मूल: गिरिराज किशोर
अनुवाद: प्रकाशप्रसाद उपाध्याय
भेडाहरूको बथानको पछाडि लौरो लिएर गडरिया (भेडीगोठालो)लाई हिँडिरहेको देख्दा मृणालबाबुलाई हाँसो आइरहेको थियो । गडरियाले भेडालाई एउटै ठाउँमा जम्मा पार्न मुखबाट नयाँ नयाँ आवाज निकाल्दथ्यो । जति बेला ऊ आफ्नो लौरोलाई भुइँमा बजार्दथ्यो, त्यति बेला भेडाहरू तर्सेर एकअर्कासित टाँसिन पुग्दथे ।
जमादार (चपरासी) ले आएर भन्यो- “हजुर, साहेब आफिस आइसक्नुभो ।” हुन त उनी शिवनाथ बाबुलाई नै भेट्नका निम्ति नै आएका थिए, तर यो सूचनाबाट उनी एकछिनका लागि अलमलमा परे । तर जसै उनले देखे कि ‘जमादार’ उनको अनुहारको बदलिँदो रङ र हाउभाउको विचार गरिरहेको छ, उनी शिवनाथ बाबुका कोठातर्फ लम्के । कोठाबाहिर ‘लुकिङ ग्लास’ झुन्ड्याइएको थियो । एकनजर त्यता पारे, लाग्यो कि उनी अनावश्यक नै सुर्ता गरिरहेछन् । उनको अनुहारमा भयको भाव छ । बिस्तारै पर्दा हटाई पाउपोसमा खुट्टा पुछे र खोक्दै भित्र पसे ।
शिवनाथ बाबु फाइल हेर्नमा लीन थिए । उनको काममा बाधा नपुगोस् भन्ठानेर उनी दुवै हात जोर्दै कुर्सीमा चुपचाप बसे । बसेको केही बेरपछि उनलाई अनुभव भयो कि उनको बसाइ सहज छैन । अर्को कुर्सीमाथि हात फैलाएर बसेका छन्, जसले उनको चिन्ता छर्लङ्ग पार्दै थियो । मृणालबाबुले कुर्सीको तकियामा पिठिउँ जोरेर खुट्टा तन्काए । उनको खुट्टा अफिसको टेबुलमुन्तिर राखिएको काठको पाउदानमा ठोक्किन पुग्यो । अनुहारको रङ बदलियो र नजर शिवनाथ बाबुमाथि पर्यो । तर शिवनाथ बाबुमाथि पाउदानसित खुट्टा ठोकिएको आवाजको कुनै असर परेन । उनी आफ्नो फाइलमाथि नै केन्द्रित रहे । मृणालबाबु उनको कार्यकुशलता र एकाग्रतालाई ध्यानले हेरिरहे, मानौं केही सिक्दै छन् ।
शिवनाथ बाबु फाइल झिक्दथे, रातो फित्ता खोल्दथे अनि ‘फ्लैग’ लागेको पानालाई उल्टाइपल्टाइ गर्दथे । बीचबीचमा पछिल्लो पाना पनि पल्टाउनुपर्ने हुन्थ्यो । पढ्दै गर्दा उनका ओठहरू पनि हल्लिरहेका हुन्थे । अनि कि त कुनै ठाउँमा प्रश्नचिह्न बनाएर वा कनै टिप्पणी लेखेर हस्ताक्षर पार्दथे । मुणालबाबलाई उनको यो क्रिया हेर्दा हेर्दा उराठ लाग्न थाल्यो । यसो हुँदा यताउति चारैतिर हेर्न थाले । चारैपट्टिबाट बन्द ढोका, बलिरहेको लैम्प र फाइलमाथि लैम्पको प्रकाशको परिरहेको घेरा… कुनै दार्शनिकको अन्तस्तलझैँ अनुभव गरे । कोठाको अन्य भागमा त्यो प्रकाशको अभास-मात्र थियो । बस्दाबस्दै मृणालबाबुले नितम्बको एक भाग दुखेको अनुभव गरे, अनि अर्कोपट्टि छड्के परेर बसे ।
शिवनाथ बाबुले जब फाइलहरूमाथिबाट नजर हटाए, अनि मृणालबाबु अकमकाए । उनको सोच थियो कि शिवनाथ बाबुले फाइलमाथिबाट नजर हटाउनुभन्दा पहिले कुनै सङ्केत देलान् । तर यस्तो नभएको पाउँदा उनले बलजफती मुस्कुराउने अभिनय गर्नुपर्यो र उनका शुष्क ओठ चिल्लो रब्बडसरह तन्किए । शिवनाथ बाबुले आफ्नो घना जुंगाहरूभित्र लुकेको स्वाभाविक मुस्कानका साथ सोधे “अँ, भन्नोस्, विभागको काम त ठिक चल्दै छ ?”
मृणालबाबु यिनै कुराहरूमाथि चर्चा गर्न आएका थिए । वास्तवमा उनले शिवनाथ बाबु विदेशबाट फर्केपछि उनलाई भेट्ने अनेकपल्ट प्रयास गरेका थिए, तर शिवनाथ बाबु अत्यधिक व्यस्तताले गर्दा समय दिन भ्याइरहेका थिएनन् । विदेश जानुभन्दा पूर्व शिवनाथ बाबुले उनलाई मन्त्रीपदको शपथ दिलाएका थिए र भनेका थिए- “म चाहन्छु कि तपाईं आफ्नो उही कार्यक्षमता र अक्लमन्दीको याँ’ पनि परिचय दिनुहोला, तपाईंका अतिरिक्त तत्परताको कारणले गर्दा नै त शान्तिशरणले राजीनामा दिनुपरेको थियो । म ठान्दछु… तपाईं ती सम्पूर्ण परिस्थितिहरूलाई राम्ररी बुझ्न सक्नुहुनेछ ।” फेरि बिस्तारै मुस्कुराउँदै भने- “म यस सम्बन्धमा सचेत छु… तपाईंजस्तो मेहनती र इमानदार व्यक्ति साह्रै कम हुन्छन्…” उनी हवाईजहाजमा बसिसकेका भए पनि सबै जना हवाईजहाज नउडुन्जेल त्यहीं उभिइरहे । शिवनाथ बाबु गएपछि धेरै दिनसम्म उनलाई यस्तो लाग्यो, मानौं छोराछोरीलाई स्कुलमा भर्ना गराएर बाबु हिँडेका छन् ।
मृणालबाबुले उनका कुराहरूलाई गाँठो पारे र शिवनाथ बाबु फर्केर आउन्जेलसम्म विभागको कायापलट गर्ने कोशिश गरे । हरेक फाइल उनी स्वयम् हेर्दथे । कुनै पनि फाइल पन्ध्र दिनभन्दा बढी कतै नअड्कोस् भन्ने कडा निर्देश पनि विभागलाई दिएका थिए । गिरिराज किशोर शिवनाथ बाबु विदेशबाट फर्केपछि मृणालबाबुले के अनुभव गरे भने कैबिनेटको मिटिङमा उनले सबै मन्त्रीहरूका कामको कुनै न कुनै रूपमा प्रशंसा गरेका छन्, तर मृणालबाबुका विभागका सम्बन्धमा भने एक शब्द उच्चारण गरेनन् । विभागको काममा पनि अजिब किसिमको परिवर्तन आइरहेको थियो । जुन पनि फाइल विभागबाट झिकाउँदथे, त थाहा हुन्थ्यो कि मुख्यमन्त्रीसित छ । सचिवसित कुरा गर्न खोज्यो त थाहा हुन्थ्यो कि उनी पनि मुख्यमन्त्रीनिर छन् । मृणालबाबुले बुझे कि यो सबै सचिवको बदमासी हो । मुख्यमन्त्रीले कुरा गर्न खोजेका खण्डमा विभागका मन्त्रीलाई डाकेर कुरा गर्नुपर्ने हो । तर उनले यसै बीच के थाहा पाए भने ऊ मुख्यमन्त्रीको मन परेको व्यक्ति हो ।
शिवनाथ बाबुले गर्दन उठाएर कल बेल बजाउँदै उनीतर्फ हेरे र भने- “अँ त, तपाईंले भन्नुभएन के कुरा थियो ?” घण्टी सुनेर जमादार आइपुग्यो । उसले मृणालबाबुपट्टि हेर्यो । शिवनाथ बाबुले मृणालबाबुतर्फ हेर्दै भने- “अलिक यहाँका सचिव… मिस्टर रायको टेलिफोन लगाऊ… म कुरा गर्न चाहन्छु ।”
सामुन्ने आफू बसिरहेकै बेलामा सचिवलाई डाकिनु उनलाई मन परेन । शिवनाथ बाबुले आफूतर्फ आँखाको इशारा गर्दै ‘हुँ’ भनेपछि मृणालबाबुले सोधे- “मिस्टर रायसित… कुनै विभागीय काम छ ?” शिवनाथ बाबुले फाइल पढिराखे, मानौँ उनले केही सुनेनन् । एकछिनका निम्ति शिवनाथ बाबुको अनुहारमा अप्रसन्नताको रेखा उभडेर आयो । केही बेरपछि साहस गर्दै भने- “यता मैले आफ्नो विभागमा …अर्थात् विभागलाई बुझ्ने निकै कोशिश गरेको छु अनेक स्किमहरू मेरो दिमागमा छन् ।”
उनको वाक्य पूरा भएपछि शिवनाथ बाबुले ठूलो स्वरमा “हुँ” भने । मृणालबाबुले यो “हुँ” उनको कुराका लागि गरिएको हो कि फाइल पढ्दापढ्दै मुखबाट स्वतः निस्केको हो, केही बुझ्न सकेनन् । फाइल बाँध्दै उनी मुस्कुराए र भन्न थाले “अच्छा ।”
“अच्छा” सुनेर उनी मृणालबाबु अति उत्साहित भए र भन्न थाले-” मिस्टर रायले पटक्कै सहयोग गरिराखेका छैनन् । कुनै पनि फाइल मनिर आउँदैन । माग्दा जबाफ हुन्छ- “मुख्यमन्त्रीकाँ’ गएको छ । अब तपाईं फाइल झिकाएर के गर्नुहुन्छ ? मलाई मन्त्री बनाउने तपाईं नै त हो… तपाईंको विश्वासपात्र रहेको छु । तर मिस्टर राय त… तपाईंलाई थाहै छ.. उनी अत्यन्त चालु छन्…” फेरि केही अड्दै र सङ्कोचका साथ भने- मिस्टर राय ठान्दछन् कि म तपाईलाई यी सबै कुरा भन्न डराउने छु.. नयाँ नयाँ व्यक्ति हुँ…”
शिवनाथ बाबुलाई फेरि फाइल पढ्नमा व्यस्त देख्दा मणालबाबुलाई असह्य हुन थाल्यो । यसै बीच जमादारले जब आएर भन्यो- रायसाहेब कोठीमा छैनन् – मन्दिर गएका छन्, अनि शिवनाथ बाबु केही नभनी कुर्सीबाट जुरुक्क उठे र मृणालबाबुतर्फ हेर्दै नमस्तेको मुद्रामा भने- “लौ त ।”
मृणालबाबुलाई लाग्यो कि उनलाई कोठीबाट धक्का मारेर निकाल्न लगाइएको छ । तेज गतिले निस्के । बाहिर निस्किनेबित्तिकै उनको नजर जमादारमाथि पर्यो । ऊ बडो हाउभाउका साथ उनको ड्राइभरसित कुरा गर्दै थियो । उसको हाँसोले यो सङ्केत गर्दै थियो कि ऊ कसैको नक्कल गर्दै रमाइरहेछ । उसको यो हाउभाउ मृणालबाबुलाई मन परेन । कारमा बस्दै उनले ड्राइभरसित सोधे “के भन्दै थियो यो जमादार ?”
अलिक अकमकाउँदै भन्यो- “ज्यू, केही हैन ।”
“केही किन होइन..?” मृणालबाबुले अलिक कड्केर उसकै भाषामा सोधे ।
ड्राइभरले यो भन्दै आफ्नो ज्यान बचाउन खोज्यो- “हजुर, आपस्तकै कुरा थियो ।”
तर मृणालबाबुलाई यतिबाट पनि सन्तोष भएन र स्पष्ट हुँदै सोधे- “के मेरो सम्बन्धमा केही भन्दै थियो ?”
ड्राइभरले उनीपट्टि हेर्न आफ्नो गर्दन घुमायो । उनी पछिल्लो सिटमा देब्रेपट्टिको कुनामा बसेका थिए । सामुन्ने माथिपट्टिको ऐना पनि अर्को कोणमा थियो । ड्राइभरले सामुन्नेतर्फ नै हेर्दै भन्नुपर्यो- “हजुर, अरू त केही हैन, … मात्र यति सोध्दै थियो, मुख्यमन्त्रीजी, तिम्रो साहेबसित किन नाखुस छन् ? भर्खरभर्खरै त मन्त्री भएका हुन् ।”
मृणालबाबुलाई भयङ्कर रिस उठ्यो । उनले भन्न चाहे- “शिवनाथ बाबु मसँग अप्रसन्न किन हुने होला … बरु म नै उनीसँग अप्रसन्न छु…”, तर भनेनन् र आँखा चिम्लेर बसे । यसो गर्दा पनि उनको क्रोध कम भएको थिएन । नाकका पोरा फुलेर आए र उनी यो सोच्न थाले कि घर गएर राजीनामा दिने छन् । मन्त्री बन्नुभन्दापूर्व उनीप्रति शिवनाथ बाबुको व्यवहार र अहिलेको व्यवहारमा अब ठुलो अन्तर देखिन्छ । एकाएक उनलाई आभास भयो कि उनी स्वयमसँग बोल्दै छन् । सोझो भएर बसे र यो सोच्दै ड्राइभरतिर हेर्न थाले कि कतै उसले उनको हाउभाउ त देखेन । तर जब उनको नजर सामुन्नेको ऐनापट्टि पर्यो, अनि उनले देखे कि ऐनाको कोण बदलिएको छ । सबै स्थितिमाथि विचार गर्दा उनलाई यस्तो लाग्यो, मानौँ उनी बन्दी बनाइएका छन् ।
आजको परिस्थिति पहिलेकोभन्दा एकदम भिन्न थियो । जति बेला शिवनाथ बाबु उनलाई मन्त्रिपदका निम्ति निम्त्याउन पुगेका थिए, त्यति बेला उनी कत्ति मधुर र एवम् स्नेहशील देखापर्दै थिए। मृणालबाबुलाई उनको त्यो ‘डायलग’ याद भएर आयो, जति बेला उनले भनेका थिए- “मलाई थाहा छ तपाईं एकजना स्पष्टवादी र इमानदार व्यक्ति हुनुहुन्छ… पार्टीको सचेतक भएर पनि तपाईंले मेरो सरकारको विरोध गर्नुभो’ । शान्तिशरणले तपाईंकै कारणले गर्दा राजीनामा दिनुपर्यो…।” यति भन्दै उनी हाँसेका पनि थिए । फेरि गम्भीर हुँदै भनेका पनि थिए- “मैले चाहेका भए, तपाईंलाई पार्टी र सदनबाट निष्कासित गराउन सक्थें । तर मलाई थाहा छ, आफ्ना विधायकहरूमध्ये पार्टीभित्र तपाईंजस्तो सुझबुझ भएको व्यक्ति कोही पनि छैन…।” शपथ ग्रहणको दिन पनि राजभवनसम्म लैजान आफ्नो रातो बत्ती भएको गाडी पठाएका थिए । मृणालबाबु सोच्न थाले- “त्यति बेला उनको अनुहारमा बालसुलभ सरलता र निस्पृहता थियो । तर आजको अनुहार …।
ड्राइभरले यत्ति जोरले ब्रेक लगायो कि मृणालबाबुलाई एक्सिडेन्ट भएजस्तो लाग्यो । तर बाखीको कुनै पाठीलाई कारमुन्तिर आउनबाट जोगाउन ड्राइभरले यसो गर्नुपरेको थियो । मृणालबाबुलाई पाठीप्रति दया जागेर आयो ।
* * * * *
उनको गाडी पोर्टिकामा गएर अड्यो । बरन्डामा मानिसहरूको ठूलो जमघट थियो । उनलाई कारबाट ओर्लेर फर्कने मन गर्यो, उनीहरूले हिजो मात्रै भेटेका थिए । र मृणालबाबुले भोलि जबाफ दिने कुरा गरेका थिए । उनको अनुमान थियो कि उनी सरकारलाई तिनीहरूका सर्त स्वीकार गर्नका निम्ति राजी गराउन समर्थ हुनेछन् । एउटा औद्योगिक बस्तीको मामिला थियो । सरकारले जुन झोपड बस्तीलाई अधिग्रहण गर्न खोजेको थियो, त्यहाँ बस्ने मानिसहरूको माग थियो मुआवजाको ठाउँमा फैक्ट्रीमा स्थायी जागीर र बस्नका निम्ति औद्योगिक बस्तीमा कम बहाल तिर्ने गरी आवास उपलब्ध गराइयोस् । तर सरकार यो कुराको पक्षमा थिएन र मुआवजा दिएर मुक्त हुन चाहन्थ्यो । यही मुद्दा शान्तिशरणको मन्त्रित्वकालमा उठेको थियो र आजसम्म विद्यमान थियो । यसै मुद्दामाथि सल्लाह गर्न उनी मुख्यमन्त्रीसमक्ष पुगेका थिए । प्रतिनिधिमण्डल फर्केर गएपछि उनले सचिवलाई फोन गर्दै यो विषयको फाइल लिएर आउन भनेका थिए । तर सचिवले यो भन्दै पिण्ड छटायो कि फाइल मुख्यमन्त्रीकहाँ छ । मृणालबाबुलाई यो सुनेर यत्ति रिस उठ्यो कि उनले सचिवलाई कनै पनि फाइल उनको मर्जीबेगर मुख्यमन्त्रीकहाँ नपठाइयोस् भन्दै फोनमै हप्काउन थालेका थिए । उनको यो भनाइको सचिवले जबाफ दिनु जरूरी ठानेनन् ।
तर मुख्यमन्त्रीको व्यवहारबाट मृणालबाबु निकै क्षुब्ध थिए । औद्योगिक बस्तीका बारेमा कुरा गर्न नपाउँदा उनी आफूलाई अत्यन्त अजिब स्थितिमा फँसेको महसुस गर्दै थिए। उनले यी मानिसहरूलाई मुख्यमन्त्रीनिर पठाउने निर्णय गरे। तर शिवनाथ बाबुसँग सल्लाह नगरीकन उनीहरूलाई कुनै किसिमको आश्वासन दिनुको अर्थ हुन्थ्यो – आफूलाई पनि शान्तिशरणसरहकै स्थितिमा पार्नु ।
मृणालबाबुले जति बेला उनीहरूलाई मुख्यमन्त्रीलाई भेट्ने सुझाव दिए, त्यति बेला विपक्षी दलका एकजना विधायक एवम् डेपुटेसनका नेताले झर्किदै भने- “तपाईं पनि शान्तिशरणको जस्तै कुरा गर्दै हुनुहुन्छ । विभागीय मन्त्री तपाईं कि मुख्यमन्त्री ! मुख्यमन्त्री भन्दछन्- “तपाईंहरू शान्तिशरणलाई बेइमान र अल्पबुद्धिको ठान्नुहुन्थ्यो । अब त मैले विधानसभाको सबैभन्दा इमानदार र तपाईंहरूका विश्वासपात्रलाई त्यसै विभागको मन्त्री बनाइदिएको छु। अब पनि तपाईंहरू मनिर नै धाउने गर्नुहुन्छ…” मृणालबाबुले खामोसीका साथ सबै कुरा सुनिरहे । उनलाई लाग्यो कि ढोका खोल्दा चुकुल फुस्केर हातमा झर्यो । एकपल्ट त उनलाई यो भन्दिने मन भयो कि म त नाम मात्रको मिनिस्टर हूँ…तर सबैका सामुन्ने यसो भन्नु पनि आफ्नै अपमान गर्नु हुनेजस्तो लाग्यो । यसो हुँदा, “तपाईंहरू ढुक्क बस्नोस्,… मबाट हुनेजति म अवश्य गर्ने छ,” भन्नु नै उपयुक्त ठाने । र यति भन्दै नमस्ते गरी कोठाभित्र पसे ।
मृणालबाबुलाई यो अनुभव हुन थाल्यो कि उनलाई एउटा योजनाबद्ध तरिकाले जालमा पारिएको छ । एकपटक फेरि राजीनामा दिने कुरा दिमागमा आयो । तर … यो त पहाडजस्तै भीमकाय लाग्यो । उनका आँखाअगाडि ती सबै स्थितिको चित्र प्रकट हुन थाल्यो, जुन राजीनामाका कारण उत्पन्न हुन सक्दछन् । यदि शिवनाथ बाबुले जानाजानी उनका लागि कुनै स्थितिविशेषको निर्माण गरेका हुन् भने यो राजीनामा उनकै पक्षमा जाने छ । मानिसहरूले पनि भन्न थाल्ने छन्, “विधानसभामा त बडो हल्ला मच्चाउने गर्दथ्यो… अब काम गर्ने बेला आयो त दाँत फुस्केको बुढो सिंहसरह भएको छ ।” यो कुराको प्रचार यो रूपमा पनि हुन सक्दछ कि त्यागपत्र मागिएको हो ।
उनले टेबुलमाथि रहेको पेपरवेट उठाए र त्यसलाई जोरसित घुमाए । आफ्ना औंलाहरूको सामान्य हल्लाइबाट पेपरवेटलाई नाचिरहेको देख्दा उनी यसलाई कुन संज्ञा दिने भनी सोच्न थाले ।
टेलिफोन एक्सटेन्सन मौरीले निकाल्ने ध्वनिसरह घुनघुन गर्दै थियो । उनलाई आफ्नो पी.ए.माथि रिस उठ्यो, उसले ‘छैनन्’ भन्न नसकेकामा । मलाई सूचित गरिराख्नुपर्ने आवश्यकता के थियो ? जति बेला पनि ‘बजर’ थिचिदिन्छ । मानिसहरू ठान्दछन् कि म मिनिस्टर हैं- “मेरो सिफारिसले के के न होलाजस्तो ।” उनलाई एकमन त भयो कि रिसिभर उठाऊँ र कुरा नगरीकन नै राखिदिऊँ । तर जब चपरासीले आएर भन्यो-“सरकार, पी.ए. साहेबको भनाइ छ कि मुख्यमन्त्रीज्यू कुरा गर्न खोज्दै हुनुहुन्छ…” मृणालबाबुलाई रिसिभर अत्यन्त गहुँगो अनुभव भयो । उताबाट शिवनाथ बाबु स्वयम् बोल्दै थिए। उनले दुईओटा वाक्य मात्र बोले- “एकपल्ट आउनोस्, आवश्यक कुरा गर्नुपरेको छ ।” रिसिभर राखे । स्वर अपेक्षाकृत नरम थियो
मृणालबाबुले झोकिंदै दोहोऱ्याए, “आवश्यक कुरा गर्नु परेको छ ।”
कोठाबाट निस्के त देख्दछन्, पी.ए. को कक्षमा ड्राइभर, चपरासी, सैडो (सुरक्षा अधिकारी) सबै जना विद्यमान ‘हाहाहुहु’ गर्दै कुरा गरिरहेका । मृणालबाबु क्रोधले आगो भए, पी.ए. को कक्षभित्र सरासर पसे र पी.ए.माथि बर्सिन थाले “तपाईंलाई सरम लाग्दैन, यिनीहरूका साथ बसेर हँस्सीमजाक गर्दै हुनुहुन्छ । आफ्नो पोजिसनको त विचार गर्नुपर्छ ।” पी.ए. साहेबमाथि क्रोधाग्निको वर्षा भइरहेको देख्दा सबै जना उठेर बाहिरिए र आआफ्नो ठाउँतिर लागे । ड्राइभर कार पुछ्न थाल्यो, सैडो बेन्चमा गएर बस्यो, चपरासी भित्र पस्यो ।
कार चलाउँदै गर्दा ड्राइभरलाई मृणालबाबुको हप्काइको सम्झना भइरहेको थियो । ड्राइभरको छेउमा बसेको सैडो पनि केही आतङ्कित देखिन्थ्यो । तर मृणालबाबु शिवनाथ बाबुको केही समयअघिको व्यवहारका कारण अत्यधिक त्रसित थिए । उनी सोचिरहेका थिए कि शिवनाथ बाबुको मुड अहिले ठीक देखिएका खण्डमा यो विषयमा उनीसँग अवश्य कुरा गर्नेछन् ।
मुख्यमन्त्रीको कोठीमा पुगेपछि उनी बरन्डामा उभिएका के थिए, पी.ए. दगुर्दै आए र उनलाई ससम्मान ड्राइङ रुममा लगे । एकछिनका लागि मृणालबाबुले यो स्वागतभावलाई बिहानको आधा घण्टाको भेटसँग दाँज्न थाले । शिवनाथ बाबू सामुन्नेका सोफामा बालिस्टमा अडेस लाग्दै बसेका थिए । देब्रे घुँडा मोडिएको थियो भने दाहिने घुँडा नब्बे डिग्रीको कोण बनाइरहेको थियो । उनले मुसुक्क हाँस्दै भने- “आउनोस् ।” र दाहिनेपट्टिको सोफातर्फ इसारा गरे । मृणालबाबु चुप लागेर बसे ।
“तपाईंले त अहिले भोजन गर्नुभा’ हैन होला ?” शिवनाथ बाबुले मुस्कुराउँदै स्नेहपूर्वक सोधे ।
“छैन, फर्केर गर्नेछु ।”
“उसो भए, आज मसँग नै भोजन गर्नोस् … जहिलेदेखि विदेशबाट फर्के, एकछिनका निम्ति पनि फुर्सत पाएको छैन । बिहान पनि तपाईंसँग राम्ररी कुरा हुन पाएन । पछि मलाई नरमाइलो लाग्यो । वास्तवमा एउटा फाइल हेर्दाहेर्दै मेरो मुड यति बिग्र्यो कि… नराम्रो नमान्नुहोला । कहिलेकाहीँ मानसिक तनावको स्थितिमा मबाट अजिब अजिब व्यवहार हुने गर्दछ ।” अन्तिम वाक्यमाथि विशेष जोड दिँदै उनी मुस्कुराए पनि ।
मृणालबाबुलाई त्यति बेला उनीसित बसेर भोजन गर्नु उपयुक्त लागेन र बहाना बनाउँदै भने- “मैले केही मानिसहरूलाई घरमा निम्त्याएको छु ।”
“उसो भए, यो निम्तो ड्यु रह्यो ।” शिवनाथ बाबुले सरल हुँदै भने । यति बेला उनको अनुहारमा ठीक त्यस्तै भाव उत्पन्न भएको थियो जस्तो त्यति बेला, जब उनी उनको फ्लैटमा मन्त्री पदका निम्ति निम्त्याउन पुगेका थिए ।
“अँ, बिहान तपाईं मिस्टर रायका बारेमा सायद केही भन्दै हुनुहुन्थ्यो । म उनलाई राम्ररी चिन्दछु…” शिवनाथ बाबु जोडसँग हाँस्न थाले ।”
“तपाईंले एउटा कथा सुन्नुभा’ होला । एउटा चतुर ब्वाँसो नदीको तटमा बसेर, ‘मैले आज खरबुजाको पूरा खेत चट गरें’ भन्दै आफ्नो बडप्पन छाँट्दै थियो । नजिकै बसेको गोहीलाई यो फुइँ मन परेन । ब्वाँसो पानी खान भनी तल के निहुरेको थियो, गोहीले ब्वाँसोको थुतुनो च्वाप्प समात्यो र भन्यो- झिक खरबुजाको खेत, बडो एक्लै एक्लै खाँदो रैछ।”
ब्वाँसोले जोडसँग हाँस्दै भन्यो- “निस्कि खरबुजाको खेत पछाडिपट्टिबाट ।”
गोही पछाडिपट्टि के लम्केको थियो, ब्वाँसो फुत्त उम्केर भाग्यो ।”
शिवनाथ बाबुबाट यो कथा सुनेर मृणालबाबुलाई हाँसो आयो तर शिवनाथ बाबुले गम्भीर हुँदै भने- “हेर्नोस् तपाईं नयाँ नयाँ हुनुहुन्छ, विस्तारै बिस्तारै कुराहरू बुझ्ने कोशिश गर्नोस्… यी अफिसरहरूको तौरतरिका तपाईं बुझ्नुहुन्न आफ्ना निम्ति ‘नयाँ नयाँ’ विशेषणको प्रयोग उनलाई मन परेन । बिस्तारै सोधे- “बाबुजी, आखिर मेरो यो नयाँपन कहिलेसम्म रहने हो ? तपाईंका अफिसरहरू पनि मलाई नयाँ र कच्चा ठान्दछन् ।” यति भनेपछि मृणालबाबुलाई आवश्यकताभन्दा बढी नै बोलेकोजस्तो लाग्यो । यसर्थ, मुस्कुराउँदै कुरालाई हलुंगो पार्ने कोसिस गरे ।
तर शिवनाथ बाबुको अनुहारमा फेरि बिहानको जस्तै कठोरताको भाव प्रकट भयो ।
“मृणालबाबु, मैले तपाईंलाई राजनीतिज्ञ ठानिरहेको थिएँ । तर तपाईं त भावुक बालक निस्कनुभो’ । मिठाई पाएर दङ्ग पर्नुहुन्छ, अनि अलिकति चाटेर रुन थाल्नुहुन्छ । राजनीतिज्ञहरू फलामसरह समानधर्मा हुन्छन्, फलाम जहिलेसम्म ठन्डा हुन्छ, प्रहार गर्ने क्षमता राख्दछ ।”
शिवनाथ बाबु अरू पनि केही भन्नेथिए, तर मिस्टर राय एकाएक भित्र पस्नाले मौन भए । मृणालबाबुलाई तनावमुक्त भई सामान्य स्थितिमा फर्कन समय लाग्यो । सोच्न थाले “मैले मन्त्री भएर पनि शिवनाथ बाबुलाई भेट्न आज्ञा लिनुपर्छ, तर मिस्टर राय त सचिव भएर पनि आफ्नो मन्त्री बसेका बेलामा समेत निस्फिक्रीसित सरासर आउने गर्दछन्…।”
शिवनाथ बाबुले मिस्टर रायलाई हप्काउँदै भने- “मिस्टर राय, म आदेशहरूको पालनामाथि बढी महत्त्व दिन्छु । मद्वारा नियुक्त गरिएका सभा सचिव पनि मुख्यमन्त्री छन् । जनताको प्रत्येक प्रतिनिधि सरकारको अभिन्न अंग हो। मैले जे-जति सिकायत सुनेको छु, ती भविष्यमा दोहोऱ्याइएका मलाई मन पर्ने छैनन् । शासनको मामिलामा कुनै किसिमको हस्तक्षेप मेरा निम्ति असहनीय हुन्छ…।”
अन्तिम वाक्य भन्नलाग्दा मुख्यमन्त्रीले मृणालबाबुतर्फ हेरेका थिए । केही बेर अडेर फेरि भने- “जनताका अधिकारहरूको जिम्मेदारी मुख्यमन्त्रीमाथि हुन्छ- उसले आफ्ना अधिकारहरू नै मन्त्रीहरू, सचिवहरू अर्थात् सम्पूर्ण सरकारी अङ्गहरूमा आवश्यकताअनुसार बाँड्दछ । तर कसैबाट भएको साधारण चुकको जिम्मेदारी मुख्यमन्त्रीको हुन्छ…।”
शिवनाथ बाबु बोल्दाबोल्दै रोकिए । मृणालबाबु र मिस्टर रायलाई पाली पालीले हेरिराखे । तर दुवै दृष्टिमा अन्तर थियो । मृणालबाबुलाई लाग्यो कि मिस्टर रायप्रतिको हप्काइ उनका लागि पनि बराबर रहेको छ । फरक यत्ति छ कि मिस्टर राय गर्दन निहुऱ्याउँदै उभिएका छन् र मृणालबाबुचाहिँ उनीनजिकको सोफामा बसेका छन् ।
शिवनाथ बाबुले मिस्टर रायसित त्यसै टोनमा सोधे- “तपाईंले फाइल ल्याउनुभा’छ ?”
मिस्टर रायले आफ्नो काखीमुन्तिरबाट फाइल झिक्दै उनीतर्फ सादर बढाए । फाइल हातमा लिंदै मख्यमन्त्रीले उनीतर्फ नहेरी भने- ‘अब तपाईं जान सक्नुहुन्छ । तर मेरो कुरामाथि ध्यान राख्नुहोला ।”
मृणालबाबुले देखे कि मिस्टर राय ड्राइङ रुमबाट निस्कँदै गर्दा मुस्कुराउँदै गइरहेका छन् । उनी बाहिर निस्केपछि शिवनाथ बाबुले त्यही फाइल मृणालबाबुलाई दिँदै भने- “भोलि विधानसभामा तपाईंले नै जबाफ दिनुपर्ने छ ।” उनको भनाइमा आज्ञाको स्वर पनि मिश्रित थियो ।
मृणालबाबुले फाइल उल्टाइपल्टाइ हेर्न थाले । उनले महसूस गरे कि शिवनाथ बाबु उनको अनुहारमा प्रकट भइरहेको प्रतिक्रियाका रेखाहरू नोट गर्दै छन् । शिवनाथ बाबुले भने, हुन त यो फाइल घरमा लगेर पनि पढ्न सकिन्छ, तर तपाईंले मेरो अगाडि नै पढ्नुहोस् । अँ, म अहिले बाहिर जाँदै छु । भोलि बिहान सोझै विधानसभा पुग्नेछु । तपाईं भावुक र आदर्शवादी पुरुष हुनुहुन्छ । पछि फाइल हेरेर तपाईंलाई कतै महसूस होला कि तपाईंका आदर्शहरू टुट्दै छन्- म यो कुरा रुचाउने छैन ।
मृणालबाबुलाई लाग्यो कि उनलाई अर्को शब्दमा भनिँदै छ- “म आदेशहरूको पालनालाई बढी महत्त्व दिन्छु ।”
शिवनाथ बाबुले उठेर भित्र जाँदै गर्दा सोधे- “तपाईंले कुरा बभनुभो’, हैन ।”
मृणालबाबुले नमस्कार गर्ने अवसर पनि पाउन सकेनन् ।
मृणालबाबु कारभित्र बस्दै सोच्न थाले “शिवनाथ बाबु तनावको स्थितिमा अजिब अजिब व्यवहार गर्दछन् ।”
घर पुगे । उनले फाइल खोले, उही औद्योगिक बस्तीको विषय थियो । शब्दहरूमा साधारण परिवर्तन गर्दै त्यही कुरा लेखिएका थिए, जुन शान्तिशरणजीले विधान सभामा भनेका थिए ।
मृणालबाबुलाई लाग्यो कि विधान सभाको प्रत्येक सदस्यले त्यही वाक्य दोहोऱ्याइरहेका छन्, जुन उनीहरूले शान्तिशरणका निम्ति भनेका थिए- “हाडबाट रस निचोर्ने कुकुर हामीलाई चाहिँदैन ।”
शिवनाथ बाबुचाहिँ मुस्कुराउँदै भनिरहेका छन्- “शान्तिशरणत अल्पबुद्धि र बेइमान थिए- अब त विधानसभाको सबैभन्दा इमानदार र तपाईंहरूका विश्वासपात्र मिनिस्टर पनि उही कुरा भन्दै छन् ।”
अनुवादक प्रकाशप्रसाद उपाध्यायको पुस्तक ‘उत्कृष्ट हिन्दी कथाहरू’बाट

