Sahityapost
Nabil Bank

सङ्ख्या नै साङ्ख्य हो ? (निबन्ध/नवपुस्ता)

मधुसूदन घिमिरे · पढ्ने समय: 13 मिनेट
सङ्ख्या नै साङ्ख्य हो ? (निबन्ध/नवपुस्ता)

“आफ्नो कुरा गर्न सजिलो हुन्छ । आफ्ना बारेमा आफैँ जति जानकार अरू हुँदैन । त्यसैले फ्रान्सेली विद्वान् मोतेञले निबन्धको विषय म नै हुँ भनेका होलान् । उनको सन्दर्भ फरक थियो पक्कै तर यो विचार हाम्रा जीवनमा पनि लागू हुन्छन् । अन्तरात्माबाट आफू कस्तो छु र हुँ भन्ने आफूबाहेक अरूलाई थाहा हुँदैन । बाह्य स्वरूपबाट मात्र मान्छेको मूल्याङ्कन त्यति समुचित होइन तर हामी यसमै अभ्यस्त छौँ । हामी आफूबाहेक सबैका बारेमा र सबै बारेमा जानिफकार नै छौँ । यो भ्रम हुनुपर्ने तर हाम्रा लागि यथार्थ यही बनेको छ । केनोपनिषद्ले भनेको पाइन्छ:

यस्यामतं तस्य मतं मतं यस्य न वेद स: ।

अविज्ञातं विजानतां विज्ञातमविजानताम् ।।

जसले जानेको छु भन्छ, त्यसले जानेको हुँदैन तर जसले जान्दिनँ अथवा हेरौँ, प्रयास गरौँ भन्छ उसले केही जानेको हुन्छ भनेर वर्णन गरेको देखिन्छ । उपनिषद्हरूको कार्य ब्रह्मचिन्तन ह‍ो । यी वेदान्तका प्रद्योतक हुन् । माथिको प्रसङ्ग पनि ब्रह्म चिन्तनसँग सम्बन्धित भएर आएको हो तर यसलाई हामी आम मानवीय जीवनमा प्रयोग गर्न सक्छौँ । यहाँ प्रसङ्ग थियो यथार्थ स्वीकार गर्न कठिनाइ हुनु । मैले संस्कृत धारबाट जे जति क्षमता थियो, त्यति सूचना ग्रहण गरेको हुँ । म आफूलाई ज्ञानी मान्दिनँ । कारण अरूका बारेमा लेख्दिनँ । ज्ञान प्राप्ति मेरा लागि सहज कार्य कदापि रहेन । केही सीमित र अपूर्ण सूचनालाई म ज्ञानको संज्ञा दिन सक्दिनँ । त्यही अल्प सूचनाले नै जीवनमा गुजारा येनकेन प्रकारेण चलिरहेको छ । शास्त्री द्वितीय वर्षमा एउटा अनिवार्य संस्कृत रचना पढ्नुपर्थ्यो । त्यो आफैँमा विषय नभई अनेक फरक फरक विधाहरूको संय‍ोजनबाट बनाइएको रहेछ । यसको उद्देश्य कम्तीमा संस्कृत भाषाको बहुआयामिकपन विद्यार्थीहरूले जानुन् भन्ने हुन सक्छ । कुनै एउटा शास्त्री द्वितीय वर्षको कक्षामा ढिलो पुगेँ । दीपक न्यौपाने सरले यही कारिकाको व्याख्या गर्दै हुनुहुँदो रहेछ:

दुःखत्रयाभिघाताज्जिज्ञासा तदपघातके हेतौ।

दृष्टे सापार्था चेन्नैकान्तात्यन्ततोऽभावात्॥ १॥

दुःख तीन प्रकारको भनेर व्याख्या गरिरहँदा मलाई प्रश्न सोध्न मन लागिहाल्यो । सरले यसको पृष्ठभूमि बताउनु भएकै थियो होला । साथीहरू बुझे जस्तो गरेर टाउको हल्लाइरहेका थिए । मलाई पृष्ठभूमि थाहा भएन अनि सोधिहालेँ । उहाँ नयाँ शिक्षकका रूपमा आउनु भएको थियो । असाध्यै मिहिनेत गरेर पढाउनु हुन्थ्यो । मैले पनि नबुझेर नै हो सोधेको । त्यसपछि हाम्रा लागि ईश्वरकृष्णले रचना गरेको साङ्ख्यकारिकाको पहिलो श्लोकको सविस्तार व्याख्या गर्न थाल्नुभयो । संस्कृत ग्रन्थमा पहिलो श्लोकलाई मङ्गलाचरण भनिन्छ । मङ्गल कामना किन गरिन्छ? यसमा पनि अनेक तर्क सुनिन्छ । आफूले सिर्जना गर्न थालेको कृति निर्विघ्नतापूर्वक समाप्त होस् भनेर मङ्गलाचरण गरिन्छ । यसभन्दा धेर यस विषयमा लेखिनँ । यसका बारेमा अरू पनि लेख्नुपर्ने तर अर्कै प्रसङ्गमा लेख्ने छु । तीन दुःख भनेर आध्यात्मिक, आधिदैविक र आधिभौतिक भनेर भनिरहँदा म दङ्गदास परेर सुनिरहेको मात्र थिएँ । केही बुझिनँ पनि । श्रीमद्भागवत पुराण कहिलेकाहीँ एकाह पढ्न जाँदा तापत्रय विनाशाय भनेर पढिएको थियो । साङ्ख्यकारिकाको दुःख त्रय र भागवतको तापत्रयको आशय एकै रहेछ भनेर बुझ्न समय लागेकै हो मेरा लागि । अझै अस्पष्टता छ मेरा लागि यी विषय । काम चलाउन मात्र सक्ने भए । साङ्ख्यकारिका साङ्ख्य दर्शनको प्रवेशिका रहेछ । यो जानेपछि मात्र साङ्ख्य सिद्धान्त बुझिने रहेछ ।

यस्तो समय थियो । संस्कृत पढ्दै छु भन्न लाज लाग्थ्यो । अरू साथी यस विषयमा के सोच्थे मलाई जानकारी भएन तर म संस्कृत पढ्दै छु भन्दिनँ थिएँ । घर परिवार साथीभाइलाई थाहा थियो । अरूलाई ढाँटिइन्थ्यो मजाले । हीनताबोध थियो, लाज पनि थियो साथै संस्कृत पढ्छु भन्दा सराद्ध गर्न आउँछ, सत्यनारायण पूजा गराउन जानेको छ ? हात हेरिदिनु भन्ने जस्ता प्रश्न गरिरहन्थे मानिसहरू । यसैले पनि लाज, सरम सबै भएको होला । निक्कै पछिबाट मात्र संस्कृत पढेको भनेर सगौरव भन्न थालेको हो । फेरि भन्छु पढेको हो, अचेल लाज, सरम हरायो तर जानेको चाहिँ पिटिक्कै छैन, भ्रममा नपर्नु । म यस्ता गम्भीर दार्शनिक विषयमा बोल्नुपर्दा हिचकिचाउँछु । मैले बाध्यताले पढेँ, रहर कम भएर पढेँ साथै पढाउने विषयका रूपमा दर्शनशास्त्र कहिल्यै भएन । त्यसैले त दर्शन विषयबाट जति लाभ लिनुपर्थ्यो, त्यति लिन नसकेकामा अहिले दुःख लाग्छ तर यस्तो कार्य सिद्धि पछिको दुःखको के अर्थ? दर्शनका विषयमा खोजी गर्न लेख्न प्रयास गर्छु । कलम बढ्दै रोकिँदै गर्छ । एउटा सिङ्गो दर्शनलाई निबन्धको विषयवस्तु बनाउनु सहज नहुने रहेछ । भाषाशैली कता पुग्ने, आफू अर्कैतिर बहकिने समस्या हुन्छ । सबैलाई समेट्न नसकिने । अनुसन्धानमा यसैले गर्दा सीमाङ्कन आएको होला । सीमाङ्कन नहुने हो भने अनुसन्धाता खोजी गर्ने विषयभन्दा धेरै बाहिर पुग्न सक्छ? सिर्जनात्मक लेखनका पनि आफ्ना सीमा हुन्छन् ? जसलाई लेखकले बुझ्लान् । म व्यक्तिगत रूपमा निबन्धलाई साहित्यको विधा मान्ने पक्षमा उभिन्नँ । अनुसन्धान बढी विधिमा आधारित हुन थालेपछि मानिसलाई आफ्ना विचार प्रकट गर्न स्वतन्त्र विधा आवश्यक पर्यो, त्यसैले निबन्ध भनियो होला सायद । मैले मानेँ पनि नमानेँ पनि यो आजका दिनमा सर्वाधिक लोकप्रिय विधा मानिन्छ ।

प्राचीन पूर्वीय दर्शनमा साङ्ख्य प्रमुख मानिन्छ । साङ्ख्य र योग दर्शनलाई समान तन्त्रका रूपमा व्याख्या विश्लेषण गरेको देखिन्छ । साङ्ख्ययोग पृथक्बाला प्रवदन्ति नपण्डिता: भनेर श्रीमद्भगवद्गीताले भनेको पाइन्छ । समान तन्त्रको आशय यिनीहरूले प्रतिपादन गरेका विषय उस्तै उस्तै प्रकृतिको रहनु हो । योग साङ्ख्यको प्रायोगिक शाखा मानेर अगाडि बढ्न सकिने भए पनि यी दुई पृथक् दर्शनका रूपमा प्रतिष्ठापित छन् । यहाँ साङ्ख्य दर्शनको विवेचनाभन्दा अगाडि पूर्वीय शब्दको व्याख्या बढी सान्दर्भिक हुन जान्छ ।

पूर्वे भव अर्थात् पूर्वमा भएको भन्ने अर्थात् ईय प्रत्ययबाट पूर्वीय शब्द पाणिनीय शब्दशास्त्रमा सिद्ध भएको छ । यस अर्थमा व्युत्पादित पूर्वको भौगोलिक मान के हो? यस प्रश्नको पनि थोरबहुत उत्तर अपेक्षित हुन्छ । ग्रिसेली प्रायद्वीपबाट हेर्दा जताबाट सूर्योदय हुन्थ्यो, त्यसलाई पूर्व भन्न थालियो । यसलाई आधार बनाउँदा एसिया र अफ्रिका पूर्वीय भूभागभित्र पर्छन् । अहिले यसलाई युरोप र अमेरिकन सभ्यता र संस्कृतिका पक्षपाती पश्चिम हो भने तदितर पूर्व हो । यसबाट पूर्वीय भूभागभित्र पूरै एसिया र अमेरिका नै पर्दछन् । पूर्वमा अनेक चिन्तन धारा विकास भई फैलिएका छन् । समयक्रमसँगै अहिले पूर्वीय शब्दले संस्कृत भाषामा निबद्ध साथै संस्कृत प्रभावी बौद्ध जैन वाङ्मयलाई मात्र बुझाउँछ । संस्कृतका महान् वैयाकरण पाणिनिले पौरस्त्य, पाश्चात्त्य र दाक्षिणात्य शब्द एउटै सूत्रमार्फत समान त्यक् प्रत्यय लगाएर गरेका छन् `दक्षिणा-पश्चात्पुरसस्त्यक्´, (अष्टाध्यायी ४.२.९८)। यसबाट के अनुमान गर्न सकिन्छ भने भौगोलिक बनावट फरक भए पनि उनका समयमा पौरस्त्य, पाश्चात्त्य र दाक्षिणात्य सभ्यता र चिन्तन समान ढङ्गले अघि बढेको थियो । समानता शब्दमा मात्र नभएर शाश्वत चिन्तन जुन भूमिबाट भए पनि स्वीकार्य हुनुपर्छ भन्ने पाणिनिको तात्पर्य मान्न सकिन्छ ।

पौरस्त्य दर्शनलाई मूलभूतमा आस्तिक र नास्तिकका रूपमा विभाजन गरेको पाइन्छ । वेद अथवा वैदिक संहिताका भनाइलाई प्रमाणका रूपमा स्वीकार गर्नेहरूलाई आस्तिक भनिन्छ । यद्यपि परमार्थ छ भन्ने अर्थमा आस्तिक शब्द बन्दछ । वैदिक संहिताहरूले परमार्थको चिन्तन गरेकै छन् । तसर्थ साङ्ख्य, योग, पूर्व मीमांसा (कर्मप्रधान) उत्तर मीमांसा (वेदान्त दर्शन) न्याय, वैशेषिक यी छ दर्शन आस्तिकभित्र समाहित हुन्छन् । यिनीहरूले कुनै न कुनै रूपको परमार्थ स्वीकार गरेका छन् । तसर्थ यिनलाई आस्तिक दर्शनभित्र समाहित गरिएको हो । यसैगरी वेदोक्त वाणीलाई अस्वीकार गर्नेहरू बौद्ध, जैन र चार्वाक नास्तिक दर्शनभित्र पर्छन् । यिनमा पनि बौद्ध र जैन दर्शनले वेदलाई प्रामाणिक मान्दैनन् तर आफ्ना प्रतिष्ठापकका वचनलाई प्रमाणका रूपमा स्विकारेको पाइन्छ । त्यसैले यी दुई दर्शन पूर्णतः नास्तिक नभई अर्द्ध नास्तिक मान्दा बढी सान्दर्भिक ठहर्छ । मनुस्मृतिमा नास्तिको वेद निन्दक: अर्थात् वेदको निन्दा गर्ने नास्तिक भने पनि जैन, बौद्ध र चार्वाकहरूले वैदिक संहिताको निन्दा गरेका होइनन् । उनीहरूले त्यसमा प्रतिपादित विषयलाई स्वतः आप्त वचनका रूपमा स्वीकार नगरेका मात्र हुन् । प्राच्य दर्शनमा पूर्ण नास्तिक दर्शन चार्वाक मात्र पर्दछ । दर्शनको खास उद्देश्य तत्त्व विवेचना हो । यसका लागि प्रमाण आवश्यक छ । पदार्थ सिद्ध गर्ने आवश्यक उपकरण अथवा उपाय नै प्रमाण हुन् । चार्वाक मात्र एक यस्तो दर्शन हो, जसले प्रत्यक्षबाहेक अरू प्रमाण स्वीकार गरेको पाइँदैन ।

महाभारतको शान्तिपर्वमा साङ्ख्यलाई यसरी चिनाएको भेटिन्छ:

सङ्ख्यां प्रकुर्वते चैव प्रकृतिम् च प्रचक्षते ।

तत्त्वानि चतुर्विंंशत् तेन साङ्ख्यं प्रकीर्तितम् ।।

यसमा उल्लेख भएबमोजिम सङ्ख्याको गणना, प्रकृतिको विवेचना, चौबिस तत्त्वको व्याख्या नै साङ्ख्य हो । साङ्ख्य शब्दले सङ्ख्या (गणना) र ज्ञानलाई प्रस्तुत गर्दछ । यसले सङ्केत गरेको अर्थ यथार्थसँग नजिक देखिनुको कारण साङ्ख्यमा चौबिस तत्त्वको विवेचनाका साथै विवेकसम्मत ज्ञानको पनि विश्लेषण भएको देखिन्छ ।

साङ्ख्य प्राचीन भारतीय दर्शन हो । यसका प्रतिपादका रूपमा कपिल मुनिलाई लिइन्छ । भारतवर्षमा कपिल नाम गरेका कयौँ व्यक्तिहरू रहेका छन् । तीमध्ये कुन कपिलचाहिँ साङ्ख्यका प्रणेता हुन्, यो विवेच्य विषय हो । चार जना कपिलहरू प्रसिद्ध छन् । तीमध्ये एक जना गौतम बुद्धका वंशज र कलियुगकालीन हुन्, जसबाट कपिलवस्तु नामकरण भएको मानिन्छ । त्यसैगरी अर्का कपिल ब्रह्माका मानस पुत्र ज्ञानी व्यक्ति थिए । तेस्रो कपिल अग्निदेवका अवतार विशेष थिए । अर्का कपिल कर्दम ऋषि र देवहूतिका सन्तान थिए । यिनलाई नै साङ्ख्य दर्शनका प्रणेता मानिन्छ । यसको साक्ष्य श्रीमद्भागवत पुराण हो । त्यहाँको वर्ण्य विषय हेर्दा अग्नि अवतार, ब्रह्माका मानस पुत्र र विष्णुका अवतार एकै व्यक्ति रहेको अनुमान गर्न सकिन्छ । कर्दम र देवहूतिका सन्तान कपिलले साङ्ख्य दर्शनसँग मिलजुल हुने तत्त्वको प्रणयन गरेका छन् । यसको चर्चा श्रीमद्भागवत महापुराणको तृतीय स्कन्धमा आउँछ । त्यहाँ वर्णित साङ्ख्य दर्शन सेश्वर छ । सम्पूर्णतामा साङ्ख्यले ईश्वर तत्त्वका बारेमा विश्लेषण गरेको पाइँदैन । व्यक्त, अव्यक्त र ज्ञ तत्त्वलाई विवेचना गर्दा ज्ञ तत्त्व नै पुरुष हो र त्यही ईश्वर हो भन्ने भाव पनि पाइन्छ । त्यसैगरी उपनिषद्हरूमा पनि साङ्ख्यले स्वीकार गरेका तत्त्वहरूका बारेमा विवेचना भएको देखिन्छ । श्वेताश्वतरोपनिषद्को तल उल्लेख भएको श्लोकलाई साङ्ख्यको बीज मानिन्छ । यसले साङ्ख्य दर्शन वैदिक दर्शनकै पक्षपाती रहेको पनि प्रमाणित हुन्छ । साङ्ख्यकारिकाका प्रसिद्ध टीकाकार वाचस्पति मिश्रले तत्त्वकौमुदी टीकाको मङ्गलाचरण यसै श्लोकलाई केही परिवर्तन गरी प्रस्तुत गरेका छन्:

अजामेकां लोहितशुक्लकृष्णां

बह्वी प्रजा: सृजमानां सरूपा: ।

अजो ह्येको जुषमाणो$नुशेते

जहात्येनां भुक्तभोगामजो$न्य: ।।

साङ्ख्य दर्शनले पच्चिस तत्त्वको व्याख्या गर्दछ । गुणानां साम्यावस्था प्रकृति भनिन्छ अर्थात् गुणहरूको समानता प्रकृति हो । गुणभित्र सत्त्व, रजो र तमो गुण पर्दछ । सृष्टिका लागि रजो गुण अनिवार्य मानिन्छ । सृष्टिको निरन्तरताका लागि रज अनिवार्य हो । यो स्त्री प्रजातिमा हुने गुण हो । यसलाई आधुनिक सृष्टि प्रणालीले पनि स्वीकार गर्दो रहेछ । यसका चौबिस तत्त्वलाई यसरी नियाल्न सकिन्छ: प्रकृति, महतत्त्व (बुद्धि), अहङ्कार, पञ्चतन्मात्रा शब्द, स्पर्श, रूप, रस र गन्ध उत्पन्न हुन्छन् । पञ्चतन्मात्रामध्ये शब्दबाट आकाश, स्पर्शबाट वायु, रूपबाट तेज, रसबाट जल र गन्धबाट पृथ्वीको उत्पन्न हुन्छ । त्यसैगरि पञ्च ज्ञानेन्द्रिय श्रोत्र (कान), त्वचा (छाला) नेत्र, रसना (जिब्रो) घ्राण (नाक) र पञ्च कर्मेन्द्रिय वाणी, हात, खुट्टा, उपस्थ र गुदा र मनसहित एकादश इन्द्रिय जोडेर चौबिस तत्त्व पुग्छन् । साङ्ख्यकारिकाले यसलाई यसरी अभिव्यक्त गरेको छ :

मूलप्रकृतिरविकृतिर्महदाद्या: प्रकृतिविकृतय: सप्त ।

षोडकस्तु विकारो न प्रकृतिर्न विकृति: पुरुष: ।।

साङ्ख्यले स्वीकार गरेको मूल तत्त्व यत्ति हुन् । अब प्रश्न आउँछ, यसैका आधारमा साङ्ख्य अरू दर्शनभन्दा फरक कसरी हुन सक्छ? दर्शन हुनका लागि केही चिन्तनगत पृथक्कता र मौलिकपन हुनु नितान्त आवश्यक हुन्छ ।

साङ्ख्य दर्शन स्थूलभन्दा प्रकृतिको सूक्ष्म व्याख्यामा केन्द्रित रहेको पाइन्छ । स्थूलताको व्याख्या अर्थात् भौतिक पदार्थहरूको विवेचना न्याय, वैशेषिक दर्शनमा अधिक भएको देख्न सकिन्छ । साङ्ख्य मनोविज्ञान अर्थात् आन्तरिक चेतनाको व्याख्यामा बढी मुखरित छ । साङ्ख्य आफूले स्वीकार गरेका पदार्थ सिद्ध गर्न प्रत्यक्ष, अनुमान र आप्त प्रमाणलाई स्वीकार गर्दछ । आप्तको आशय परम्पराबाट प्रचलित ऋषिमहर्षिहरूद्वारा अभिव्यक्त भएका विचार हुन् । यसलाई अर्को शब्दमा शब्द प्रमाण पनि भन्ने गरिन्छ । प्रमाणविना प्रमेय सिद्ध गर्न सकिँदैन । आजका दिनमा पनि अदालततिर भरपर्दो प्रमाण खोजी गरिन्छ, मुद्दा प्रमाणित गर्नलाई । पौरस्त्य दर्शनमा उनीहरूले स्वीकार गरेका तत्त्व प्रमाणद्वारा नै सिद्ध गर्ने गरेका छन् । कसैले लेखेकै भरमा कुनै पनि कुरा प्रमाणित हुँदैन । दर्शन भावना अथवा संवेदनामा आधारित हुँदैन । भावनामा आधारित साहित्य हुन्छ । यसका लागि प्रमाण आवश्यकता पर्दैन ।

त्रिगुण सत्त्व, रज र तमबाट समस्त सृष्टि हुने कुरा उल्लेख भइरहँदा यी तीनैको मूल स्वरूपलाई प्रकृति भनेर चिनाएको पाइन्छ । आज हामी मानव जसलाई प्रकृति भन्छौँ, त्यो मूल प्रकृति साङ्ख्यका अनुसार तीन गुणको साम्य अवस्था हो । यस दर्शनको अर्को विशेषता भनेको कार्यकारणवादलाई मानिन्छ । यसलाई शब्दान्तरमा सत्कार्यवाद पनि भन्ने गरिएको देखिन्छ । यसको तात्पर्य कुनै कार्य, काम हुनुमा कारण विद्यमान हुन्छ । तिलमा तेल भएकाले नै पेल्दा निस्किने हो । परिणामका लागि त्यसभित्र उचित कारण हुनै पर्दछ । साँच्चै कारणविना कार्य हुन्थ्यो भने बालुवा पेल्दा पनि तेल निस्किन सक्नुपर्थ्यो तर यस्तो हुँदैन । यसमा कारणको खोजी गरिन्छ । सत्कार्यवाद साङ्ख्यको मौलिक र विशिष्ट सिद्धान्त मानिन्छ । यसका लागि अनेक तर्क दिइएको पाइन्छ ।

साङ्ख्यमा व्यक्त, अव्यक्त र ज्ञ गरी मूलभूत रूपमा तीनको सम्यग् विवेचना पाइन्छ । तत्त्व पनि चौबिस, पच्चिस यस विषयमा मतैक्यता भेटिँदैन । यिनीहरूले स्वीकार गरेको पुरुष तत्त्व अन्य दर्शनको ईश्वर जस्तो प्रतीत हुँदैन । यो दर्शन ईश्वरविरोधी नभए पनि स्पष्टता साथ अभिव्यक्त भएको पनि पाइँदैन । संसारप्रति निर्लिप्त (उदासीन) स्वभावको पाइन्छ । प्रकृति जड तथा अचेतन हुनु मान्यता यसमा रहेको छ भने पुरुष चेतन तथा तटस्थ छ । यस दर्शनको समानतन्त्र योगमा ईश्वरका बारेमा उल्लेख भएको भेटिन्छ । यसले त्यसरी परिकल्पना गरेन । कुनै विषय कसरी उपस्थापित गर्ने र कुनलाई प्रधान मान्ने उसको नितान्त व्यक्तिगत विषय हो । त्यसपछिकाले खण्डनमण्डन मात्र गर्न सक्छ । साङ्ख्यको पुरुष संसारप्रति उदासीन रहे पनि प्रकृतिले यसैसँगको एकीभवनले सृष्टि गर्छ भन्ने होला सायद । दर्शनको विवेचनामा सायद शब्द अपेक्षित हुन्छ । यसो नहुँदा तत्त्व निश्चित हुनुपर्थ्यो र त्यसमा खण्डनमण्डन भइरहँदैन थियो । यसले ज्ञानका अनेक शाखा विस्तारमा अवरोध उत्पन्न हुन्थ्यो । गतिशीलता नहुँदा सायद हाम्रो इतिहास यति लामो र अस्तित्वपूर्ण हुँदैन थियो पक्कै ।

साङ्ख्य दर्शन प्रकृतिको आन्तरिक विवेचनाको उपक्रम हो । यसले स्थापित गरेका सबै विषय स्वीकार्य नहुन सक्छ । तर प्राणी, वनस्पतिको सृष्टिक्रमलाई यसले राम्रैसँग प्रतिपादन गरेको पाइन्छ । साङ्ख्य साहित्यमा कपिलको साङ्ख्यसूत्र´ र ईश्वर कृष्णको साङ्ख्यकारिका´ को विशेष स्थान छ । गौतम बुद्धको जीवनीलाई महाकाव्यको विषय बनाउने अश्वघोषको ` बुद्धचरितम्´मा पनि साङ्ख्य दर्शनको सङ्केत छ । बुद्धत्व प्राप्तिपूर्व उनी सिद्धार्थ गौतम थिए । विरक्तिको भाव आएपछि राजकाज छोडेर जङ्गलतिर त लागे तर ज्ञान कहाँबाट, कसरी र कोसँगबाट प्राप्त हुन्छ भन्ने उनलाई थाहा भएन । अनेक साधु, सिद्ध, महर्षि, तपस्वीहरूको सङ्गत गर्न थाले तर कसैसँगको सत्सङ्गबाट पनि समस्त प्राणीको हित हुने मार्ग पत्ता लागेन । यही सिलसिलामा अराड महर्षिकामा पुग्छन् । उनी साङ्ख्य दर्शनका स्थापित ऋषि थिए । सिद्धार्थ गौतमले केही समय उनको सङ्गत गरेको तथ्य अश्वघोषले महाकाव्यमा उल्लेख गरेका छन् । भलै बुद्धलाई अराडको विचारधाराले निर्वाणको मार्गमा लानेमा सन्देह भयो र सत्सङ्ग पनि त्यागे पनि । सिद्धार्थ गौतमको नगरी कपिलवस्तु साङ्ख्य दर्शनका प्रणेताकै नामबाट राखिएको हुनुपर्छ ।

प्रकृति र पुरुषको संयोग नै सृष्टिको आधार यस दर्शनले मान्दछ । साङ्ख्य दर्शन प्रकृतिको सूक्ष्म व्याख्या विश्लेषणमा केन्द्रित रहेको पाइन्छ । साथै मानव मनको विवेकसम्मत व्याख्या गर्नु यसको अर्को खास विशेषता हो । यसलाई योग दर्शनको सैद्धान्तिक धरातल पनि मान्न सकिन्छ । यसले निर्धारण गरेका प्रत्येक तत्त्वको विवेचना प्रमाणित ढङ्गले गरेको देखिन्छ ।

व्यक्तिगत रूपमा मलाई पनि यो दर्शन प्रिय लाग्छ । प्रत्येक दर्शनका केही आफ्नै सैद्धान्तिक विशेषता र मौलिकपन हुन्छन् । पदार्थ सिद्ध गर्ने आवश्यक प्रमाणहरू दर्शनअनुसार फरक फरक पाउन सकिन्छ । फरकपनले नै मौलिकता ल्याउने हो सायद । यसले स्वीकार गरेका तत्त्वहरूको सम्यग् ज्ञान मोक्षको आधार पनि मानिन्छ । मुक्ति, मोक्ष, कैवल्य र निर्वाण, अपवर्ग जस्ता शब्दहरू पर्यायका रूपमा प्रयोग हुन्छन् । मोक्षको स्वरूप पनि धर्मदर्शनअनुसार फरक पर्दछ । भौतिक शरीरको नाशपश्चात्को यात्रा नै मुक्ति मार्गको यात्रा हो । कयौँ वर्षको साधना र अनुभवबाट प्रतिपादित मोक्ष सिद्धान्तलाई हामी जस्ता अल्पज्ञले विवेचना गर्नु सान्दर्भिक कदापि हुँदैन । कतिपय विषयहरू तर्क र प्रमाणका आधारमा नभई अनुभवका आधारमा सिद्ध हुने गर्दछन् । अनुभवजन्य ज्ञानमाथि अन्य हुनै सक्दैन । साङ्ख्य दर्शन पनि कयौँ ऋषिमहर्षि र आप्तजनको खोज अन्वेषणको प्रतिफल हो । यस विषयमा हाम्रो सामान्य दिमागले विवेचना गर्ने प्रयास विशाल समुद्र पार गर्न एउटा सानो डुङ्गाको सहारा झैँ हुन्छ । साङ्ख्य दर्शनले सङ्ख्याको साथसाथै विवेकसम्मत ढङ्गले मिहीन रूपमा बाह्य प्रकृति र मानवीय आन्तरिक प्रकृतिको चित्रण गरेको पाइन्छ । पौरस्त्य दर्शनको विकासमा यसलाई छोडेर अगाडि कदापि बढ्न सकिँदैन । यो ज्ञानको नवीनतम व्याख्या विश्लेषणको उपागम हो । विज्ञेषु किमधिकम् ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

मधुसूदन घिमिरे

मधुसूदन घिमिरे — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम