Sahityapost
Nabil Bank

‘अभिशप्त युगको आत्मकथा’भित्र कारुणिकता

नवीन पौड्याल · पढ्ने समय: 12 मिनेट
‘अभिशप्त युगको आत्मकथा’भित्र कारुणिकता

कथाकारको कलममा सिप र कलाले सामान्य विषयवस्तु भए पनि कलमको कुचीले शिल्प सौन्दर्य भरेर कथालाई रोचक र पाठकप्रिय बनाउन सक्छ ।

नेपाली कथाको विषयवस्तु र प्रयोग फाँटको निरन्तर विस्तार भइरहेको छ । नयाँ नयाँ शिल्प शैली भाव र प्रयोगले गर्दा कथाहरूले नयाँ नयाँ काँचुली फेरिरहेका छन् । युगको वैभिन्यतासँगसँगै विषयवस्तुको विविधता पनि पनि विस्तारित हुन लागेको छ । कथाका विषयवस्तु अणुदेखि परमाणुसम्म र अमूर्तदेखि विशाल मूर्ततासम्म फैलिएको छ । चारैतिर कथाहरू उम्रिरहेका छन् । युगसँगै कथ्य विषय बढिरहेका छन् । कथाकारको कलममा सिप र कलाले सामान्य विषयवस्तु भए पनि कलमको कुचीले शिल्प सौन्दर्य भरेर कथालाई रोचक र पाठकप्रिय बनाउन सक्छ ।

नेपाली साहित्य धेरै वर्षदेखि डिल्लीराम खनालको नाम पनि लेखकका रूपमा सुनिदै आएको पाइन्छ । उनको जन्म ९ अक्टोबर, १९५८ मा असमको शोषितपुर जिल्लाको शिङ्रीमा भएको हो । उनी सन् १९७२-७३ देखि नै नेपाली साहित्य क्षेत्रमा उत्रेका हुन् । उनले नयाँ दिगन्त, सयपत्री, स्मृति सौरभ, रूपाली आदि जस्ता पत्रिका र पुस्तकहरूको कुशल सम्पादन गरेका छन् । नेपाली साहित्यको उत्थानका निम्ति विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसित पनि आबद्ध रही सेवारत छन् ।

उनका लेखहरू नेपाली र असमीय भाषामा असमका विभिन्न नेपाली साहित्यिक पत्रिकामा प्रकाशित हुने गर्थे । सन् २००९ मा उनको कथासङ्ग्रह अभिशप्त युगको आत्मकथा प्रकाशित गरेका छन् । उनले समाजको राम्रो अध्ययन गरेर त्यहाँ भएर देखिने वा नदेखिने, जानेका- नजानेका, सुनेका नसुनेका घटनादिलाई कथावस्तु बनाएर सुन्दर कथा दिएको छन् । हाम्रै वरिपरि कति घटना घटिरहन्छन् । समाजका हरेक व्यक्तिका कुनै न कुनै दु:ख पीडा हुन्छन्, तिनैलाई वस्तु र शिल्पका औजारे कुँदेर राम्रा राम्रा कथा बुनेका छन् ।

अभिशप्त युगको आत्मकथा- कथासङग्रहमा जम्मा पच्चीसवटा कथाहरू समावेश रहेका छन् । यी कथाहरू पढ्दा लाग्छ कथाकार समाजका तल्लो तहका मानिसहरूका पीडा व्यथाका स्वरलाई सुनाउन चाहन्छन् । विशेषगरी ग्रामीण क्षेत्रका खेताला, गोठाला, गरीब, नोकर चाकर आदिका पीडा, सुस्केरा, विवशता, बाध्यता, शोषण दोहनलाई मूल विषयवस्तु बनाइएको पाइन्छ । प्रत्येक कथाको अन्तमा बिजोकको परिणाम आएको सबै पात्रले दुःख पाएको, नचिताएको कुरा आइपर्नु आदि जस्ता पाइन्छन् ।

त्यसमा रहेका जम्मै कथाहरूले एक एकवटा विषयवस्तु, घटना र प्रसङ्ग बोकेका छन् । एक एकवटा कथाहरूले आम नेपाली समाजको दिग्दर्शन गराएका छन् । कथाकारले हाम्रो समाजका लुकेर बसेका गरीब- निमुखा सर्वहारावर्गको पीडा व्यथालाई उतारेका छन् । मानिसहरू रोग, भोक, शोक, लालसा, स्वार्थ, गरीबी, हिंसा, शोषण आदि चारैतिरबाट घेरिएको छन्  । यद्यपि यसमा रहेका प्रत्येक कथाले केही न केही सन्देश दिएका छन्, परिवर्तनका चेतना बोकेका छन् । गरीबीका कारण जीवन निराशामय भए पनि एकदिन केही परिवर्तन आउनेछन् भन्ने सन्देश दिएका छन् ।

कथाकार खनालले आफ्ना कथाहरूमा समाजका अति सामान्य मानिसहरू, निमुखा, शोषित लाञ्छितहरूका पीडालाई स्वर दिने काम गरेका छन् । प्रत्येक कथाका पात्र-पात्रा दुखी छन्, पीडित लाञ्छित, शोषित छन् । तिनलाई कतै मालिकले, कतै साहुले, कतै गाउँले ठालुले शोषण र दोहन गरेका छन् । यसमा भएका कथाहरूमा केही प्रगतिशीलता पक्ष पाइन्छ भने अझ गहिरिएर हेर्दा यसमा कारूणिकता पक्ष बढी पाइन्छ । कारूणिकताका केही लक्षणहरू पाइन्छन् । ती लक्षणहरूलाई यसरी केलाउन सकिन्छ- १. निमुखाहरूको गरीबी, उत्पीड़न, शोषणबाट उब्जेको करूणाभाव, २. शोषकहरूले बढी शोषणबाट उब्जेको कारूणिकता, ३. देश सेवा गर्ने सेनानीको पछिल्लो जीवनको कारूणिक अवस्था आदि पाइन्छन् । घर व्यवहार र परिवारिकका कारूणिक अवस्था आदि पाइन्छन् । यद्यपि कथाभित्रका पात्रहरू विद्रोह गर्न पनि जुर्मुराउँराउँछन्, शोषकका विरूद्ध आफ्नै किसिमबाट प्रतिशोध लिएको, विद्रोह गरेका छन् । ती पात्र पात्रा पहिले पीडित तर कुनै घटना प्रसङ्ग आदिको भएपछि तिनमा आत्मबल बढेको छ, केही गर्छु भन्ने भावना जागेको प्रतीत हुन्छ ।

‘घाइते इतिहासका सुस्केराहरू’- कथामा भारतको स्वतन्त्रता आन्दोलनमा धेरै ज्ञात र अज्ञात सेनानीहरूको योगदान रहेको छ । ज्ञातहरूका बारेमा इतिहासले स्वर्णाक्षरले लेखिएका छन् तर धेरै अज्ञात सेनानीहरूका इतिहास लुकेका छन्, लेखिएकै छैनन् । यस कथामा मनवीर पात्रको विगतको कथा छ जसले स्वतन्त्रता आन्दोलनमा सशस्त्र भाग लिएको थियो । एकपटक अङ्ग्रेज सेनाले पार गर्नुपर्ने नदीपूललाई सशस्त्रधारी स्वतन्त्रता सेनानीहरूले बमले उडाएर भत्काउनु पर्ने हुनाले मनवीर र उसका साथीहरू मिली अङ्ग्रेजका सैनिकहरूमाथि बम हानेर त्यो पूलमा बम हान्छन् । ती अङ्ग्रेज सेनामा आफ्नै छोरो पनि रहेको हुँदा उसको सदाहद हुन्छ । यसरी अन्धकारमा नचिनेर आफ्नै छोरालाई आफ्नै बाबुले बमले उडाइदिएर शहीद बनाएको तीतो सत्य देखाइएको छ । तर मनवीरको न स्वतन्त्रता सेनानीको रूपमा सरकतारकले मान्यता दियो, न उसको सम्मान भयो बरू उ आफ्नै बुहारीको सामु लज्जित र अपराधी भएको ग्लानी बोधले पिरोलिएर जीवन बिताइरहेको छ । यस्ता मनवीर जस्ता धेरै स्वतन्त्रता सेनाहरू अहिले पनि समाजमा अन्धकार र ओझेलमा छन्, गरीबीले सताएर लाञ्छित र पीडित भएर बस्नुपरेको वास्तविकतालाई देखाइएको छ ।

‘शिशु दिवस’ कथामा हाम्रो देशमा अहिले पनि धेरै खाते, भिख माग्ने टुहुरा, गरीबीले पीडित बालक-बालिकाहरू रहेका छन् । शहरमा भुस्याहा कुकुरहरू र ती बाल-बालिकाको अवस्था उस्तै उस्तै रहेको तीतो सत्य देखाइको छ । उनीहरूको आफ्नै संसार छ, उनीहरूकै आफ्नै समाज छ । भोला भन्ने पात्रले दिनभरी मागेर आफु र झोपडीमा बस्ने आमालाई पालेको छ  । एक दिन आमा मरेकी तर भोलाले थाह नपाएको तर टुक्की बत्तीबाट घरको छाना सल्केर त्यहाँ आमा छोरा लगायत सबै भष्मीभूत भएको कारूणिक कथा छ । एकपट्टि सरकारले बाल दिवस भनेर मनाउने गर्छ तर वास्तवमा गरीब बाल-बालिकाहरूलाई सरकारले सहयोग गर्न सकेको छैन र त्यो शिशु दिवस सफल भएको छैन ।

‘पराजय’ कथामा पनि गरीबीको कारणबाट उब्जेको करूणाको पराकाष्ट रूप देखाइएको छ । घरमा सदैव गरीबीले सताएको दाउरा बेचेर परिवार पाल्ने वीरबहादुर एकदिन घरमा एक गेडो पनि अन्न नभएर जङ्गलतिर दाउरा खोजेर फर्किदा बाटामा नै बाघले झम्टेर मारिदिएको कारूणिक कथा छ । हाम्रो समाजमा यस्ता दाउरा खोजेर, भारी बोकेर, दैनिक श्रम गरेर, शारीरिक श्रम गरेर परिवार पाल्ने मानिसहरू धेरै छन् । लाचारी र विवशताले गर्दा घरको कमाउने मान्छे मरे कसरी घर परिवार बिल्लीबाट र पराजित हुनुपर्छ भन्ने कहालीलाग्दो कथावस्तु सिर्जिएको छ ।

‘सहारा’– कथामा देशका निम्ति कसरी गोर्खाली सैनिकले लडाइमा भाग लिएर वीरतापूर्वक लडेर देशको सेवा गर्दछन् तर घाइते भएको सैनिक भने पछि परित्यक्त अवस्थामा रहेका हुन्छन् भन्ने वास्तविकता देखाइएको छ । देशको सेवा गर्ने सिपाही मोहनले प्रेम र प्रेमिकालाई समेत लत्याएर युद्धभूमि जानुपरेको तर लड़ाइंमा घाइते भएर खुट्टा गुमाउनु परेको कारूणिक स्थिति देखाइएको छ । मोहन र उसकी प्रेमिकाको सपना चकनाचूर भएको छ । जीवन बैसाखीको सहारामा बाँच्नुपरेको देखाइएको छ ।

‘कसिंगर’ कथामा भने देशमा व्याप्त भ्रष्टाचारको चरम विकृत अवस्था देखाइएको छ । एकजना एम.ए पढेको युवक सुयोग्य हुँदाहुँदै घुस दिन नसकेर नोकरी पाउन नसकेको तर अधिकारीहरूले घुस लिएर अयोग्यलाई नोकरीमा नियुक्ति दिएको स्थितिलाई देखाइएको छ । सुयोग्य र सुपठित पनि कसरी नोकरी पाउनबाट वञ्चित रहेर गुँ घरमा नालायक जस्तो भएको, बोझ भएको र गरीबीले सताएको कारूणिक स्थिति छ । एउटा शिक्षित युवामाथि घरका बुढा बाबु आमाले ठुलो आशा गरेर बसेका हुन्छन्, उनीहरूको पनि आफ्नो बुढेसकाल राम्रो बितोस् भन्ने आशा आकाङ्छा हुन्छ तर असमर्थ बन्नुपर्दछ ।

‘गरीबी चित्रण’- डिल्लीराम खनालका प्रायः कथामा गरीबीका विविध रूप देखा परेका छन् । मानिस गरीबीका कारण नैतिक अनैतिक, वैध-अवैध, वाञ्छित-अवाञ्छित काम गर्न बाध्य हुन्छन् । पात्रहरू उत्पीडित, माग्ने, दाउरे, खेताला, किसिमका रहेका छन् । गरीबीका कारण धेरै पढेर पनि घुस दिन नसक्दा बोरोजगार र समाजमा लाञ्छित बन्नुपरेको पीडा छ ।

‘युद्ध वर्णन’- यस सङ्ग्रहमा रहेका घाइते इतिहासका सुस्केराहरू, सहारा, भोलि उदाउने सूर्य आदि कथामा युद्ध विभीषिका देखाइएको छ । युद्धले विकरालता, वीभत्सता र विध्वंश ल्याउँछ । यी दुई कथाहरूमा कसरी गोर्खालीहरूलाई युद्धले पिरोलेको छ । कथाका दुई पात्रहरू युद्धमा होमिएर आफ्नो जीवन बर्बाद पारेका छन् । एकजना ग्लानिबोध र अर्को खोरण्डो भएर जीवन बिताउनु परेको छ ।

‘पर्खाल’ कथामा भने दुइ पुस्ता र दुई मानसिकताको बिचको द्वन्द्व छ । पुराना विचारका पण्डित कृष्णकान्त र उनका आधुनिक शिक्षा पाएका छोराछोरीका बीच द्वन्द्व छ । कृष्णकान्तले सानैमा बिहा गरिदिएको छोरी अनुराधा बिधवा बन्छे तर दाजु डा महेश महेशको प्रयत्नले प्राध्यापक साथी योगेशसित बिहा गरिदिएर बिधवा विवाह भएको छ । पण्डित कृश्णकान्तको पुरानो रूढि र मानसिकताको पर्खाल एकदिन ढलेर नयाँ जमानालाई स्वीकार गर्नुपरेको कुरा देखाइएको छ ।

‘पूर्णिमा’- कथामा एउटी पूर्णिमा नाम गरेकी युवती नारीको कारूणिक अवस्थाको चित्रण छ । पूर्णिमाले कामुक र स्वार्थी पुरूषसित आमाबाबुको करकापले बिहा गर्छे तर पछिबाट लोग्नेले उसकै अफिसमा  सँगै काम गर्ने युवतीलाई कान्छी स्वास्नी बनाएर घरभित्र हुनल्छ तर पूर्णिमालाई भने घरबाट निकाल्छ । पूर्णिमा भने कति सङघ्र्ष दुःख कष्ट गरेर, जिउ बेचेर भए पनि आफ्नो छोरा पालेर खुवाउँछे । यस कथाको मूल मर्म नै नारी पीड़ा र करूणा हो । समाजको नारीप्रतिको धारणा र नारीको असुरक्षाको भावना हो ।

‘विवशता’ कथामा पनि कारूणिकता नै अघि देखा पर्दछ । कथामा गोठाले धनेको गरीबीका कारणले आफ्नो गाई बेच्नुपरेको मार्मिक अवस्था देखेको छ । महाजनले उसको गाई किनिदिएको छ तर पछिबाट गाई बेच्नुपर्दाका पीड़ा देखाइएको छ । जीवनमा बाँच्नु नै अबको युगमा कठिन छ । गरीबीमा दशैं-तिहार अन्य चाड़-बाढ़ मान्नुपर्ने, घरका छोराछोरीका चाहना पूरा गर्नु, घरमा खानपीन व्यवस्था मिलाउऩु धेरै कठिन काम हो ।

‘फागुन’ कथामा एकजना पात्रको विश्वविद्यालयमा अध्ययन गर्दा कावेरी भन्ने युवतीसित प्रेम भएको तर बाध्यतावस उनीहरूको प्रेम विवाहमा परिणत हुन नसकेको र कावेरीको भाष्करसित विवाह भएको कथा छ यद्यपि एकदिन भाष्करको मोटर दुर्घटनामा परी भाष्करको असामयिक देहान्त भएको छ । त्यस दुर्घटनाको खबर सुनेर म-पात्रमा परेको मानसिक प्रभाव र ग्लानिबोधले म-पात्रलाई मानिसक रूग्नता छाएको छ । यसमा पनि करूणा नै प्रखर रूपमा अघि देखा पर्छ ।

भोलि उदाउने सूर्य- कथामा पनि कश्मीरको भूमिमा भारतीय सेवनना भएर गएको प्रताप एकदिन दुसम्नको गोली लागेर धेरै महिना अस्पताल बसेर घर फर्किएको छष । घरमा उसकी पत्नी शीलालाई भेटन आतर भएको बेलामा रेलमा चढेको अवस्था आसाम भूमिमा प्रवेश गरेपछि बम बिस्फोट परी फेरि उ घाइते भएको मार्मिक कथा बुनिएको छ । मानिस कति निर्दयी, स्वार्थी र धर्मान्ध हुन्छ । रेलमा चढ़ेका निर्दोष मानिसहरूलाई मार्ने उद्देश्य रेलमा बम पड्कादिन्छन् । कथामा मानिसको कारूणिक अवस्था नै मुख्य रूपमा देखिन्छ । एक त मूल पात्र प्रताप  आतङ्कवादको शिकार भएर दुई- दुई पटक घाइते भएर अस्पताल बस्नुपरेको छ भने मानवता र मानवीय सगुणको ह्रास बएर मानिस मान्छे मायालाग्दा बनेका छन् ।

‘संसार’ कथामा यो स्वार्थखी संसारमा मानिस आफ्नो आफ्नो स्वार्थमा मात्र सीमित छ । गोविन्दले बाबु आमा नभएपछि दुःख गरी आफ्ना भाइ बहिनीलाई बढाएर पढाएर ठुलो मान्छे बनाउँछ । यद्यपि पछिबाट ती भाइ र बहगिनी उसित टाडिन्छन् । गोविन्दले पहिले आफुले मन पराएकी तर बिहा गर्न नसकेको र पछिबाट पतिगृहबाट परित्यक्त भएकी गङ्गा नामकी युवतीलाई बिहा गरी आफ्नो घर सजाउँछ । त्यतिबेला उसले समाजको रूढीग्रस्त विचार नहेरी सहास बटुलेर आत्महत्यासम्म गर्नु मनसायमा पुगेकी गङ्गालाई बिहा गरेर जीवन दिन्छ । यसमा पनि मानिसको कारूणिक अवस्था छ । यसमा गोबिन्द स्वार्थी संसारको कुटिलको शिकार भएको छ भने गङ्गा भने लोग्नेको यातनाजन्य अवहेलना र समाजको सामु दोषीसरह भएकी पीडिता नारी हो । यसमा कथाकारले त्यस्ता पात्रहरूलाई विद्रोह गर्न लगाई दोस्रो विवाह गराइदिएर जीवनलाई फर्काउन सकिने सन्देश दिएका छन् ।

‘बाँच्न चाहनेहरू’ कथामा एउटा शरणार्थी शिविरमा मानिसहरूको कारूणिक अवस्था देखिएको छ । लेखक पात्र त्यहाँ गएर औषधी मूलो बाँड्न शरणार्थीहरूको पंक्तिमध्ये अब्दुल नामको युवकको कारूणिक अवस्थाको वर्णन गरिएको छ । अब्दुलको घर द्वार सबै नै आतङ्कवादतो शिकार भएर बेघर र एकल भएको चरण कारूणिक अवस्था छ ।

‘अभिशप्त युगको आत्मकथा’- कथामा मानव र मानवताको झन कारूणिक विध्वंशक अवस्था देखिएको छ कसरी आतङ्कवाद फेलिएर समाजमा घृणा, अमानव, दुराचार फेलाएको छ । कथामा भाइ भने आतङ्ककाकरी सङ्गठनसित जडित भएर दाजुलाई नै मार्न भनी दशैंकै दिनमा आएको र दाजुलाई गोली हानुन् र दाजुले पनि आत्मरक्षाका निम्ति गोली चलाउँदा भाइको छोतीमा लाग्नवु अमनि अरूले दाजुको गाड़डीमा बम हान्दा आमा र दाजु पनि मर्नुको अवस्था छ । यसरी एउटै घरका दाजुभाइ र आमासहितको लाश घरमा आइपुग्दा घरको बाबुको पीड़ालाई करूणताको चरमता देखेको छ । किन र केका सिद्धिका निम्ति मानिस आतङ्ककारी हुनुपरेको ? यसले कसैको पनि कहिलो भलो गर्दैन बरू सर्वनाश विध्वंश, अमानवता आतङ्क, घृणा मात्र निष्पादन गर्छ ।

‘सहयात्री’ कथामा एकजना अमरबहादुर भन्ने पात्रको करूण अवस्थाको चित्रण छ । उ गरीबीका कारण  एउटा गाउँबाट अर्को गाउँमना बसाइँ सर्नुपरेको कारूणिक पीडड़ा छ । उ बाहिर बेसी बोल्ने तर बहिर्मुखी चरित्रको पात्र हो । उ समाजको भलो चाहन्छ तर गरीबीका कराण उ बसाइँ सर्न बाध्य छ ।

‘नयाँ बिहानको प्रतीक्षा’– कथामा भने गरीबीका कारण रणबहादुर आफ्ना छोरा छोरी महाजन र उसका सन्तानलाई नोकर बनाउन पठाएको थियो तर एक सानो बालक कालुलाई मालिकनी शारदाले बालश्रम शोषण दोहन कप-पल्ट फुटाइदियो भनेर कुटपीट गर्ने बालकको मानवाधिकार खोसेको कारूणिक अवस्था देखिएको छ । बाबु रणबहादुरले आफ्नो छारो र अरूलाई मालिकको घरबाट निकाले दुःख गरेर भए पनि आफैं पढाउँछु बढाउँछु भन्ने प्रण गरेको छ । यस कथाको मूलवस्तु नै करूणा हो ।

‘रहर’ कथामा पनि दाम्पत्य जीवनमा पति पत्नीको आफ्नो आफ्नै भूमिका र योगदान रहेको हुन्छ तथा दुवैमा एकार्काको सहयोग र साथ जहिले पनि चाहिन्छ भन्ने सन्देश दिइएको छ । नारीको महिमा र महानता देखाइको छ । कथाकी मूल पात्रा सीता आफ्नो गहनासम्म बिक्री गरेर भए पनि आफ्नो छोराछोरीका निम्ति समर्पण गरिदिन्छे । यसमा पनि नारीको त्याग र समर्पणमा करूणाको भाव पाइन्छ ।

‘मलामी’ कथामा भने मानिस कर्मले महान् हुन्छ । गाउँमा रामलाल भन्ने मानिसको मृत्यु भएको छ तथा गाउँमा उसको मृतदेहको अन्तिम संसाकर बिषयमा निकै बहस भएको छ । अन्तमा रामलालको सुकार्यको गुण बुझेर सबैजना मलामी जान तयार हुन्छन् । मरेपछि मान्छेको जात धर्म, संसाकर केही काम लाग्दैनन् । मानवनीय सेवा नै प्रथम कर्तव्य हो । समाजमा कट्टर रूढीवादले न्याय दिँदैन तर सुधारवादी चेतनाले मात्र मानवताको सन्देश दिन्छ ।

‘विसङ्गति यस्तो पनि’ कथामा भने मानिसको झन कारूणिक अवस्थाको चित्रण छ । गरीबको घरको छोरा भन्दा धनीमालिकको कुकुरको बढी महत्त्व हुन्छ भन्ने विडम्बना देखाइएको छ । गरीबको घरमा छोरा बिरामी छ भन्दा धनी मालिकको कुकुर बिरामी हुँदा मालिकहरूले सरोकार राखेका छन् । यहाँ हर्कबहादुर र उसकी स्वास्ऩीको चरण कारूणिक अवस्था देखाएइको छ । गरीबी एउटा बाध्यता हो, कोहीबेला गरीबभन्दा पशुको महत्तव रहेको तीतो सत्य प्रकट भएको छ ।

‘तपस्या’, ‘एउटा गाउँको कथा’, ‘रगत पसिनाको पसल’, ‘दिशाहीन’, ‘आहत समय’, ‘आहत अनुहारहरू’, ‘कटुसत्य’ जस्ता कथाहरूमा पनि मानिव र मानवताको कारूणिक स्थिति देखिएको छ । ‘आहत समय-कथामा आतङ्ककारी सङ्गठनले बसगाडीमा चन्दा असुल्दा कण्डक्टरले पैसा दिन नमान्दा उसलाई बेस्सरी कुटेको मार्मिक अवस्थाको वर्णन छ ।

यसरी हेर्दा डिल्लीराम खनालको अभिशप्त आत्मकथा-कथासङ्ग्रहका अधिकांश कथाहबरूको मूल कथ्य नै करूणाको चरम अवस्था देखिन्छ । मानिस स्वार्थकेन्द्रीत, राजनितीकेन्द्रीत, शोषक, पीडक रहेका हुनाने मानवता हारेको छ । यसमा रहेका कथामा असमकतो माटोको गन्ध पाइन्छ । त्यहाँको भूमिमा बस्ता त्यहाँका मानिसहरूको सामाजिक आर्थिक राजनैतिक सांस्कारिक सांस्कृतिक अवस्थाको प्रत्यक्ष र परोक्ष वर्णन पाइन्छ । यसमा रहेका  पच्चीसवटै कथामा मानवको कारूणिक अवस्थाको चित्रण पाइन्छ । मानिस पीडित छन्, दुखी छन् । सबैलाई केही न केही पीडाले सताएको छ । गरीबीले मानिसलाई के कतिसम्म गिराउँछ, कति मायालाग्दो अवस्था सिर्जना गर्दछ भन्ने सन्देश दिइएको छ ।

साझा गर्नुहोस्:

लेखकको बारेमा

नवीन पौड्याल

नवीन पौड्याल — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम