रुखो गीत भन्न पुग्यो । प्रतिक्रियाहरू आउने क्रम जारी छ ।

किनाराका गीतहरूमा संग्रहित कविताहरू कसका आवाज हुन् ?

किनाराका गीतहरूमा संग्रहित आवाजहरू सबै हाम्रै समाजका आवाज हुन् । यहाँ मानवीय संवेदना पटक पटक छटपटाएर रोएको छ । प्रकृतिले आफ्नै श्रृङ्गारमा बेहुली सङ्गीत भरेकी छिन् । आज गाउँ गाउँ जस्तो छैन । गाउँ न जन्ती न मलामी बनेर बाँझो दुर्दशा बाँचिरहेछ । यहाँ तिनै बाँझा टारी र पाखाहरूको रोदन मिसिएको छ । बाकस बोकेर आउने सपनाले पलायन भएका देशका भविष्यहरू बाकस बनेर फर्कँदाको क्रन्दन, बाँच्न खोज्दा खोज्दै शहीद बनेका ज्युँदा सपनाको दोहन, देश चुसेर जुकासरि मोटाएका भुँडीहरूको विष्फोटन, गरीब देखेर मुख छोप्ने शहरको ढोँग, डी.भी. दास बनेर आफ्नै आमा बिर्सनेहरूका खोक्रो आडम्बर, आफ्नै देशभित्र स्वपहिचान गुमाउनेहरूको नैराश्यता, आफ्नै अस्मिता बेचेर कर्नाली भेल सँगसँगै भासिएकी निरीह आमाको चीत्कार अनि तिनै मृत आमाको लाम्टा चुसिरहेको एक नाबालकको बिलौना ! हो, ती समग्र आयामहरूको आवाज बनेर आएको छ– किनारका गीतहरू ।

पुस्तकको नाम “किनाराका गीतहरू” कसरी रहन गयो ? प्रकाशन यात्राका सजिला अप्ठेराका बारेमा पनि छोटकरीमा बताइदिनुस् न ।

कविताको विकासक्रम र समावेशीकरणसँगै यो पुस्तकको नामले फरक अर्थ बोक्न शुरु गर्यो । किनाराका गीतहरू सर्वप्रथम यसै शीर्षकको कविताबाट प्रारम्भ भएको थियो जुन कविताले पात्रको नितान्त निजी अनुभूति र अतीतप्रेम सँगसँगै मानवीय संवेदना र संवेगहरूको गतिलो संयोजन गर्छ । यस कविताभित्र मपात्र करीब दुई दशकपछि आफ्नो जन्मभूमि पुग्छ र आफूले बाँचेका यावत् वर्तमानलाई तिनै बाल्यकालका अतीतहरूसँग तुलना गर्न थाल्छ । यहाँ अतीत र वर्तमान बीचको अदृश्य किनारा धक फुकाएर रोएको छ । संग्रहमा पछि बिस्तारै “ठूलाहरू– सानाहरू”, “ गरीब नाथे”, “ऊ बाँचेको प्रमाणपत्र” जस्ता अत्यन्त वर्गीय नारा पोतिएका शक्तिशाली कविता लाइनबद्ध भए जसले “किनारा”को परिभाषा नै उल्टाइदियो । ती कविताले वर्गीय भाषा यसरी समाते कि समाज र राज्यले राज्यविहीन बनाएका र सीमान्तकृत वर्गको पीडा प्रतिनिधि बनेर आउन थाले । त्यसपछि किनाराका गीतहरू सीमान्तकृत वर्गको क्रन्दन बनेर उभिएको हो । संग्रह अब पाठकको हातमा पुगिसकेको छ, र किनाराको परिभाषा खोतल्ने जिम्मा पनि पाठककै भयो । पुस्तक प्रकाशन प्रक्रियामा साहित्यपोस्टले जुन अपनत्व प्रदान गरिदिएर पाठकसम्म सहज पहुँचको व्यवस्थापन गरिदिनुभयो, त्यसका लागि आभारी छु ।

अब कवितामा प्रवेश गरौं । तपाईँका धेरै कवितामा गाउँको स्वच्छता र सुन्दरता समेटिएको छ, तर तपाईँ चाहिँ कंक्रिडको जंगलतिर बसाइँ सर्नुभएको छ । यो विरोधाभाष किन ?

कुनै पनि सिर्जनाको स्रोत त्यो हो जसले सर्जकलाई निकटबाट छुन्छ अथवा उसलाई गहिरो प्रभाव पार्छ । प्रकृति र उनको सुन्दरता सिर्जनाका बहुमूल्य स्रोत हुन् । हामीले जिन्दगानी बाँच्दै जाने क्रममा तिनै गाउँले परिवेशले जिन्दगी चिनाए र जीवनको खास अर्थ त्यहीँ कतै लुकैको थियो । हरेक मान्छे खुशी हुन चाहन्छ, र सुख उसको अपरिहार्य ध्येय हो । राज्य संयन्त्र र प्रणालीले गाउँलाई चिनेन र गाउँलाई सधैँ गाउँ नै बनाइरह्यो । हामी सुख र स्वसम्पन्नताको खोजीमा यसरी भौँतारियौँ कि गाउँ एक्कासि टाढा भयो, र अझै भौँतारिने क्रम जारी नै छ । यो जीवनभर चलिरहनेछ । तर हामीले बाँचेर आएको प्रकृति र त्यो सुन्दर परिवेश अजर छ । पटक पटक झस्काउँछ र घिसारेर मलाई तानिरहन्छ । म निरीह बनेर त्यतै तानिन्छु । वर्तमानबाट लखेटिन्छु अनि मीठो सिर्जनाको जन्म हुन्छ ।

तपाईँले “जिउँदो अरुण एक” कविता लेख्नुभयो । काठमाडौंका बाग्मती, हनुमन्ते, मनहरा जस्ता नदीहरू चाहिँ कस्तो पाउनु हुन्छ ?

अरुणको किनारामा मेरो जन्म भयो, र बागमती हुँदै कर्णाली र भेरीका किनारासम्म मैले विचरण गरेँ । तिनै किनारामा देखेभोगेका जीवन र मानवीय संवेदनाले “किनाराका गीतहरू”लाई जीवन्त बनाउनेछ ।

अरुण केबल नदी मात्रै हैन, मेरो जीवनको उद्गम र मेरा हजुरबाहरूको शुरु र अन्त्य पनि हो । मैले अरुणलाई “तिमी मात्रै ज्युँदो” भनेर आक्षेप पनि लगाएको छु । मेरा पुर्खा जन्माउने र खरानीसम्म नछाडेर बगाइलाने तिमी अनि फेरि तिमी आफैँ चाहिँ सधैँ बाँचिरहने भनेर अरुणप्रति ईर्ष्या पनि पोखेको छु ।

काठमाडौं उपत्यकाभित्रका नदी र खोलाहरूले सिर्जनाका अझै बेजोड स्रोतहरू बगाएका छन् । यिनको बहावमा सभ्यता बगेको छ तर सभ्यताको संरक्षण सम्बन्धित निकायले गर्न नसकेको अनुभूति हुन्छ । संग्रहको अग्रपंक्तिमा राखिएको कविता “त्यो मेरै रगत थियो” यही बागमती किनारमा बसेर लेखिएको एक गहन सिर्जना हो । यहाँ एउटा बाबु आफ्नो नाबालक मृत सन्तान च्यापेर बागमती किनार किनार कुदिरहेछ । हरेक नदी र खोलामा पानी मात्रै बगेका छैनन् । सभ्यता मास्ने ढल र जिन्दगीको गहिराइ स्पर्श गरेर अर्थ बगाउने छाल पनि सँगसँगै बगेका छन् । कविले नदीलाई नदीको रुपमा मात्रै हेर्दैन, समग्र समाज, जीवन र जगतको एउटा संगमको रूपमा पनि हेर्छ ।

तपाईंको कविताको शीर्षक छ – “आधुनिक वीरहरू” तर कविताभर दासहरू मात्र भेटिन्छन् । यसलाई पाठकले कसरी बुझ्ने ?

हिजाका वीरहरू देश बचाउन लडे । राष्ट्रका लागि शहीद बने । वीरताको गाथा देशभित्र मात्र हैन विश्वभरी नै चम्कियो । तर आजका वीरहरूले देखाउने वीरता फरक भयो । वीरता आज रातारात दासतामा रमाउन थाल्यो । पूँजीवाद र आधुनिक रवाफमा साटिन थाल्यो । आफैँ जन्मेको थलो छाडेर आधुनिक वीरहरू पराइको गुलाम बन्न तयार भए । आज वीरता डलर, विदेशी औपनिवेशिकीकरण, पलायनवाद, पूँजीवाद, फाँसीवाद र अराजक भीडको बखानसँग साटिन थाल्यो । यो वास्तविकतामा नेपाली समाजले कसरी बौद्दिक सम्पत्तिलाई भन्दा भौतिक र देखावटी सम्पत्तिलाई बढी मान्यता दिँदै गइरहेछ, समग्र समाज कसरी पैसा र दौलतमुखी बन्दै गइरहेछ भन्ने देखाउँछ । पैसाकै लागि यी वीरहरू साइबर अपराध र युद्ध अपराधमा फसिरहेछन् । धर्म किनबेचमा तल्लीन आधुनिक वीरहरूले आफू बेचिएको पत्तै पाएका छैनन् ।

तपाईं कवितामार्फत कतै सत्तासँग, कतै समाजसँग त कतै देश छोडेर विदेशिने युवासँग गुनासो गर्दै गरेको भेटिनुहुन्छ । कविहरू स्वभावत: समस्यामुखी हुन् ? समाधानउन्मुख हुनेबेला पो आयो कि !

हरेक कवितामा आदर्श समाज निर्माणको परिकल्पना हुनुपर्छ । कवि यही समाजको उत्पादन हो । कविले समाजमा जे देख्यो त्यही लेख्छ । नकारात्मक सामाजिक विचलन उजागर गरेर सुन्नेहरू समक्ष पुर्याउनु कविको धर्म हो, र यो धर्ममा तटस्थ भएर कवि लागिरहन्छ । कुनै एउटा सत्ता, व्यवस्था, प्रणाली वा पक्षको गुणगान मात्रै गाएर कवि बस्न थाल्यो भने उसले आफ्नो धर्म गुमाउँछ । त्यसैले समाज जबसम्म आदर्शतातर्फ लम्कदैन कवि यसरी नै चिच्याइरहन्छ । कविहरू फूलको कविता लेख्न ज्यादै आतुर छन् । चाँडै फुलोस् त्यो मखमली । मगमगाइरहुन् सयपत्री र बाबरी ।

तपाईँलाई के कस्ता कुराले लेख्न प्रेरित गर्छ ? आफ्नो लेखन प्रक्रियामा बारेमा बताइदिनुस् न !

मेरो लेखनको स्रोत नै समाज, जीवन र जगत् हो । विगतमा मैले बाँचेर आएको त्यो पूर्वस्मृति र वर्तमानमा भोग्दै गरेको नियति पनि मेरा सिर्जनाका आधारभूत आयामहरू हुन् । शुरुबाट नै प्रेमको लालित्य, रोमान्स र सुन्दरताको अघोर बखान मेरो कलमले बुझेन । सामाजिक विचलन, विभेद, कुरीति र त्यसले पारेको प्रभावका चित्रहरूले जब मनको भित्री कुना छुन्छ, म लेख्न बस्छु । म आफैँले बाँचेको जिन्दगानी, बँचाउने प्रकृति र समाजसँग लुकामारी गर्दागर्दै एक्कासी शब्दहरू फुर्छन् । धेरै कविताहरू बाटोमा हिँड्दा हिँड्दै साइड लागेर नोटप्याडमा लेखिएका र घर आइपुगेर अन्तिम रूप दिइएका पनि छन् । लेख्छु भनेर योजना बनाएर बसेको समय म गहन कुरा लेख्न सक्तिनँ । कविताहरू एक्कासि जन्मन्छन् । केहीलाई शब्दमा उतार्छु, धेरै चाहिँ मुर्तरूप नलिई समय सँगसँगै बिलाएर जान्छन् ।

अन्त्यमा, मैले सोध्न छुटाएको तर तपाईंलाई भनौं झैं लागेको केही कुरा भए दिलै खोलेर भनिदिनुस् ।

सिर्जना मानव जीवनको आदर्श हो । समय विकासक्रमसँगै प्रविधि र जीवनशैली परिवर्तन भएको छ तर साहित्य सिर्जना सधैँ मानवले मात्रै गर्छ । समय क्रमसँगै साहित्य सिर्जना र पठन सभ्यता हराउँदै गएको र कतिपय दृष्टान्तमा साहित्य सिर्जनामा ए.आई.जस्ता प्राविधिक संयन्त्र प्रयोग हुन थालेको देखिएको छ जुन साहित्य र सिर्जनाका लागि चुनौतिका रूपमा नै लिनु पर्दछ । साहित्य समाजको अग्रगामी आदर्श हो भने यसलाई बचाउने जिम्मा पनि हामीमाथि नै छ । यही शिलशिलामा “किनाराका गीतहरू” सिर्जना गर्ने र छाप्ने चुनौति मैले लिएँ र साहित्यपोस्ट टिमले हातमा हात मिलाइदिनुभयो । सिर्जनाका किनाराहरूमा हामी सँगसँगै हुनेछौँ र जिम्मेवार सर्जक बनेर राष्ट्र निर्माणमा लाग्ने छौँ ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

Sahityapost

Sahityapost — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम