Sahityapost
Nabil Bank

आवरणभित्रको आत्मीयता

Sahityapost · पढ्ने समय: 7 मिनेट
आवरणभित्रको आत्मीयता

पहिलो भेटको सामान्य चिनाजानीले शुरू गरेको हाम्रो सम्बन्ध समयसँगै अझ गहिरिँदै गयो । त्यो स्मृतिमा सीमित रहने किसिमको परिचय रहेन– त्यो त क्रमशः जीवनका साना–साना क्षणहरूमा फैलिँदै गएको आत्मीय सम्बन्ध बन्यो ।

ज्ञानेन्द्र विवशजी कहिलेकाहीँ मेरो कार्यालयमा पनि आउनुहुन्थ्यो । त्यो बेला मेरो कार्यथलो डिल्लीबजारस्थित हुलाक सेवा विभाग थियो । सरकारी कामको व्यस्तता, कागजपत्रका थुप्राहरू, टिकट डिजाइनका सूक्ष्म रेखाहरू– यी सबैबीच उहाँको उपस्थिति एक किसिमको ताजगी लिएर आउँथ्यो । भेट हुँदा उहाँ सधैँ उस्तै जिज्ञासु देखिनुहुन्थ्यो– ‘नयाँ के गर्दै हुनुहुन्छ ?’, ‘कलामा अहिले के चलिरहेको छ ?’, ‘कलाप्रदर्शनी कहिले गर्नुहुन्छ ?’ उहाँका यस्ता प्रश्नहरू औपचारिकता हुँदैनथे, ती भित्रभित्रै कलाकारको धड्कन सुन्ने प्रयासजस्ता मलाई लाग्थे ।

यहाँनिर म के कुरा उल्लेख गर्न चाहन्छु भने त्यो बेला कलाप्रदर्शनी नगरी कलाकारको रूपमा खासै चिनिने अवस्था आउँदैनथ्यो । हुन त मैले नेपालमै पहिलो चोटि २०२७ सालमा ‘कोलाज’ शैलीका कलाकृतिहरूको प्रदर्शनी गरिसकेको थिएँ । त्यस कलालाई लिएर त्यति बेला गोरखापत्रमा नारायणबहादुर सिंहले हतोत्साहित हुने किसिमको टिप्पणी लेखेर छापिँदा म कला लेख्नेप्रति उति सारो मन पराउन्न थिएँ । कुनै पनि कला र कलाकारको बारेमा लेख्नु भनेको जिम्मेवार भएर, बुझेर, अध्ययन गरेपछि मात्र लेख्नुपर्छ ।

एकदिन उहाँ मलाई भेट्न विशेष उद्देश्यका साथ कार्यालयमै आइपुग्नुभयो । पछि थाहा भयो– त्यसअघि पनि उहाँ मलाई भेट्न आउनुभएको रहेछ, तर म मन्त्रालयतिर गएको हुँदा हाम्रो भेट हुन सकेको रहेनछ । त्यो दिन भने उहाँको अनुहारमा केही विशेष उत्साह झल्किरहेको थियो ।

भेट हुनेबित्तिकै उहाँले भन्नुभयो– ‘सर, हजुरले हाम्रो एउटा किताबको कभर डिजाइन गरिदिनुपर्यो । तपाईंको कभर डिजाइन मलाई धेरै मनपर्छ ।’

उहाँको स्वरमा आग्रह मात्र थिएन, विश्वास पनि मिसिएको थियो । मलाई लाग्यो मेरो कामप्रति उहाँको प्रेम थियो ।

त्यसपछि उहाँले झोलाबाट एउटा पाण्डुलिपि निकालेर मलाई दिनुभयो । त्यो निबन्ध सङ्ग्रह रहेछ– संवेदनाका स्वरहरू । त्यो उहाँको एकल कृति नभएर चार स्रष्टाहरूको संयुक्त प्रयास रहेछ– ज्ञानेन्द्र विवश, श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती र युवराज नयाँघरे । चार फरक संवेदनाहरूको साझा धुन जस्तो लाग्यो मलाई ‘संवेदनाका स्वरहरू’ शीर्षक निबन्धको किताब ।

मैले पाण्डुलिपि हातमा लिँदै भनेँ– ‘केही समय त पर्खिनुपर्छ है विवशजी ! तत्कालै त म बनाउन सक्दिनँ ।’

मेरो कुराले उहाँ मुस्कुराउँदै सहमत हुनुभयो र पाण्डुलिपि छोडेर फर्किनुभयो । त्यसपछि शब्दहरूबाट चित्रतर्फ जाने यात्रा शुरू भयो । मेरो आफ्नै यात्राको अर्को पाटो । केही दिनपछि मैले त्यो पाण्डुलिपि पढ्न थालेँ । प्रत्येक निबन्धमा छुट्टाछुट्टै संवेदनाका लहरहरू थिए– कहिले कोमल, कहिले तीव्र, कहिले आत्मदर्शी । ती शब्दहरूले मेरो मनमा अनेक आकृतिहरू जन्माए ।

तर त्यो समय मेरो जीवन निकै व्यस्त थियो । टिकट डिजाइन गर्ने जिम्मेवारीले दिनको धेरै घण्टा ओगटेको थियो । सूक्ष्म रेखा, सीमित आकार र कडाइका नियमहरूबीच काम गर्दैगर्दा त्यो अमूर्त संवेदनालाई आवरणमा उतार्नु सजिलो थिएन । त्यसैले ‘कभर डिजाइन’ गर्न मैले सोचेभन्दा बढी समय लियो ।

तर कहिलेकाहीँ ढिलाइ पनि सिर्जनाको एउटा आवश्यक चरण हुन्छ ।

निकै समयपछि मैले एउटा आवरण चित्र तयार पारेँ । फिक्का पहेँलो, कालो र सेतो रङको प्राथमिकतामा चारै जना युवा निबन्धकारहरूको भावनालाई बोलाउने मेरो प्रयत्न थियो । यसरी मैले विवशजी लगायत चार स्रष्टाका साझा संवेदनाको स्वरलाई दृश्यमा अनुवाद गर्ने कोसिस गरेको थिएँ ।

मैले त्यो डिजाइन विवशजीलाई देखाएँ, उहाँको अनुहारमा देखिएको सन्तोषले मलाई पनि सन्तुष्ट बनायो । उहाँलाई त्यो आवरण अत्यन्त मन परेछ । कलाकार र लेखकबीचको सम्बन्ध कति गहिरो हुन सक्छ भन्ने कुरा मैले यस्ता कामहरूबाट महसुस गर्न पाएको छु । किनभने मैले त्यति बेलासम्म धेरै किताबका ‘कभर डिजाइन’ हरू बनाइसकेको थिएँ । यस्तो काम रहरले भन्दा पनि आफूभन्दा अग्रज, साथीभाइ वा विवशजी जस्ता शुभचिन्तकको आग्रहलाई कसरी टार्नु र  ?

यो सन्दर्भ म सम्झन्छु २०५३ सालको हो । मेरो कभर भएको किताब छापियो २०५४ सालमा । किताब छापिएपछि विमोचन समारोहमा पनि उहाँले मलाई बोलाउनुभयो । म गएँ । त्यो एउटा औपचारिक कार्यक्रम थिएन, किनभने हाम्रो साझा यात्राको एउटा उत्सव जस्तै लाग्यो । मञ्चमा बसेर मैले महसुस गरेँ– कसरी एउटा सानो भेट, एउटा सानो आग्रह, समयसँगै एउटा गहिरो सम्बन्धमा रूपान्तरित भएर जान्छ ।

वर्षहरू बित्दै गए । तर त्यो सम्बन्धको न्यानोपन कम भएन । केही वर्षअघि, त्यही कृतिको प्रकाशनको पच्चीस वर्ष पुगेको अवसरमा उहाँहरूले पुनः एउटा कार्यक्रम आयोजना गर्नुभयो । समयले धेरै कुरा परिवर्तन गरिसकेको थियो । तर त्यो दिन म फेरि त्यही पुरानो दिनतिर फर्किएँ ।

मलाई अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । म त्यहाँ पुगेँ । मञ्च, अनुहारहरू, स्मृतिहरू– सबै परिचित नै थिए । त्यो एउटा कार्यक्रम बितेर गइसकेको समयसँगै बाँचेको सम्बन्धको पुनःस्मरण थियो ।

यी कुरा लेखिरहँदा आज म यी सबै क्षणहरू सम्झन्छु, मलाई लाग्छ– विवशजीसँगको मेरो सम्बन्ध भेटघाटको श्रृङ्खलासँगै कला, संवेदना र विश्वासले बुनेको एउटा जीवित कथा हो । शब्द र रेखा एकर्कामा विलीन हुँदै, जीवनका अर्थहरू खोजिरहेका कथा हुन् ।

मलाई लाग्छ कि सायद यही नै साँचो सम्बन्ध हो । जहाँ समय बिते पनि आत्मीयताको रङ क्यानभासको चित्रमा पोतिएको रङ जस्तै कहिल्यै फिक्का हुँदैन । बरु त्यसमा अर्थहरू थपिँदै जान्छन् । त्यसको महत्त्व पनि पढ्दै जान्छन् ।

समयले कहिलेकाहीँ सम्बन्धलाई चिनजानको सीमामा मात्रै सीमित  राख्दैन, उसले त्यसलाई विस्तार गर्दै एउटा सहयात्रामा रूपान्तरण गरिदिन्छ । विवशजीसँगको मेरो सम्बन्ध पनि यस्तै एउटा क्रमिक विकासको कथा हो । पहिलो भेटको झिनो सम्झना, धमिला आकृतिहरू हुँदै जीवन, कला र कर्मको साझा यात्रामा परिणत भयो ।

लामो संघर्ष र प्रतीक्षापछि बल्ल २०६७ सालमा सर्वप्रथम गठन भएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सँगै काम गर्ने अवसर मिल्नु हाम्रो सम्बन्धको अर्को महत्त्वपूर्ण अध्याय थियो । म प्रतिष्ठानको सदस्य–सचिवको जिम्मेवारीमा थिएँ, उहाँ प्राज्ञ सभासदका रूपमा संलग्न हुनुहुन्थ्यो । संस्थागत परिवेशमा सँगै काम गर्दा उहाँको अर्को पाटो झन् नजिकबाट चिन्न पाएँ– उहाँको प्रतिबद्धता, उहाँको दृष्टि र कलाप्रतिको उहाँको समर्पण । सोही कार्यकालमा उहाँका केही कला किताबहरू प्रतिष्ठानबाट छापिए । जस्तै– दिवङ्गत कलाकारहरूको जीवनी किताब ‘प्रसिद्ध अग्रज चित्रकार’ र अर्को ‘प्रसिद्ध पौभा कलाकार’ नामक उहाँले लेखेको पुस्तक छापियो ।

त्यसयता पनि हाम्रो भेटघाट, भलाकुसारी निरन्तर चलिरह्यो । समय–समयमा उहाँसँग हुने कुराकानीहरूमा सधैँ कुनै न कुनै नयाँ चिन्ता, नयाँ सोच, नयाँ सिर्जनात्मक तरङ्ग भेटिन्थ्यो । उहाँले मेरो बारेमा पनि धेरै लेख्नुभएको छ । त्यो मप्रति उहाँका शब्दको अभिव्यक्ति मात्र होइन, एउटा कलाकारप्रति अर्को स्रष्टाको सम्मान र आत्मीयताको भाव पनि हो ।

अरू धेरैले पनि भन्छन्– विवशजी राम्रो लेख्नुहुन्छ । म पनि त्यसमा सहमत छु । उहाँको लेखनमा एउटा विशिष्ट सरलता छ, तर त्यो सरलताभित्र संवेदना र सूक्ष्म दृष्टि लुकेको हुन्छ । कला सम्बन्धी उहाँका कृतिहरूले नेपाली कलाक्षेत्रलाई महत्त्वपूर्ण योगदान गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा म कुलपतिका रूपमा दोस्रो कार्यकालमा जिम्मेवारी सम्हालिरहेको थिएँ, त्यति बेला उहाँका तीन वटा महत्त्वपूर्ण कृतिहरू प्रकाशन गर्ने अवसर मिल्यो । ‘प्रतिनिधि नेपाली कलाकार’, ‘वरिष्ठ अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ र प्रसिद्ध पौभा कलाकार सिद्धिमुनि शाक्य’ को जीवनी किताब । यी तीन कृतिहरू नेपाली कलाको इतिहासका महत्त्वपूर्ण अभिलेखहरू हुन् । उहाँको लेखनीले कलाकारहरूको जीवन, संघर्ष र सिर्जनालाई जीवन्त रूपमा उतारेको र ती पृष्ठहरूमा कला आफैँ बोलिरहेको अनुभूति हुन्छ ।

यसले देखाउँछ– उहाँ एक लेखक मात्र होइन, संस्थासँग गहिरो रूपमा जोडिएको एक सांस्कृतिक सहयात्री पनि हुनुहुन्थ्यो ।

कला लेखनका अतिरिक्त उहाँ एक स्थापित निबन्धकार र नियात्राकारका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँका निबन्धहरूमा जीवनका विविध पक्षलाई निकै संवेदनशील ढंगले प्रस्तुत गर्न उहाँ सिपालु हुनुहुन्छ । उहाँका साधारण अनुभवहरू पनि असाधारण अर्थ बोकेर प्रकट भएका हुन्छन् । उहाँको अर्को स्वभाव भ्रमण हो । भ्रमणपछि उहाँले बटुलेका अनुभवलाई उहाँ बडो गजबसँग लेख्नुहुन्छ । ती लेखाइले पाठकलाई भावनात्मक र बौद्धिक यात्रामा पनि डोर्याउँछन् ।

आज, जब म विवशजी सँगको सम्पूर्ण सम्बन्धलाई समेटेर हेर्छु, मलाई लाग्छ– यो हामी दुई व्यक्ति बीचको सम्बन्ध मात्र होइन, यो त शब्द, रङ र रेखा बीचको संवाद पनि हो । उहाँका शब्दहरू र मेरा रेखाहरू– दुवैले आ–आफ्नो माध्यमबाट जीवनका अर्थहरू खोजिरहेका छन् ।

समयले हामीलाई विभिन्न मोडहरूमा भेटाएको छ– कहिले कलाकार र समीक्षकका रूपमा, कहिले सहकर्मीका रूपमा, कहिले मित्रका रूपमा । तर ती सबै भूमिकाहरूभन्दा माथि उठेर हाम्रो सम्बन्ध एउटा साझा संवेदनामा आधारित छ । त्यहाँ सम्मान, विश्वास र सिर्जनात्मक आत्मीयता निरन्तर प्रवाहित भइरहेका छन् ।

सायद यही नै सहयात्राको सार हो जस्तो मलाई लाग्छ । किनभने दुई फरक बाटाहरू अन्ततः एउटै क्षितिजतर्फ उन्मुख हुन्छन् । विवशजीसँग मेरो सम्बन्ध त्यही क्षितिजतर्फको एउटा उज्यालो यात्रा हो, जसले मलाई पनि समृद्ध बनाएको छ र मेरो कलालाई पनि । म विवशजीलाई उहाँको निरन्तर लेखन यात्राको सफलताको शुभकामना दिन्छु ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

Sahityapost

Sahityapost — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम