Sahityapost
Nabil Bank

इम्प्रेसन अफ भगवान वहाल : परम्परागत वास्तुकलामा आजका चित्रहरू

मुकेश मल्ल · पढ्ने समय: 8 मिनेट
इम्प्रेसन अफ भगवान वहाल : परम्परागत वास्तुकलामा आजका चित्रहरू

सम्झना राजभण्डारीको सोलो कला प्रदर्शनी गत मेको ९ तारिखमा भगवान बहालमा भयो । अहिले यही नामले पुकारिने यो बहाल मूलतः विक्रमशीला महाविहारको नामबाट झन्डै एक हजार वर्षदेखि (एघारौँ शताब्दीदेखि) ऐतिहासिक रूपमा दस्तावेजीकरण छ । नेवार बुद्धिष्ट मोनास्ट्रीको रूपमा प्रसिद्धि पाएको यो ठाउँ यसको परिवेश, वातावरणबीच, कलाकारले मिल्ने गरी चित्रहरू किन बनाए ? यही ठाउँमा किन प्रदर्शन गरे ? यसको एक अलग्ग कथा छ । कथामा धेरै कुराहरू लुकेको छ । तापनि मोटामोटी रूपमा भन्ने हो भने वास्तवमा यही मोनास्ट्रीको वरिपरि आफ्नो बचपन, खेले–कुदेका यादहरू अनि यसबारे आमा, बजैले भन्दै आएको कथाको सम्झना नै यी कलाहरूको आधारभूमि हुन् भन्दा चाहिँ अतिशयोक्ति हुने छैन ।

ठमेलको बीचोबीच अवस्थित यो भगवान बहाल (बहा) भनिने एउटा पवित्र स्थल मात्रै होइन, बौद्ध बोधिसत्वका मूर्तिहरू लगायत, अनेक प्रकारका बौद्ध चैत्यहरू पनि छन् । जहाँ भक्तहरू आफ्नो आराध्य देवका लागि भक्तिभावकासाथ धार्मिक क्रियाकलापहरू गर्ने गर्दछ । यो ठाउँ मूलतः कला प्रदर्शनीका लागि होइन । तापनि केही दिन मात्र (मात्र तीन दिन) भए पनि यसैमा उनले कला प्रदर्शनी गरेका हुन् । आधुनिक चित्रहरूलाई यसरी प्रदर्शन गर्नु चाहिँ पहिलो चोटि भएको हो ।

काठैकाठले कलात्मक रूपमा बनेको यो बहाको वास्तुकला अनुपम छ । यो साँघुरो ठाउँलाई पनि आवश्यक विशेष बत्तीहरू जडान गरी यसै कला प्रदर्शनीको लागि तयार गर्नु पनि गजबकै छ । अनि अहिले यो एउटा खाइलाग्दो कला दीर्घाको रूपमा देखिन्छ । यसले गर्दा पछिका दिनहरूमा पनि यहाँ यस्तैयस्तै कला प्रदर्शनीहरू भइरहने सम्भावना बढेको छ । हुन त उनले कला प्रदर्शनीकै लागि यसपछि उनले अर्कै कला ग्यालरीमा लामो समयसम्म प्रदर्शन भइरहन एउटा अलग्ग कार्यक्रम बनाएका छन् । कला विकासको सन्दर्भमा चाहिँ यो सकारात्मक नै मान्न पर्छ ।

काठमाडौं उपत्यकामा अनेकौँ यस्ता बहालहरू छन् । यसमध्ये यो चाहिँ अलि अनौठो बहाल छ । अनि उपत्यकाभित्र यस्तै अनौठो प्रकृति बोकेको बहाल अन्त कतै पनि छैन भन्ने भाष्य पनि रहेछ । कलाकारको इच्छा चाहिँ सिर्जनशील कला अनि धर्मलाई जोड्ने उपक्रम रहेछ । यसकारण पनि ठाउँ विशेषको सन्दर्भमात्र होइन, सहभागी दर्शक पनि अलग्ग हुँदा–देखिँदा, भइदिँदा पनि यो कला प्रदर्शनी विशेष देखिन गएको थियो । उद्घाटनको बेला देखा परेका ठूलो भीड अनि भगवान वहा बारे चर्चा हुनु पनि यो कला प्रदर्शनी एउटा अलग्ग विशेषता थियो । यसको इतिहास, विक्रमशील महाविहार, सिंह सार्थक बहाको विशेष सन्दर्भ उनका कलासँग गाँसिएको छ । यसर्थ हाम्रो ऐतिहासिक धार्मिक परम्पराका कुराहरू उठ्नु, बहस हुनु, अनि यसैलाई आजको कलामा जोडिनुले पनि यो प्रदर्शनीको एउटा अलग्गै महत्व देखिन आउँछ ।

धर्म अनि कला दुवैलाई जोड्न उनले कलाको थीम पनि इम्प्रेसन अफ भगवान राखेका छन् । उनी आफैँ पनि बच्चाकै बेलादेखि यही भगवान बहा परिसरमा हुर्के–बढेको अनि यसै विषयमा अनेकौँ किंवदन्तीहरू सुन्दै आएका रहेछन् । आमाले भन्ने गरेको राजकुमार अनि सेता घोडाका लोकगाथा, सिन्दूर जात्रामा परम्परागत चुलोमा अनेकौँ परम्परागत खानाहरू बनाउँदै खाँदै गरेका यादहरू, कलात्मक काठबाट शोभायमान भएका वास्तुकला, परम्परागत डिजाइन, अनेक भेषभूषामा आबद्ध भएका हाम्रा देवदेवीहरू आदिलाई सम्झनामा ल्याउँदै उनका यी चित्रहरू बनेका रहेछन् । यसले गर्दा पनि यो ठाउँ आफैँमा उनको लागि कलागत रूपमा पनि तीर्थस्थल बनेको रहेछ । यसै सन्दर्भमा यही ठाउँलाई किन नरोज्ने भन्ने विचार उनीमा आउँदा पनि उनको कला प्रदर्शनी यहाँ भएको रहेछ । यसकारण पनि उनका कलामा भगवानको यथार्थ रूप कुँदिएको स्पष्ट देखिन्छन् ।

उनका चित्रहरूमा वायुपंखी घोडा, सिंह सार्थ बाहु, (यसैको मूर्ति आराध्य देवको रूपमा यहाँ स्थापित पनि छ । ) महांकाल, प्रोटेक्टर, लिभिङ गणेश, भीमसेन, पद्मपाणि लोकेश्वर, तोरण वा नागार्जुन दिगु दश जम्मै नै परम्परागत कलाहरू नयाँ लुकमा देखा परेको छ । तर यतिमै उनको कला पूरा हुँदैन । उनी यसैमा आफ्ना भाव–अभिव्यञ्जनालाई पनि समावेश गर्ने गरेको देखिन्छ । यसो हुँदा बुट्टाले भरिएको जस्तो, उनका दोस्रो आयामिक कामहरू आकर्षक रूपमा देखा परेका छन् । चित्रमा दोस्रो आयामिक धरातल हाम्रो आफ्नै परम्परागत कलाको, लोककलाको मुख्य विशेषता पनि हो । यसैलाई जस्ताकै तस्तै गरे जस्तो तथापि यसैमा उनका आफ्नै भावनालाई पनि जोड्दै गर्दा चाहिँ यी कलाहरू थोरै अलौकिक कलाको रूपमा देखा पर्दछ ।

यसो हुँदा हेर्दाहेर्दै उनका यस्ता रियालिस्टिक आकारहरू आधुनिक रूपमा रूपान्तरित भएका हुन्छन् । यसैले गर्दा पनि परम्परागत जस्ता देखिने कला पनि मूलतः यो उनको आधुनिक कला हो भन्न पर्ने हुन्छ । सामान्यतया परम्परागत, धार्मिक कलाहरूमा अनुशासनबद्ध अनि धार्मिक अवयव हुन्छन् । धार्मिक पण्डितहरूको निश्चित निर्देशन हुन्छ । कलाकारको आफ्नै भावलाई कलामा भित्राउँदैनन् । देखिँदैनन् । वा देखाउन दिँदैनन् पनि । तर यी कलाकारहरू कसैबाट निर्देशित भएको देखिँदैन । ठमेलको यो भगवान बहालमा सिंह सार्थ बाहु ( बोधिसत्व ) अभिन्न रूपमा गाँसिँदा पनि यो ठाउँ उनैको नामले पनि चिनिन्छ । मूलतः यो बौद्ध धर्मअन्तर्गतकै देव हो । तापनि सदियौँदेखि हिन्दू देवदेवीहरू पनि सँगै गाँसिएर देखा पर्ने भएकोले गर्दा यो ठाउँ यी दुवैको हो भन्ने भाष्य विकास भएको रहेछ । नेवा–समुदायले यसलाई सकन ध्यो अर्थात् उज्यालोको देवताको रूपमा मान्ने प्रचलन पनि छ । हिन्दू अनि बौद्ध धर्मको संगम अर्थात् दुवैको आराध्यदेव हुँदा पनि यसलाई भगवान बहाल भन्ने नामकरण पनि भएको हुनसक्छ । यहाँका पुजारी प्रधान जातिको हुने हुँदा पनि यो देवस्थल अनौठो देखिन पुगेको हो । यसकारण पनि सम्झनाले बौद्ध, हिन्दू सबै देवदेवीहरूलाई आफ्नो कलामा भित्राएको देखिन्छ ।

उनी भन्छन् – यहाँ यो बहाको परिसरमा कसैलाई प्रदर्शन गर्न दिएको थिएन । भगवान (मूर्ति वा वास्तुकला) स्वयं पनि कलाकारको सिर्जना हो । अनि यही कलालाई यहाँ प्रदर्शन गर्न किन नमिल्ने भन्ने मलाई सदैव कौतूहल लागिरहन्थ्यो । यसैले पनि मलाई चाहिँ यहाँ नै गर्न मन थियो । संयोग कस्तो मिल्न गयो भने मेरा मामा यसै बहामा नै सम्बन्धित भएको हुँदा कुरा अगाडि बढाउन सजिलो पनि भयो । अनि उहाँले (मामाले) सबैसँग कुरा गरेछन् । अनि मैले पनि धेरै जोड गरेपछि यहाँ प्रदर्शन गर्न अनुकूल मिलेको हो ।

मूलतः उनको यहाँ प्रदर्शन गर्नुको पछाडि पनि यस्ता देवदेवीका कलाहरूलाई एउटा अलग्ग विधासँग गाँस्नु पनि रहेको देखिन्छ ।

भगवान बहाकै वरिपरि घुमेका यी चित्रहरूको यो कला प्रदर्शनी मेको एघारसम्म रहनेछ । प्रदर्शनीको निरन्तरता चाहिँ यसपछि दरबारमार्गमा अवस्थित ग्यालरी आठमा हुनेछ । यहाँ यो कला प्रदर्शनी मे १३ मा पुनः प्रदर्शन भई जुनको ७ सम्म प्रदर्शनमा हुनेछ । दुई ठाउँमा अलग अलग रूपमा सोही कलाहरूलाई प्रदर्शन हुनु पनि सर्वथा नयाँ एप्रोच देखिन्छ ।

नेपाली कलाको क्षेत्रमा गतका केही वर्षहरूदेखि कलामा मिथकीय प्रयोग द्रुत गतिमा बढ्न गएको देखिन्छ । परम्परागत कलामा मिथकीय प्रयोग नितान्त धर्मसँग गाँसिएर आएको हुन्थ्यो । यसर्थ भक्तिभाव अनि धर्ममाथि गहिरो आस्था रहिरहोस् भन्नका खातिर पनि नग्न–अर्धनग्न मूर्तिहरू आकर्षक पोस्चरमा (आसनमा) निर्माण भएका हुन्थे । यसकारण पनि राम्रो आकर्षक, लालित्यपूर्ण यथेष्ट सौन्दर्यताले वशीभूत यौवन–अवस्थाका देवदेवीका चित्र वा मूर्ति बनाउन मूल लक्ष्य रहेको देखिन्थ्यो ।

कलाका आधुनिकता पसेपछि कलाकार स्वयं स्वतन्त्र मात्र भएनन् । कलाकारले देवदेवीलाई कसरी ग्रहण गर्दछन् । कसरी हेर्छन् । अनि उसलाई कस्तो अनुभूति हुन्छ । यसको प्रतिविम्बको रूपमा यस्ता देवदेवीलाई एउटा विम्बको रूपमा प्रयोग गरेको देखिन्छ । यो आधुनिक मिथकीय प्रस्तुतिले अनेकानेक प्रकारले देवदेवीलाई संयोजन गर्न थालिएको हो । सम्झनाका चित्रहरू पनि यस्तै नै हुन् ।

यसैको थप पाइला भनेको चाहिँ नितान्त धर्मस्थल, देवदेवीलाई अगाध आस्था राख्ने, भक्तिभाव दर्शाउने स्थलमै कलाको स्वरूपलाई कलाको हिसाबमा पनि प्रदर्शन गर्ने एक अलग्ग प्रचलन अहिले देखिन थालेको छ । कलाहरू ग्यालरीमै मात्र किन प्रदर्शन गर्नु पर्यो नि भन्ने हिसाबले पनि यसरी मन्दिर, विहार वा यसैको परिसर, बाहिर खुल्ला सडक अनि हिटीतिर पनि यस्ता कलाहरू प्रदर्शनमा आउन थालेको देखिन्छ । यसैको यो कला प्रदर्शनी थप पाइला पनि हो । यसर्थ भगवानमाथिको कलाकारको इम्प्रेसन नै कलामा आधुनिक पारामा देखा परेका हुन् ।

यो सम्झनाको उडकट माध्यमबाट बनेका प्रिन्ट कलाहरू हुन् । उडकट अर्थात् काठमा खोपेर कुँदेर एउटा सेप निकालिसकेपछि यसैलाई प्रिन्ट गरेर बनाइने कला भन्ने बुझिन्छ । उनी गतका केही वर्षहरूदेखि उडकटमा राम्रा कामहरू गर्दै आइरहेका छन् । उडकट माध्यमका प्रिन्ट गरी उपयोगी कलाहरू बनाउने प्रचलन नेपालमा धेरै नै पुरानो हो । तर यसैमा आधुनिक कला सिर्जनशील कलाहरू बनाउन थालिएको भने प्रचलनमा आएको त्यति बढी भएको छैन । अहिले युवा कलाकारका लागि यस्ता उडकट कलाका माध्यमहरूले निक्कै नै आकर्षण गर्न थालेको देखिन्छ । यसमा मुख्यतया एक वा दुई रङ प्रयोग गर्ने गरेता पनि अहिले मिक्समिडियाको रूपमा अनेकौँ रंगहरूलाई पनि प्रयोग गर्न थालिएको छ । सम्झनाका यी कामहरू चाहिँ केही मोनोक्रममा अनि केही कलरफुल पनि देखिन्छन् ।

अलिकता कलाका कुराहरू

कुनै पनि मन्दिर, तीर्थस्थल वा बहालको अग्रभागमा सिंहलाई स्थापित गर्ने प्रचलन छ । सुरक्षात्मक पहरेदारको रूपमा कल्पना गरिएका यस्ता सिंहहरू सामान्यतया शान्त रूपमा देखिन्छन् । तथापि यही प्रतीकात्मक रूपमा उनले उत्तेजित एक्सनमा बसेको पोस्चरमा सिंह बनाएका छन् । जसलाई उनले प्रोटेक्टर नाम दिएका छन् । डेकोरेटिभ फर्ममा बनेका यो उनको सिंह उफ्रेर झम्टन लागेको पोस्चरमा देखिन्छ । नितान्त चहकिलो रातो पृष्ठभूमिमा सेता साना–ठूला शक्तिशाली रेखाहरूले बनाइएको यो आकृति वास्तवमै डरलाग्दा देखिन्छन् । शरीरमा हरिया निला मोटा धर्काहरू छरिएका बस्दा यसले अझ आकर्षण पैदा गरेको देखिन्छ । अर्को चित्र छ शान्त पोस्चरमा निश्चित आसनमा बसेका महात्मा बुद्धको चित्र छ । कौतूहलता बोकेको कुमारीको चित्र छ । गणेश नामक अर्को चित्र छ, जसलाई रेखाहरूको बाहुल्यमा चित्रण गरिएको छ । मूलतः सपाट पृष्ठभूमिमा रेखाहरूद्वारा बनाइएका चित्रहरू यसकारण पनि परम्परागत कलाको यथेष्ट सुगन्धलाई महसूस गर्न सकिन्छ ।

रमाइलो पक्ष चाहिँ यसलाई हुलाक टिकटको रूपमा प्रस्तुत गर्दा यी चित्रहरू परम्परागत देखिँदादेखिँदै पनि अझ अनौठो रूपमा दृष्टिगोचर हुन्छ । मूलतः उनले उडकट माध्यमबाटै यस्तैयस्तै टिकटहरूको चित्र गतका सालहरूदेखि बनाउँदै आएका छन् । यसैमा उनको एकल कला प्रदर्शनी पनि भइसकेको छ । प्रिन्ट मेकिङ कलामा यस्तोखाले विषयवस्तु अन्य प्रिन्टमेकिङ कलाकारले लिएको देखिँदैन । यसअर्थले पनि उनका यस्ता कलाहरू सर्वथा अलग्ग रूपमा देखिन्छन् । यस्तै अर्को चाहिँ बोधिसत्वको तर आयुधको रूपमा माला समातेको चित्र पनि यहाँ अवलोकन गर्न सकिन्छ । अनि यस्तै टिकटको पोस्चरमा देखिने यो चित्रमा अझ रोचक कुरा भनेको चाहिँ अग्रभागमा एउटा भाडामा देखा परेका अनौठो कमलको फूललाई एउटा विम्बको रूपमा प्रस्तुत गरिएको छ । यस्तो संयोजन परम्परागत कलामा गरिँदैन यसर्थ पनि परम्परागत लोकगाथामा उनको आफ्नै कथा अलग्ग देखा परेको स्पष्ट महसूस गर्न सकिन्छ ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

मुकेश मल्ल

मुकेश मल्ल — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम