Sahityapost
Nabil Bank

कला बुझ्ने चेत

तीर्थ निरौला · पढ्ने समय: 6 मिनेट
कला बुझ्ने चेत

मलाई चिया पसलमा एकजना मित्रले भने, “म तपाईंको चित्रकला बुझ्नै सक्दिनँ । प्रायः तपाईंका चित्रहरू हत्पत्ति बुझिँदैनन् ।” आधुनिक चित्रकला र मूर्तिकला राम्रा त देखिन्छन् तर बुझिँदैनन् ।

मलाई मित्रले भनेजस्तै अधिकांश नेपाली कला (चित्रकला, मूर्तिकला) का दर्शकहरू आधुनिक कलालाई यसै भन्छन् । के हामीमा कलाज्ञान वा कलाचेतनाको अभावले यस्तो भएको हो त ? कलाबारे भनिन्छ, कला जो कोहीलाई पनि राम्रो लाग्छ । अशान्तिले शिथिल भएको मन कुनै पनि किसिमको अनुपम कलाको नजिक पुगेपछि स्वाभाविक रूपमा आनन्दले विभोर हुन्छ । दर्शकहरू कौतूहलतापूर्ण सुखानुभूति गर्छन् । सौन्दर्य र भावको करुणरस समेटिएको कलामा उनीहरूको दृष्टिगोचर हुँदा, हृदयाकाश रोमाञ्चित बन्दै, मन र मस्तिष्क शीतलतामा लुटपुटिन थाल्छ । कला सौन्दर्यको यस्तो अलौकिक आकर्षणले साधारण मान्छेलाई मात्र मोहित पारेको हुँदैन । यसका अगाडि हिंसाका ठूल्ठूला क्रूर हिमायतीहरू पनि नतःमस्तक हुन्छन्, वशीभूत हुन्छन् र भएका इतिहासहरू पनि छन् । Image property of the Albright-Knox Art Gallery, Buffalo, NY. हिटलरजस्ता शासकले पनि कलामा सौख राखेको र कलाप्रदर्शनीहरू हेर्न बारम्बार कलाग्यालरीहरू जाने गरेको इतिहास हामीसँग ज्यूँका त्यूँ छ । वास्तवमा कलाको यस्तो मोहिनी शक्तिका अगाडि कला बुझिँदैनन् भन्ने अभिव्यक्ति आउनु व्यक्तिगत कलाज्ञान वा कलाचेतको अभावका कारणले नै हो ।

विश्वकलाको इतिहासमा, अल्तानियरको गुफाकाल हुँदै, ईसापूर्व कालदेखि नै व्यवस्थित र सम्मानित बनी, १९औँ शताब्दीको अन्त्यसम्ममा ठूलै परिवर्तनका फट्काहरू पार गरेर २०औँ शताब्दीमा पाइला टेकिरहेको समसामयिक वा आधुनिक कलालाई बुझ्न, यसका मर्म र मान्यताहरू सबै बुझ्न जरूरी हुन्छ वा बुझ्न सक्नुपर्छ । कलामा प्रयोग भएका उतिबेलाका सामाजिक र राजनीतिक प्रभाव, कलाको प्रविधि, प्रवृत्ति अर्थात् यसका ‘आधारभूत सैद्धान्तिक’ ज्ञानबारे दर्शकहरू जानकार नभई आधुनिक कला पचाउन वा बुझ्न जो कोहीलाई हम्मेहम्मे नै हुने गर्छ ।

हिजोका दिनमा कलाका सिद्धान्तहरू जन्माएका ग्रुनेवाल, लियोनार्दो दा भिञ्ची (१४५९—१५१९), इटलीका कलाकार राफेल (१४८३—१५२०), रेम्ब्रान्ट, डच कलाकार भिन्सेन्ट विलियम भ्यानगग (१८५३—९०), फ्रान्सका प्रभाववादी कलाकार क्लाउड मोनेट (१८४०—१८२६), स्पेनिस कलाकार साल्भाडोर डाली (१९०४—८९), फ्रान्सका अर्का प्रभाववादी कलाकार पिसारो (१८३०—१९०३), फ्रान्सकै पल सेजान (१८३९—१९०६), दोमियर (१८०८—७९), त्यस्तै घनवादका महारथी स्पेनिस कलाकार पाब्लो पिकासो र ब्राक (१८८१—१९७३), फ्रान्सका ‘रियालिस्टिक’ चित्रकार कुर्वे (१८१९—७७), अमूर्तकलाका जन्मदाता रसियन कलाकार वासिली कान्दस्की (१८६६—१९४४), अमेरिकाका ‘एक्सन पेन्टर’ ज्याक्सन पोलक (१९१२—५६), डच चित्रकार विलियम डि कनिङ्ग आदि लगायत थुप्रै विश्वप्रसिद्ध कलाकारहरूको सङ्घर्षशील कलाजीवन र कसरी उनीहरूले कलाकर्मद्वारा कलाका सिद्धान्तहरू स्थापित गर्दै लगे कला क्रान्तिको बिगुल फुके भन्ने सारगर्भित र मार्मिक इतिहासलाई नबुझी समसामयिक कलाको बुझाइमा मेसो पाउन सकिँदैन । अर्थात् आधुनिक कला बुझ्न कलाका शैली, सिद्धान्त वा वादहरूलाई दर्शकहरूले थौरै भए पनि हेक्का राख्नै पर्छ । यसको आधारभूत ज्ञान र अध्ययनले नै आधुनिक वा समसामयिक कला बुझ्न र बुझाउनमा मद्दत गर्छ ।

शिकारी युगदेखि नै मानिसको जीवन र जगतसँग अन्योन्याश्रित सम्बन्ध रहेको कलाविद्याको बुझाइका सन्दर्भमा केन्नेथ क्वार्कले एक ठाउँमा भनेका छन् — ‘कला सम्पूर्णतः हाम्रा ज्ञान, हाम्रा स्मृति र हाम्रा सम्बन्धहरूसँग सम्बन्धित छन् ।’

उनको भनाइको तात्पर्य कला हाम्रो बुझाइ वा हामीभन्दा टाढा हुँदैन भन्ने हो । उनको अभिव्यक्तिमा मानवले प्रयत्न गरे कला बुझिन्छ भन्ने अप्रत्यक्ष अर्थ लुकेको छ । कला बुझ्न विगतको कला आन्दोलनबारे संक्षिप्त वा न्यूनतम ज्ञान नभई हुँदैन । क्रोचेले मनःसृष्टि वा अन्तरज्ञान मानेको कलाविधा वास्तवमा मानव जीवनमा मानवजातिको सबैभन्दा ठूलो उपलब्धिपूर्ण वैचारिक विद्या हो । कसरी कलाकृतिहरूले हिजोको कलाधार र युग बोलेका छन् ? पुराना कृतिहरू आज के कारणले विश्वका अमूल्य निधि बनेका हुन् ? ती आज कसरी परिभाषित भएका छन् ? भन्ने उत्तर जान्न र यसलाई विश्वभाषा मानिने र जीवन र जगतको निम्ति नैसर्गिक तत्त्व ठानिने कारणको भेउ थाहा पाउन कला इतिहासको जानकारी हुनैपर्छ ।

कला इतिहासको जानकारीले नै आधुनिक कलाको बुझाइको मेसोमा हिँड्न सकिन्छ । नेपाली कलाकारहरू भन्छन् — ‘यहाँका कतिपय नेपाली कलादर्शकहरू विदेशीको देखासिकीमा कलालाई मन पराएजस्तो गरेर एक दुई चित्र त किनेर लैजान्छन्, तर उनीहरू कलाको मूल्य र मान्यताको गहिराइसम्म पुगेका छैनन् ।’ उनीहरूले सही कुरा गरेका छन् । वास्तवमा हामीमा विदेशीको जस्तो कला बुझ्ने चेतनाको पूर्ण विकास अझै भइसकेको छैन । आधुनिक कलालाई विकसित मुलुकहरूका जनताहरूले बुझ्न सक्नुका पछाडि उनीहरूमा विद्यमान कला र कलावादहरूको बेलैदेखिको सुझबुझ, कला इतिहासको अध्ययन, कलाप्रविधि र प्रवृत्तिहरूको ज्ञान भएर नै हो ।

हिजो परम्परागत मान्यतालाई उल्लङ्घन गरेका कुर्बेले अपनाएको नवकलाशैलीको मान्यताले आधुनिक कलाको प्रयोगको मार्गलाई खुला बनाएको हो । एडुवर्ड माने, भ्यानगगहरू त आधुनिक कलाआन्दोलनका प्रभाववादी शैलीका महान् अगुवा प्रवर्तकहरू नै हुन् । भिञ्चीको यथार्थवाद, पिसारोको बिन्दुवाद, पिकासोको घनवाद, कान्डिनस्कीको अमूर्तवाद आदि जस्ता वादहरू कलाआन्दोलनको सङ्क्रमणीय अवस्थामा विकास भएका कलाका सैद्धान्तिक आयामहरू हुन् । यी आयामहरूको विकास विश्व इतिहासकै ठूलो उपलब्धि हो । वास्तवमा कलामाथि गरिएको नवप्रयोगले नै यी कलाकार र उनका कलाकृतिहरू आज उँचो उठेका हुन् । साथै कला, कलाका निम्ति वा कला, समाजका निम्ति भन्ने प्रयोगमा भिजेर आएको कलाले समाज र राजनीतिको क्षेत्रमा जुन प्रभाव छोडेको छ वा समाजमा यिनीहरूको जुन प्रकारको उपादेयता छ त्यसलाई युगले कालान्तरसम्म बिर्सने छैन । किनकि मानव सृजित भएता पनि कलाहरू कालजयी र सार्वकालिक हुन्छन् ।

प्रथम र दोस्रो विश्वयुद्धको विभीषिकाले जन्माएका सांसारिक द्वन्द्वको निराशाबाट प्रभावित पाब्लो पिकासोको ‘गोयर्निका’ शीर्षकको चित्रकृतिले युद्धको उन्माद लिप्साहरूप्रति चोटिलो व्यङ्ग्य कसेकोले ‘गोयर्निका’ चित्र समाजका निमित्त आज विश्वसम्पदाका रूपमा प्रतिष्ठित बनेको छ । त्यस्तै नेपोलियन बोनापार्टका सैनिकहरूले स्पेनी जनतामाथि मच्चाएको नरसंहारको प्रतिविम्बलाई स्पेनी कलाकार फ्रान्सिस्को दे गोयाले ‘तेस्रो मे’ शीर्षकको चित्रमा अभिव्यक्ति पोखेकोले त्यस्ता ऐतिहासिक पाठका चित्रहरू आज आदरणीय बनेका हुन् । मेक्सिकोमा जन्मेका, जनताका चित्र कोर्ने समाजवादी मान्यताबाट प्रभावित कलाकार डिएगो रिभरा र पलली जस्ता कलाकारको कलाले जनताका भाका बोलेका र १४औँ शताब्दीका ग्रुनेवालका कृतिले क्राइस्टका यथार्थवादी गीत गाएकाले आज उनीहरूका चित्रहरू बहुमूल्यताको उपल्लो स्थानमा पुगेका हुन् ।

यसै सिलसिलामा शैलीको सन्दर्भमा पनि कलाकार र कलाकृतिहरू समाजको आँखाका नानी बनेका उदाहरणहरू छन् । भेनगागको ‘सन फ्लावर’ शीर्षक नामक चित्र र नौला दृश्यप्रधान चित्रहरू पुरातन कला शैलीप्रतिको सैद्धान्तिक मान्यता विरुद्धमा जन्मिएको प्रभाववादको मूल उपज भएका कारणबाट ती कृतिहरू आज विशिष्ट छन् । लियोनार्दो दा भिञ्चीको ‘मोनालिसा’ चित्रकृति, कलाकौशलतामा देखिएको हुबहुवादी वा वस्तुवादी सोचमा पलाएको नौलो आविष्कार हो । ‘मोनालिसा’ कृतिले पोट्रेट (व्यक्तिचित्र) को संसारमा नौलो जागरण ल्याइदिएकाले पनि यो कृतिको महिमा कलाक्षेत्रमा निरन्तर गाइन्छ । र, हिजोआज त झनै विश्वमञ्चले खोजमूलक रूपमा यसलाई गाउन थालेको छ ।

नेपाली दर्शकहरूलाई आज यस्तै कलाज्ञानको खाँचो छ । विकसित मुलुकहरूमा यस्ता कलाज्ञानहरू बाँड्ने प्रचलन छ । त्यहाँ यस्तो प्रचलन तल्लो श्रेणीको शैक्षिक पाठ्यक्रमबाटै शुरू हुन्छ । नेपालमा पनि यस विधालाई तल्लो तहदेखि नै अनिवार्य शैक्षिक पाठ्यक्रममा राख्नुपर्छ । यसका निम्ति नेपाल सरकार, शैक्षिक निकाय, कला विकासका संयन्त्रहरू बेलैदेखि जागरूक र सचेत बन्न जरुरी छ । यसरी कलाको प्रेमभावलाई सबैले हृदयङ्गम गर्न सके नेपालमा सर्वसाधारण र शिक्षित जमातहरूले कला नबुझिनुको पीडाले सताइनु पर्दैन । अर्कोतर्फ कलाकार र ग्यालरीहरूसँगको, नियमित उठबस र आवतजावतले पनि आजको कला बुझ्नलाई सघाउ पुग्दछ । त्यसैले जोकोही पनि एकपल्ट कला हेर्न प्रदर्शनी स्थलतर्फ जान जरूरी छ ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

तीर्थ निरौला

तीर्थ निरौला — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम