थुक्क ! छोरा मान्छे भएर पनि रुन्छन् ? छोरा मान्छे भएर कस्तो हुत्तिहारा भएको ! छोरा मान्छे भएर पनि कस्तो कुखुराको जस्तो मुटु !
पुरुषहरूलाई पहाड बन्न सिकाइन्छ । अडिग, स्थिर र नडगमगाउने ! तर यो महसुस गरिँदैन कि, त्यो पहाडभित्र कति भूकम्पका धक्काहरू आइरहेका छन् । पुरुषहरूलाई नदी बन्न भनिन्छ, निरन्तर बग्ने, आफैँ बाटो बनाउने तर यो हेरिँदैन कि, त्यो पानीमा कति आँशु मिसिएका छन् । पुरुषलाई दीपक बन्न बाध्य पारिन्छ तर त्यो बत्ती आफैँ कति बिस्तारै जलिरहेको छ भन्ने बुझ्न खोजिँदैन ।
हाम्रो जस्तो परम्परागत समाजमा “छोरा मान्छे” हुनु केवल जैविक पहिचान होइन, यो एउटा बोझिलो भूमिकाको नाम हो । सानैदेखि केटाहरूलाई सिकाइन्छ रूनु हुँदैन, कमजोर देखिनु हुँदैन, मुटु बलियो बनाउनुपर्छ तर उनीहरूलाई कहिल्यै सोधिँदैन, “तिमीलाई के लाग्छ ?”
बाल्यकालदेखि नै कानमा ठोक्किरहने शब्दहरू “छोरा मान्छे भएर पनि कस्तो नामर्द ?”, “छोरा भएर रोएको ?”, “छोरा मान्छे भएर कस्तो सानो चित्त ?”, “छोरा मान्छे ढुङ्गा जस्तो बलियो हुनुपर्छ”, “छोरा मान्छेलाई आँशु सुहाउँदैन ।” यी केवल टिप्पणी होइनन्, यी मानसिक संरचना निर्माण गर्ने औजार हुन् । यिनै शब्दहरूले केटाहरूलाई एउटा यस्तो ढाँचामा कैद गर्छन्, जहाँ संवेदनशीलतालाई कमजोरी ठानिन्छ । परिणामस्वरूप उनीहरू आफ्ना आँशु लुकाउन सिक्छन्, आफ्ना पीडा दबाउन सिक्छन् र बिस्तारै आफ्नै भावनासँग अपरिचित बन्दै जान्छन् ।
समाजले “पुरुषार्थ” को नाममा पुरुषलाई सधैं बलियो, कठोर र भावनाविहीन बन्न दबाब दिन्छ, जहाँ आँशु र भावना कमजोरी ठानिन्छ । यसरी आफ्ना पीडा र चाहनाहरू भित्रै दबाउँदै जाँदा, उनीहरू बाहिर बलियो देखिए पनि भित्रभित्रै कमजोर, एक्लो र थकित बन्दै जान्छन् । समाजले बनाएको यो कठोर “पुरुषत्व” को परिभाषाले उनीहरूलाई भित्रैदेखि थिचिरहेको छ । बाहिरबाट बलियो देखिनुपर्ने बाध्यताले गर्दा भित्रको थकान, डर र असुरक्षालाई उनीहरूले कहिल्यै शब्द दिन सक्दैनन् । उनीहरूलाई सिकाइन्छ, “तिमी छोरा मान्छे हौ, त्यसैले सहनुपर्छ”, “तिमीले रोएर होइन, लडेर जित्नुपर्छ ।” तर के हरेक लडाइँ बाहिरको मात्रै हुन्छ ? भित्री लडाइँहरूको आवाज किन सुनिँदैन ?
जब भावनाहरूलाई निरन्तर दबाइन्छ, त्यो हराउँदैन बरु भित्रै जमेर बिस्तारै पीडामा बदलिन्छ । त्यही भएर होला, धेरै पुरुषहरू खुल्न सकेका छैनन्, खुशी हुन सकेका छैनन् । समाजले के भन्लान् भन्ने डरले उनीहरू आफ्नै मनसँग बिस्तारै टाढा भइरहेका छन् । आफ्नो पीडा बिसाउन नसक्दा, उनीहरू कहिलेकाहीँ जाँड, रक्सी, ड्रग्स वा अन्य एडिक्सनहरूमा अल्झिन्छन् । त्यो केवल लत होइन, त्यो दबिएको पीडाहरूको मौन अभिव्यक्ति पनि हो ।
यो समस्या केवल व्यक्तिगत होइन; यो सामाजिक संरचनाको परिणाम हो । जब समाजले नै पुरुषहरूलाई कठोर प्राणीको रूपमा चित्रित गर्छ, तब उनीहरूलाई आफ्नै भावना अस्वीकार गर्न बाध्य बनाइन्छ । उनीहरू माया दिन सिक्छन्, तर माया माग्न डराउँछन् । उनीहरू अरूलाई सहारा दिन्छन्, तर आफैं सहारा खोज्न लाज मान्छन् ।
तर वास्तविकता के हो भने हरेक पुरुषभित्र एउटा दबिएको भावना हुन्छ बलियो तर कुँडिएको भित्रभित्रै खाइरहेको, भित्रभित्रै दुखाइरहेको, “म पुरुष हुँ, तर म पनि मान्छे हुँ ।”
म पुरुष हुँ, मलाई पनि माया चाहिन्छ ।
अरूलाईजस्तै स्नेह, साथ अनि अरूलाई जस्तै ध्यान ।
म पुरुष हुँ, तर मलाई पनि लाग्छ, मलाई पनि कसैले टुट्दै गर्दा सम्झाइदियोस्, थाकेको बेला काँधमा हात राखिदियोस् ।
चुप लागेको बेला, “के भयो ?” भनेर सोधिदियोस् ।
म पुरुष हुँ, तर मलाई पनि पल्टिन मन लाग्छ ।
म रिसाउँछु, अनि मनभित्रै चाहन्छु, मलाई पनि कसैले फकाइदियोस् ।
कसैले भनिदियोस् “ठिक छ, म छु नि ।
म पुरुष हुँ, तर मलाई पनि डर लाग्छ ।
कहिलेकाहीँ मेरो मुटु कमजोर हुन्छ ।
म टुट्छु, म भित्रभित्रै फुट्छु तर बाहिर भने मुस्कुराउन बाध्य हुन्छु ।
म पुरुष हुँ, तर म पनि ती सबै भावनाहरू बोकेर हिँडेको छु जुन अरूले बोकेका छन् । यी स्वीकारोक्ति कमजोरी होइनन् बरू साहस हुन् । आफ्नो पीडा स्वीकार्नु, आफ्नो कमजोरी देखाउनु, आफ्ना आँशु बगाउनु यी सबै मानवीय गुण हुन् । तर हाम्रो समाजले पुरुषहरूको हकमा भने यी कुरालाई निषेध गरेको छ । यही कारणले गर्दा पुरुषहरू आफ्नै मनको आवाज दबाउँदै आफ्नै अस्तित्वसँग टाढा हुँदै गइरहेका छन् ।
तर अब समय आएको छ यो मौनता तोड्ने । अब समय आएको छ “छोरा मान्छे र पुरूषार्थ” भन्ने सोचलाई चुनौती दिने ।
हामीले भन्नैपर्छ, मान्छे रून्छन्, मान्छे डराउँछन्, मान्छे टुट्छन् र पुरुष पनि मान्छे नै हुन् ।
यदि हामीले अझै पनि पुरुषहरूलाई भावना व्यक्त गर्नबाट रोकेर राख्यौँ भने, हामी एक गम्भीर मानसिक र सामाजिक संकटतर्फ बढिरहेका हुनेछौँ । स्वस्थ समाज त्यही हुन्छ, जहाँ सबैले आफ्ना भावना सुरक्षित रूपमा व्यक्त गर्न सक्छन् लिङ्गका आधारमा होइन, मानवताका आधारमा ।
त्यसैले, यो केवल एउटा लेख होइन, आग्रह हो । आफ्ना छोरा, दाजु, साथी, श्रीमान्, वा आफैँलाई पनि यी भावनाहरू व्यक्त गर्ने र यो निसंकोच व्यक्त गर्ने स्वतन्त्रता दिनुहोस् । म पुरुष हुँ, म टुट्न सक्छु, फुट्न सक्छु, रुन सक्छु, हाँस्न सक्छु, डराउन सक्छु, माया गर्न सक्छु, घृणा गर्न सक्छु तर यी सबै हुँदाहुँदै पनि, म पुरुष हुँ ।
अन्ततः म पुरुष हुँ तर म पनि मान्छे हुँ ।

