Sahityapost
Nabil Bank

जीवजन्तु, वनस्पति र मानवबीच पनि सुन्दर नातो

Sahityapost · पढ्ने समय: 13 मिनेट
जीवजन्तु, वनस्पति र मानवबीच पनि सुन्दर नातो

पृथ्वी सम्पूर्ण जीवजीवात्माको आधारशीला

मानव लगायत यावत जीव जीवात्मा र वनस्पतिहरूका आश्रय स्थल पृथ्वी हो भन्ने कुरा कसैले पनि भनिराख्नु पर्दैन । यो निर्विवाद सत्य हो । नि:सन्देह प्रकृतिमा रहेका वनस्पति र जीवजन्तुहरूले नै यो प्रमाणित गर्दछन् । मानवको बसोबास स्थल रहेको एक मात्र यो धर्ती हरित ग्रहका रूपमा सुसज्जित छ । अझ भन्ने हो भने, समस्त जीव जीवात्मा (प्राणी र वनस्पति) को साझा घर पृथ्वी हो । यो सदा जीवित छ, चौतर्फी हरियाली छाएको छ । विशाल सामुद्रिक जलले समेत परिवेष्टित रहेको छ । विभिन्न थरीथरीका वन्यजन्तु लगायत वनस्पतिहरूले स्वत:स्फूर्त रूपमा बाँच्ने आधार खडा गरेका छन् । रमाइलो छ, यो सांसरिक दुनियाँको घर ।

मानव, वनस्पति र प्राणी बीचको अन्तरवर्गीय र आफ्नै प्रजातीय सम्बन्धले जैविक विविधतामा पनि लाखौंलाख वर्षदेखि कायम रहँदै आएको छ । पृथ्वीमा रहेका तमाम लाखौंं लाख जीवित वनस्पति र प्राणीहरूले आफू बाँच्ने प्रणालीको विकास स्वयम् गरेका छन् । पृथ्वीलाई हराभरा तुल्याएका छन् र समस्त मानवलाई एक सुन्दर वातावरण प्रदान गरेका छन् ।  यस अर्थमा एक प्रजातिले अर्को प्रजातिलाई खाने र आफू पनि खाइने खाद्य शृंखला (फुड चेन) को आधारमा यस धरामा निरन्तर सृष्टि चल्दै आएको देखिन्छ । यसले गर्दा विभिन्न परिस्थितिमा वनस्पति होस् या प्राणीहरूले आफूलाई चलायमान राखेका छन् । विज्ञानको भाषामा यसलाई पारिस्थितिक प्रणाली वा इकोसिस्टमद्वारा चिनिन्छ । तसर्थ वनस्पति, जनावर र मानव बीचका दृश्य वा अदृश्य सम्बन्धले एकापसी निर्भरतामा संख्यात्मक प्रजातिहरू कायम भइराखेको छर्लङ्ग हुन्छ । साहित्यमा नवरस भएजस्तै धर्तीमा पनि अनेकौं विविधतामा अनेकौं रस भेटिन्छ ।

मानव जीवजन्तु र वनस्पतिका आड लागेर विभिन्न गतिविधिमा सदियौंदेखि परिचालित हुँदै आएको छ । यिनीहरूबीचकै अन्तसम्बन्धले गर्दा हरित गृह रूपमा रही आएको पृथ्वीको दोहन र रचनात्मक कार्यमा समेत संलग्न हुँदै आइरहेको छ, मानव । प्रकृतिमा विद्यमान समस्त मानव, प्राणी र वनस्पतिले जोडेको यस नाताले एक त्रिकोणात्मक सम्बन्ध समेत स्थापित गरेको छ । यसरी भन्दाखेरि वनस्पति, प्राणी र मानव बीचमा एक होनाहार सुन्दर अन्तरसम्बन्धले पृथ्वी हालका दिनसम्म बचेको छ, र बाँचिरहने पनि छ । तर यो अन्तरसम्बन्धमा खलल पुर्याइराख्ने हो, बाधा व्यवधान तेर्साउने हो भने न ब्रह्माण्डकै बुद्धिमान् भनिने मानव यस धर्तीमा न रहन्छन्, न त अन्य वनस्पति र प्राणी नै । त्यसैले, प्रकृतिले जोडिदिएको सम्बन्धमा सदा चनाखो भएर एक आपासी अन्तर निर्भर बुझ्नु आवश्यक छ । यसले वातावरणीय दिगोपन र पृथ्वीमा जीवन छ भन्ने कुरा बोध गराउन मानव, प्राणी र वनस्पति बीचका अन्तर सम्बन्ध बुझ्नु अत्यन्तै आवश्यक छ ।

पर्यावरणका अभिन्न पाटोः प्राणी, वनस्पति र मानव

समग्र बोटबिरुवा लगायतका प्राणी र तिनीहरूको वरपरको वातावरण बीचको अन्तरक्रिया सम्बन्धको अध्ययन पर्यावरण हो । अर्थात् पर्या भन्नाले घर र आवरण भन्नाले वरपर घेरिएको वायुको ढकनी । वरपर वनस्पति वा प्राणीलाई घेरेको भाग नै पर्यावरणको रूपमा बुझ्न सकिन्छ । पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा मानव, वनस्पति र जनावरहरूले अन्तरसम्बन्धित र आवश्यक भूमिका निर्वाह बहन गर्दछन् ।

उदाहरणका लागि एकै ठाउँमा उम्रेका दुई वटा स्याउका बेर्नाहरूमध्ये एउटा बेर्ना हिमाली क्षेत्रमा र अर्को बेर्ना तराईमा लगेर हुर्काउने हो भने तिनीहरू बीचको वातावरणले पारेका असर ती बेर्नाहरूमा प्रत्यक्ष देख्न सकिन्छ । छ सात वर्षपछि हिमाली क्षेत्रमा सारिएको बेर्ना फल्न थाल्दछ तर तराई क्षेत्रमा सारिएको बेर्ना राम्ररी हुर्कन बढ्न समेत सक्तैन । यो वातावरणले पारेका असर नै पर्यावरण हो । बुझ्नुपर्ने कुरो के भने, हरेक प्राणीहरू हुर्कन बढ्नका लागि आफ्नै अनुकूलको वातावरण चाहिन्छ । स्याउ चिसोमा हुने प्रजाति अन्तर्गत पर्दछ । त्यसैले, स्याउ खेती गर्मी स्थानमा हुनै सक्दैन तसर्थ यो चिसो वातावरण (हावापानी) मा छिट्टै हुर्केर फल्न थाल्दछ तर गर्मी क्षेत्र भएको तराईको वातावरण फल्न त परै जाओस् राम्ररी वृद्धि र विकास नै हुन सक्दैन । पर्यावरणको महत्त्वपूर्ण अवयव भनेकै पृथ्वीमा स्थित वनस्पति र प्राणीहरूले कुनै पनि नयाँ हावापानी वा वातावरणमा कस्तो रूप धारण गर्दछन् भन्ने कुरा बुझाउँछन् ।

वनस्पतिहरू कुनै पनि जीवका लागि प्रथम खानेकुरा हुन् । चाहे त्यो जीवले पात खाओस् या फल या अन्य कुनै भाग । यो जीवका लागि खानेकुरा भएको हुँदा जुनसुकै हरिया वनस्पतिलाई पहिलो उत्पादक (प्राइमरी प्रोड्युसर) भनिन्छ किनभने यसले सूर्यको किरण लिएर प्रकाश संश्लेषण गर्दछ र समग्र बोटबिरुवा नै वृद्धि र विकास हुन्छ । बोटबिरुवाको आकारप्रकार बढ्नु भनेकै वास्तवमा जीवजन्तुहरूका लागि खानेकुराकै वृद्धि भएको हो भन्ने बुझिन्छ । यसै बोटबिरुवाले खाने बनाउने प्रक्रियामा प्रकाश संश्लेषण मार्फत ऊर्जा निस्कन्छ, अर्थात शक्तिमा रूपान्तरण हुन्छन्, साथसाथै खाना बनाउने क्रममा बोटबिरुवाले अक्सिजन पनि छोड्छन् । यही अक्सिजन गर्दा नै कुनै पनि जनावर र मानिसलाई स्वासप्रश्वास गर्न सम्भव गराएको हो । सम्पूर्ण बोटबिरुवाहरूले धेरै जीव प्रजातिहरूको लागि खाना र आश्रय प्रदान गर्छन्, गरिराखेकै हुन्छन् ।

– जनावरहरू खाना, बास र अक्सिजनका लागि बोटबिरुवाहरूमा पूर्णतया निर्भर हुन्छन्, र बोटबिरुवाका फूलमा परागसेचन गराउने, फल फलाउने, बीउहरू एक स्थानबाट अर्को स्थान स्थानातरण गर्ने आदि कार्यमा संलग्न हुन्छन् जनावरहरू । मांसाहारी जनावरहरूले अर्कालाई शिकार गरेर बाँचेका हुन्छन्, तिनीहरूले इकोसिस्टम प्रणालीलाई सन्तुलनमा राखेका हुन्छन् ।

–मानव पारिस्थितिक प्रणालीको अर्को एउटा अंश हो । मानवलाई बाँच्नका लागि वनस्पति र जनावर दुवै आवश्यक छ । अझ बोटबिरुवा त अपरिहार्य हुन्छ । खाना, कपडा, औषधि र कच्चा पदार्थ आदि वनस्पति प्राप्त हुने मुख्य पदार्थ हुन् ।  यद्यपि वन फँडानी, प्रदूषण र अत्यधिक वनस्पतिको दोहनका कारण मानवीय गतिविधिहरूले प्रायः पारिस्थितिक सन्तुलनलाई बिगारेको देखिन्छ । यसले जैविक विविधतालाई समेत खतरामा पारेको छ ।

एक स्वस्थ पारिस्थितिक प्रणालीमा बोटबिरुवा, जनावर र मानिस सद्भावमा सहअस्तित्वमा रहन्छन्, जसले प्रकृतिको सुन्दर स्थिरतामा योगदान पुर्याउँछ । दिगो विकास र संरक्षण मार्फत यी सम्बन्धहरूको संरक्षण गर्नु पारिस्थितिक स्वास्थ्य कायम राख्न र पृथ्वीमा सबै जीवनको कल्याण सुनिश्चित गर्न आवश्यक छ ।

वनक्षेत्र र जैविक विविधता

सन् २०२४ को एक तथ्यांकअनुसार पृथ्वीमा करिब ३१ प्रतिशत भूमि वनजंगलले ढाकेको छ । जैविक विविधताले ८० प्रतिशत भूमि ओगटेको छ । विश्वका अरबौँ मानिसहरू जीविकोपार्जनका लागि वन क्षेत्रमा निर्भर रहेका छन् । इकोसिस्टममा यो अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । अझ यस अर्थले हेर्दा नेपाल विश्वमै अद्वितीय स्थानमा छ । नेपाल हिमालदेखि पहाड र तराईसम्मको शृंखलित र विस्तारित भूमिमा असंख्य वनस्पति र जीवजन्तुहरूको राम्रो घरका रूपमा चिनिएको छ । नेपालको ४४ प्रतिशत त वनजंगल क्षेत्रले ढाकेको छ भने २२ हजार भन्दा बढी विभिन्न प्रजातिका वनस्पति तथा जीवहरू अद्यावधिक हुन सक्ने विश्वास गरिएको छ । विश्वको परिवेशमा हेर्ने हो भने करिब १.३ प्रतिशत जैविक विविधता नेपालमा रहेको छ । विश्वकै कोटीमा हेर्दा ४९ स्थानमा जैविक विविधताको वर्गीकरणमा परेको छ । साहित्य क्षेत्रमा विभिन्न विधाअन्तर्गत यो पर्यावरण र जैविक विविधता सबैभन्दा ठूलो विधा आख्यान जस्तै मान्न सकिन्छ । नेपाल सानो छ तापनि वनक्षेत्र र जैविक विविधता कम छैन । यसको आयाम हिमाल, पहाड र तराई क्षेत्रभन्दा पनि बिस्तारित रूपमा रहिआएको छ ।

वनस्पति र प्राणीः एक आपासका मित्रवत् र शत्रुवत् साथी जस्तै

हरेक बोटबिरुवाहरूले हावामा रहेको कार्वनडाइअक्साइड र पानीको सहायताले घाम लागेको बेलामा हरिया पातमा आफनो खाना बनाउँछ । पातहरू जति हरिया र चिल्ला हुन्छन्, त्यति नै बोट बिरुवा राम्रो भएको मानिन्छ । चाहे हामीले सागपातको कुरा गरौं या फलफूल, या त कुनै पनि धान, मकै, गहुँजस्ता अन्नबाली यिनीहरू यही प्रकाश संश्लेषण क्रियाद्वारा पातहरू ठूला हुन्छन्, फलफूल तथा अन्नबालीका पुष्ट दाना हुन्छन् । यिनै खाएर मानव लगायतका समस्त प्राणीहरू बाँचेका हुन्छन् । यसरी भन्दाखेरि मानव तथा अन्य जनावरहरूका लागि ऊर्जाको स्रोत वनस्पतिहरू रहेका हुन्छन् । यसको बदलामा बोटबिरुवा पनि प्राणीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्भर रहेका हुन्छन् । बोटबिरुवालाई खाएर प्राणी बाँचेका हुन्छन् । काठपात, दाउरा, घाँसपात, औषधि आदि लगायत अक्सिजन प्रदान गर्ने पनि बोटबिरुवा नै हुन् । चरा, कीटपतङ्गका बास रुखका बोक्रा र पातमा हुन्छन् भने मानवका लागि बोटबिरुवाहरू गाँस, बास र कपासको सहारा हो । कीटपतङ्ग जस्तै मौरी, पुतली, केही चरा आदिले पनि बोटबिरुवामा परागसेचन क्रिया सम्पन्न गरिरहेका हुन्छन् । चरा, लोखर्के, बाँदर, दुम्सी, गाईवस्तु आदि जीवहरूले एक ठाउँबाट अर्को ठाउँमा जाँदा बीउबिजनहरू लगेर आफ्ना सन्तान वृद्धि गर्नतिर लाग्छन् । चरा पचाउन नसकेका अम्बाका बीउ विष्टासँगै अर्को ठाउँमा खसाल्छन् ।

लोखर्के, बाँदर, दुम्सी आदिले बोटबिरुवाका भेट्टाएका फलफूल अर्को स्थानमा लिएरै जान्छन् । त्यसरी नै कोसेबालीका जरामा रहेका खिर्गागिर्खीहरू भित्रभित्र अवस्थित ब्याक्टेरियाले वातावरण रहेका वायुबाट नाइट्रोजन लिएर तिनै कोसेबाली र त्यसपछि लगाइने बालीहरूलाई समेत पौष्टिक तत्त्व प्रदान गर्दछ । यसरी भन्दाखेरि बोटबिरुवा र प्राणीहरू प्राकृतिक फाइदाजनक सम्बन्ध लिएर बसेका हुन्छन् । वनस्पतिलाई फैलाउन जनावरको भूमिका हुन्छ र प्राणीलाई बचाउन वनस्पतिको । त्यसैले यिनीहरूबीचको सम्बन्ध मित्रवत् र शत्रुवत् दुवै प्रकृतिमा देखिन्छ । यी एक अर्काका परिपूरक पनि हुन् । यति मात्र नभई वनस्पति र मानव बीच पनि ऐतिहासिक सम्बन्ध जोडिएको छ ।

प्रारम्भिक मानव समाज र वनस्पति बीच एक ऐतिहासिक सम्बन्ध

मानव सभ्यताको शुरुवातदेखि नै बाँच्नका लागि वनस्पति प्रयोग एक अपरिहार्य आवश्यकता बन्दै आएको छ । आदिम मानिसहरूले कन्दमूल र फलफूल जम्मा गर्दथे र बिरामी पर्दा पनि जडीबुटीबाटै उपचार गर्दथे । बोटबिरुवाका औषधात्मक गुण र कृषि विकासका आधार यिनै वनस्पतिहरू हुन् । वनस्पतिको मूल्य मान्यता बुझेपछि शिकार गर्ने कार्य समेत कटौती भएका हुन् । अझ हाम्रा आदिम पुर्खाले खेतीपाती गर्न थालेपछि वन्यजनावर र कन्दमूल खाने आनीबानीमा निकै हेरफेर आएको हो ।

बिस्तारै समय क्रममा खाद्य र अर्थतन्त्रका लागि वनस्पति अब्बल साबित हुँदै आएको इतिहासबाट थाह पाइन्छ ।

जब प्रमुख बालीहरू जस्तै धान, गहुँ, मकै र आलु विश्वव्यापी रूपमा फैलिँदै गयो, मानव आहारको मेरुदण्ड बन्यो । कपास, कफी, चिया र सुर्तीजस्ता नगदे बालीले शताब्दीयौंदेखि अहिलेको परिपेक्षमा अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारलाई आकार दिएका छन् । अन्तर्राष्ट्रिय र दौत्य सम्बन्ध बिस्तार र विकास हुँदै आएको छ ।

वन पैदावरजन्य वनस्पतिहरूले भवन निर्माणका लागि काठ र ऊर्जाका लागि इन्धन आपूर्ति गर्छन्, जसले आर्थिक विकासलाई प्रभाव पार्दै आएको छ ।

वनस्पतिको प्रयोग यतिमा मात्र सीमित छैन । संस्कृति र आध्यात्मिकतामा पनि महत्त्व राख्ने थुप्रै वनस्पतिहरू छन् । वर, पिपल, समी, जस्ता धार्मिक महत्त्व बोकेका र औषधीजन्य गुण भएका वनस्पतिको सम्बन्ध मानव जनजीवनसित जोडिएको छ । यसले चाडपर्वहरूमा समेत एक गहिरो सम्बन्ध राखेका हुन्छन् ।

आधुनिक औषधि विज्ञान समेत सम्पूर्ण रूपमा वनस्पतिमा निर्भरता राखेको पाइन्छ ।

वर्तमान युगमा ८० प्रतिशतभन्दा बढी औषधिहरू बोटबिरुवाबाट प्राप्त हुन्छन्– बैंस रुखको बोक्राबाट एस्पिरिन, पपीजबाट मोर्फिन, आदि । आङ ढाक्न समेत विभिन्न कपडा र फाइबर जस्तैः कपास, सनपाट र जुटले विश्वव्यापी कपडा उद्योगलाई कच्चा पदार्थ दिएर सघाइरहेका छन् । सौन्दर्य प्रसाधन र सुगन्धमा बोटबिरुवाको कुनै न कुनै अंश प्रयोग भइरहेको अवस्था छ । मानव जीवनलाई सौन्दर्यशाली र समृद्ध बनाउन यी वस्तु अत्यन्तै आवश्यक छ । साहित्यमा अलंकार शृंगार हो भने वनस्पति खास किसिमका बोटबिरुवा सुगन्ध र प्रसाधनमा अब्बल ठहरिँदै आएको छ ।

आदिम कालमा गाइवस्तु, भेडा, बाख्रा र कुखुरा जस्ता जनावरहरूको घरपालुवाले मानव समाजमा क्रान्तिकारी परिवर्तन ल्यायो । जस्तो कि खानाका लागि मासु, दूध र अण्डा, श्रमको लागि गोरु, घोडा, खच्चड आदि जनावरबाट लिन थालियो ।

