Sahityapost
Nabil Bank

खलिल जिब्रानका पाँच छोटाकथा

साहित्यपोस्ट · पढ्ने समय: 6 मिनेट
खलिल जिब्रानका पाँच छोटाकथा

(खलिल जिब्रानको कथासंग्रह ‘The Wanderer’

अनुवादक – भवानी घिमिरे)

शरीर र आत्मा

एउटा लोग्नेमान्छे र एउटी स्वास्नीमान्छे बगैँचामा बसेर बसन्तश्री को आनन्द लिइरहेका थिए । उनीहरू एक-दोस्रा सँग बिल्कुलै टाँसिएर बसेका थिए, ती स्वास्नीमान्छेले भनिन्, “म तिमीलाई माया गर्दछु तिमी राम्रा छौ, धनी छौ र सधैँ राम्रा राम्रा लुगा लाउँछौं ।”

अनि लोग्ने मान्छेले भन्यो, “म तिमीसँग प्रेम गर्दछु । तिमी एक सुन्दर कल्पना हौ – एउटा यस्तो सूक्ष्म वस्तु हौ जसलाई हातले समाउन सकिँदैन तिमी मेरो सपनामा झंकृत हुने एउटा मीठो संगीत हौ ।”

तर ती स्वास्नी मान्छेले झोक्किएर आफ्नो मुन्टो फर्काइन् र भनिन्, “भैगो महाशय ! म कल्पना होइन तिम्रो सपनामा आउने जाने वस्तु होइन – म स्वास्नी मान्छे हुँ, म चाहन्छु कि तिमी मलाई आफ्नी स्वास्नी र भावी शिशुको आमाको रूपमा ग्रहण गर ।”

पछि उनीहरू छुट्टिए ।

लोग्नेमान्छेले आफ्नो मनमा भन्यो, “फेरि एउटा सपना अँध्यारो भयो ।”

अकर्कोतिर स्वास्नी मान्छेले भनिन्, “राम्रै भयो यस्तो मान्छेको के ठेकान जो मलाई अँध्यारो र सपना बनाउन चाहन्छ ।”

‍‍= = =

बौलाहा

एउटा पागलखानाको बगैँचामा एउटा तन्नेरीसँग मेरो भेट भयो । त्यसको अनुहार पहेलो, राम्रो र विस्मयको भावनाले भरिएको थियो ।

म उसको छेउमा बेञ्चमाथि बस्न पुगें र ऊसँग सोधें – “होइन, तिमी यहाँ कसरी आइपुग्यौ ?”

उसले अचम्म मानेर मतिर हेरेर भन्यो तपाईंको सोधनी अनौठो छ तापनि म जवाफ दिन्छु । मेरो बुबा र कान्छाबुबा मलाई आफूजस्तै बनाउन चाहन्थे । मेरी आमा मलाई आफ्नै बुबाको प्रतिमूर्ति देख्न चाहन्छिन् । मेरी बैनी मेरो अगिल्तिर आफ्नो साविक लोग्नेको आदर्श देखाउँछे र मेरो भाइ मलाई आफूजस्तै राम्रा खेलाडी बनाउने कुरा सोच्दछ ।”

“मेरा गुरूहरू अर्थात दर्शन, संगीत र तर्क शास्त्रका अध्यापकहरू सबै यस कुरामा कटिबद्ध छन् कि उनीहरू ममा ऐनामा जस्तै आफ्नो छायाँ देखुन् । त्यसैले यहाँ आउनुपर्यो । यहाँ मलाई धेरै सञ्चो सुबिस्ता छ । कमसेकम आफ्नो व्यक्तित्व त छ । ”

तब उसले अपर्झट मतिर फर्केर भन्यो, “तर यो त बताउनुहोस्, तपाईं यहाँ कसरी आउनुभयो ? के तपाईंलाई तपाईंको शिक्षा र सद्बुद्धिले यहाँ आउनको निम्ति प्रेरित गर्यो ?”

मैले जवाफ दिएँ – “होइन, म त एउटा दर्शकको रूपमा आएको हुँ ।”

उसले भन्यो,  “ए ! बुझेँ, तपाईं यस पर्खाल बाहिरको ठूलो पागलखानाको बासिन्दा हुनुहुन्छ ।”

‍= = =

धेरै पुरानो रक्सी

कुनै समयमा एउटा मान्छे थियो । जसलाई आफ्नो रक्सी भण्डार र भण्डारको रक्सीको ठूलो घमण्ड थियो । त्योसँग एउटा धेरै पुरानो रक्सीले भरिएको भाँडो थियो जसलाई कुन्नि कहिलेको निम्ति उसले जोगाएर राखेको थियो ।

एक पटक जब उसकहाँ राज्यको गभर्नर आए तब उसले मनमा विचार गर्यो, “नाथे एउटा गभर्नरको निम्ति मात्र यसलाई किन झिकूँ ।”

यसै गरी उसकहाँ विशप आए, तर उसले मनमा सोच्यो, “होइन म त्यो भाँडो कहिल्यै झिक्दिन । बरा, त्यसले त्यसको मोल के जान्ला र त्यसको नाकले त्यसको वासना के चाल पाउला ।”

फेरि एकपटक त्यसकहाँ त्यस मुलुकको राजा पनि आए । त्यसले उनको साथमा खानेकुरा पनि खाए । तर त्यसले त यही विचार गर्यो, “यो रक्सी त एउटा राजा जस्तो मानिसको तुलनामा धेरै गौरवप्रद छ ।”

यहाँसम्म कि आफ्नो भतिजोको विहेको बेलामा आएका पाहुनाहरूलाई देखेर उसले विचार गर्यो, “होइन, होइन, यो भाँडो यी पाहुनाहरूका निम्ति पनि खोल्न सकिँदैन ।

यसैगरी वर्ष वर्ष बित्दै गयो र त्यसको मृत्यु पनि भयो । त्यस बूढालाई त्यसै प्रकार माटो मुनि गाडियो जसरी एउटा बिउलाई माटोमा रोपिन्छ ।

जुन दिन त्यसलाई माटोमा गाडियो रक्सीका अरू भाँडाहरूका साथ त्यो अति पुरानो रक्सी पनि बाहिर झिकियो र छर छिमेकमा खेतालाहरूले निकै मन फुकाएर खाए । तर त्यसको प्राचीनताको ज्ञान कसैलाई पनि थिएन ।

उनीहरूको निम्ति त त्यो रक्सी बटु‌कोमा खन्याइने एउटा साधारण रक्सी मात्र थियो ।

=  = =

दुई काव्य

कैयौं शताब्दी पहिलेको कुरा हो एथेन्सको राजमार्गमा दुईजना कविहरूको भेट भयो । दुवैजना एकअर्कालाई देखेर औधि नै रमाए ।

उनीहरूमध्ये एउटाले अर्कोसँग सोध्यो, “यता तिमीले कुन चाहिँ कविता लेखेका छौ ? त्यो तिम्रो वीणाको स्वरमा त निकै गम्किँदो होला ।”

अर्को कविले गर्वपूर्वक जवाफ दिए “अँ, मैले भर्खरै एउटा कविता लेखिसकेको छु । त्यो मेरो अरू कविताहरू भन्दा सबभन्दा राम्रो त छँदैछ, त्यसको साथै ग्रीक भाषामा लेखिएको जम्मै काव्यहरू मध्ये श्रेष्ठ छ । यो कविता मेरो कुल देउताका स्तुतिमा लेखिएको छ ।”

त्यहीबेला उनले आफ्नो लुगाभित्रबाट एउटा पाण्डुलिपी झिक्दै भने – ” यता हेर, यो मसँग छ र यसलाई पढेर सुनाउँदा मलाई धेरै खुशी हुनेछ । हिँड त्यो रूखको छायामुनि बसौं ।”

ती कविले आफ्नो कविता सुनाए जुन निकै लामो थियो ।

अर्को कविले नम्रतापूर्वक भने, “साँच्चिनै यो निकै नै माथिल्लो स्तरको काव्य हो । यो युगयुग सम्म अमर रहने चीज हो र यसैले तिम्रो ख्याति अमर हुनेछ ।”

अनि पहिलो कविले अलिक हियाएर सोधे, “लौ यो त भन हिजोआज तिमी के लेखिरहेका छौ ?”

अर्को कविले जवाफ दिए, “मैले लेखेको त छ तर आठ लाइन मात्र । त्यो पनि खेलबाडमा मग्न भएको एउटा बालकको सम्झनामा ।”

अनि उनले त्यो कविता पढेर सुनाइदिए ।

पहिलो कविले भने, “त्यस्तै धेरै नराम्रो त छैन, त्यति साह्रो नराम्रो त छैन ।”

त्यसपछि उनीहरू आफ्नो आफ्नो बाटो लागे ।

अहिले दुई हजार वर्ष बितिसके पछि पनि ती कविको त्यो सानु कविता प्रत्येक भाषामा निकै चाख र प्रेम सहित पढिन्छ ।

अर्को कविता भने साँच्ची नै कैयौं शताब्दी देखि पुस्तकालयहरूमा र विद्वानहरूको आलमारीमा जोगाएर अवश्य राखिँदै आएको छ र मानिसहरूको ध्यान त्यसतर्फ जान्छ तैपनि न मानिसहरू त्यसलाई मन पराउँछन् न त पढ्छन् नै  ।

===

श्रीमती रूथ

एकबखत तीनजना मानिसहरूले टाढैबाट के देखे भने हरियो भरियो पहाड माथि एउटा सेतो घर उभिएको छ । तिनीहरू मध्ये एउटाले भन्यो – “यो उनै श्रीमती रूथको घर हो जो एउटी पुरानो जादुगरनी हुन् ।”

दोस्रोले भन्यो, “तिमीले ठीक भनेनौ । श्रीमती रूथ त एउटी राम्री आइमाई हुन् जो सधैं आफ्नो सपनामा लीन रहन्छिन् ।”

तेस्रो मान्छेले भन्यो, “तिमीहरू दुवै भ्रममा छौ । श्रीमती रूथ त यो फराकिलो जग्गाको मालिक्नी हुन् र आफ्ना खेतालाहरूको रगतसम्मको शोषण गर्दछिन् ।

यस्तै तरहले उनीहरू श्रीमती रूथका सम्बन्धमा कुराकानी गर्दै हिँडिरहेका थिए ।

जब उनीहरू एउटा चौबाटोमा पुगे तब एउटा बूढोसँग उनीहरूको भेट भयो । उनीहरू मध्ये एउटाले सोध्यो, “के तपाईं कृपा गरेर श्रीमती रूथका सम्बन्धमा केही बताउन सक्नुहुन्छ जो पहाडको सेतो घरमा बस्दछिन् ? ”

अनि त्यो बूढोले आफ्नो टाउको उठाउँदै मुसुमुसु हाँसेर भने – “म नब्बे वैर्षको छु र जब म सानो बालक थिएँ त्यतिबेला देखि नै श्रीमती रूथ बारे अलि अलि सम्झना छ । तर श्रीमती रूथ मरेको पनि अस्सी वर्ष भैसक्यो । तब देखि यो घर खाली छ जहाँ कहिलेकाहीँ लाटोकोसेरो कराउँछ र केही मानिसहरूले के लख काटेका छन् भने यहाँ प्रेतहरूको बसोबास छ ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

साहित्यपोस्ट

साहित्यपोस्ट — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम