मेरो करेसो नजिकै छ साथी आत्मा छ घाती अपराध माथि आचार छोडी अतिचार गोड्छ गाली नमीठो अविराम छोड्छ । उठ्तै बिहानीपख मुर्मुरिन्छ सर्किन्छ आफैँ अनि जुर्मुरिन्छ चाहिन्न ठूलो कसुरादि केही पोखिन्छ ठाडै अपराध देही । बच्चा कुदोस् त्यो निहुँ नै बनिन्छ हेर्यो खडा भै अब झन् खनिन्छ बोल्दै नबोलौँ पनि क्रोध भर्छ बोलौँभने तापनि ठस्स पर्छ । कालो मसी के अझ त्यै छ कालो राँगो छ हान्ने भयको भँगालो तर्साउने भैकन हिँड्छ जैले रोएर बाँच्ने म छु एक ऐले । देखेर रुन्छन् बचरा जहान झम्टन्छ उल्टै नकटो हराम ए भाइ ! यस्तो नगरौँ न भन्दा खाइन्छ आफैँ दस–पन्ध्र डण्डा । कस्तो दिनैमा घर यो किनेँछु आफ्नो जवानी पसिना छिनेछु जुन् आँसु मेरा परिवार झार्छन् आगो उकेल्छन् अनि राप ताप्छन् । यौटा दरिद्री मन हाँस्न सक्छ रोएर आफैँ पनि बाँच्न सक्छ हाँसो म कल्पूँ कुन आसभित्र ? ज्वाला छुटेको हर श्वास भित्र । तोडेर घेरा अभिमन्न्यु बाँच्ला सौदामिनीमा पनि रात हाँस्ला पर्दा छिमेकी अति दुष्ट भान्से सक्तैन कैल्यै पनि हाँस्न मान्छे ।
कविता : छिमेकी

लेखकको बारेमा
विष्णु न्यौपाने
विष्णु न्यौपाने — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।
थप रचनाहरू पढ्नुहोस् →
