Sahityapost
Nabil Bank

कथा: वि.सं.२१७१ को महाविपत्ति

नरेन्द्र पराशर · पढ्ने समय: 15 मिनेट
कथा: वि.सं.२१७१ को महाविपत्ति

सरकारले सतर्क रहन र आवश्यक सुरक्षा विधि अपनाएर बस्न आकस्मिक सूचना जारी गरिरहेको थियो ।

===

चुरे र महाभारत पहाडबीचको होचो उपत्यकामा पैँतीस घर छरिएर बनेको सानो गाउँ थियो– मल्थली । माथि पहाडमा वनजंगल जोगाएर, स-साना धेरै पोखरीहरू खनेर बर्खाको पानी जम्मा गर्न थालेको धेरै वर्ष बितिसकेको थियो । मल्थलीमा पानीको अभाव थिएन । यो तामाङबहुल गाउँमा पाँच घर खतिवडा बाहुन, चार घर बस्नेत क्षेत्री, दुई घर मगर र एक घर विश्वकर्माको बसोबास थियो । बाँकी मान्छेहरू उहिल्यै शहर पसिसकेका थिए ।

मल्थलीको पूर्वी किनारमा एउटा माध्यमिक विद्यालय थियो । दक्षिण किनारमा नगर अस्पताल थियो । उत्तर किनारमा ठूलो होटेल थियो र पश्चिम किनारमा बौद्ध गुम्बा थियो । माथि डाँडामा हावाबाट बिजुली निकाल्ने पंखा सुस्तरी घुमेको देखिन्थ्यो । यी पाँचवटा विशाल संरचनाले मल्थलीलाई अत्यन्त शोभायमान बनाएका थिए । यी सबै संरचनालाई गाउँसित जोड्ने सफा पिच बाटो थियो । सबैका आँगनमा निजी सवारी साधन राखेको देखिन्थ्यो । बाटाको दायाँबायाँ पैदलपथसँगै फूलका बोटहरू प्रसन्न देखिन्थे । कहीँ फोहर थिएन ।

विद्यालयमा नेपालीसहित आफ्नो रुचिले तामाङ, संस्कृत, मगर भाषासमेत पढाइन्थ्यो । शिक्षकहरू ऐच्छिकरूपले यिनै भाषामा इतिहास, विज्ञान, आयुर्वेद, वातावरण, कृषि, वन, पशु विज्ञान लगायतका विषयहरू पढाउँथे । अनेक प्रयोग गर्थे । दुर्लभ धातुको चिनारी, तिनको महत्त्व र प्रशोधनसम्बन्धी प्रारम्भिक ज्ञान पनि त्यहाँ दिइन्थ्यो ।

युवायुवतीहरू स्वस्थ, फूर्तिला, जाँगरिला र हँसिला देखिन्थे । बुढाबुढीहरूको अनुहारमा उमेरङ्कित पाकोपन देखिए पनि कुपोषणको लक्षण हुँदैनथ्यो । महिलाहरू उज्याला र राम्रा देखिन्थे । बालबच्चाहरू पनि सुन्दर र आकर्षक थिए ।

बुढापाकाहरू गाउँको बीचमा रहेको बगैँचामा ठूलो बोर्डमाथि चेस, बाघचाल खेलेर ध्यानस्थ हुन्थे । उनीहरूका गफका विषय, नयाँ केटाहरूले गर्ने नयाँ खोजसँग सम्बन्धित हुन्थ्यो । बाघचाल खेल्दै गरेका दावा तामाङले एक साँझ साथीलाई भने, “गाउँमा आएको सुन्दरश्रीको छोरो विक्रमले उस्तै परे ठूलै पुरस्कार हात पार्न सक्छ ।”

“के गर्दैछ त्यो अचेल ?”

“चाइनाको ठूलो युनिभर्सिटीमा पढेर आएको हो । नाम राख्ला ।”

यही बेला टुप्लुक्क आइपुगेका सबैभन्दा बूढा फूलमान ब्लोनले भने – “ देउती बजैको मूर्तिमा एक्स रे गर्ने कुरा गर्दैछ त्यो । गुम्बामा राखेको देउती बजैको मूर्ति दुईटा ढुंगा मिलाएर बनाइएको छ । उहिले तिब्बती लामाले प्राण भरेका छन् । त्यसलाई यन्त्र मेसिनले दुःख नदेऊ, त्यसो गर्नु हुँदैन भनेको, हाँसेर हिँड्यो । त्यसले विनाश ल्याउन सक्छ भन्ने कुरा उसलाई के थाहा हुनु ? कताबाट ल्याओस् पुरस्कार ।”

सबै गलल हाँसे ।

स्थानीय कफी उद्योगका मालिक श्रीनाथ मिति २१७१ साल माघ अठार गते सोमबार बिहान पाँच बजे अँध्यारैमा उठेर शौचालय गए । शौचालयमा बत्ती बलिरहेको थियो । त्यहाँ उनले एउटा अनौठो कीरो देखे ।

टाउको छाती र पेट प्रष्ट देखिने पछाडिका लामा र अगाडितिर क्रमशः साना हुँदै आएका फटयांग्राका जस्ता खुट्टा, टाउकोमा मसिना जुँघा, ठूला आँखा, साङ्ग्लाको जस्तो रङ देखेर उनी एकछिन छक्क परे र फेरि नियालेर हेरे । पातलो थेप्चो शरीर, पुच्छर थोरै देखिने र त्यसको टुप्पोमा थोरै सेतो रङ थियो । उनले जीवनमै पहिलोपटक यसप्रकारको कीरो देखेका थिए ।

उनलाई रमाइलै लाग्यो र किराको बारेमा अध्ययन गर्दै गरेको छिमेकी विश्वभक्त खड्काको छोरो डा.अनन्तलाई सोध्नुपर्ला भनेर बाहिर निस्किए ।

उनी किचनमा गएर चिया बनाउने तयारी गर्दै थिए । फोन आएको सङ्केतपछि उनले उठाए,

“ए भाइ कीरो त खतर्नाक रहेछ ! त्यता पनि आयो ?”

“कस्तो कीरो ?”

“त्यै क्या कीथ्रे कनसुतलो । खुट्टा फट्यांग्राको जस्तो छ । पुच्छरमा पिलपिल बल्ने, छोयो भने सिस्नोले पोलेजस्तो हुन्छ रे । पोल्ने तातो हुन्छ रे । यता त सबैतिर ढाकिसक्न लाग्यो । के भयो यस्तो ?”

“भर्खरै यहाँ पनि बाथरूममा देख्न त देखेको थिएँ त्यस्तै कीरो । के भयो र ?”

“के भयो रे ? उता पूरै गुम्बा, होटेल सबै ढाक्न लागिसक्यो। औषधी हान्ने टोली लिन गएका छन् केटाहरू । त्यसलाई नछुनू है । फेरि एउटा दुइटा हो र ! सलहसरह छन् । यता त कतै बसिनसक्नु हुन लागिसक्यो ।”

मेरो घर पनि हेर्दा हेर्दै किराले ढाक्यो । हजारौँ लाखौँ किराहरू सलबलाएर घर, कोठा चारैतिर फैलिएपछि भयङ्कर आतङ्क छायो । म घरमा एक्लै थिएँ । फोन लगातार आइरहेको थियो । किरा नकुदेको कुनै ठाउँ बाँकी थिएन । केहीबेर भ्याक्युम क्लीनरले तान्न खोजेँ । तर सम्भव भएन । कीटनाशक औषधी स्प्रे गरेँ, केही पार लागेन । कतै सुरक्षित उभिने ठाउँसम्म रहेन । अनि म पनि आत्तिएँ । के भइरहेको थियो मलाई थाहा भएन । तर किराको सङ्ख्या झन् झन् बढिरहेको थियो ।

बिहान दशबजेसम्ममा पूरै गाउँलाई किराले ढाकिसकेर गाउँको सीमा काटिसकेको थियो । सबैजना गाउँलेहरू वनतिर पस्न थालेका थिए । कोही गाडी लिएर अन्तै कतै जाँदै थिए । कुकुर बिरालाजस्ता घरपालुवा जन्तुहरू कराउँदै डराउँदै भाग्न थाले । कुनै प्रकारले किराको सम्पर्कमा आएका थुप्रै मान्छेहरू पोल्ने, चिलाउने समस्याले ग्रस्त भइसकेका थिए । सरकारले सतर्क रहन र आवश्यक सुरक्षा विधि अपनाएर बस्न आकस्मिक सूचना जारी गरिरहेको थियो । दिउँसो एक बज्दा नबज्दै सरकारी मान्छेहरू आए ।

तर किराहरू भगाउने उनीहरूसँग केही कडा प्रकारका औषधीहरूबाहेक थप केही विधि थिएन । त्यो औषधीले पनि काम नगरेको भनेर दुई बज्दा नबज्दै उनीहरू जसरी हतारमा साइरन बजाउँदै आएका थिए उसै गरी फर्किए ।

यो सरकारी टोली फर्किएलगत्तै अर्को टोली आइपुग्यो । उनीहरू पाँच किलोमिटर पर हेलिड्रोनमा उत्रिएर डा. अनन्तको गाडीमा गाउँ आएका थिए । डा. अनन्त देशकै कीटविशेषज्ञ थिए । उनलाई किराको बारेमा थाहा नभएको कुरा केही थिएन । कतिसम्म भने, मानौँ ऊ सबै प्रकारका किराहरूसँग साथी जसरी कुरा गर्नसक्थ्यो । किराहरूका बारेमा उसले जान्न बाँकी कुरा थिएन ।

यसबीचमा एकजना सुत्केरी महिलाको नवजात शिशु अस्पतालमा यो किराको डसाइबाट मरिसकेको खबर फैलिएको थियो । सहस्र किराको प्रवेशले अस्पतालका औजार उपकरणहरू पनि काम नलाग्ने गरी  बिग्रिएको खबर पनि चलिहाल्यो ।

सानो र मनोरम मल्थली गाउँ खाली भयो । म जंगलको उपल्लो स्थानमा केही साथीहरूसँग पुगेको थिएँ । संयोगले हामी बसेको टुप्पोमा यी किराहरू आइपुगेका थिएनन् ।

डा. अनन्तले किरा पक्डिएर सिसाको बट्टामा बन्द गर्न सफल भए भन्ने हल्ला फेरि चल्यो । यो कुरालाई बडो सफलताको रूपमा सरकारी सूचना माध्यमबाट पनि प्रसार गरिएको थियो । हामीलाई पनि उसैको भर थियो ।

यस किराको नाम नै ‘मल्थली किरा’ भनेर हल्ला फैलियो । यसमा हाम्रो सानो र प्यारो गाउँको के दोष थियो हामीलाई थाहा थिएन । देशका अरू भागबाट समाचार आउँथे कि केमिकल औषधीले हुँदैन । लसुन कुटेर छर्कियो भने भाग्छ । कसैले भन्थे, तेजपत्ता उमालेर त्यसको पानी छर्कियो भने पनि भाग्छ । कसैले भन्थे, गाईको गहुँतमा निमपत्ता भिजाएर छर्कियो भने भाग्छ । टाढाका मानिसहरूलाई रमाइलो भइरहेको थियो । तर मल्थलीका गाउँलेहरूको उठिबास लागेको मात्र थिएन एकजनाको मृत्यु र अन्य आठजनालाई उपचारका लागि बाहिर लगिएको थियो । बाँकी मान्छेहरू जंगल पसेका थिए ।

डा.अनन्तको टोलीले केन्द्रीय कीटानुसन्धान संस्थानमा यस किराको गम्भीर अनुसन्धान गरिरहेको र यसबाट बच्ने उपाय पत्ता लगाउन सम्पूर्ण विशेषज्ञ टोली दत्तचित्तले खेटेको समाचार थपियो । बिस्तारै साँझ पर्न थाल्यो । किराको विस्तार हाम्रो गाउँबाट छिमेकी गाउँ हुँदै शहर पस्न थालेको खबर फैलियो ।

सयौँको सङ्ख्यामा होइन । हजारौँको सङ्ख्यामा मात्र पनि होइन । लाखौँ करोडौँको सङ्ख्यामा द्रुततर गतिमा फैलिएर किरा त खोलो नै बगेजसरी अगाडि बढिरहेका थिए ।

संयोगले यी किराको पखेटा थिएन । तर भित्तामा चढ्ने, उफ्रिन सक्ने र साना साना चरहरूबाट पनि सजिलै छिर्नसक्ने भएकाले यस किराको पहुँचबाहिर केही थिएन । यसले के खान्थ्यो कसैलाई थाहा थिएन ।

बेलुकातिर ६ बजेतिर अँध्यारो भइसकेको थियो । हामी जाडोले काँप्न थालिसकेका थियौँ । खानेकुरा र पानी पनि थिएन । किनभने हर्षमानले ल्याएको मीठारोटी र चिया पनि सक्किसकेको थियो । हाम्रा फोन विशेष व्याट्रीबाट चल्ने हुनाले सञ्चार मात्र भइरहेको थियो । थप सहयोग जुटाउन मानिस बसेका पहाडका टुप्पामा ड्रोनबाट खाना पानी र न्यानो लुगा खसाउने तयारी हुँदैछ भन्ने सूचना प्राप्त भइरहेको थियो ।

फेरि अर्को खबर फैलियो । आगोले पनि यो किरा मर्दो रहेनछ । भो फसाद । अब अर्को कुनै उपाय बाँकी रहेजस्तो लागेन । फेरि हल्ला फैलियो: थप तीन जना बालकको मृत्यु अन्य कैयौँ घाइते ।

म सोचिरहेको थिएँ । कीट विशेषज्ञ डा. अनन्त के गर्दैछ ? उसको टोली के गर्दैछ ? के उनीहरू यो किरा नियन्त्रण गर्ने उपाय पत्ता लगाउन सक्छन् ? यदि सकेनन् भने ? अब हामी एउटा सानो तर भयंकर क्रीराको त्रासले भागी भागी कहिलेसम्म हिँड्नु पर्ने हो ?

अँध्यारो भएसँगै सबैतिर जुनकिरीजस्तो धिपधिप उज्यालो देखिन थाल्यो । जहाँ जहाँ ती किराको घनत्व बढी थियो त्यहाँ त्यहाँ चम्किलो उज्यालो देखिन्थ्यो । यसले देखाउँथ्यो कि यी किराहरू कहाँ कहाँसम्म फैलिइसकेका छन् । पूरा गाउँ र आसपास हुँदै सबैतिर जहाँ खाली जमिन थियो त्यहाँ त्यहाँ ती किराहरू चम्किइरहेका थिए ।

राति आठ बजे ड्रोनले तयारी खानेकुरा, पानी, केही लुगा, ओछ्याउने म्याटहरू र झूलहरू पनि झारिदियो । हामीले दिन नढल्दै भुइँ सफा गरेर राखेका थियौँ । त्यहीँ हामीले सुत्ने तयारी गर्यौं ।

यताउता कतै किरा आइसक्यो कि भनेर हामी डराइरहेका थियौँ । तर त्यहाँ संयोगले वा कुनै दैवी शक्तिको कारणले किरा थिएनन् । गाउँमा स्वचालित सौर्य बिजुली बत्ती बलेको थियो । त्यता बेला बेला मानिस कराएको, सरकारी गाडीहरूको आपतकालीन साइरन बजेको सुनिन्थ्यो । त्यति छोटो दूरीमा रहेर पनि हामी आफ्नै घर जान सकिरहेका थिएनौँ । घरका परिवारहरू यत्रतत्र अवस्थाअनुसार छरिए पनि कुनै अप्रिय घटना घटेको थिएन । सबै सुरक्षित नै रहेको फोनमा कुराकानी भइरहेको थियो ।

रात यसै उसै समाचारहरू हेरेर बित्यो । सरकारले हाम्रो शासन जनपद(जिल्ला)भरी सङ्कटकाल घोषणा गरेको थियो ।

बिहान फेरि सरकारी सूचना आयो । को कहाँ बसेको छ दिइएको कोडमा सम्पर्क गर्नू । हामीले सम्पर्क गयौँ । केहीबेरपछि नौवटा ड्रोन नजिकै आएर कुर्सी खसाले र मसहित सबै जना आ-आफ्ना ड्रोनमा झण्डै बीस मिनेट हावामा श्वास रोकेर उडिरह्यौँ । र लेकाली जंगलको टुप्पोमा उत्रियौँ । त्यहाँ मान्छेका मेला लागेको थियो । सबै किंकर्तव्यविमूढ  भएका थिए । हतप्रभ भएका थिए । कसैलाई केही सुझिरहेको थिएन । सबैका अनुहार असहाय र भयभीत देखिँदै थिए ।

खासमा बिहान उज्यालो भएसँगै किराहरू जंगल पसेको सूचना आएको रहेछ । तर यो कुरा हामीलाई थाहा थिएन । किनभने हामी जहाँ बसेका थियौँ त्यहाँ किराहरू थिएनन् । हजारौँ मानिसहरूको चिल्लीबिल्ली भएको खबर फैलिइरहेको थियो । अहिलेसम्म प्रतिघण्टा एक सय वर्ग किलोमिटरको दरले किराहरू फैलिँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताइरहेको थिए ।

थप आञ्चलिक क्षेत्र हुँदै पूरै देशमा सङ्कटकाल घोषणा भयो । तर किराहरूलाई न त गोली हान्न मिल्थ्यो न त बम बारूद प्रहार गर्न । न त यी किराहरू तातोपानीले मर्थे न त आगोले पोल्न डढाउन सकिन्थ्यो । कतिसम्म भने, जहाँ जुन अङ्ग टुक्रिन्थ्यो त्यहीँबाट केही क्षणमै अर्को कीरो बन्थ्यो भन्ने हल्ला चलिरहेको थियो ।

घरबारविहीन जनसङ्ख्या बढ्दै जाँदा सरकार पनि शायद आत्तिन थालिसकेको थियो । अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको खबर आएपछि हामी झन् आत्तियौँ । अब फोनले काम नगर्न सक्छ, ड्रोनहरू ठप्प हुनसक्छ, बिजुली समाप्त हुनसक्छ, धेरै किराहरू एकै ठाउँमा थुप्रिए भने बम जसरी पड्किन सक्छन् जस्ता उदेकलाग्दा हल्लाहरू चल्न थाले । एकपटक त यो किराले टोकेको मान्छे पनि किरा नै भएको हल्ला चल्यो । सरकार भने हल्लाहरूबाट प्रभावित नहुन अनुरोध गरिहेको हुन्थ्यो । तर डरलाग्दा हल्लाहरू एकतमासले क्षण क्षणमा चलिरहन्थे ।

दोस्रो रात पनि जसोतसो जङ्गलमै बित्यो । एउटा जनपद मात्र होइन, देशकै एकतिहाइ भाग अब यो किराको प्रकोपबाट प्रभावित भएको थियो । विदेशी सहयोग टोलीहरू आउन थालेको खबर चल्दै थियो । तर अजम्मरी किराको नियन्त्रण कसरी होला भनी हामी चिन्तित थियौँ ।

ड्रोनले ओसारेर कति दिन खाना पुर्याउन सकिन्छ र ! पानी कसरी पुर्याउन सकिन्छ र ! सरकार फारुतिनो गरी सामग्रीहरू प्रयोग गर्न अनुरोध गरिरहेको थियो । उता किराको घनघोर बाढीले थप क्षेत्र डुबाउँदै लगेको थियो । थप बच्चाहरूको मृत्युको खबर आइरहेको थियो ।

एउटा बच्चालाई किराले एघार मिनेटमै खाइसकेको हल्लाले जनमानस अकल्पनीयरूपले अत्तालिएको थियो ।

मान्छे कति निरीह रहेछ भन्ने कुरा मैले त्यसबेला थाहा पाएँ । त्यसभन्दा अघि म मान्छे र मान्छेले गरेको विकासको कुनै तुलना हुन सक्दैन भनेर छाती चौडा पारेर कुरा गर्थेँ । तर त्यस क्षण म बिलकूल हतप्रभ थिएँ ।

सबै आपातकालीन अवस्थालाई नियन्त्रण गर्न र जनताको सुरक्षा गर्न सरकार सक्षम रहेको, पर्याप्त खाद्यान्न, पानी औषधी, ड्रोन र अन्य आधारभूत सामग्रीहरू सञ्चित र सुरक्षित रहेको सूचना प्रसारण गरेर सरकारले जनतालाई ढाडस दिँदै थियो ।

२१७१ माघ २३ गते शनिबारसम्म हामी त्यहीँ जंगलमा बस्यौँ । हामीले नुहाउन पाएका थिएनौँ र नजिककमा पानी थिएन । सौभाग्यको कुरा थियो कि त्यस दिनसम्म त्यहाँ किरा आएका थिएनन् । हाम्रो देश एकप्रकारले हाहाकारको अवस्थामा पुग्यो । छिमेकी देशहरू अल्मलिएका थिए । त्यहाँका जनताले किराहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिन सरकारलाई चेतावनी दिइरहेका थिए ।

यही दिन हामी बसेको नजिकैको अर्को सिविरबाट तीनजनालाई सरकारले गिरफ्तार गरेको खबर आयो । यो कुरालाई सरकारले पनि पुष्टि गर्यो । किनभने सबैभन्दा पहिले उनीहरूले नै यो किरा गुम्बामा देखेका रहेछन् । यो गिरफ्तारीमा सुन्दरश्रीको छोरो विक्रम पनि परेको रहेछ जो गुम्बामा रहेको ‘देउती बजै’को मूर्ति एक्स रे गरेर खै के पत्ता लगाउन चाहन्थ्यो ।

उक्त मूर्तिबाटै उक्त किरा प्रकट भएको रहस्यले फेरि एकपटक देश तातेर आयो । विक्रमले उक्त मूर्ति एक्स रे गर्दा मूर्तिभित्र कुनै जीवको अवशेषजस्तो लाग्ने छायाँ देखेको र मूर्तिलाई भुइँमा राख्न खोज्दा खसेर फुट्न गई उक्त किरा प्रकट भएको रहेछ । लगत्तै उनीहरूमध्ये एकजनाले उक्त किरा जुत्ताले किचिमिचिी पारिदिएपछि झण्डै बीस पच्चीस किराहरू तुरून्तै थपिएका रहेछन् । थप मार्दा किराहरू झन् थपिएका र हेर्दाहेर्दै हजारौँ लाखौँ हुँदै गएपछि उनीहरू भयभीत भई घर आएर कुरा गरेका रहेछन् । यो कुरा सरकारको कानमा पुगेपछि प्रहरीले उनीहरूलाई अनुसन्धान गर्न टिपेर लगेको भनी सरकारले खुलासा गर्यो ।

देशको अवस्था दिनप्रतिदिन असामान्य हुँदै गएको थियो । मानवीय सहयोगका लागि विदेशी ड्रोन र खाद्यान्न आउन थालेका थिए । सरकारको विपक्षी शक्तिले विदेशी ड्रोन किन देशभित्र छिर्न दिइयो भनी कडा प्रश्न गर्दै बलियो दबाब सिर्जना गरेका थिए । सहयोगको नाममा देशको अस्मितामाथि खेलबाढ हुन थालेकोले सरकारले राजिनामा गरी कुर्सी त्याग गर्नुपर्ने भनी वक्तव्य निकाली सकेका थिए ।

घटना शुरु भएको १३ दिनपछि डा.अनन्तले किरा नियन्त्रण गर्ने विधि पत्ता लगाएको खबर फैलिएपछि जनमानसमा एकाएक आशाको सञ्चार भयो ।

केन्द्रीय कीटानुसन्धान संस्थानको अत्याधुनिक प्रयोगशालामा डा. अनन्तको नेतृत्वमा विशेषज्ञ टोलीले यो कीटको बारेमा दुई हजार पृष्ठको प्रतिवेदन तयार गरेको कुरा आयो ।

यो किरालाई उनीहरूको टोलीले नयाँ वैज्ञानिक नाम दिएको थियो दीप्तिकण्टक अष्टादशपादी । यसको आयु पन्ध्र करोड वर्ष रहेको र कडा ढुङ्गाभित्र कसरी सुरक्षित रहन गयो भनी थप खोजी हुने बताइएको थियो । यसको शरीरको बाहिरी क्युटिकल Fire and Heatproof Chemical ले निर्मित रहेको र यसलाई अन्य विषादीको असर नहुने, यसले मैथुनजन्य सन्तति उत्पादन गर्न सक्छ, तर सङ्कट वा आक्रमणको अवस्थामा यसको कुनै पनि अङ्ग विच्छिन्न हुन गए त्यसैबाट नयाँ शिशु–कीट उत्पन्न हुन सक्ने क्षमता रहेको र यही कारण यसलाई ‘अनश्वरवंशधारी’ पनि भन्न सकिने, पुच्छरमा चम्किलो द्युतिकरसार(लुसिफेरस बायोलुमिनेसेन्स) रहेको अठार खुट्टा भएको यस किराको यो रसायनबाट क्यान्सरप्रतिरोधी औषधी बनाउन सकिने बताइएको थियो । यो किराले टोक्दा वा यसको सम्पर्कमा आउँदा ‘दाहज्वरिका’ नामको हलुका विष शरीरमा प्रवेश गर्छ र शिशु वा कमजोर प्रतिरोधी क्षमता भएको मान्छे मर्न सक्नेछ । साथै यसको सम्पर्कमा आउँदा शरीर चिलाउने र सिस्नोले जस्तै पोल्ने गर्छ । यिनीहरूले त्याग गर्ने विशेष रासायनिक तत्त्वले तामाका तारहरू नष्ट गर्ने, सिसा फुटाउने र मानव निर्मित चुम्बकलाई नष्ट गर्नसक्ने कुरा पनि बाहिर आयो ।

तर यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको बारेमा हप्ता दिनभित्र पत्ता लगाउन सकिने खबरले मानिसहरूलाई धेरै राहत प्रदान गर्यो । यो खबरलाई कसैले हावादारी भने । कसैले सरकारको षड्यन्त्र भने । कसैले स्थिति आशा लाग्दो अझै छैन भने । कसैले किराको कहानी सुनाउने हैन, यसबाट बच्ने तरिका तत्काल ल्याउन सरकारलाई भनिरहेका थिए ।

किराको विस्तार र फैलावट सीमापार हुन थालिसकको थियो । त्यो रोकिएको थिएन ।

तर चैत तीन गते अर्थात् किरा प्रकट भएको अठारौँ दिन बिहान सात बजे सरकारले किरा नियन्त्रणको अचूक विधि पत्ता लगाएको घोषणा गर्यो । र तत्काल उक्त विधि प्रभावित क्षेत्रमा पठायो र तीन दिनमा नै सबै किराहरू समाप्त भए ।

चौथो दिन डा. अनन्तको अन्तरवार्ता प्रसारण भयो :

“यति छिटो यत्रो चमत्कार कसरी सम्भव भयो ?”

“यी पन्ध्र दिन हामीले न भोक, न प्यास भन्यौँ । न निद्रा भन्यौँ । हामीमाथि यो अकल्पनीय चुनौती आइलागेको थियो । यो किराको प्रकोप समग्र धर्तीकै लागि विनाशकारी सावित हुनसक्ने सम्भावना प्रवल थियो । त्यसको प्रभाव रोक्नु अपरिहार्य थियो र त्यही जिम्मेवारी बोधले थिचिएर हाम्रो अनुसन्धान टोली खटियो । सम्पूर्ण शक्ति लगाएर हामीले यो समस्या छिटै पार लगाउन सफल भयौँ ।”

“एउटा किराको मधुरो ध्वनि तरङ्गले यस्तो डरलाग्दो किरा समाप्त हुन्छ भन्ने कुरासम्म कसरी पुग्न सफल हुनुभयो ? के थियो त्यो प्रेरित गर्ने तत्त्व ?”

“कुनै कुनै कुरा हाम्रो प्रयत्न मात्रले प्राप्त हुँदैनन् । ती त नितान्त संयोगले पनि प्राप्त हुनसक्छन् । हामीले उच्च पहाडका वनका चउरतिर यी किराहरू गइरहेका छैनन् वा जान सकिरहेका छैनन् र त्यता गएका किराहरू मरेका छन् भन्ने कुरालाई समात्यौँ । फलस्वरूप हामीले केही किराहरू लिएर उच्च पहाडका वनका चउरतिर गयौँ । त्यहाँ यी किराहरू निस्क्रिय भए । साँचो अर्थमा ती किराहरू मरे । र पुनः ब्युँतिएनन् । यसको कारण के हुनसक्छ भनेर हामी सोचिरहेका थियौँ कि छेवैका एकजना गाउँलेले भने, झ्याउँकिरी करायो भने यो मर्दो रहेछ । बस् भएको यत्ति थियो । हामी नाच्न थाल्यौँ । अर्कोपटक जब हामीले झ्याउँकीरी नकराएको बेला यो दीप्तिकण्टक अष्टादशपदीलाई फेरि थिचेर मार्यौं । यो ब्युँतिएर आयो । अर्कोपटक झ्याउँकिरी कराएको बेला यो आफैँ मर्यो । फेरि ब्युँतिएन । बस् भएको यत्ति थियो ।”

“अनि ?”

“अनि हामीले झ्याउँकिरीको आवाजको यान्त्रिक मोडेल बनायौँ त्यो कुनै गाह्रो काम थिएन । अहिले सबैतिर झ्याउँकिरीको त्यही आवाज गुञ्जायमान छ । यसरी एकपटक परीक्षण गर्नेबित्तिकै सफल भयो । अहिले यो समस्या पूर्णरूपले समाप्त भइसक्यो । सबै मानिसहरू आ–आफ्ना घरमा फर्किसक्नुभएको छ । दैनिक जीवन सामान्य हुँदै आएको छ ।”

“अब यो किराको समस्या सदाको लागि समाप्त भएको हो कि फेरि….. ?”

“हामीले यसको जीवित नमुना सुरक्षित राखेका छौँ । अब कतै फैलिहाले पनि नियन्त्रण गर्न कुनै समस्या छैन । तर समस्या के भने यस्ता मात्र नभएर अरू कुनै प्रकारका भाइरसहरू वा अर्कै स्वभाव भएका कीटपतङ्गहरू अरू कुनै नौलो प्रकारले प्रकट भई समस्या आउने कुरालाई नकार्न सकिन्न । तसर्थ हामीले आफ्नो काम गर्दा धेरै होश पुर्याउनुपर्छ । धर्ती अहिले पनि रहस्यको खानी हो । उसमा पनि कहिलेकाहीँ अन्तरीक्षबाट उल्कापात हुँदा यस्ता या अन्य स्वभावका कीटहरू बाहिरी अन्तरीक्षबाट धर्तीमा आउन सक्छन् । सबै प्रकारका समस्याहरूसँग जुध्न, त्यसबाट त्राण पाउन हामी हमेसा तयारी हालतमा बस्नुपर्छ ।”

“हस् धन्यवाद ।”

“धन्यवाद ।”

अस्तु ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

नरेन्द्र पराशर

नरेन्द्र पराशर — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम