Sahityapost
Nabil Bank

कविता : बन्द कारखानाको देश

गोविन्द सुबेदी · पढ्ने समय: 2 मिनेट
कविता : बन्द कारखानाको देश

धुवाँ उड्यो कहिल्यै ती अग्ला चिम्नीबाट आज त्यही चिम्नीहरू निराशाको कालो आकाश हेरिरहेका छन् ।

मेसिनका आवाजहरू एक समय गीत जस्तै लाग्थे आज कारखानाको पेटभित्र सन्नाटा कराइरहेको छ ।

देशभर रुग्ण उद्योगहरू घाइते सपनाजस्तै थला परेका छन् फलामका ढोकामा ताला झुन्डिएका छन् र हजारौँ हातहरू कामको खोजीमा भौँतारिएका छन् ।

कच्चा पदार्थ आउने बाटो सुकिसकेको नदीजस्तै रोकिएको छ गोदामहरू खाली छन् उद्योगको मुटुमा अब उत्पादन होइन धुलो मात्र थुप्रिएको छ ।

रोजगारका उज्याला बिहानहरू अचानक साँझमा बद्लिए बाबुका काँध निहुरिएका छन् आमाका आँखामा चुल्हो निभ्ने डर छ ।

युवाहरूका सपना पासपोर्टको लाइनमा अडिएका छन् देशभित्र पसिना बगाउने ठाउँ छैन विदेशको मरुभूमिमा भविष्य खोज्न बाध्य छन् ।

बजारहरू सुनसान छन् सटरहरू आधा झरेका नोटको आवाज हराएको छ आर्थिक चक्र जङ्गिएको पाङ्ग्राजस्तो रोकिएको छ ।

कसले सुन्ने अब ती मजदुरका मौन चिच्याहटहरू ? जसले कहिल्यै देशका लागि आफ्नो जीवन घोटे तर आज आफ्नै घरमा भोकसँग सम्झौता गरिरहेका छन् ।

देश केवल नक्सा होइन देश त चलिरहेका उद्योग हुन् चलिरहेका हातहरू हुन् आशाले भरिएका श्रमिकका आँखाहरू हुन् ।

यदि कारखाना रोयो भने देशको मुटु रोइरहेको हुन्छ यदि रोजगार मर्यो भने भोलिको सपना मरेको हुन्छ ।

अब समय छ ताला फोड्ने मेसिन फेरि चलाउने युवाका हातमा फेरि श्रमको सम्मान फर्काउने ।

किनकि उद्योग बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

गोविन्द सुबेदी

गोविन्द सुबेदी — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम