चितवन जिल्लाबासी अरुण पौडेल करीब एक दशकदेखि जापानको कानागावा प्रान्तमा बसोबास गरिरहेका छन् । विद्यार्थीका रूपमा जापान प्रवेश गरेका पौडेल यहाँको भाषा र उच्च तहको अध्ययनपश्चात आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । योकोहामा नजिकै उनको आफ्नै रेस्टोरेन्ट व्यवसाय छ । परिवार र व्यवसायबाट बचेको समय उनी साहित्यमा खर्चन्छन् । अनेसास जापानको निवर्तमान अध्यक्षसमेत रहेका पौडेल मुक्तकबाहेक गीत, गजल, कविता र हाइकुमा पनि विशेष रुचि राख्छन् । उनको बाडुल्की र यादहरू मुक्तक सङ्ग्रह प्रकाशित छ ।
अरुण पौडेल विशेष गरी प्रेम रसका मुक्तकहरू लेख्न रूचाउँछन् । यद्यपि समाजका हरेक पाटाहरू, जीवन जगत तथा देश र राजनीतिबाट पनि टाढा छैनन् उनका मुक्तकहरू । समकालीन समवेदना, प्रवास पीडा, राजनैतिक व्यङ्ग्य र व्यक्तिगत भावुकता सशक्त रूपमा देखिने गर्छन् । उनका मुक्तकहरूमा सामाजिक चेतना र अनुभूतिजन्य गहिराइको सुन्दर संयोजन हुने गर्दछ । आजको मुगलानी चराको २८ औँ शृङ्खलामा हामी अरुण पौडेलका ४ वटा मुक्तकहरू प्रस्तुत गर्दैछौँ ।
मुक्तक १.
तिमीले पठाइरह्यौ फूल खोइ कहाँ-कहाँबाट
मुटुदेखि मुटुसम्मकै पुल खोइ कहाँ-कहाँबाट
झ्याल ढोका सबै सबै, बन्दै थियो हुन त
आइरहन्छन् यादहरूको हूल खोइ कहाँ-कहाँबाट
* * *
मुक्तक २.
नेपाली नै होइन भन्छन् विदेश गई आउँदा
देश निकालाको नारा बन्छन्, विदेश गई आउँदा
आफ्नै देश फर्की आउँदा साथ देऊ न सरकार
घर फर्किंदा खेदो खन्छन विदेश गई आउँदा
***
मुक्तक ३.
सिमाना बेचेर अनि पानी बेचेर
दिनदिनै यसरी राहदानी बेचेर
कतिञ्जेल चल्छ अर्थतन्त्र सरकार
जोसिला युवाहरूको जवानी बेचेर ।
***
मुक्तक ४.
अन्जुलीभर खुसीहरू भर्न जानिनँ कि ?
आसु लुकाई हाँसेजस्तो गर्न जानिनँ कि ?
समयको बर्खे भेल र मुसलधारे पानी
छिचोलेर पाइलाहरू सर्न जानिन कि ?

