आजकाल म रमिते मात्र भएको छु । मेरै घरभित्र मलाई “बुढो” भनियो “तिम्रो पालो सकियो” भनियो । छोरा–छोरी नाति–नातिना भतिजा–भतिजी भान्जा–भान्जी सबैले आ–आफ्नो पालो खोजिरहे ।
आज त मेरो नाति केटो सबैभन्दा अगाडि बढेको छ । घर चलाउन उसले नयाँ केही गरेको पनि होइन पहिला तल्लो–ठुलो गोठ चलाएको केटोले आज घरै चलाउन थालेको छ ।
तर उसको एउटा अनौठो बानी छ ऊ फिटिक्कै बोल्दैन । सुन्छ होला सायद सबै बुझ्छ पनि होला तर बोल्दैन । उसको मौनताले आजभोलि केटाकेटीहरू समेत दङ्ग परेका छन् ।
घरव्यवहार कसरी चलिरहेको छ ऐँचोपैँचो कसरी मिलिरहेको छ ओल्लो–पल्लो घरमा के हुँदैछ हामीले केही बुझ्न पाएका छैनौँ । खै के पो हुन्छ अब !
नबोलेरै उसले हामीलाई आजित बनाएको छ । हामी जति कराए पनि मेरो नाति केटो मौन छ । अनि म रमिते बनेर रमिता हेरेर बसेको छु ।

