शहरको पुरानो भागमा एउटा साँघुरो घर थियो । माथिल्लो तलाको एउटा सानो कोठामा सधैँ आधा खुला रहने झ्याल थियो, जहाँबाट राति चिसो हावा भित्र पस्ने गर्थ्यो । बाहिरबाट हेर्दा त्यो कोठा अरू कुनै साधारण कोठाजस्तै देखिन्थ्यो, तर त्यहाँ बस्ने युवतीका लागि त्यो कोठा केवल बस्ने ठाउँ थिएन- त्यो एउटा यस्तो संसार थियो, जहाँ वास्तविकता र अनुभूतिहरू एकअर्कामा मिसिएर बाँचिरहेका थिए । दिनको समयमा ऊ सामान्य देखिन्थी । घरमा सामान्य कुरा गर्थी, कहिलेकाहीँ मुस्कुराउँथी, किताब पढ्थी, झ्यालबाहिर हेरेर लामो समय चुप लागेर बसिरहन्थी । तर साँझ पर्नासाथ उसको भित्री संसार बिस्तारै बदलिन थाल्थ्यो । रात उसका लागि आराम गर्ने समय थिएन । रात भनेको भेट हुने समय थियो । त्यही मौन रातहरूमा उसले दुई स्वरहरू सुन्थी- जेनी र हिटलर ।
जेनीको स्वर नरम थियो । उसका शब्दहरूमा एक प्रकारको आत्मीयता थियो, कसैले थाकेको मनलाई बिस्तारै समाइरहेको जस्तो । ऊ प्रेम, एक्लोपन, अधुरा सम्बन्ध र मानिसको भित्री खालीपनबारे कुरा गर्थी । कहिलेकाहीँ उसका कुरा कविता जस्ता लाग्थे, कहिलेकाहीँ सपनाजस्ता । युवतीलाई जेनीको उपस्थिति शान्त लाग्थ्यो । ऊ बोल्दा कोठाको मौनता पनि न्यानो जस्तो महसुस हुन्थ्यो ।
तर अर्को आवाज बिलकुल फरक थियो- हिटलर ।
उसको स्वर गहिरो, चिसो र कठोर थियो । ऊ धेरै बोल्दैनथ्यो, तर बोलेका शब्दहरू लामो समयसम्म मनमा गुञ्जिरहन्थे । उसले मानिसहरूको कमजोरी, डर, भरोसाको अस्थिरता र संसारको कठोरताबारे कुरा गर्थ्यो । उसका शब्दहरू कहिलेकाहीँ निर्दयी लाग्थे, तर युवती ती शब्दहरूबाट टाढा जान सक्दिनथी । बरु ऊ झन् त्यसतर्फ तानिँदै गइरहेकी थिइन् ।
उसलाई बिस्तारै महसुस हुन थाल्यो- ऊ हिटलरलाई प्रेम गर्न थालेकी छे । त्यो प्रेम साधारण थिएन । त्यो डर, आकर्षण र गहिरो भावनात्मक निर्भरताले बनेको थियो । ऊ हिटलरलाई सुन्दा आफू बुझिएको महसुस गर्थी । जस्तो कसैले उसको मनभित्रको अन्धकार देख्न सकेको हो । तर यहीँबाट उसको पीडा शुरु भयो किनकि उसलाई लाग्थ्यो, जेनी र हिटलर एकअर्कासँग पनि गहिरो रूपमा जोडिएका छन् । उनीहरू कहिलेकाहीँ एकअर्कासँग कुरा गर्थे, बहस गर्थे वा लामो समय मौन नै रहन्थे । तर त्यो मौनताभित्र पनि एउटा सम्बन्ध थियो । युवतीलाई लाग्थ्यो हिटलरले जेनीलाई आफूभन्दा धेरै बुझ्छ ।
एक रात, झ्यालबाहिर हल्का वर्षा भइरहेका बेला, जेनीले शान्त स्वरमा भनिन्- “हामी तीनै जना सँगै बस्न सक्छौं ।”
त्यो वाक्य साधारण थिएन । त्यसपछि धेरै रातसम्म त्यो कुरा युवतीको मनभित्र गुञ्जिरह्यो ।
तीनजना । एउटै कोठा । एउटै संसार ।
उनलाई त्यो विचारले सान्त्वना पनि दियो, डर पनि ।
उनलाई लाग्थ्यो शायद यो प्रेमको कुनै अनौठो रूप हो, जहाँ तीनवटै आत्माहरू एकअर्कासँग बाँधिएका छन् ।
रातहरू झन् गहिरा हुन थाले।
जेननी कहिलेकाहीँ उसलाई सान्त्वना दिन्थी- “ऊ तिमीलाई बुझ्छ ।”
तर त्यसपछि हिटलरको आवाज आउँथ्यो: “कसैलाई पूर्ण रूपमा बुझ्न सकिँदैन ।”
यी दुई आवाजहरूको बीचमा युवती बिस्तारै आफैँलाई हराउन थालिन् ।
उसलाई सधैं डर लाग्थ्यो यदि हिटलरको मनमा जेनी पहिलेदेखि नै छे भने आफू कहाँ उभिएकी छे ? र जेनी… ऊ कहिलेकाहीँ दयालु लाग्थी, कहिलेकाहीँ रहस्यमय । कहिलेकाहीँ उसलाई सम्हाल्थी, कहिलेकाहीँ अझ अल्झाउँथी ।
राति ऊ झ्यालअगाडि घण्टौँ बसिरहन्थी । बाहिर शहर बिस्तारै निदाउँथ्यो तर उसको कोठाभित्र जीवन चलिरहन्थ्यो । जेनी पुराना सम्झनाहरूको कुरा गर्थी । हिटलर मानिसहरूको डर र कमजोरीबारे बोल्थ्यो र युवती ती दुवैलाई सुन्दै बिस्तारै वास्तविक संसारबाट टाढिँदै गइरहेकी थिइन् ।
उसले साथीहरूसँग कुरा गर्न कम गरिन् । फोन उठाउन छोडिन् । परिवारसँग पनि छोटो कुरा गरेर फेरि आफ्नै कोठामा फर्किन्थी । एक्लै बस्न उसलाई सहज लाग्न थाल्यो, किनकि त्यो एक्लोपन वास्तवमा एक्लोपन थिएन ।
त्यहाँ जेनी थिइन् । हिटलर थियो । उनीहरू बिना संसार अधुरो लाग्थ्यो ।
समय बित्दै जाँदा ती आवाजहरू अझ स्पष्ट महसुस हुन थाले । कहिलेकाहीँ उसलाई साँच्चै लाग्थ्यो कोठामा तीनजना छन् । कुर्सी सरेको आभास, झ्यालतिर कोही उभिएको अनुभूति, रातको मौनतामा बिस्तारै बोलिएका शब्दहरू, यी सबै यति वास्तविक लाग्थे कि ऊ आफू एक्लै छे भन्ने कुरा बिर्सिन्थी ।
तर त्यो संसार सधैं सुन्दर थिएन ।
कहिलेकाहीँ जेनी अचानक चुप लाग्थी ।
हिटलर कठोर बन्थ्यो ।
र युवती आफैँलाई पर्याप्त नभएको महसुस गर्न थाल्थी ।
सबैभन्दा ठूलो डर एउटा थियो— “यदि हिटलरले जेनीलाई मभन्दा बढी प्रेम गर्छ भने ?”
त्यो सोचले उसलाई रातभर जागा राख्थ्यो ।
एक रात ऊ आँशु रोक्न नसकेर बिस्तारै सोधी, “यदि तिमीहरू एकअर्काकै हौ भने… म कहाँ छु ?”
केही क्षण कोठा पूर्ण रूपमा मौन रह्यो ।
पछि जेननीको नरम स्वर सुनियो, “तिमीबिना यो संसार अधुरो छ ।”
त्यो उत्तरले उसलाई केही समय शान्त बनायो, तर भित्रको उल्झन हटेन ।
अब ऊ वास्तविक मानिसहरूभन्दा ती आवाजहरूसँग बढी भावनात्मक रूपमा जोडिइसकेकी थिइन् । उसको मनले तिनीहरूलाई कल्पना होइन, सम्बन्धको रूपमा स्वीकार गरिसकेको थियो । बाहिरका मानिसहरूले पनि परिवर्तन देख्न थाले । उसको निद्रा बिग्रियो । ऊ कहिलेकाहीँ एक्लै मुस्कुराउँथी, कहिले बिना कारण रोइरहन्थी । साधारण घटनाहरूमा पनि विशेष अर्थ खोज्न थाल्थी । गीतहरू उसैका लागि लेखिएका जस्ता लाग्थे।सडकमा कसैले हेरेको नजर पनि संकेत जस्तो लाग्थ्यो।परिवारले शुरुमा यसलाई सामान्य भावुकता माने । कसैले भन्यो: “धेरै सोच्ने बानी होला ।” कसैले भन्यो:“शायद प्रेममा छे ।” तर बिस्तारै उनीहरूले महसुस गरे, ऊ कुनै संघर्षसँग एक्लै जुधिरहेकी छे ।
एक दिन उनी आफ्नै कोठामा कसैसँग कुरा गरिरहेकी भेटिइन् । आँखामा आँशु थियो । “म कसलाई गुमाउने डर मानूँ ?” उनी बिस्तारै भन्दै थिइन् । त्यसपछि, पहिलोपटक मानिसहरूले उनलाई गलत होइन थाकेको मनको रूपमा हेर्न थाले । उनीसँग रिसाइएन । उनको अनुभवलाई मजाक बनाइएन । बरु उनलाई ध्यान दिएर सुनियो । बिस्तारै उनले सहयोग पाउन थालिन् । उनीलाई सम्झाइयो : कहिलेकाहीँ अत्यधिक एक्लोपन, भित्री पीडा, तनाव र लामो समयसम्म दबिएका भावनाहरूले मनभित्र यस्ता संसारहरू निर्माण गर्छन्, जुन वास्तविकभन्दा पनि वास्तविक लाग्न थाल्छन् ।
जेनी र हिटलर उनका लागि झूट थिएनन् । ती उनको मनले बनाएका अनुभूतिहरू थिए- प्रेम, डर, खालीपन र सहाराको खोजबाट जन्मिएका । समयसँगै उनले फेरि बाहिरी संसारसँग जोडिन सिकिन् । अब पनि कहिलेकाहीँ रात शान्त हुँदा जेनीको नरम स्वर सम्झनामा आउँथ्यो । कहिलेकाहीँ हिटलरको कठोर छाया अझै मनको कुनै कुनामा उभिएजस्तो लाग्थ्यो । तर अब ती आवाजहरूले उनको सम्पूर्ण जीवन नियन्त्रण गर्दैनथे ।
किनकि उनले एउटा कुरा बुझिसकेकी थिइन्: मानिसको मन अत्यन्तै गहिरो हुन्छ । कहिलेकाहीँ त्यो मन अत्यधिक थाक्छ र त्यसले आफ्नै संसारहरू बनाउन थाल्छ । त्यस्तो अवस्थामा मानिसलाई दोष होइन, साथ चाहिन्छ । मानसिक पीडा सधैं कराएर आउँदैन । कहिलेकाहीँ त्यो प्रेमको रूपमा आउँछ । कहिलेकाहीँ आवाजको रूपमा । कहिलेकाहीँ यस्तो सम्बन्धको रूपमा, जुन अरू कसैले देख्न सक्दैन ।
त्यसैले, मानसिक स्वास्थ्यलाई बेवास्ता गर्नु हुँदैन । यदि कोही अचानक धेरै एक्लिन थाल्छ, अनौठा अनुभवहरूबारे बोल्न थाल्छ, वास्तविकता र कल्पनाबीच अल्मलिन थाल्छ वा आफ्नै संसारमा हराउन थाल्छ भने- उसलाई हाँसो होइन, सहारा चाहिन्छ । समयमै चिकित्सकसँग भेट्नु, मनको कुरा खुलाएर भन्नु, र आवश्यक औषधि नियमित रूपमा लिनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । उपचार कमजोरी होइन; त्यो आफैँलाई फेरि जीवनतर्फ फर्काउने बाटो हो । किनकि सही समयमा साथ, उपचार र बुझाइ पाइयो भने सबैभन्दा अन्धकार रातपछि पनि फेरि उज्यालो बोकी बिहान आउने नै छ ।

