Sahityapost
Nabil Bank

निबन्ध: सोचको फ्याक्ट्रीबाट

ऋचा गौतम · पढ्ने समय: 9 मिनेट
निबन्ध: सोचको फ्याक्ट्रीबाट

म आज केही लेख्न चाहन्छु । लेख्न चाहनुको कारण कसैले फ्याट्ट सोधिगयो भने, मसँग ठोस जवाफ केही पनि छैन । तर आज केही लेख्नै पर्छ भनेर दिमागले खुब धक्का दिइरहेको छ । म ऐना अगाडि जान्छु, ठिङ्ग उभिन्छु अनि आफैँलाई एकटक हेर्छु । गोलो अनुहार, थेप्चो नाक, जाडोले फुटेका ओठ, नकोरेको कपाल अनि शिरदेखि पाउसम्म ढाकेको पुरानो ड्रेसिङ गाउन । यसो हेर्दा, म घरमा बस्दा पो बरु घरबारविहीन जस्तो देखिँदो रहेछु । फेरि मोबाइलमा ग्यालरी खोलेर साहित्यिक कार्यक्रममा जाँदाको चिटिक्क परेको फोटो हेर्छु । लौ, लाजमर्दो । फोटोको म नै हो र ? जस्तो हुन्छ ।

सुस्केरा काढ्छु, थचक्क बस्छु । अनि सोच्छु, मान्छे भन्नु के चाहिँ हो हँ ? आधा मासुको फ्याक्ट्री, आधा सोचको फ्याक्ट्री र ती दुईको बीचमा चेप्टिएको लुरे चेतनाको धर्को । साह्रै लुरे, त्यसैले कसैले पनि फर्केर नै नहेर्ने बिचरा चेतनालाई । दिमाग पुष्ट छ, बलियो छ । मान्छेले दिमागलाई किताबका कुरा, कविता, डिक्सनरीका शब्दहरू, पत्रपत्रिका, फिल्म, इन्टरभ्यु- चाहिने भन्दा बढी खुवाएर हुर्काएको छ । शरीरको कुरै छोडौँ । पिज्जा, बर्गर, पास्ता र स्यान्डविचमा भातको के बल पुग्नु ? ठूलाले सानालाई हेपेर झपारेझैँ घरको दालभात चुपचाप कुना पस्छ । भोलिपल्ट बिहान, परेवाको चारो ।

अब कुरा गरौँ सोचको । लुरे चेतनालाई धकेलेर बोक्रे सोच कुर्कुरे बैँस देखाउँछ । सोच्छ, ऊ जत्तिको खतरनाक, यो संसारमा अरू केही पनि छैन । उसको शक्तिको कुनै अन्त्य छैन । के यो सत्य हो ? हैन कि ! बरु सोचको पावरको बारेमा जान्नै परे सिधै वृद्धाश्रमतिर हानिन्नु बेस । डिमेन्सिया र अल्जाइमर्सजस्ता रोगलाई सोध्नु सार्थक । एउटा उमेर पुगेपछि मान्छेको होस पातलिँदै जान्छ, बुद्धि पनि बच्चाकोझैं हुन्छ, यो सत्य हो । तर बुढेसकाल लाग्नुपूर्व नै खतरनाक दिमागी रोग लागेर मान्छेको होस हराउँदो रहेछ । हिजो भर्खर हलिउडका चर्चित नायक “ब्राड पिट” को बारेमा पढ्दै थिएँ । करिब १५ वर्षदेखि उनलाई बिर्सने रोग लागेको छ रे । उनले नजिकका आफन्त र साथीभाइको अनुहार पनि बिर्सिन्छन् रे । यो रोगले गर्दा उनका धेरै सम्बन्धहरू टाढा टाढा भए भनेर उनले मिडियामा धेरैचोटि भनेका छन् ।

म त झसङ्ग पो भएँ । यसो सम्झिँदा यो मान्छे जातिले घमण्डचाहिँ के को गर्नु क्या ? म ठूलो भएँ, म राम्रो भएँ, मलाई मान्छेले चिन्न थाले, मैले यो पदक पाएँ, त्यो पदक पाएँ । ल ल, ठीकै छ त । सम्झिउञ्जेल सबै ठीक । बिर्सेपछि के के बाँकी रहला ?

बाँकी त के नै पो रहन्छ र ? इतिहास पल्टाएर हेर्दा, खै के के बाँकी रह्यो ? पाँच सय वर्षअघि हामीजस्तै छाती फुलाएर हिँड्ने पहलमानहरू कुन माटोमा मिसिए ? कुन जगतमा थिचिए ? अमर बन्न चाहने सिकन्दर महानलाई कुन अमरावतीले बगायो ? अमर बन्ने चाहनामा मान्छे केचाहिँ गर्दैन र ? पागल प्रेमीहरू, प्रेमिकाले धोका दिएर गई भनेर जीवनभर बिहे नगरी बस्ने कसम खान्छन् । कसका लागि ? बिहे गर्न मन नलागेर भन्दा पनि आफ्नो प्रेम अमर बनाउनलाई मरिहत्ते । नाम लेख्ने रे इतिहासमा । प्रेम त कहाँ उड्यो उड्यो, नाम अमर बनाउने क्रम सकिएन । कोही किताब लेख्न चाहन्छन्, कोही कविता । कवितामा “साइँली, सम्झिराख्नू है” पनि भन्दा रहेछन् । कोही स्कूल बनाउन चन्दा दिन्छन् अनि “श्री चन्दा बहादुर विद्यालय” हुनुपर्छ भन्दै अड्डी कस्दा रहेछन् । विद्यालयमा पढाइ कस्तो हुनेछ, पाठ्यपुस्तक कस्तो राख्ने ? त्यो जरुरी भएन, तर चन्दा बहादुरको नाम आउनुपर्‍यो । खोक्दा पनि पैसाको छिटा अलिकति आओस् न, कि कसो ?

हुन त अमर बन्ने, नाम राख्ने, आफ्नै राज्य बनाउने प्रवृत्ति मान्छेको उमेर उक्लेपछि मात्र आउने कुरा त होइन । यो त जन्मिँदै मान्छेले सँगै बोकेर ल्याउँछ क्यारे । आफूलाई चिन्दै जाने क्रममा एउटा शिशुले पहिलो पटक ऐना हेर्दा, ऐनामा देखिएको मान्छे आफू हो कि होइन भनेर ऐनाको पछाडि गएर बारम्बार हेर्छ । उसले आफू र अरु छुट्याउन सक्दैन । हैन, मै पो रहेछु भन्नेचाहिँ केही समयपछि थाहा हुन्छ रे । अलि ठूलो भएपछि बच्चाले आफ्ना खेलौनामाथि “मेरो खेलौना” भनेर हक जमाउन थाल्छ । पछि, मेरी प्रेमिका, मेरो धन, मेरो पद भन्न थाल्छ । अझ पछि ध्यानाकर्षण हासिल गर्न अनेक अनेक उपाय गर्न थाल्छ । चाहेको ध्यान नपाए, उसले उपद्रोको बाटो समेत समाउँछ । कथा जोडौं, जर्मन तानाशाह हिटलरको । उनी महान् कलाकार बन्न चाहन्थे रे । उनी सानैदेखि चित्रकला र वास्तुकलामा रुचि राख्थे । उनले “एकेडेमी अफ फाइन आर्ट्स भियना” मा भर्ना हुन खुबै प्रयास गरेका थिए, तर पटक पटक अस्वीकृत भएपछि, आफ्नो उपस्थिति देखाउन अर्को उपाय रोजे । अनि हिटलर बने । बाँकी इतिहास सबैलाई थाहा नै छ । त्यसैले लाग्छ, यो प्रवृत्ति मान्छेले जन्मसँगै लिएर आउने रहेछ ।

उफ् ! अरू के के जाति हो कुन्नि ?

एक महिना अघि म १० दिनको विपश्यना बस्न सिड्नीबाट २ घण्टा टाढा गएँ । बसेर आएँ । अद्भुत थियो, शब्दमा भन्न सक्दिनँ । मगजमा धेरै थोपरिएको थियो धूलो, अलिकति टक्टक्याएर आएँ । त्यहाँ जे देखेँ, अचम्म देखेँ । मान्छे ध्यान गर्न आउँदा पनि आफ्नो नाम राख्न चाहँदो रहेछ । १० दिनको अन्तिम दिन विपश्यना नै बस्न आएकी एउटी गोरी केटी आफू बसेको घर अगाडि स-साना ढुंगा खप्टेर चुली बनाउँदै रहिछे । नाम पनि लेखिछे आफ्नो । मैले केही सोधिनँ, बुझेँ । ऊ हाँसी, बुझाइन् । सोचेँ, त्यो जाबो माटोमा लेखेको नाम कति दिन पो टिक्ला र ? तर उसलाई पनि आफ्नो नाम छोडेर जानु छ । आफ्नो उपस्थिति पछि आउनेलाई अवगत गराउनु छ । घर हिँड्ने बेलामा दर्के पानी पर्‍यो । ढुंगा, भुइँमा छरिए । उसको छाप छोड्ने चाहना पानीले तुहाइदियो । मैले हेरिरहेँ ।

छक्क पर्छु, टाढा कतै पढ्न जाँदै गरेको एउटा जवान केटो, सकिनसकी दुईवटा सुटकेस डोहोर्‍याउँदै विदेश हिँड्न लागेका बेला एक जना काका पर्नेले घोक्रो सुक्ने गरी चिच्याएछन् “बाबु छोरा, नबिर्सिनू है !” “हुन्छ, भइहाल्छ नि । दिनरात सम्झिउँला, पलपल सम्झिउँला”, भन्न सकेनछ केटोले । चुपचाप बाटो लागेछ । किन सम्झिनु ? के हुन्छ सम्झेर ? सम्झिने कुरा सम्झाएर हुन्छ ?

पाहुना आउँछन् घरमा, सानी पाँच वर्षकी नानीलाई बत्तीस दाँत देखाएर सोध्छन्, “नानी, चिन्यौ हामीलाई ?” बच्चा अक्क न बक्क पर्छ । चिनिनै पर्यो, चिनाउनै पर्‍यो । आफ्नो अनुहार सम्झनलायक छ भनेर मान्छे कति विश्वस्त ? टोले दादाहरू “चिनिस् मलाई ?” भन्दै बोरा बोक्ने रिट्ठेलाई थर्काउँछन् । रिठ्ठेले केको चिन्नु ? गरी खाने मान्छे, उसले बोरा चिन्छ, बेलुका पाउने ज्वाला चिन्छ । भोक चिन्छ तर त्यसो भन्न भएन । शिर झुकाएर भन्छ रिठ्ठे, “चिनें हजुर ।” दादा मख्ख । रिट्ठेले त्यति भनेवापत् चिया खान पाउँछ । चिनिनँ भन्यो भने भोलिपल्ट चिन्नै नसकिने अनुहार बनाइदेलान् भन्ने डर ।

मृत्युको कुरा जोडौं । मृत्यु डरलाग्दो हुन्छ । सबै प्राणी, मृत्युदेखि डराउलान् । तर मृत्यु नजिक आए पनि शायद मान्छेले जाँदा जाँदै कसरी अमर हुने भन्ने सोच्छ । “द शशाङ्क रिडेम्प्शन” भन्ने सिनेमामा पनि यस्तै एउटा क्षण छ । सिनेमामा “ब्रुक्स” भन्ने एक वृद्ध लाइब्रेरियन हुन्छन्, जसले अन्ततः आत्महत्या गर्छन् । जाने बेला, उनले एउटा चकले भित्तामा लेखेर जान्छन्, “ब्रुक्स वाज हियर ।” यसको अर्थ धेरै लाग्न सक्छ तर सूक्ष्म रूपमा हेर्ने हो भने, ब्रुक्स त्यो लेखेर, केवल आफ्नो उपस्थिति प्रमाणित गर्न चाहन्थे । मानौँ उनी संसारलाई अन्तिम पटक भन्दै छन्, “म यहाँ थिएँ । मेरो पनि अस्तित्व थियो ।”

कोही अझ सजिलो बाटो रोज्छन् । अन्तर्वार्ता दिन्छन् । पत्रकारको प्रश्न सन्नुअघि नै उत्तर तयार पारेर बसेका हुन्छन् । “मेरो जीवनको संघर्ष भनेको…” बाट कुरा शुरु हुन्छ । संघर्षमा नून, खोर्सानी, मसला सबै मिसिएको हुन्छ । उनीहरूको संघर्ष अरुको भन्दा अप्ठेरो र पीडादायक छ । यदि उत्कृष्ट संघर्षको पनि मूल्याङ्कन हुने हो भने, यो वर्गमा पर्ने मान्छे सधैँ पहिलो नम्बरमा आउँछ ।

छाप छोड्नै छ सबैलाई । कुकुरले आफ्नो पिसाबले गोलो घेरा लगाई आफ्नो क्षेत्र घेरा लगाउँछ । मान्छेले नाम राखेर आफ्नो राज्य बनाउन चाहन्छ । फरक कति भयो ? मान्छे, गाउँबाट शहर जान्छ । शहरबाट विदेश । विदेशमा आएर पनि मान्छेलाई आफ्नै सानो देश बनाउनु छ । देश सात समुन्द्रपारी ल्याएर कतै कुनै कुनामा भए पनि चेप्ट्याउनु छ । पाँच जना मिल्यो, एउटा समाज बनायो, एकअर्काको तारिफ गर्‍यो । नामकै चर्चा, छाप छोड्ने नै चिन्ता । आफ्नो नामको वर्चस्व कायम गर्न जे पनि गर्छ यो मनुवा जाति ! छुट्टै हुन चाहनेहरूको अर्को कहानी छ । कागको बथानमा बकुल्ला हुन चाहनेहरू अरुभन्दा छुट्टै हुनुको पगरी भिर्न आतुर छन् । कोही तलदेखि माथिसम्म कालो लुगा लगाउँछन्, ठूल्ठूला लट्टा पाल्छन् । कोही भने कपाल नै टक्लु बनाएर भीडको ध्यान आकर्षण गर्छन् । कसैकसैका घाटीमा बडेमानका माला ! ल ठीकै छ, विचार गर्नू है, लट्टा पाल्दै जीवन जाला ।

कोहीचाहिँ जनावरलाई प्रयोग गरेर आफ्नो नाम राख्न चाहने रहेछन् । मेरो कुकुर कति बलियो, मेरो बिरालोको नाम सम्भाला । मेरो सुगाले गीत गाउँछ । अनेकथरी । नानाथरी । सांसारिक संयोगलाई दम्भसँग जोड्ने एकथरीका मान्छेको कुरा झण्डै बिर्सेको ! बिर्से, पापै हुन्थ्यो । संसारमा ठ्याक्कै यही क्षण, असंख्य घटनाहरू एकैसाथ भइरहेका छन् । म, सोफामा बसेर कुनै किताबको पेज नम्बर २ पल्टाइरहँदा, सिड्नीको कुनै कुनामा एकजना मान्छे ट्रेन समाउन हतारिँदै दौडिरहेको छ । कतै हाँसो गुञ्जिरहेको छ भने ठीक त्यही बेला कतै कसैको पिताको देहान्तले घर शोकमा डुबेको छ । यसलाई केवल संयोग भन्ने कि कुनै अर्थपूर्ण नाम दिन सकिन्छ ? मान्छेले संयोगलाई, संयोगमात्र भएर बस्न शायद चाहँदैन । त्यसैले, घटनाहरूको नामाकरण गरिदिन्छ । अनि नाम प्रायः त्यतिबेला जन्मिन्छ, जब हामी नितान्त व्यक्तिगत क्षणहरूलाई कुनै ठूलो, “जीवन्त” घटनासँग जोड्न सक्छौँ । जस्तो कि, कसैले भन्छ, म त्यही दिन प्लेन चढ्न लागेको थिएँ, जुन दिन रूसले युद्ध घोषणा गर्‍यो ।” अर्कोले थप्छ, “म जन्मिएको दिन नै कुनै सद्गुरुको जन्म भएको हो,” या “बुद्धको” ।

तर, आफू जन्मिएको क्षणमा संसारमा के–के पीडा, के–के विघटन भइरहेका थिए, त्यो खोज्न चाहने मान्छे कमै हुन्छ । शायद, हामी आफ्नो अस्तित्वलाई अँध्यारा सत्यसँग भन्दा पनि उज्याला कथासँग जोड्न चाहन्छौँ । जब मान्छे, आफूलाई कुनै “महत्त्वपूर्ण” घटनासँग जोड्न सक्छ, त्यतिबेला आफूलाई पनि केही महत्त्वपूर्ण भएको अनुभूति गर्छ । अरूभन्दा फरक देखिन, या कुनै विशेष क्षणसँग गाँसिएर आफूलाई ठूलो बनाउने यो सूक्ष्म चाहना, शायद मान्छेलाई आफैँ पनि पूर्ण रूपमा थाहा छैन । माथि वर्णन गरिएका कुनै पनि घटना कसैसँग मिल्न गएमा, त्यो केवल संयोग मात्र हुनेछ ।

लौ, सोच्दा सोच्दै रात पो पर्न लागेछ । म त सोच्न थालेपछि समय नै बिर्सिन्छु । काममा हुन्छु, काम नै बिर्सिन्छु । यत्तिकैमा एउटी सँगै काम गर्ने दुब्ली साउथ अमेरिकन केटी ढोकाबाट भित्र आई अनि “हेल्लो” भनेर मुसुक्क मुस्काई । मैले उसलाई सम्झिएँ तर नाम बिर्सिएछु । मान्छेको अमर हुने प्रवृत्तिमाथि सोचविचार गर्नु त ठीकै होला तर वरिपरि देखिरहेको मान्छेको नाम नै बर्सिनु त लाजमर्दो भयो । त्यसैले, लजाउँदै यो लेख्दैछु । दिमागले ब्राड पिटको रोगको बारेमा सम्झिन्छ, तर जाबो एउटा नाम सम्झिँदैन । कठै, मान्छेको बौद्धिकता ।

“हेल्लो डियर, के छ त ? धेरैपछि देखेँ । तिम्रो नाम के पो अरे ?” भन्दिएछु दशा लागेर । उसले भर्खरको हँसिलो मुख कुचुक्क खुम्चाई अनि फनक्क फर्केर रिसाएर पो गई ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

ऋचा गौतम

ऋचा गौतम — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम