Sahityapost
Nabil Bank

शरद पोखरेलको मुगलानी चरा

शरद पोख्रेल · पढ्ने समय: 2 मिनेट
शरद पोखरेलको मुगलानी चरा

चितवन जिल्लाबासी अरुण पौडेल करीब एक दशकदेखि जापानको कानागावा प्रान्तमा बसोबास गरिरहेका छन् । विद्यार्थीका रूपमा जापान प्रवेश गरेका पौडेल यहाँको भाषा र उच्च तहको अध्ययनपश्चात आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । योकोहामा नजिकै उनको आफ्नै रेस्टोरेन्ट व्यवसाय छ । परिवार र व्यवसायबाट बचेको समय उनी साहित्यमा खर्चन्छन् । अनेसास जापानको निवर्तमान अध्यक्षसमेत रहेका पौडेल मुक्तकबाहेक गीत, गजल, कविता र हाइकुमा पनि विशेष रुचि राख्छन् । उनको बाडुल्की र यादहरू मुक्तक सङ्ग्रह प्रकाशित छ ।

अरुण पौडेल विशेष गरी प्रेम रसका मुक्तकहरू लेख्न रूचाउँछन् । यद्यपि समाजका हरेक पाटाहरू, जीवन जगत तथा देश र राजनीतिबाट पनि टाढा छैनन् उनका मुक्तकहरू । समकालीन समवेदना, प्रवास पीडा, राजनैतिक व्यङ्ग्य र व्यक्तिगत भावुकता सशक्त रूपमा देखिने गर्छन् । उनका मुक्तकहरूमा सामाजिक चेतना र अनुभूतिजन्य गहिराइको सुन्दर संयोजन हुने गर्दछ । आजको मुगलानी चराको २८ औँ शृङ्खलामा हामी अरुण पौडेलका ४ वटा मुक्तकहरू प्रस्तुत गर्दैछौँ ।

मुक्तक १.

तिमीले पठाइरह्यौ फूल खोइ कहाँ-कहाँबाट

मुटुदेखि मुटुसम्मकै पुल खोइ कहाँ-कहाँबाट

झ्याल ढोका सबै सबै, बन्दै थियो हुन त

आइरहन्छन् यादहरूको हूल खोइ कहाँ-कहाँबाट

* * *

मुक्तक २.

नेपाली नै होइन भन्छन् विदेश गई आउँदा

देश निकालाको नारा बन्छन्, विदेश गई आउँदा

आफ्नै देश फर्की आउँदा साथ देऊ न सरकार

घर फर्किंदा खेदो खन्छन विदेश गई आउँदा

***

मुक्तक ३.

सिमाना बेचेर अनि पानी बेचेर

दिनदिनै यसरी राहदानी बेचेर

कतिञ्जेल चल्छ अर्थतन्त्र सरकार

जोसिला युवाहरूको जवानी बेचेर ।

***

मुक्तक ४.

अन्जुलीभर खुसीहरू भर्न जानिनँ कि ?

आसु लुकाई हाँसेजस्तो गर्न जानिनँ कि ?

समयको बर्खे भेल र मुसलधारे पानी

छिचोलेर पाइलाहरू सर्न जानिन कि ?

साझा गर्नुहोस्:

लेखकको बारेमा

शरद पोख्रेल

शरद पोख्रेल — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम