म सोच्थें कोसीले मलाई पर्खदै होला म ठान्थें माछाले मलाई सम्झँदै होला म बुझ्थें डुङ्गाले मलाई बोलाउँदै होला
मलाई के थाहा र ? कोसीको पर्खाइ तिम्रो हाइड्रोले रोक्नेछ माछाको सम्झना तिम्रो बाँधले छेक्नेछ डुङ्गाको बोली तिम्रो पुलले थिच्नेछ कोसीका सुन्दर बगरहरू तिम्रो विकासले मिच्नेछ
सम्झना ताजै छ, वर्गीय उन्मुक्तिको धार उधाउँछु भन्दै तिमीले बास खोज्दै आउँदा मेरै छाप्रोलाई महल सम्झेर शिर लुकाएका थियौ मेरै डुङ्गा पछ्याउँदै तिमीले तिम्रो गन्तव्य समाएका थियौ अहिलेचाहिँ किन ? मेरै थातथलोबाट मलाई नै बिल्लिबाँठ लगाउँदै छौ ?
बिस्यौं क्यारे ! तिमीले वजनदार ठान्ने सिंहदरबार र शितल निवास पनि मेरै बगरको गिट्टी र बालुवाले ठडिएको हो अब भन त तिम्रो साम्राज्य याने कि त्यहीँ बालुवाको कण र ढुङ्गोको टुक्रोलाई म कसरी सरकार भनूँ ?
मेरो सरकार मेरो राज्य मेरो जनता मेरो सम्पत्ति मेरो विकास सबै सबै कोसी हो बगर हो
ओहो ! मेरै थातथलोमा आएर मलाई नै धपाउने तिम्रो कत्रो साहस ? बरू आऊ तिर्खाएका होलाऊ पानी दिन्छु भोकाएका होलाऊ जाँड दिन्छु थाकेका होलाऊ बास दिन्छु विरक्तिएका होलाऊ काँध दिन्छु घमण्ड गर्लाऊ बिन्ती बिसाउँछु
बिन्ती ! कोसीलाइ नबिगारिदेऊ बग्न देऊ माछालाई खेल्न देऊ डुङ्गालाई चल्न देऊ तिमी पो हावाजस्तै छौ बगी बगी कता कता सरिरहन्छौ म त हिमाल जस्तै अटल छु, खोला जस्तै अविरल छु यो कोसी छोडेर कहाँ जाऊँ ?
बिलौना गर्दा गर्दै सुनेनौ भने बिन्ती चढाउदा चढाउँदै तर्कियौ भने थाकिसकेका औंलाहरूले कस्सिएर खबरदारी गर्नेछन् खबरदार ज् ! मेरो कोसीमा रजाइँ गर्ने तिमी को हौ ?

