Sahityapost
Nabil Bank

बेलायती सेनामा छँदै मलाई आफ्नो जन्मथलोमा केही गर्ने हुटहुटी थियो – चाम बहादुर पुन

साहित्यपोस्ट · पढ्ने समय: 5 मिनेट
बेलायती सेनामा छँदै मलाई आफ्नो जन्मथलोमा केही गर्ने हुटहुटी थियो – चाम बहादुर पुन

म्याग्दी जिल्ला करबाकेली क्षेत्रका सामाजिक अभियन्ता हुनुहुन्छ – चाम बहादुर पुन । अन्नपूर्ण गाउँपालिका – ८, काफलडाँडा, म्याग्दीमा विसं २०१२ मङ्सिर १४ गते जन्मनु भएका पुनले सन् १९७३ देखि १९८७ सम्म दोस्रो गोर्खा राइफल्समा १५ वर्ष र ब्रुनाईका सुल्तानको सेवामा १० वर्ष संलग्न हुनुभयो । सेवानिवृत्तिपछि उहाँ आफ्नो जन्मभूमिको विकासमा समर्पित हुनुभयो । वि.सं २०६० मा ’करबाकेली अनुसन्धान समिति’ गठन गरी पुन समुदायको पहिचान र पर्यटन प्रवद्र्धनमा लाग्नुभयो र हालसम्म सक्रिय हुनुहुन्छ । उहाँको नेतृत्वमा करबाकेली देवालय, पुन समुदाय सङ्ग्रहालय, सामुदायिक अतिथिगृह र ’करबाकेली इको ट्रेक’ ट्रेकिङ्ग मार्ग विकास भएको छ ।

उहाँको आत्मकथा ‘लाहुरेको सङ्घर्ष’ले उहाँको जीवन र करबाकेली सेवालाई चित्रण गर्छ । पुन संस्कृति र जीवनशैली झल्कने चलचित्र ‘एजु १’, ‘एजु २’ मा पनि उहाँको अभिनय हामीले पाउँछौं । उहाँको जीवनमाथि वृत्तचित्र पनि बनेको छ । प्रस्तुत छ उहाँसँगको कुराकानी:

बेलायती गोर्खा र ब्रुनाईमा लामो समय सेवा गरेपछि जन्मभूमिको विकासमा फर्किनु पर्ने प्रेरणा के थियो ?

– बेलायती सेनामा छँदै मलाई आफ्नो जन्मथलोमा केही गर्ने हुटहुटी थियो । बेलायती सेनामा १५ वर्ष काम गरेपछि सेकेन्ड करियरका रूपमा मैले ब्रुनाईमा १० वर्ष काम गरें । थर्ड करियरको पनि सम्भावना थियो, तर म त्यता लागिनँ । दुवैतिरको कमाइले घरव्यवहार चलाउन सकिने भएपछि बाँकी जिन्दगी सामाजिक काममै बिताउने निर्णय गरें । त्यसै अनुरूप करबाकेली क्षेत्रको इतिहास, कला, संस्कृति, धर्म, समाज, शिक्षा र पर्यटन विकासमा योगदान पु¥याउँदै आएको हुँ । शिक्षा विकासलाई पनि प्राथमिकता दिएर मैले गाउँको काफलडाँडा आधारभूत विद्यालयको शैक्षिक गुणस्तर एवम् भौतिक विकासमा पनि सहयोग पुर्याएँ ।

गोर्खा राइफल्स र ब्रुनाई सेवामा सबैभन्दा कठिन क्षण के थियो ?

– सेनाको जागीरे भएपछि अर्काको हुकुममा चल्नु पर्दछ । बिहान उठ्ने, खाना खाने, काम गर्ने र सुत्ने सबै अरूकै कार्यतालिकामा चल्नु सजिलो काम होइन । मेरो जागीरे जीवनमा प्रत्यक्ष युद्धमा भिड्नु परेन, त्यसैले त्यस्तो कठिन क्षण सामना गर्नु परेन ।

करबाकेली केवल भूगोल होइन, पहिचान पनि हो भन्नुहुन्छ । तपाईँका लागि करबाकेलीको अर्थ के–केमा समेटिन्छ ?

– हाम्रा लागि करबाकेली धर्म, इतिहास, भूगोल र पहिचान सबै थोक हो । करबाकेली बाबा हाम्रा कुल देवता हुन् । उनी हाम्रा भगवान हुन् । उनकै जीवन दर्शनमा हामी बाँचिरहेका छौं । त्यसैले उनी हाम्रा जीवन ज्योति हुन् । उनले देखाएको सत्कर्मको बाटोमा हिँड्दा जीवन सार्थक बन्छ ।

‘करबाकेली अनुसन्धान समिति’ गठन गर्नु पर्दा पुन समुदायबारे के–कस्ता ऐतिहासिक र सांस्कृतिक चुनौतीहरू देख्नुभयो ?

– कुनै पनि अनुसन्धान गर्ने काम आफैंमा सजिलो होइन । यसमा इच्छाशक्ति, लगन, मिहिनेत, समय र पैसा चाहिन्छ । अब कुरा गरौं, करबाकेली अनुसन्धान समिति गठन गर्दाको, त्यतिबेला सबैको सकारात्मक सहयोग प्राप्त भयो । हामीले विसं. २०६० सालमा अनुसन्धान गर्दा मुलुकमा माओवादीको जनयुद्ध चरमोत्कर्षमा थियो । त्यसैले गाउँघर डुलेर अध्ययन गर्न सजिलो थिएन । एकदमै जोखिम थियो । हाम्रो अनुसन्धानमा प्रत्यक्ष कुनै बाधा विरोध आएन । हामी आफ्नो काममा सफल भयौं ।

‘करबाकेली इको ट्रेक’ले स्थानीय युवाहरूको जीवनमा के परिवर्तन ल्याएको छ ? दीगो पर्यटनका लागि तपाईँको दृष्टि के छ ?

– ‘करबाकेली इको ट्रेक’ ब्रान्डिङ गरेसँगै करबाकेली क्षेत्र विदेशमा समेत चिनिएको छ । स्वदेशी तथा विदेशी पदयात्री यस पदमार्गमा हिँड्न थालेका छन् । यहाँका होटल तथा होमस्टे सञ्चालकहरू उत्साहित छन् । युवामा पनि गाउँमै केही गर्न सकिन्छ भन्ने आशा जागेको छ । सामाजिक परिवर्तनका लागि अझै एग्रेसिभ मार्केटिङको खाँचो छ । यस पदमार्गको पर्यावरणलाई जोगाएर बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना छ । यस क्षेत्रको प्रकृति, संस्कृति, जीवनशैली र जडीबुटीको व्यापक पहिचान गराएर बढी भन्दा बढी फाइदा लिन सकिन्छ ।

आत्मकथा लेख्दा सबैभन्दा गाह्रो र सबैभन्दा आत्मीय क्षण कुन थियो ?

– आफूले भोगेका, गरेका र देखेका कुरा पुस्तकमा उर्तान खासै गाह्रो भएन । तर पुराना दुःखका दिनहरू सम्झँदा भने मन भावुक हुँदो रहेछ । कतिबेला थाहै नपाई आँसु पनि झर्दो रहेछ । भर्ति हुँदाका तस्वीर हेर्दा मलाई अहिले पनि लाग्छ, अहो त्यस्तो लक्का जवान समय त अब फर्केर आउँदैन ! त्यसैले हामीले जीवनका हरेक पलको सही सदुपयोग गर्नु पर्दछ । आफ्नो गाउँघर, संस्कृति, करबाकेली बाबा र घरपरिवारका कुरा लेख्दा आत्मीय अनुभूति हुँदो रहेछ ।

‘एजु’ चलचित्र र वृत्तचित्र मार्फत् समाजलाई के सन्देश दिन खोज्नुभएको छ ?

– हाम्रो समाजमा भएको रितिरिवाज, भेषभुषा, संस्कार, संस्कृति र पहिचान नै चलचित्र र वृतचित्र मार्फत् देखाउन खोजिएको हो । यसले मौलिक पहिचानप्रति गर्व गर्न प्रेरणा दिन्छ । साथै पुन समुदायभन्दा फरक जातजातिले पनि हाम्रा चलचित्रबाट हाम्रो संस्कृतिको ज्ञान लिन सक्छन् भनेर ‘एजु’ चलचित्र निर्माण गरिएको हो ।

तपाईंले लेख्नुभएको छ – “एकपटक फेरि मिडियामा करबाकेली इको ट्रेकको एग्रेसिभ प्रचार गर्नुपर्ने आवश्यकता देखेको छु । हामी ट्रेकिङ कम्पनीहरूलाई पनि झकझक्याउँछौँ ।” योजना केकस्तो बनिरहेको छ ?

– हामीले बेलाबेलामा पत्रकार, कवि, लेखक र पर्यटन व्यवसायीलाई करबारकेली इको ट्रेकमा पदयात्रा गराएर यसको प्रचारप्रसार गरिरहेका छौं । हामीले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिसक्यौं । त्यसपछि पनि सञ्चारकर्मीलाई घुमाइरहेका छौं । फेरि पनि पर्यटनकर्मी र लेखकहरूलाई घुमाउने नै छौं ।

अन्तमा मैले सोध्न छुटाएको र तपाईंलाई केही भन्नु छ भने ?

– करबाकेली क्षेत्रमा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि निर्माण गरिसकेका छौं । अब थप पूर्वाधार विकासका काम गर्दै जानेछौं ।

एउटा कुरा फेरि भन्छु, हामीले जन्मेपछि एक दिन मर्नै पर्छ । हामी खान र रमाइलो गर्नका लागि मात्र जन्मेका होइनौं, समाजप्रति हाम्रो दायित्व छ । त्यसैले जीवनलाई सार्थक बनाउन सामाजिक उत्तरदायित्व बहन गरौं । जति सकिन्छ मातृभूमिको विकास र सम्मानमा योगदान गरौं ।

हस्, धन्यवाद तपाईंलाई । आगामी यात्राको लागि शुभकामना !

– हस्, धन्यवाद !

साझा गर्नुहोस्:

लेखकको बारेमा

साहित्यपोस्ट

साहित्यपोस्ट — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम