जडमति
एक जैनमुनि शाकाहारी भोजनको विषयमा प्रवचन दिइरहेका थिए । पशुपन्छीहरूको बडा प्रशंसा गरिरहेका थिए कि तिनीहरूमा पनि आत्मा छ, तिनमा पनि जीवन छ, जसले अरूलाई दुःख दिन्छ, त्यसले पनि आखिरमा दुःख पाउनेछ ।
फकिर मुल्ला नसिरुद्दीन उनको कुरा सुनिरहेका थिए । अचानक उभिए र उनलाई भने, “तपाईं बिलकुल ठीक भनिरहनु भएको छ । एक चोटि एउटा माछाले मेरो प्राण बचाएको थियो ।“
उसका कुराले मुनि धेरै आनन्दित भए । मुल्लालाई आफ्नो साथमा बसाए, पीठ थपथपाए । अनि श्रोताहरूसित भन्न थाले, “हेर, प्रत्यक्ष प्रमाण । अनि तिमीहरू चाहिँ माछा खान्छौ नि !”
मुल्लालाई भने, “तिमी मेरो साथमै बस्नुपर्छ । तिमी प्रत्यक्ष प्रमाण हौ । जबजब मुनि प्रवचन दिन्थे, मुल्लालाई देखाउँदै भन्थे – हेर, यी मुल्लालाई । भनिदेऊ मानिसहरूलाई । मुल्ला भनिदिन्थे– एक चोटि माछाले मेरो ज्यान बचाएको थियो ।“
केही दिन बितेर गए । एकदिन मुनिले सोधे, “माछाले ज्यान बचाएको कुरा बिस्तारमा त बताऊ । कसरी बचाएको थियो ?”
मुल्लाले भने, त्यो कुरा तपाईंले नसोधेको भए नै ठीक हुन्थ्यो । एक चोटि म बिलकुल भोको थिएँ । र एउटा माछो मात्र खाएर बाँचेको थिएँ । नत्र त ज्यानै गैसकेको थियो । म त्यो माछोप्रति बहुत ऋणी छु ।“
तिम्रो व्यक्तित्व, तिम्रो कृत्य, तिम्रो वक्तव्य, तिम्रो साधना, तिम्रो अभ्यास, तिम्रो उपवास, व्रत, नियम इत्यादि कसले साध्ला ? कसले गर्ला ? तर एक तत्त्व तिमी भित्र छ जुन तिमी होइनौ । बस त्यही नै एक मात्र आशा हो । तिमीभित्र एक द्रष्टा भाव छ । एक साक्षी भाव छ जो तिमी होइनौ । बस् त्यही साक्षी भाव जगाउनु छ ।
(मृत्योर्मा अमृत गमयबाट)
* * *
शास्त्रीय संगीत
एउटा काग हतारमा उडिरहेको थियो । अर्को कोइलीले उसलाई सोध्यो, “काका, कता उडिरहनु भएको छ, बडा तेजीमा हुनुहुन्छ ।”
कागले भन्यो, “म पूर्वतिर गैरहेको छु । यहाँका मानिस मूर्ख छन् । नासमझ छन् । शास्त्रीय संगीतलाई बुझ्नै सक्तैनन् । जतिखेर म शास्त्रीय संगीत निकाल्छु मानिस मलाई धपाउँछन् । ताली बजाएर उडाउँछन् । ‘यहाँबाट हट !’ भनी गाली दिन्छन् । त्यसैले म पूर्वतिर लागेको हुँ । मैले सुनेको छु, पूर्वका मानिस शास्त्रीय संगीतका ठूला पारखी छन् । म त अब पूर्वमै गएर आफ्ना गीत गाउँछु ।”
कोइलीले भन्यो, “काका, तपाईंको जो मर्जी । जहाँ जाने हो जानुस्, तर ख्याल राख्नुस्, सबै ठाउँका मान्छे एकै हुन् । तपाईंको शास्त्रीय संगीतलाई काहीँ पनि मन पराउँदैनन् । राम्रो त यो हुन्छ, तपाईं यसलाई संगीत सम्झिन छोडिदिनुस् । असल त यो हुन्छ कि तिमी जस्तो छौ, त्यसै रूपमा आफूलाई स्वीकार गर ।”
अनि यो कुरामा ध्यान राख्नू, यो जरूरी छैन कि तिमी जस्तो छौ, त्यसै रूपमा अरूले पनि स्वीकार गरून् । त्यसैले साधकको लागि सबभन्दा ठूलो प्रश्न नै यही हो कि यदि अर्कोले स्वीकार गरेन भने गर्ने के ? किनकि हाम्रो आकाङ्क्षा त सबैले स्वीकार गरून् भन्ने नै हुन्छ । त्यही आम आकाङ्क्षाको कारणले त हामी झूटतिर लाग्छौँ । किनकि मानिसले जुन रूपमा स्वीकार गर्ने हुन्, हामी त्यही रूपमा आफूलाई देखाउन थाल्दछौँ । किनकि हाम्रो मनमा गहिरो आकाङ्क्षा रहेको हुन्छ कि अर्कोले सम्मान देओस्, सत्कार देओस् भन्ने ।
सन्न्यासी त्यही नै हो, जसले भन्दछ– न मलाई सत्कार चाहिन्छ, न सम्मान चाहिन्छ, न मलाई अपमानकै चिन्ता छ । म त जस्तो छु । त्यस्तै नै जिउनेछु । तिमी सम्मान दिन्छौ त्यो पनि ठीक, अपमान दिन्छौ त्यो पनि ठीक । त्यो तिम्रो प्रश्न हो । त्यो तिम्रो समस्या हो । मेरो त्यसमा कुनै लेनादेना छैन । न तिम्रो सम्मानबाट म प्रसन्न रहनेछु । न तिम्रो अपमानबाट अप्रसन्न रहनेछु । म तिम्रो सम्मान असम्मानको सिक्कालाई कुनै मूल्य नै दिन्न । तिमीले मलाई चलाउन सक्नेछैनौ । अनि तिमी मेरो मालिक हुन सक्ने छैनौ ।
(सहजयोगबाट)
* * *
सकाम कर्म
म एउटा घरमा बास बसेको थिएँ । घरबेटी चिन्तित थिए । बडा परेशानीमा थिए । उनलाई राति निद्रा पर्दैनथ्यो ।
मैले सोधेँ, “कुरा के हो ?”
उनले भने, “के बताऊँ, खत्तमै भयो, पाँचलाख नोक्सान भयो ।“
स्वाभाविक हो, पाँचलाख नोक्सान पर्नु सानो कुरा होइन ।
मैले उनकी पत्नीलाई सोधेँ, “के भएको हो ? कसरी भयो पाँचलाख नोक्सान ?”
उनकी पत्नीले भनिन्, “तपाईं यिनको कुराको पछि नलाग्नुस्, पाँचलाख नोक्सान भएको होइन, पाँचलाख फाइदा भएको छ ।“
उनको कुराले म त मुश्किलमा परेँ । मैले भनेँ कि तपाईं के भन्दै हुनुहुन्छ ?
उनले भनिन्, “बिलकुल ठीक भनिरहेकी छु । उनलाई दशलाख फाइदा हुने आशा थियो, पाँचलाख मात्र फाइदा आयो, त्यसैले उनलाई पाँचलाख नोक्सान भएको हो । निदहराम भएको छ । औषधि चलिरहेको छ । ब्लडप्रेसर बढिरहेको छ । पाँचलाख लाभ भएको कुरा सम्झाउन कुनै उपाय नै छैन ।“
उनले भने, “पाँचलाख के ? दशलाख पनि हुनसक्थ्यो । पन्ध्र पनि हुनसक्थ्यो । पाँचलाखको कुनै सवालै होइन । पाँचलाख त सुनिश्चित नोक्सान भएको छ ।“
यही हो सकाम बुद्धि । लाभ भए पनि हानी मात्र देख्छ सकाम बुद्धिले किनकि अपेक्षाको कुनै अन्त छैन । जे मिलेको छ, त्यो सधैँ सानो हुन्छ । जे मिले पनि त्यसले कहिल्यै तृप्ति दिँदैन । जे मिले पनि त्यसले कहिल्यै सन्तोषको झलक दिँदैन । सकाम कर्म सधैँ असफल रहन्छ ।
कृष्ण भन्दछन्– निष्काम कर्मको एक सानो कृत्यमा पनि सफलता रहन्छ ।
(गीता दर्शन भाग १ बाट)
* * *
मनको शान्ति
जोसुआ लियबमेनले आफ्नो संस्मरण लेखेका छन् । संस्मरणको किताबको जुन नाम राखेका छन्, त्यो धेरै राम्रो छ । किताबको पहिलो हिस्सामै जुन कुरो उल्लेख गरेका छन्, त्यो मूल्यवान् छ । भनेका छन् कि जवान थिए, विश्वविद्यालयबाट पढेर फर्केको थिएँ । त्यतिखेर मेरो मनमा एउटा विचार आयो, अब जीवनको एक नक्सा बनाउँछु कि जीवनमा के के चीज प्राप्त गर्नुपर्ने हो ? स्वाभाविक कुरा हो, जीवनको एक नक्सा होस्, अनि जीवनलाई सुव्यवस्थित रूपमा चलाउन सकियोस् ।
त्यसपछि उनले एक फेहरिस्त तयार गरे । त्यस फेहरिस्तमा लेखे कि धन चाहिन्छ, सुन्दर पत्नी चाहिन्छ, सम्मान चाहिन्छ, सदाचार चाहिन्छ… … …। त्यस्तै बीस–बाइस बुँदाको फेहरिस्त तयार भयो । त्यसैमा सबै चीज आए । जुन मानिसले चाहना राख्तछ । जे जे चाहना हुन सक्छन् ती सबै आई नै हाल्यो । मानिसका जे माग हुनसक्छन्, ती सबै आए ।
पूरै फेहरिस्तलाई बारबार पढ्छन् तर केही छुटे जस्तो लाग्छ । किनकि उसले जीवनभरिको नक्सा बनाएको हो तर पनि अधुरो अधुरो लाग्छ ।
अनेक खोजी गर्दा पनि के छुट्यो थाहा हुन सकेन । तर सबै चीज आएर पनि समथिङ इज मिसिङ जस्तो भो । उसलाई हरबखत लागिरह्यो, केही चीज हराएको छ, केही न केही चीज छुटेको छ । किन यस्तो लागिरहेको छ ? थाहा पाउन सकेन ।
राति सुत्दा पनि उसलाई शान्ति भएन, के छुट्यो, के छुट्यो ? मनमा औडाह उठिरह्यो । मन खालीखाली रह्यो । उसलाई शान्ति भएन ।
त्यसपछि ऊ गाउँको एक बूढो फकिरको सामु गयो । उसले फकिरलाई भन्यो, “यस गाउँमा तपाईं सबभन्दा बूढो मानिस हुनुहुन्छ । सबभन्दा ज्यादा जिन्दगी तपाईंले देख्नुभएको छ । र तपाईंले गृहस्थीको मात्र जिन्दगी देख्नु भएन कि सन्न्यासीको पनि देख्नु भएको छ ।
तपाईं भन्दा अनुभवी अरू कोही छैन । त्यसैले मैले यो फेहरिस्त लिएर आएको छु , कुनै चीज यसमा थप्न बाँकी छ भने बताइदिनुस् ।
ती बूढाले पूरै फेहरिस्त पढे, अनि उनी हाँसे र कलम झिकेर पूरै फेहरिस्त काटिदिए ।
र पूरै फेहरिस्तको माथि ठूलठूला अक्षरमा तीन शब्द लेखिदिए – पीस अफ माइन्ड । मनको शान्ति ।
उनले भने, “बाँकी यी सबै कुराको फिक्री छोडिदेऊ । तिमी यो एउटै चीज प्राप्त गर, त्यसपछि यी बाँकी कुरा सबै मिल्न सक्छन्, र यदि तिमीले बाँकी सबै कुरा पायौ तर मैले तीन शब्दमा लेखेको यो चीज पाएनौ भने जीवनको आनन्द र शान्ति प्राप्त हुनेछैन ।
(गीता दर्शन भाग १ बाट )
* * *
समाधिस्थ स्थिति
बुद्ध एउटा गाउँमा हिँडिरहेका थिए । केही मानिस उनलाई गाली दिइरहेका छन् । उनी हाँसेर अघि बढिरहेका छन् । केही भिक्षुले उनलाई सोधे, “उनीहरूले तपाईंलाई गाली दिइरहेका छन् । तपाईंले तिनको जवाफ फर्काउनु भएन ?”
बुद्धले भने, “मैले पनि कुनै बेला उनीहरूलाई गाली दिएको थिएँ होला, त्यसैको उत्तर उनीहरू अहिले दिइरहेका छन् ।“
अब पनि अघिको सिलसिला के जारी राख्नु ? जरूर मैले अघि कुनै समयमा उनीहरूलाई गाली गरेको हुँला, नत्र भने उनीहरूले यति कष्ट किन गर्थे ? अकारण त कुनै पनि कुरा घटित हुन सक्तैन । कहिले मैले गाली दिएकै थिएँ होला, त्यसको उत्तर पाउन बाँकी थियो होला, अहिले त्यही उत्तर मलाई उनीहरू दिइरहेका छन् । अहिले फेरि मैले उनीहरूलाई गाली दिएँ भने अगाडिको सिलसिला जारी हुन्छ । सौदाबाजी शुरू हुन्छ । लेनादेना जारी हुन्छ । अहिले म खुशी छु । अब अगाडि उनीहरूसित कुनै लेनादेना बाँकी रहेन । अब म अगाडि बढ्दछु ।
ठीकसित सम्झ, असलमा ज्ञानी पुरुष बोझ आफ्नो शिरमा हाल्दैनन् । त्यस बोझलाई परमात्मा उपर छोडिदिन्छन् । साँचो कुरा त यो हो कि पूरै बोझ परमात्मा उपर छोडिदिन्छन् । र जुन पुराना आदतहरूले हमला गर्छन्, त्यसलाई उनीहरू पछिल्लो कर्मका फल मानेर साक्षी भावले झेल्दछन् । त्यसमा उनीहरू कुनै दुःख पनि लिँदैनन् भन्दछन् कि ठीक ! हिजो मैले गरेको थिएँ, त्यसैले यस्तो भयो ।
(गीता दर्शन भाग–१बाट)

