Sahityapost
Nabil Bank

कथा: बिउँझदा

हेमनाथ अधिकारी · पढ्ने समय: 8 मिनेट
कथा: बिउँझदा

आज गोविन्द र गौरीको रात राम्ररी नसुतेरै बित्यो । वसन्त आउने आशामा रमाउँदै गरेका बोटहरू आफ्नै धुनमा निमग्न थिए । अकास न त उघ्रिएको न त धुम्मिएको, यस्तै अरगज्जमा थियो । बिहानको झिसमिसे हुुनुभन्दा अगाडि नै दुवैजना उठे । घर धेरै दिनका लागि छाड्नु पर्ने भएकाले गौरीले हिजै राम्ररी सफा गरेकी थिइन् । गोविन्दले कोठेबारीका बोटबिरुवा गोडमेल काटछाँट गरेर चिरिच्याट्ट पारेका थिए । मानौँ तिनीहरूसँग खुशीसाथ बस है भनेर बिदा मागिसकेका थिए । मन यसै तुलबुल थिए । नौवर्षको हुँदा बाबुआमासँग बसाइँ आएपछि गोविन्दले त्यही ठाउँमा त्रिचालीस वसन्तको रमाइलो, वर्षाको कहर र हिउँदको सिरेटो बिताइसकेका थिए । यता गौरी पनि १५ वर्ष लाग्दै विवाह भएर भित्रिएपछि त्यही चुलोचौको, घरआँगन, वस्तुका थला, बाख्राको खोर, टाट्नामा नाचेर बलबर्गत, वय खर्च गरिसकेकी थिइन् । त्यही घरदलान, रछान र खेतबारीसँग उनीहरूको जीउज्यान, मनमुटुको प्रिय आलिङ्गन नै आनन्दको सर्वोपहार थियो । उनीहरूसँग कहीँकतैका न ठूला-ठूला सपना थिए न देशविदेश विचरणका आकांक्षा । सारा सपना त्यहीँ नै विलीन भएर विपना भइसकेका थिए ।

अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा बसिरहेका छोरा गोपाल र बुहारी वन्दनाले बाबुआमा लाने योजना बनाएर निकै अघिदेखि कागजपत्र मिलाइरहेका थिए । तीनमहिना अघि नै टिकट काटेर ह्वाट्स एपमा फोटो पठाएका थिए । मेसेन्जरमा कुरा गर्दा बाबुआमा आउने खुशीका उपहार बाँडिरहन्थे । उनीहरूलाई लाग्थ्यो, विदेश जाने छोराछोरीको प्रमुख उद्देश्य नै बाबुआमा लाने हुँदोरहेछ ।

टिकटमा तोकिएको दिन आइपुगेकाले अब उनीहरूले घरसँग बिदा नमागी धरै थिएन । एकमात्र छोरी गङ्गा जवनपुर नगरीमा नानीहरू पढाउँदै बुढा भएका सासुसुराको हेरचाह गरेर बस्थिन् । ज्वाइँ तीन वर्षअघि मात्र अमेरिका गएकाले छोरी र नानीहरूलाई लाने चाँजोपाँजो मिलेको थिएन ।

दुईदिन अघि नै बाबुआमा बिदा गर्न पोकापतेउरा ठीक पार्न गङ्गा आइकी थिइन् । उनले लगेज, ह्यान्ड क्यारी सबै वजन मिलाएर ठिकठाक पारेकी थिइन् । त्यो बिहान गोविन्द र गौरीलाई सधैँजस्तो थिएन । परिवार मिलनको हर्ष र घरछाडेर जानुको विस्मातको ककटेलको अलि अलि मात लागिरहेको थियो । त्यसैले खास केही सम्झन वा यसै भन्न सकिरहेका थिएनन् ।

अस्ति भोट माग्न आउनेले विदेशबाट छोराबुहारी यतै आउने अवस्था बनाउछौँ, अब विदेश बसिरहनु पर्दैन भनेको मात्रै झल्झली सम्झिरहन्थे । ती शब्दले उनीहरू कताकता दङ्ग थिए ।

द्विविधापुरको बसबिसौनीबाट माइक्रो बस चढेर उनीहरू काठमाडौँ उत्रिए । त्यहाँ भान्जा नवीनले कोठामा लगेर राखे ।

भान्जाले पुर्याएपछि त्रिभुवन विमानस्थलमा सिङ्गापुर हुँदै अस्ट्रेलिया जाने राति एघार बजेको जहाजतर्फ लागे । उनीहरू सपनामै हिँडिरहेका थिए । न देश न परदेश घुमेका उनीहरू   भनेझैँ छोराबुहारी र दुईआँखाका नानीजस्ता नातिनातिनासँग भेट्ने समयको पर्खाइमै रुमल्लिरहे ।

जहाज उड्यो । उनीहरूका सपना पनि कता उडे उडे शायद त्यो जहाजसँगै । आँखाका पलक जोडिने छाँटकाँटै ल्याएनन् । “गौरी अब हाम्रा छोराबुहारी, नाति, नातिनी नेपाल साँच्चै आउँछन् त ? तिमीलाई कस्तो लाग्छ ? अस्ति तेसो भन्ने मान्छेहरू भनेजस्तै ठूला ठूला भए । अब बुढेसकालमा हामी छोराबुहारीसँगै बस्न पाउछौँ त ?” गोविन्दले गौरीलाई सोधे । “म भन्दा ता तपाईं नै धेरै जान्नुहुन्छ । हाम्रो माथिको वनपाखो गाउँघर सबै रमाइलो हुन्छ । भरिभराउ हुन्छ भन्थे । तर खै के के हुने हो । म त केटाकेटी फिर्छन् जस्तो नि लाग्दैन । भित्री मनले ता त्यति पत्याएको छैन है मेरो । चुनाउका बेला के के भन्चन् भन्चन् । भन्याजस्तो गरे ता हुने नि ।” यत्तिकैमा एउटा मान्छेले जहाजभित्रको बाटामा एउटा ट्रलीमा के के ल्याएर नरम स्वरमा “ह्वाट डु यु निड ? हट ड्रिङ्क, सफ्ट ड्रिङ्क, वाटर, कफी, टि अरु के के” भन्दै आए, उनीहरू अलमल्ल । पछाडिको सिटमा बसेका छुट्टी सकेर फिर्दै गरेका सिङ्गापुरे लाहुरे मनजित लिम्बूले “अङ्कल आन्टी यिनले हामीलाई खानेकुरा ल्याएका हुन् रोजेर खान पाइन्छ । यहाँ चिया, कफी, स्याउको जुस, अनारको जुस, तातोपानी, चिसोपानी, बियर र अनेक प्रकारका रक्सीहरू छन् । तपाईंहरू के के खानु हुन्छ भन्नु त म त्यही मागिदिन्छु” भनेर सहयोग गरे । गोविन्द गौरीले तातो पानी र अनारको जुस मागेर खाए ।

ती भाइलाई “तपाईंको भलो होस् ” भने ।

यस्तै अनेक विपना सँगाल्दा सँगाल्दै उनीहरू सिङ्गापुर विमानस्थलमा अवतरण गरे । ती लाहुरे भाइले भने, “खै अङ्कल आन्टी हजुरहरूका टिकट हेरूँ । कहाँ जानुपर्ने ? कुन गेटमा ? कति बजे ? म सहयोग गर्छु ।”

गोविन्दले टिकट झिकेर दिए । “लु आउनुहोस् हजुरहरू, निकै पर तल्लो तलाको डि १९ नं.को गेटमा तपाईंहरूको जहाज आउने रहेछ, सात घण्टा पर्खिनुपर्ने रहेछ ।” भनेर लाहुरे भाइ अघि लागे उनीहरू पछि लागे । एकछिनमा “लु आउनुहोस् यो बग्गीमा चढ्नुपर्छ” भनेर चढाए । केही पर लगेर तल्लो तलामा ओराले र फेरि अर्को बग्गीमा चढाएर ठूला अक्षरमा डि १९ लेखेको गेट अगाडि पुर्याए ।

“लु यहीँ बस्नुहोस् अङ्कल आन्टी । अब सात घण्टामा तपाईंहरूको प्लेन आउँछ र ब्रिसबेन अस्ट्रेलिया जाने यात्रु आउनुहोस् भन्छ । यहाँ अरु नेपालीहरू पनि हुन्छन् । तिनले सहयोग गर्छन् । कर्मचारी नै पनि आएर तपाईंहरूको टिकट हेरेर लैजान्छन् । यहीँ सुत्नु भए पनि हुन्छ । मजाका सोफा छन् । केही किनेर खान मन लागे उ…त्यहाँ दोकान छ । किनेर खानू । डलर छन् छैनन् ? छैनन् भने म दिन्छु । यहाँ नेट चल्छ । छोरा बुहारीसँग बोल्न पाउनु हुन्छ । खोइ म जोडिदिन्छु ।” भनेर दुवैका मोबाइलमा नेट जोडिदिए । “हामीसँग अमेरिकन डलर छन् बाबु तपाईंले पैसा दिनु पर्दैन केटाले साटेर बोक्नु भनेको थियो । यत्रो सहयोग गर्नुभयो । हामी के पो गर्न सक्छौँ बाबु तपाईंलाई ।” भनेर दुवैले आभारको स्वरमा भने । “केही पर्दैन । तपाईंहरू बाबुआमा जस्ता मान्छे । हामीले सहयोग गर्नुपर्छ । म सहयोग गर्न पाएर खुशी छु । मेरो जागिर खाने देश यही हो । अब म जान्छु । तपाईंहरू राम्ररी जानुहोस् है अङ्कल आन्टी ।”

दुवैले परसम्म हेरिरहे र मनमनै “धन्यवाद बाबु भगवानले तपाईंको रक्षा गरुन्” भने ।

उनीहरूलाई सात घण्टा बिताउन सात दिनभन्दा धेरै भयो । तिर्खा लाग्यो । पानी किनेर खान मन लाग्यो । यताउता छटपटाएको देखेर अलि पल्लो सोफामा बसेका मनिल यादवलाई लाग्यो “उहाँहरूलाई पक्का अङ्ग्रेजी आउँदैन ।” अनि नजिकै आएर सोधे, “ दाइ केही समस्या पर्यो कि ? त्यस्तो हो भने म सघाउँछु ।” गोविन्दलाई ढुङ्गा खोज्दा देउतै मिल्यो ।

“ भाइ पानी खान मन लाग्यो । कहाँ गएर कसरी किन्ने किन्ने म ता हा हा…..। ”

“ए चिन्ता नमान्नु दाइ आउनू ।”

सँगै गए र मनिलले पसलेलाई “प्लिज गिभ मि टु बोटल्स् अफ वाटर” भने र दुईवटा साना पानीका बोतल किने । दाम भने तीन डलरको दर रहेछ । यसो हेरे गोविन्दले, दुई घुड्कीले दुईजनाको तिर्खा के मर्छ होला र जस्तो लाग्यो उसलाई । अर्को पनि किनिमागे । आएर दुई बुढाबुढीले एक एक बोतल पिए । अङ्खोरा लोटाबाट कल्कली पिउने बानी ! के धित मर्थ्यो र ! तर पैसा हिसाब गरेर पूरै तिर्खा मारे ।

समय बितेछ क्यारे माइकबाट के के भन्यो, अष्ट्रेलिया र ब्रिसबेन भनेकोचैँ बुझे । अघि नै गौरीसँग गफ गरिरहेको आनी डोल्माले, “दाई दिदी, आउनू अब हाम्रो ब्रिसबेन जाने जहाज आयो, हामीलाई बोलायो, यता लाइन लाग्नुपर्छ ” भनिन् । सबैसँगै लाइन लागेर जहाजमा पसे ।

जहाज उड्यो । हिजो पनि जहाजमा निद्रा लागेन । पहिलो पटक चढेका । घर छाडेर हिँडेका, मन त्यसै भरङ्ग । उता छोराबुहारी, नातिनातिनासँगको भेटको सुखद सपना यिनैको चपेटा बितेको थियो ।

आज भने दुवैलाई निद्राले मज्जैले छोपेछ । मस्त निदाए । दुवैजना सपनामा सयर गरेरै लामो यात्रा पार गरे ।

गोविन्दको सपना बडो गज्जबको भएछ । उनी मस्त निदाए तर उनको अचेतन मन सक्रिय रह्यो । उनको मन पुगेको ठाउँ एउटा उज्यालो वन थियो । वनमा सिंहहरू ठूलो स्वरमा भन्दै थिए, अरु सबै शान्त र हर्षाेल्लास साथ सुनिरहेका थिए । मानौँ उनीहरू यति वाक्कदिक्क भएका थिए कि कुनै नौलो र वचनले मात्र होइन कामले नै प्रिय सिंहको उदय होस् । यस्तो भएमा सबै साथ दिन तयार थिए ।  सिंहहरूको भाषण यस्तो थियो: “अब ब्वाँसा, हुँडार वा भेडाको छाला ओडेका बाघहरूको युग सक्कियो । उनीहरूको शासन अब जमिनमुनि भास्सियो । अब साँच्चै सिंहहरूले यो जङ्गलमा शासन गर्नेछन् । रङ दलेर राजा भएका स्यालहरू आफ्ना सक्कली रूपमै फर्किने छन् । सारा वनवासीहरूका जीवनमा उज्यालो छाउने छ । यतिञ्जेल सारा वनवासी चौपाया, दोपाया, उड्ने, हिँड्ने, घस्रिने, निशाचर, उषाचर, शाकाहारी, मांसाहारी सबका सब लुटियौ । अब भने लुट्नेबाट समयले छुट्टियौ । नयाँ युग आयो । सम्झनुहोस् यो रामराज्य हुनेछ । त्यसलाई सबैले सुनेको मात्र तर यसलाई भोगिने छ । सिंह नै वनको सच्चा राजा हो, त्यसैले अब सिंहराज आयो आयो आयो परररररररररर   पररररररर जङ्गलै गुन्जायमान । अब कसैले डराउनु पर्दैन । सबैले आ–आफ्ना सुतीखेती गरिखानू । कोही नआत्तिनू कोही नमात्तिनू, नपात्तिनू ।” कति राम्रा लरक्क लरक्क परेका सिंहहरूको बथान, सबैको खुशीको सीमा रहेन ।

यता गौरी पनि सपनामै मस्त । उनको सपना झन् तन्द्राबाटै शुरु भएछ । हिजोअस्ति घरमा आउँदा जे जे भन्थे तिनै कुरा पो उनका सपनामा आएछन्: “अब तपाईंहरूका छोराछोरी विदेश जानुपर्दैन । देशमै काम पाउँछन् । देशमै काम र दाम भएपछि बाबुआमा, इष्टमित्र, साथीसंगती, जन्मभूमि सबै सबै छोडेर को पो विदेश जान्छन् र ! अब सबैजना ढुक्क हुनुहोस् । हामीलाई पत्याउनु भयो भने तपाईंहरूका सपना सबै विपना हुन्छन् भनेका थिए । अब हाम्रा छोरा बुहारी नातिनातिना लिएर बाआमा हामी आयौँ त तपाईंहरूसँगै बस्न । अब हामीले यहीँ काम पाउने भयौँ । हामी सबै परिवार सँगै बसेर रमाउँला ।”

यस्तैमा उनी सपनैमा हा हा हा हा गरेर हाँसिछन् । उता जहाजमा पनि के के भनेर कर्मचारीले हल्ला गरे । नजिकै बसेकी अघि “जाऊँ” भन्ने बहिनीले “अब हाम्रो ठाउँ आइपुग्यो । जहाज बस्छ अनि उत्रिनु पर्छ ” भनिन् ।

अझै उनीहरू सपनाका तन्द्रामै खेलिरहेका थिए । जहाज रोकिएर सबै उठेका देखे । उनीहरूले पनि तन्द्रमै आँखा मिच्तै त्यसै गरे । तल सिसाले घेरिएको पटाङ्गिनीमा आइपुगे ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

हेमनाथ अधिकारी

हेमनाथ अधिकारी — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम