Sahityapost
Nabil Bank

सिर्जनाको त्रिवेणीमा तिलक पुन पुर्जा

ज्ञानेन्द्र विवश · पढ्ने समय: 5 मिनेट
सिर्जनाको त्रिवेणीमा तिलक पुन पुर्जा

सिर्जनाको त्रिवेणीमा तिलक पुन पुर्जा : कला, साहित्य र भावनाको एक अन्तर यात्रामा निरन्तर यात्रारत हुनुहुन्छ । मलाई लाग्छ, उहाँ भीडभाड भित्रको एउटा शान्त सारथि हो । जो कस्तै भीडमा पनि केही न केही खोजिरहेको हुन्छ । उहाँको खोजाइमा कहिले साहित्यका कृति हुन्छन् । कहिले साहित्यकारसँगको मित्रवत् भेट हुन्छन् । कहिले चित्रकारसँगको अन्तरङ्ग संलापमा उहाँ डुब्नुहुन्छ । यो उहाँको नियमित क्रम हो ।

साहित्य र कलाको संसार आफैँमा एउटा विराट ब्रह्माण्ड हो, जहाँ केवल तिनै व्यक्तिहरूले आफ्नो अमिट छाप छोड्न सक्छन्, जसको मनमा एउटा अथाह सृजनशील ऊर्जा र जीवनप्रति अगाध प्रेम हुन्छ । यही ऊर्जामय जीवनको गोरेटोमा निरन्तर हिँडिरहनुभएका एक सशक्त, बहुआयामिक व्यक्तित्व हुनुहुन्छ– तिलक पुन पुर्जा । उहाँ यौटा यात्री तथा नेपाली कला, साहित्य र पत्रकारिताको क्षेत्रमा एउटा सिङ्गो पाठशाला पनि हुनुहुन्छ ।

कहिले तराईको रापिलो र तातो हावामा पनि शीतल सौन्दर्यको खोजी गर्नु, त कहिले हिमाली काखको निर्मल छायाँमा बसेर जीवन र प्रकृतिको अलौकिक मिठास चाख्नु उहाँको स्वभाव हो । काठमाडौंको कोलाहल र भीडभाडयुक्त गल्लीहरूमा उहाँ अक्सर भौँतारिरहनुभएको देखिन्छ । तर, उहाँको यो भौँतारिइनु कुनै गन्तव्यविहीन भौँतारिइनु होइन; यो त सिर्जनाको खोजी हो, शब्द र रङहरूको नयाँ आयामको अन्वेषण हो ।

उहाँ भौँतारिँदा–भौँतारिँदै कहिले शब्दका जादुगर साहित्यकारहरू भेट्न पुग्नुहुन्छ त कहिले धुनका धनी सङ्गीतकर्मीहरूसँगको साक्षात्कारमा हराउनुहुन्छ । पत्रकार, साहित्यकार र चित्रकारको त्रिवेणी व्यक्तित्व बोक्नुभएका पुर्जाजीसँगको सङ्गत आफैँमा एउटा सुखद अनुभूति हो । आफूले यात्रा गरेका ठाउँका बारेमा उहाँले किताब लेख्नुभएको छ । आफूले भेटेका व्यक्तिका बारेमा पनि किताबै लेख्नुभएको छ । पत्रिकाको सम्पादन पनि गर्नुहुन्छ । घुमक्कड स्वभाव उहाँको छँदै छ ।

‘पोखरा आउँदा मलाई भेट्नु होला है सर ।’ उहाँले भन्नुभएको सुमधुर स्वर सम्झिँदै थिएँ । नभन्दै एक बिहान म उहाँको महेन्द्रपुलस्थित ‘भूगोल आर्ट’ अर्थात् ‘पुन आर्ट स्टुडियो’ मा पुगेँ । त्यहाँ उहाँसँगको घलाकुसारीको त्यो अविस्मरणीय क्षण कला ग्यालरी र पुस्तकालयको सुवास मेरो मनमा सिञ्चित भयो । मैले सम्झेँ– उहाँ कतै जाँदा फूल देख्नासाथ फोटो खिचिहाल्नुहुन्छ । कुनै वयोवृद्ध देख्नासाथ गफिँदै तिनका कुरा टिप्न हतारिहाल्नुहुन्छ ।

प्राकृतिक सुन्दरताको सहर पोखरास्थित महेन्द्रपुलको कला ग्यालरी र पुस्तकालयमा उहाँसँग भेट्ने यो एउटा सुन्दर अवसर हामी दुबैका लागि सुखद पल  थियो । त्यो भेट हामी दुई व्यक्तिबीचको संवाद, दुई भावना र आत्मिक संसारको मिलनबिन्दु पनि थियो । क्यानभासमा भर्खरै पोतिएका रङहरू र पुस्तकहरूको सुगन्ध फैलिएको त्यो वातावरणमा उहाँसँग बिताएका ती केही क्षणहरूले मभित्र उहाँप्रतिको हार्दिक सम्बन्धलाई अझ प्रगाढ, बलियो र नजिक बनाएको महसुस गरायो ।

‘कलाले शब्द नभएका भावनाहरूलाई बोल्न सिकाउँछ र पुस्तकले आत्मालाई कसरी आलोकित पार्छ ।’ मैले उहाँसँगको त्यो बिहानी भेटाइमा अनुभव सँगाल्ने अवसर पनि पाएँ । व्यस्त जीवनको दौडादौडमा पनि उहाँभित्रको सिर्जनशील संवेदना कहिले शब्द भएर व्यक्त हुँदोरहेछ । कहिले रङ भएर पोखिँदो रहेछ । उहाँले कैयौं साइनबोर्ड, विभिन्न व्यवसायको लोगो डिजाइन र आकर्षक विज्ञापनसमेत तयार पारिदिनुभएको छ । उहाँका यस्ता कलाकर्महरू शहरदेखि गाउँघरसम्म पुगेका छन् । कति होटल, कार्यालयका नाम तथा बाटो र हिमालको नाम अङ्कित साइन बोर्ड  प्रीतम देउरालीदेखि बुटवलसम्म फैलिएको छ ।

अन्ततः उहाँका शब्द र रङका भाषामा मैले नेपाली पहिचानको सुकिलो पाटो देखेँ । त्यसमा उहाँ आफैँले पाइला चालेका गोरेटा र उकाली ओरालीमा फेरेका सुस्केराहरूको स्पन्दन थियो । बडेमानको ज्यानका उहाँ कहिले ल्वाङ गाउँको उकालो चढ्न पुग्नुहुन्छ । मर्दी हिमाल र मुक्तिनाथसम्म यत्रो ज्यान कसरी हिँडेर पुग्यो होला भन्ने म कल्पना गर्छु । उहाँ कहिले क्यानभास अगाडि बसेर जीवन्त चित्ररचनाको सौन्दर्य सम्प्रेषण गर्न मरिहत्ते गरिरहनुहुन्छ । कहिले कपिलवस्तुको जगदीशपुर तालका राजहाँससँग तस्बिर खिचेर आनन्द बटुल्नुहुन्छ । उहाँको यो स्वभावै हो । उहाँ कहिले साहित्यिक, पत्रकारिता तथा सामाजिक कार्यक्रमहरूमा पनि उपस्थित हुन पुग्नुहुन्छ । निम्तो पाएपछि उहाँ राजधानीदेखि बुटवल, धनगढी, विराटनगर, झापामा समेत सहभागी हुन पुग्नुहुन्छ ।

तिलक पुन पुर्जा पुराना कुराको खोजी र सङ्कलनमा पनि गहिरो रुचि राख्ने स्वभावका हुनुहुन्छ । उहाँ भन्ने गर्नुहुन्छ– ‘म प्राविधिक कुरामा अल्झिनभन्दा पनि सिर्जनामै रम्न चाहन्छु । अनावश्यक भीडभाडभन्दा पनि एकान्तस्थलमा पुस्तकसँग मितेरी गाँस्ने मान्छे हुँ । दुनियाँको स्वार्थ, जालझेल र त्यो द्रव्यप्रतिको घनघोर आशक्ति मेरो फिटिक्कै छैन । मेरो अभियानमा नितान्त एकाङ्की भए पनि म सितिमिति हरेश खाने मान्छे नै होइन । म घुम्छु निस्फिक्रीका साथ ।’

महेन्द्रपुलको त्यो ग्यालरीमा पुग्दा थाहा भयो— उहाँले त कलाको एउटा सुन्दर संसार (ग्यालरी) नै स्थापना गर्नुभएको रहेछ । ग्यालरीका भित्ताहरूमा उहाँ आफैँले कोर्नुभएका जीवन्त चित्रहरू सजिएका थिए, जुन भित्तामा प्रदर्शनका लागि मात्र नभई कलापारखीहरूका निम्ति बिक्रीमा समेत राखिएका रहेछन् । उहाँका चित्रहरूमा कतै तराईको शीतलता, व्यक्तिचित्रको शानदार स्वरूप तथा हिमालको गाम्भीर्य प्रस्टै झल्किन्थ्यो । उहाँ आफैँ चित्र बनाएर बस्ने चित्रकार मात्र हुनुहुन्न, बरु नयाँ पुस्तालाई कलाको सैद्धान्तिक र व्यावहारिक शिक्षा दिँदै कलाको दियो बाल्ने एक कुशल गुरु पनि हुनुहुँदोरहेछ ।

त्यस ग्यालरीको परिधिभित्र कलाको मात्र साम्राज्य थिएन, त्यहाँ त ज्ञानको भण्डार पनि लुकेको थियो । ग्यालरीकै अर्को कोठामा उहाँले अत्यन्तै व्यवस्थित र आकर्षक रूपमा एउटा पुस्तकालय सजाएर राख्नुभएको रहेछ । एकातिर रङहरूको संसार, अर्कोतिर अक्षरहरूको महासागर यो दृश्य आफैँमा अभूतपूर्व थियो ।

त्यहीबेला मैले तिलक पुन पुर्जाजीको यो रूप देख्दा मलाई लाग्यो– चित्रकारिताः उहाँको भावना व्यक्त गर्ने रङ्गीन माध्यम हो । साहित्य: उहाँको विचार र दर्शनलाई जीवन्त राख्ने शब्द–शिल्प हो । पत्रकारिता: समाजलाई हेर्ने र सत्यलाई उजागर गर्ने उहाँको तिखो दृष्टि हो ।

उहाँका प्रकाशित कृतिहरू– लोकलहरी, लोकसंस्कृतिका सुसेलीहरू, बस्तीभित्र, साइनो र नेपाली सुरकर्मी र सिर्जना हुन् । उहाँका पुस्तकालय देख्दा निकै व्यवस्थित लाग्यो । जसले उहाँको अध्ययनशीलता र ज्ञानप्रतिको अगाध सम्मानलाई दर्शाउँथ्यो । कला सिक्ने विद्यार्थीहरूका लागि त्यो ठाउँ एउटा मन्दिर जस्तै थियो, जहाँ हातमा ब्रस र मनमा पुस्तकको ज्ञान एकैसाथ प्राप्त हुन्थ्यो । उहाँको यस्तो कार्य देखेर म खुशीले असाध्यै रमाएँ ।

तिलक पुन पुर्जाजीसँगको यो छोटो तर सघन भेटले मलाई एउटा नयाँ ऊर्जा पनि दियो । कला, साहित्य र सङ्गीतका साधकहरूसँग सधैँ नजिक रहन रुचाउने उहाँको सरल, निश्छल र आत्मीय स्वभाव साँच्चै नै अनुकरणीय छ । पोखराको त्यो कला ग्यालरीमा बिताएका पलहरू र उहाँको सिर्जनशीलताले मेरो मानसपटलमा एउटा गहिरो छाप छोडेको छ । उहाँजस्तो बहुआयामिक व्यक्तित्वको सामीप्य पाउनु मेरो लागि एउटा साहित्यिक र भावनात्मक उपलब्धि हो । उहाँको यो सृजनशील यात्रा निरन्तर अघि बढिरहोस् र नेपाली कला–साहित्यको आकाशमा उहाँ सधैँ एक चम्किलो नक्षत्र बनिरहनुहोस् भन्ने हार्दिक शुभकामना !

साझा गर्नुहोस्:

लेखकको बारेमा

ज्ञानेन्द्र विवश

ज्ञानेन्द्र विवश — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम