काठमाडौँ । नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा केन्द्रित ‘वाङ्मय विमर्श तथा साहित्य संवाद’ कार्यक्रमले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व तथा वर्तमान अध्यक्षहरूसँग अन्तरक्रिया गर्ने भएको छ ।
कार्यक्रमको उद्देश्य अनेसासमार्फत स्वदेश तथा विदेशमा सञ्चालन गरिएका साहित्यिक अभियान, चुनौतीपूर्ण अनुभव, कार्यकालका उपलब्धि तथा संस्थागत योगदानबारे प्रत्यक्ष संवाद स्थापित गर्नु रहेको आयोजकले जनाएको छ । यसबाट साहित्यकर्मीहरूलाई संस्थाको इतिहास, योगदान र उपलब्धिबारे स्पष्ट बुझाइ दिलाउने अपेक्षा गरिएको छ ।
वाङ्मय विमर्शले अग्रजप्रति सम्मान र श्रद्धा प्रकट गर्दै नयाँ पुस्ताका सर्जक तथा अभियन्ताहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छ । आयोजकका अनुसार यस्तो संवादले संस्थाको योगदानप्रति थप सम्मान बढाउने, साहित्यिक चेतना विस्तार गर्ने र अनेसासको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ ।
अन्तरक्रियामा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसहित किरण ढुङ्गाना, अच्युत श्रेष्ठ, बसन्त श्रेष्ठ, सरला श्रेष्ठ, भीम रेग्मी, पुरुषोत्तम सुवेदी, दुवसु क्षेत्री, मोहन सिटौला, कुमार बस्नेत, ज्ञानेन्द्र गदाल, गीता खत्री, पदम विश्वकर्मा, राधेश्याम लेकाली, प्रकाश पौडेल तथा निवर्तमान अध्यक्ष गोवर्धन पूजालाई प्रस्तुत गरिने जनाइएको छ ।
केही अध्यक्षहरू व्यस्तता वा सम्पर्क अभावका कारण यसपटक सहभागी हुन नसके पनि आगामी चरणमा उनीहरूलाई समेट्दै कार्यक्रमलाई निरन्तरता दिइने आयोजकको योजना रहेको छ ।
कार्यक्रमले अनेसासको योगदानलाई दस्तावेजीकरण गर्दै भविष्यका पुस्ताका लागि सशक्त सन्दर्भ सामग्री तयार पार्ने विश्वास गरिएको छ ।
