सबैले भन्छन् मलाई एक्ले हो म उही एक्ले रूख हुँ वर्षौँ भयो उभिएर यही सडक किनारको चौतारीमा हेरिरहेछु मानिसहरूको क्रियाकलाप ।
प्रशिक्षण चलाएको सुनेको छु राति–राति वन्यजन्तुको सिकार गर्दै हिँड्ने तस्करले दिनमा वन्यजन्तु र वातावरण संरक्षणबारे गोली लागेर घायल भएका पशुपन्छीहरू मेरो काखमा आएर जीवन त्यागेपछि गएका छन् कति समयहरू मौनतामा ।
रात्री बस कुदाउने ड्राइभरले रोकेपछि यतैतिर बस यात्रुहरू पिसाब गर्छन् मेरै छेलपरी र, मैले सहनुपर्छ पिसाबको दुर्गन्ध जग्गाको भाउ बढाउन मापदण्डबिनाको मोटरबाटो बनाउँदा दलालहरू छ्यप्प–छ्याप्प काटिदिन्छन् मेरो जरा र, मैले सहनुपर्छ अथाह पीडा ।
मलाई लागेको थियो उ… माथि लेकमा देखिने हरिया बोटबिरुवाहरू पक्कै फेर्दा हुन् शान्तिको श्वास म भ्रममा रहेछु अस्ति एकदिन हतारिँदै आएका एक हुल वनचरीहरूले भनेका थिए उनीहरू पनि भयभीत छन् सङ्लो पानी धुमाल्दै खोलैखोला उँभो लागेको डोजर आतङ्कले ।
मिलनको ढोका खोलेर हात समाई जानेहरू देखेको छु बन्द गरेर भेटको बाटो आँसु पुछ्दै जानेहरू देखेको छु ।
सबै सबैको साक्षी बनेँ सबै सबैको विचित्र चरित्र हेरेँ तर, उनीहरूले देखेनन् मैले भोगेको दुःख कङ्क्रिटको जङ्गलमा छोपिएको छ धुलो र धुवाँले मेरो पहिचान ।
ए आकाश ! मलाई तिम्रो आँसुले धोइदेऊ न म मेरो असली रूप हेर्न चाहन्छु ।