कुकुर र बिरालाहरू पहिलो घरपालुवा जनावर बने, वफादारी प्रतीक कुकुर र घरमा थन्काएर राखेको धान्यादिलाई सुरक्षा दिन मूसा मार्न उद्देश्यका लागि बिरालो मूल्यवान् भए सँगै घरपालुवाका रूपमा विकसित हुन थाल्यो ।

हाम्रा संस्कृति र पौराणिक कथामा जनावरहरूको वर्णन उत्तिकै छ ।

धार्मिक ग्रन्थहरूमा हिन्दू धर्मको पवित्र गाईको वर्णन छ । प्राचीन इजिप्टमा बिरालोहरू प्रयोग हुँदै आएका छन् ।

साहित्य र लोककथाहरूमा समेत बहादुरी, धूर्तता, वा दुष्टताको प्रतीकको रूपमा जनावरहरू लिइने गरिन्छ । स्याल धूर्त जनावर भनिन्छ भने कागलाई चतुरो, परेवालाई शान्तिको प्रतीक, गाईलाई सुधो जनावरका रूपमा लिने गरिएको छ । त्यसरी नै कला र प्रतीकात्मक रूपमा राष्ट्रिय प्रतीकहरूमा प्रायः सिंह वा चील जस्ता शक्तिशाली जनावरहरू हुन्छन । हर्स पावर विज्ञान समेत प्रचलित शब्द हो । घोडाको शक्तिसित तुलना गरेर यो शब्दको प्रार्दभाव भएको हो ।

वैज्ञानिक अनुसन्धानमा जस्तै औषधिको परीक्षण गर्न पर्यो भने बाँदर, मुसाजस्ता जीवहरूलाई प्रयोग ल्याइन्छ । मनोरञ्जन दिलाउन सर्कस, चिडियाखाना र एक्वेरियमको प्रयोग पनि व्यापक हुँदै आएको छ ।

बिरुवाहरू, जनावरहरू र मानिसहरू बीचको अन्तरक्रिया–त्रिकोणीय जाल

पारिस्थितिक सन्तुलन राख्न समेत अहम् भूमिका खेलेको पाइन्छ । बिरुवा, जनावर र मानिसहरूबीचको सन्तुलनले स्वास्थ्य पारिस्थितिक प्रणालीलाई कायम राख्छ ।

प्रत्येक जीव बाँच्नका लागि अर्कोमा निर्भर हुन्छ । यसलाई खाद्य शृंखला भनिन्छ ।

बिरुवाले अक्सिजन छोड्छन्; जनावर र मानिसले कार्बनडाइअक्साइड छोड्छन् । यो कार्बन र अक्सिजन चक्रको सन्तुलन यसैबाट हुन्छ ।

बोटबिरुवा र जनावरहरू मृत भइसकेपछि यो कुहाउने काम ढुसीले गर्दछ । यस्तो विघटनले माटोलाई समृद्ध बनाउँछ, बोटबिरुवाको जीवनलाई समेत आडिलो बनाउँछ । यसलाई पोषक तत्त्व चक्रका रूपमा मानिँदै आएको छ । यो भइपरी आउँछ र दोहोरिराख्छ पनि ।

कनेक्टरको रूपमा कृषि

सम्भवत: कृषि तीनै निकायहरू बीचको सबैभन्दा प्रत्यक्ष अन्तरक्रियात्मक सम्बन्ध हो । किसानले बोटबिरुवा (बाली) र जनावर (पशुधन) दुवैको व्यवस्थापन गर्छन्, खेत जस्ता नियन्त्रित वातावरणभित्र पारिस्थितिक प्रणाली कायम राख्न मद्दत गर्दछन् । कुनै पनि संघसंस्थाको नेतृत्वदायी भूमिका संयोजकले गरेजस्तै यसमा जोड्ने काम कृषिले गर्दछ ।

मानवीय प्रभाव–वातावरणीय सन्तुलन बिगार्न जिम्मेवार  वन फँडानी र बासस्थानको क्षति बोटबिरुवाका काटछाँट, खानी उत्खनन र शहरीकरण विस्तार जस्ता मानवीय क्रियाकलापले जीवात्माहरूका बासस्थानलाई नष्ट गर्छन् । यसले गर्दा वनस्पति र जनावर दुवै प्रजाति खतरामा पर्दछन् । यो क्षतिले फूलका परागकण, बीउबिजन बिस्तार र खाद्य शृङ्खलामा बाधा पुर्याउँछ । तसर्थ, वन फँडानी पर्यावरणका लागि अभिशाप हो । हरेक प्राणी तथा वनस्पतिको बासस्थान सुरक्षित गर्न वन क्षेत्रलाई जोगाउन आवश्यक छ ।  प्रदुषण र जलवायु परिवर्तन औद्योगिक कलकारखानाबाट उत्सर्जित भएको फोहोरमैला, प्लास्टिक र कीटनाशक रसायनहरूको प्रयोगले वनस्पति र जनावर दुवैलाई हानी पुर्याउँछ । यसरी नै हरितगृह ग्यासहरूद्वारा निस्केका कार्वन मोनोअक्साइड, सल्फरडाइअक्साइड प्रदूषित वायुले जलवायु परिवर्तन निम्त्याउँछ । यसले भइरहेको पारिस्थितिक प्रणालीलाई परिवर्तन समेत गराउन उद्यत हुन्छ । त्यसरी नै बढ्दो तापक्रमले बोटबिरुवाको वृद्धिलाई प्रत्यक्ष प्रभाव पार्दछ ।  प्रजातिहरूका दोहन अत्यधिक माछा मार्ने, चोरी शिकार गर्ने र जडीबुटी अनावश्यक संकलन तथा भण्डारनले जैविक विविधतामा हानीनोक्सानी पुर्याउँछ । यो क्षतिले पर्यावरणमा पनि असर पुर्याउँछ ।  यसको परिणामस्वरुप सम्पूर्ण पारिस्थितिक प्रणाली कमजोर बन्दछ र अन्तमा यो अवस्थाले प्रजातिमा संकट निम्त्याउँछ ।

पारस्परिक फाइदा र मद्दत पर्यापर्यटन र संरक्षण वन्यजन्तु र वनहरूको मानवीय उत्साहजनक गतिविधिले पर्यापर्यटनलाई टेवा पुर्याउँछ । यसबापत सम्बन्धित संघसंस्थाले वातावरण संरक्षण गर्नका लागि आर्थिक सहयोग समेत दिन सक्छन् । यसको अलवा संरक्षित क्षेत्रहरूले बोटबिरुवा र जनावरहरू बीचको प्राकृतिक अन्तरक्रियालाई फस्टाउन सघाउ पुर्याउँछ । पुनरुत्थान र पुनर्स्थापना वनस्पति जन्मदेखि मृत्य पर्यन्त विभिन्न रूपमा प्रयोग हुन्छ । यी सदा पर्यावरणीय तथा अन्य ऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण हुन्छन् । विनाश भइसकेका स्थानमा पुनरुत्थान परियोजनाहरूले बोटबिरुवा रोप्नाले बासस्थान पुनर्स्थापित हुन्छ । यसले बोटबिरुवा र आश्रित जनावर दुवैलाई फाइदा पुर्याउँछ । मूलतः आदिवासी समुदायले पुनरुत्थान र पुनर्स्थापना गर्न चासो लिने गरेको पाइएको छ । उनीसित भएको परम्परागत पर्यावरणीय ज्ञानलाई आधुनिक विज्ञानसँग मिलाएर गर्दा अपेक्षाकृत उद्देश्य सफल भएको देखिन्छ । दिगो कृषि दिगो कृषि प्रणाली आजको आवश्यकता हो । कृषि वनले वनपैदावारमा देखिने उत्पादनलाई एकीकृत गर्दछ र निम्न फाइदा प्रदान गर्दछः

वन्यजन्तुहरूको लागि बासस्थान प्राप्त हुन्छ ।

माटोको उर्वरतामा सुधारमा वृद्धि हुन्छ ।

काठ र फलफूलको फसल मार्फत किसानहरूका लागि अतिरिक्त आम्दानी मिल्दछ ।

स्थलगत अध्ययन– प्रकृतिबाट उदाहरणहरूबाट सिकौं अमेजन वर्षावन दक्षिण अमेरिकास्थित अमेजन जंगलबाट बोटबिरुवा–जनावर–मानव बीचको जीवन्त अन्तरक्रिया बुझ्न सकिन्छ । त्यहाँका आदिवासी जनजातिहरू जडिबुटी, खानाका लागि जनावरहरूमा भर परेका हुन्छन् । यद्यपि गाईवस्तुपालन र सोया खेतीको लागि वन फँडानीले यो सन्तुलनलाई बाधा पुर्याएको देखिन्छ । कोरल चट्टानहरू–समुद्री पारिस्थितिक प्रणाली जलीय पारिस्थितिक प्रणालीका कोरल चट्टानहरूमा विभिन्न खालका बोटबिरुवाहरू (शैवाल, समुद्री घाँस) र जनावरहरू (माछा, क्रस्टेशियनहरू) रहेका हुन्छन् । तर अत्यधिक माछा मार्ने र प्रदूषणले यिनीहरूलाई खतरामा पार्दछ । यसले बोटबिरुवा–जनावर बीचको अन्तर क्रियात्मक सम्बन्धलाई कमजोर पार्दछ ।

अबको भविष्य – सद्भावतर्फ संरक्षण शिक्षा जैविक विविधताको महत्त्वको बारेमा युवा पुस्तालाई हस्तान्तरण गर्दै संरक्षण शिक्षा दिनु अत्यावश्यक छ । यसले बोटबिरुवा, जनावर र पारिस्थितिक प्रणालीको जिम्मेवारी लिन र हेरचाह गर्न सहयोग पुर्याउँछ । प्राविधिक आविष्कारहरू नयाँ नयाँ प्रविधिको आविष्कारले जीवनमा एउटा हलचल ल्याउँछ । वनस्पति र जनावरको स्वास्थ्य अवस्था निगरानी गर्न, वन फँडानी गर्न र मानव–जंगली जनावर बीचको आक्रमण रोक्न वन्यजन्तु कोरिडोरहरू व्यवस्थापन गर्न प्रविधिले मद्दत गर्दछ । तसर्थ, प्राविधिक आविष्कारतर्फ पनि ध्यान दिन जरुरी छ ।  नीति र विश्वव्यापी सहयोग

जैविक विविधता महासन्धि जस्ता अन्तर्राष्ट्रिय सम्झौताले बोटबिरुवा र जनावरलाई असर गर्ने मानव कार्यलाई नियमन गरेर प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य राख्छन् । तसर्थ, यस्ता नीतिमा रहेर विश्वव्यापी सहयोग एकआपसमा लिनुदिनु राम्रो हुन्छ ।

निष्कर्ष

बोटबिरुवा, जनावर र मानिस बीचको एक पारस्पारिक सम्बन्ध छ । मानवले वनस्पति र जनावर दुवैबाट अत्यधिक लाभ उठाउँदै आएका छन्त र अनियन्त्रित प्रकृतिको दोहनले वातावरणीय सन्तुलनलाई संकटमा पारेको छ । यो त्रिकोणात्मक सम्बन्धको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । हरेक जीवको अस्तित्व यसैमा छ । यसैका लागि मरिमेट्नु आजको आवश्यकता पनि हो ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

Sahityapost

Sahityapost — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम