Sahityapost
Nabil Bank

‘महेश प्रसाईंका रचना बौद्धिक हुन्छन्’ – किशोर; ‘पहाडीको कथाचेत अन्तर्राष्ट्रिय स्तरको छ’ – महेश

त्रिभुवनचन्द्र वाग्ले · पढ्ने समय: 8 मिनेट
‘महेश प्रसाईंका रचना बौद्धिक हुन्छन्’ – किशोर; ‘पहाडीको कथाचेत अन्तर्राष्ट्रिय स्तरको छ’ – महेश

ऊ र म

नेपाली साहित्यमा क्रियाशील दुई व्यक्तित्वले आफ्ना अन्तरङ्गलाई कसरी चिन्नुहुन्छ भन्ने पाठकका जिज्ञासा मेट्न साहित्यपोस्टले ‘ऊ र म’ स्तम्भ प्रकाशन गर्ने सिलसिलामा यस पटक समकालीन नेपाली साहित्यका सशक्त दुई अन्तरङ्ग किशोर पहाडी (२०१३) र महेश प्रसाईं (२०१३)लाई प्रस्तुत गरेका छौँ । यो स्तम्भमा आफ्ना साथीका बारेमा राखिने खुलस्त विचारले पाठकलाई न्याय दिनेछ । कति खुलस्त र कस्तो न्यायाधीश हुने सर्जककै जिम्मा ! लुकाउनै पर्ने सन्दर्भ पनि हुन सक्छन्, प्राकृतिक मानिसका । तर सर्जकहरू आमप्राकृतिक मानिस मात्र नभएर विशिष्ट स्रष्टा–द्रष्टा, जो सत्यको नजिक पुग्नुपर्ने हुन्छ र त लुकाउने, छिपाउने उहाँहरूकै स्वविवेक ! प्रस्तुत छ, साहित्यपोस्टका सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेको साथमा नेपाली कथा-कवितामा रङ्गमञ्चमा प्रतिनिधि उचाइ स्थापना गर्नुभएका किशोर पहाडी र कविताका अतिरिक्त कथा, लघुकथा, समालोचना र निबन्धमा पनि विशिष्ट पहिचान बनाउनुभएका महेश प्रसाईंको ऊ र म ।

===

महेश प्रसाईंका रचना बौद्धिक हुन्छन् : किशोर पहाडी

महेश प्रसाईं महेश प्रसाईंलाई व्यक्तिगत रूपमा कसरी चिन्नुहुन्छ ?

– कथाकार कवि महेश प्रसाईं ३० को दशकमा मेरा पत्रमित्र हुनुहुन्थ्यो । हामीबीच हुलाकको पत्रमार्फत् साहित्यिक कुराकानी हुने गर्दथे । धेरैपछि मात्र हामीबीच देखादेख हुन गएको हो । उहाँलाई असल, मिलनसार, गम्भीर र व्यवहारिक, पारिवारिक मित्रको रूपमा चिन्छु म ।

उहाँलाई कथाकार वा कविका रूपमा कसरी चिन्नुहुन्छ ?

– उहाँलाई म एक सशक्त कवि, कथाकार, लघुकथा लेखक, निबन्धकार, समालोचकको रूपमा चिन्दछु । लेखनमा उहाँले ३० को दशकदेखि अहिलेसम्म सिर्जनालाई निरन्तरता दिई नै राख्नु भएको हुँदा मेहनती पनि अति नै मेहनती हुनुहुन्छ । उहाँमा स्रष्टा र द्रष्टा दुवै व्यक्तित्व छ ।

उहाँका रचना कस्ता छन् ?

– उहाँका रचनाहरू बौद्धिक हुन्छन् । मूलतः कविताहरू उच्च बौद्धिक हुन्छन्, त्यसकारण उहाँका कथा बुझ्न दर्शन, धार्मिक र वैदेशिक परिवेश बुझ्नुपर्छ । कविता वा कथाभित्र बुझ्न गाह्रा सन्दर्भ, विम्ब प्रतीक व्यक्त गर्ने शब्दहरू प्रशस्त हुने गर्दछन् । कतिपय कविता कम से कम म चाहिँ बुझ्दिनँ । नबुझे पनि ती कविता पढ्दा स्वादिला नै लाग्छन् ।

कुनै कविताले आकर्षित गरेको छ ?

– आकर्षित त धेरै कविताले गरेका छन् नि ! उहाँको नवीनतम कविता ‘कृशधातु र तुस्’ले आकर्षित गरेरै मैले आफ्नो एउटा लेखमा त्यसबारे उल्लेख गरेको छु । उहाँका सबै कविता दार्शनिक क्षमताका चिन्तन बोधी र समय सापेक्ष छन् ।

उहाँको कुन बानी मन पर्छ ?

– मैले बिर्से पनि समय समयमा उहाँ मलाई फोन गर्नुहुन्छ । यसो गर्दा सम्पर्क रहिरहन्छ । यसरी प्रायः सबै साथीलाई सम्झने उहाँको बानी मनपर्छ । सरल सादा र शिष्ट हुनुहुन्छ ।

कुन बानी मन पर्दैन ?

– त्यस्तो मन नपर्ने बानी त छैन तापनि उहाँले कहिलेकाहीँ झुठो बोलेको हो कि जस्तो लाग्छ । झुठो बोलेको चाहिँ मन पर्दैन । मैले झुठो हो कि भनी सोचेको कुरा नहुन पनि सक्छ । म आफूलाई लागेको मात्र होला ।

कवि प्रसाईंसँग झगडा वा मनमुटाव भएको छ ?

– अहँ, पटक्कै भएको छैन । सम्भवतः कहिल्यै हुँदैन पनि ।

कथाकार प्रसाईंसँगै दारु खानु भएको छ ?

– छैन । थोडा थोडा दारु यदाकदा हामी दुवैले पिउने गरेका छौँ तर सँगै बसेर झ्याप्प हुने गरी कहिल्यै पिएका छैनौँ ।

सर्जक महेश प्रसाईं चियाको पैसा झिक्न गाह्रो मान्नुहुन्छ ?

– अहँ । सँगै बसेर चिया पिउन मन लागे ‘महेशजी ! चिया खाऔँ न’ भनी फोन गर्ने गर्छौँ । कहिले उहाँ ललितपुरतिर आउनुहुन्छ, कि म कोटेश्वरतिर जाने गर्छु । पैसा चाहिँ हामी दुवै ‘म तिर्छु, म तिर्छु’ भनी जसले जित्यो उसैले तिर्ने गरेका छौँ ।

उहाँको घर परिवारसँग सम्पर्क छ ?

– छ । बेला बेला हामी एक अर्काको घर पनि जाने गर्दछौँ तर धेरै भयो नगएको ।

उहाँसँगको रोचक घटना ?

– उहाँले नै निम्त्याउनु भएको हुनाले ६ वर्षअघि स्याङ्जाको हरिनास भन्ने गाउँमा आयोजित साहित्यिक कार्यक्रममा भाग लिन गएको सम्झन्छु । रोचक, रोमाञ्चक यात्रा थियो त्यो । बोलेरो गाडीमा दुलेगौँडाबाट हरिनाससम्म गरिएको एउटा रोमाञ्चक यात्रा ! पहाडको बाटो कठिन थियो र यात्रा साहसिक पनि थियो । उहाँसँगको त्यो यात्राबारे मैले ‘बोलेरोमा घचक् घचक् घच्’ शीर्षकमा यात्रा संस्मरण पनि लेखेको छु ।

उहाँको शारीरिक हाइट कस्तो लाग्छ ?

– सामान्य । नर्मल ।  नेपाली हाइटको हुनुहुन्छ ।

उहाँको कम्तीमा पनि एउटा बदमासी भनिदिनुहोस् न, भए धेरै नै ?

– बदमासी भनेको बेला बेला, कहिलेकाहीँ झुठो बोलेको जस्तो लाग्छ । कहिलेकाहीँ समय व्यवस्थापनमा कमजोरी हुने गर्छ । त्यस्तो बदमासी त केही छैन ।

महेश प्रसाईंको प्रेम चक्कर चलेको थियो, केही थाह छ ?

– प्रेम चक्कर चलेको थाहा छैन । उहिले उहिले विद्यार्थीकालमा चलेको थियो कि ! थाहा छैन । मैले त उहाँलाई धेरैपछि चिनेको हो । आजभोलि त लेखन, पठनको कामबाटै उहाँलाई फुर्सद छैन । उहाँ टोटल्ली पारिवारिक हुनुहुन्छ ।

पहाडीको कथाचेत अन्तर्राष्ट्रिय स्तरको छ : महेश प्रसाईं

किशोर पहाडीलाई व्यक्तिगत रूपमा कसरी चिन्नुहुन्छ ?

– व्यक्तिगत रूपमा भन्नुपर्दा एक शालीन, सभ्य, शिष्ट, स्वाभिमानी र विशेष संवेदनशील व्यक्तित्व हुन् किशोर पहाडी । किशोर पहाडी कथाकार किशोर पहाडीलाई व्यक्तिगत रूपमा कसरी चिन्नुहुन्छ ?

आधुनिक नेपाली कथाख्यानका क्षेत्रमा किशोर पहाडीको कथा लेखन क्षमता शीर्ष स्थानमा रहेको अनुभव गरेको छु मैले । समकालीन पुस्तामा तीसको दशकमा उदाएका किशोर पहाडी एक विशिष्ट प्रयोगवादी कथाकार हुन् । शिल्प, शैली, भाषा, प्रस्तुति, विषयवस्तु चयन र सम्प्रेषणका दिशामा एक अद्वितीय प्रयोक्ता हुन् किशोर पहाडी ! उनका पुस्तामा उनको कथाकार छवि पहिलो पङ्क्तिमै पर्छ भन्नुपर्दा अतिशयोक्ति हुने छैन ।

नाटककारितामा किशोरको उचाइ कहाँ पाउनुहुन्छ ?

– प्रारम्भमा उनी कथा लेखन सँगसँगै नाटक लेखन र मञ्चनमा शक्तिशाली ढङ्गबाट देखिएका हुन् । नेपाली नाटकको पुनर्जागरणमा किशोर पहाडीको प्रमुख भूमिका छ । यो पुनर्जागरणको प्रस्थानविन्दु ‘सर्वनाम’ हो । किशोर पहाडी ‘सर्वनाम’ का एक प्रमुख संस्थापक सदस्य हुन् । यस बेला प्रसिद्धिको शिखरमा उक्लिँदै गरेको ‘सर्वनाम’लाई ‘सर्वनाम’ बनाउने किशोर पहाडीलाई इतिहासले समेट्न सकेन । किशोर पहाडी नाटक लेखन, पटकथा लेखन, निर्देशक, अभिनेता के होइनन् ? नाटकलाई चाहिने सबै सर्जाम हुन् किशोर पहाडी !

समग्रमा कथाकार पहाडीको व्यक्तित्वलाई कसरी हेर्नुहुन्छ ?

– किशोर पहाडी एक शक्तिशाली कथाकार हुन् । उनको कथाचेत विश्वकथा साहित्यमा देखापरेका अन्तर्राष्ट्रिय स्तरका कथाकारको उचाइमा रहेको छ । उनका ‘रोजा कथा’ माथि नोबल फाउण्डेशनको ‘नोटिसमा पर्ने हो भने किशोर पहाडीको वजन थाहा हुन्छ । किशोर आफ्ना कथा लेखनमा विश्वकथा साहित्यको स्तरमा पर्ने श्रष्टाचेत हुन् भन्न सक्छु म । मानवीय चेतनाको उपल्लो गहिराइलाई स्पर्श गर्दै दार्शनिक धरातलको सूक्ष्म सत्तासित जीवन, जगत् र युक्तियुक्त प्रोद्यौगिकीलाई समन्वयकारिता कायम गर्न सक्ने सीप भएका एक कुशल आख्यानकार हुन् पहाडी !

कलाकारका रूपमा कसरी चिन्नुहुन्छ ?

– किशोर पहाडी एक संवेदनशील कवि पनि हुन् । तर मैले चिनेको किशोर पहाडीको ‘कथाकार’ विश्वकथा साहित्यको उचाइमा रहेको हुँदा यिनको आख्यानकार चरित्रता भव्य छ । बेजोड छ ।

किशोर पहाडीको कलाकार व्यक्तित्व ‘सर्वनाम’बाट उद्घाटन भएको हुँदा यिनले जे गरे ‘सर्वनाम’को निर्माण गरे । त्यस बेलाको (प्रारम्भको) यिनको कलाकार छविले एउटा पृथक् पहिचान बनाइसकेको थियो, अहिले त्यसको निरन्तरतासित म परिचित छैन ।

उहाँको कुन बानी मनपर्छ ?

– किशोरको गम्भीरता मन पर्छ । कसैलाई बिझाउँदैनन् उनी । आफू दमित र शोषित भइरहँदा पनि मौन बसिरहन्छन् यिनी । सधैँ ‘मौन’ बसिरहनुपर्छ भन्ने छैन । यो मौनता भङ्ग नगर्ने कुराप्रति मलाई चित्त नबुझेको हो कि ?

उहाँका कविता कस्ता छन् ?

– काँडा र फूलको पारस्परिक अन्तरसंवाद रहेका ‘सहयात्रिक पीडा’ जस्ता छन् । ती फूलहरू विप्लवी छन्, ती काँडाहरू उत्सर्गकेन्द्रित छन् । किशोर पहाडीको कविताले यो ‘मिलन’लाई विशिष्ट ढङ्गबाट आत्मसात् गरेका छन् ।

कवि किशोरका कविताले आकर्षित गरेको छ ?

– किशोर पहाडीको ‘फोहोर कोठा र सुकिलो मान्छे’ ले आकर्षित गरेको छ मलाई । वि.सं. २०५३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सार्वजनिक गरेको किशोर पहाडीको ‘शहरमा बत्ती निभेको बेला’ नामक कविता सङ्ग्रहमा यो कविता रहेको छ ।

उहाँसँग झगडा वा मनमुटाव भएको छ ?

– छैन । उहाँजस्तो असल मानिससँग मेरोमा त्र होइन कसैको पनि झगडा परेको छैन होला ।

सर्जक किशोरसँग दारु खानुभएको छ ?

– खाएका छौँ तर लाग्ने गरेर खाएको याद छैन । कुनै औपचारिक कार्यक्रममा सँगै बसेर खाइयो होला ।

चियाको पैसा झिक्न गाह्रो मान्नुहुन्छ ?

– किशोर नै पहिला तिर्छन् ।

घरपरिवारसँग सम्पर्क छ ?

– सामान्य भेटघाट स्वाभाविकै नै हो नि । चिनजान छ ।

उहाँसँगको रोचक घटना ?

– त्यस बेला म विराटनगरमा उनी काठमाडौँ (ललितपुर)मा । वि.सं. २०३२÷२०३३ तिर पत्राचार हुन्थ्यो त्यस बेला किशोरसित मेरो । काठमाडौँबाट प्रकाशित हुने ‘चेतना’ साप्ताहिकमा स्तम्भ लेख्ने ‘अजिङ्गर’ किशोर पहाडी हुन् भन्ने थाहा थिएन मलाई । मेरो सिर्जना र साहित्यिक गतिविधिहरूलाई ‘अजिङ्गर’ का नामबाट प्रसारित हुने गर्थ्यो । केही कालपछि खुल्दुली हुँदा त्यो ‘अजिङ्गर’ किशोर पहाडी रहेछन् भन्ने थाहा भयो मलाई । यस्ता रोचक प्रसङ्ग अरू पनि छन् । ती पछि प्रकट गर्दै गरौंला ।

उहाँको शारीरिक हाइट कस्तो लाग्छ ?

– तपाईंले किशोर पहाडीको हाइटभन्दा स्वास्थ्यका बारेमा सोध्नुपर्थ्यो । किशोरको स्वास्थ्य र जीवन सन्तुलित छ । पौराणिक पात्र अष्टवक्रलाई हाइट चाहिएन । किशोर पहाडीको हाइट त्यसै पनि उपयुक्त छ । उनको कलाकारितालाई यो हाइटको केमिस्ट्रीले प्रशस्त काम गरिसकेको प्रसङ्ग स्मरणीय छ ।

उहाँको कम्तीमा पनि एउटा बदमासी भनिदिनुहोस् ?

– पत्रमित्रता र पछि साक्षात्कार सम्पर्कपश्चात् बनेको किशोरसित रहेको मेरो पाँच दशक लामो मैत्रेयी परिप्रेक्ष्यमा यिनले गरेको कुनै बदमासीको अनुभूति छैन मलाई । लेखन, प्रकाशन र सिर्जनात्मक साधनामा तल्लीन किशोरलाई बदमासी गर्ने सोच र फुर्सद हुन्छ होला र ?

किशोर पहाडी सुन्दर हुनुहुन्छ, कतिसँग प्रेम चक्कर चले होलान् ?

– किशोर पहाडीले पनि प्रेम चक्कर चलाए होलान् र ? खोइ, मलाई त विश्वास पनि लाग्दैन र थाहा पनि छैन । कुन्नि भाउजू (किशोर पहाडीले आफ्नी पत्नी) सित चलाएका थिए भने म त्यस बेला काठमाडौँमा थिइनँ ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

त्रिभुवनचन्द्र वाग्ले

त्रिभुवनचन्द्र वाग्ले — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम