आजको संसार तीव्र गतिमा बदलिँदै छ । बिहान हातमा मोबाइल बोकेर उठ्ने मानिस राति निदाउनुअघि फेरि त्यही मोबाइलको पर्दामा आफ्नो दिनको हिसाब खोजिरहेको हुन्छ । प्रविधिले मानिसलाई नजिक ल्यायो भनिन्छ, तर व्यवहारले मानिसहरू टाढिँदै गएका दृश्य पनि उत्तिकै देखिन्छ । डिग्रीहरू बढिरहेका छन्, प्रमाणपत्रका फाइलहरू बाक्लिँदै गएका छन्, तर सम्बन्ध पातलिँदै छन् । ज्ञानको विस्फोट भएको छ, तर धैर्यता, सुन्ने क्षमता, इमानदारी, सहकार्य र संवेदनशीलता जस्ता मानवीय गुणहरू दिनप्रतिदिन दुर्लभ हुँदै गइरहेका छन् । यही परिवेशमा “सफ्ट स्किल्स” केवल एउटा आधुनिक शब्द मात्र होइन, सफल जीवन र सभ्य समाजको आधार बनेर उभिएको छ ।
मानिसको जीवन केवल किताबी ज्ञानले मात्र सुन्दर बन्न सक्दैन । विश्वविद्यालयले प्रमाणपत्र दिन सक्छ, तर व्यवहार सिकाउन सक्दैन । कार्यालयले पद दिन सक्छ, तर सम्मान कमाउनका लागि मानवीय गुण चाहिन्छ । आज धेरै मानिसहरू योग्य भएर पनि अवसर गुमाइरहेका छन्, किनकि उनीहरूमा संवाद गर्ने कला छैन, समय व्यवस्थापनको बानी छैन, टोलीमा काम गर्ने धैर्यता छैन, अथवा आलोचना सुन्ने सहनशीलता छैन । त्यसैले, अहिले संसारले “कसले कति पढ्यो?” भन्दा बढी “कसले कति राम्रो व्यवहार गर्न सक्छ?” भन्ने कुरा हेर्न थालेको छ ।
सफ्ट स्किल्सको पहिलो आधार हो कार्यप्रतिको नैतिकता । कुनै पनि कामलाई इमानदारीपूर्वक, गुनासो नगरी, जिम्मेवारीका साथ सम्पन्न गर्नु आज दुर्लभ गुण बन्दै गएको छ । धेरै मानिसहरू कामभन्दा सुविधा खोज्न थालेका छन् । काम थोरै, अपेक्षा धेरै हुने प्रवृत्तिले समाजमा असन्तुलन ल्याएको छ । वास्तवमा मेहनत गर्ने मानिस कहिल्यै पराजित हुँदैन । ऊ ढिलो सफल हुन सक्छ, तर असफल हुँदैन । अहिले सामाजिक सञ्जालले सफलता सजिलो छ भन्ने भ्रम फैलाएको छ । केही सेकेन्डको भिडियोले करोडपति बन्ने सपना देखाउने समय हो यो । तर वास्तविक जीवनमा सफलताको जग पसिनाले भिजेको हुन्छ । मेहनत बिना उपलब्धि सम्भव छैन । कामलाई बोझ होइन, अवसर ठान्ने मानसिकताले मात्र मानिसलाई अगाडि बढाउँछ ।
त्यसैगरी, बदलिँदो परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने क्षमता अहिलेको समयको सबैभन्दा ठूलो आवश्यकता बनेको छ । संसारमा स्थायी केही छैन । प्रविधि बदलिन्छ, काम गर्ने शैली बदलिन्छ, मानिसका सोच बदलिन्छन् । जो परिवर्तनसँग घुलमिल हुन सक्दैन, ऊ समयसँगै पछाडि पर्दै जान्छ । एक समय थियो, एउटा सीप सिकेपछि जीवनभर पुग्थ्यो । अहिले भने हरेक दिन नयाँ कुरा सिक्नुपर्ने अवस्था छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, अनलाइन शिक्षा र स्वचालनको युगमा आफूलाई अद्यावधिक गर्न नसक्ने मानिस बिस्तारै प्रतिस्पर्धाबाट बाहिरिन्छ । त्यसैले, लचकता र सिक्ने भोक अहिलेको युगको अनिवार्य गुण बनेको छ ।
जीवनमा सफल हुन “ग्रोथ माइन्डसेट” अर्थात् विकासमुखी सोच अत्यन्त आवश्यक छ । आफूले सबै कुरा जानिसकेको छु भन्ने अहंकारले मानिसलाई सिकाइबाट टाढा पुर्याउँछ । गल्तीलाई असफलता होइन, सिकाइको अवसर ठान्ने मानिस नै जीवनमा परिपक्व बन्छ । आज धेरै युवाहरू सानो आलोचनाबाटै निराश हुने गरेका छन् । सामाजिक सञ्जालको चमकले मानिसलाई वास्तविक संघर्षबाट डराउने बनाएको छ । तर इतिहासका सबै सफल व्यक्तिहरू असंख्य असफलताबाट गुज्रिएका थिए । उनीहरूले हारलाई अन्तिम सत्य मानेनन् । बरु त्यसैबाट नयाँ बाटो खोजे । सिक्ने इच्छा जीवित रहुन्जेल मानिस बूढो हुँदैन ।
व्यावसायिकता पनि सफ्ट स्किलको महत्त्वपूर्ण पक्ष हो । मानिस जहाँ पुगे पनि उसको व्यवहारले नै उसको परिचय दिन्छ । पद ठूलो भएर मात्र मानिस ठूलो हुँदैन । बोल्ने शैली, अरूलाई सम्मान गर्ने तरिका, कठिन परिस्थितिमा पनि संयमता कायम राख्ने क्षमता नै वास्तविक परिपक्वता हो । अहिले समाजमा असहिष्णुता बढ्दो छ । सानो विवादमा मानिसहरू एकअर्कामाथि अपमानजनक शब्द प्रयोग गर्न हिच्किचाउँदैनन् । यस्तो अवस्थामा सभ्य व्यवहार आफैंमा ठूलो शक्ति बनेको छ । मानिसको बोलीले सम्बन्ध बनाउँछ, र त्यही बोलीले सम्बन्ध तोड्छ पनि ।
आत्मचेतना अर्को महत्त्वपूर्ण पक्ष हो । आफू के बोल्दैछु, कसरी प्रस्तुत भइरहेछु, मेरो व्यवहारले अरूलाई कस्तो असर पारिरहेको छ भन्ने कुरा बुझ्न सक्ने क्षमता नै आत्मचेतना हो । आज धेरै मानिसहरू अरूको कमजोरी देख्न माहिर छन्, तर आफ्ना कमजोरी पहिचान गर्न सक्दैनन् । सामाजिक सञ्जालले आत्मप्रदर्शनको संस्कृतिलाई बढाएको छ । मानिसहरू वास्तविकता भन्दा छवि बनाउन व्यस्त छन् । यस्तो अवस्थामा आत्मविश्लेषण हराउँदै गएको छ । तर जो मानिस आफूलाई बुझ्न सक्छ, उसले संसारलाई पनि राम्रोसँग बुझ्न सक्छ ।
भावनात्मक बुद्धिमत्ता अहिलेको युगको सबैभन्दा आवश्यक गुणमध्ये एक हो । रिस, तनाव, ईर्ष्या, भय र निराशालाई नियन्त्रण गर्न नसक्दा धेरै सम्बन्धहरू टुटिरहेका छन् । मानिसहरू मानसिक रूपमा कमजोर बन्दै गएका छन् । बाहिरबाट हाँसिरहेको मानिस भित्रभित्रै पीडाले भरिएको हुन सक्छ । यस्तो समयमा आफ्नो भावनालाई बुझ्ने र अरूको भावनाप्रति संवेदनशील हुने क्षमता अत्यन्त महत्त्वपूर्ण हुन्छ । भावनालाई दबाउनु होइन, सही तरिकाले व्यवस्थापन गर्नु नै परिपक्वता हो । रिसको क्षणमा बोलेको एउटा शब्दले वर्षौं पुरानो सम्बन्ध भत्काउन सक्छ।
सञ्चार कला जीवनको मेरुदण्ड हो । स्पष्ट, सरल र सम्मानजनक संवादले असम्भव जस्तो लाग्ने समस्या पनि समाधान गर्न सक्छ । तर अहिले मानिसहरू धेरै बोल्छन्, कम सुन्छन् । सामाजिक सञ्जालमा तर्क गर्ने बानीले वास्तविक जीवनका संवादहरू कमजोर बनाएको छ । मानिसहरू जवाफ दिन सुन्छन्, बुझ्न होइन । जबकि साँचो संवाद त्यही हो जहाँ दुवै पक्षले एकअर्कालाई महसुस गर्छन् । कठिन शब्द प्रयोग गरेर बुद्धिमान् देखिन खोज्नु भन्दा सरल र स्पष्ट भाषा प्रयोग गर्नु बढी प्रभावकारी हुन्छ ।
आत्मप्रेरणा पनि अत्यन्त आवश्यक कुरा हो । अरूले धकेलेर मात्र अघि बढ्ने मानिस धेरै टाढा पुग्न सक्दैन । भित्रबाट उठेको इच्छा र उद्देश्यले नै मानिसलाई संघर्षमा टिकाइराख्छ । अहिले धेरै युवाहरू तुलना र प्रतिस्पर्धाको चक्रमा फसेका छन् । अरूको सफलता देखेर आफूलाई असफल ठान्ने प्रवृत्ति बढेको छ । तर हरेक मानिसको यात्रा फरक हुन्छ । आफ्नो गति आफ्नै हुन्छ । आफूभित्रको सम्भावना चिन्न सक्नु नै आत्मप्रेरणाको शुरुवात हो ।
सहकार्यको भावना अहिलेको विश्वमा झन् आवश्यक बनेको छ । कुनै पनि ठूलो काम एक्लैले सम्भव हुँदैन । विज्ञानदेखि साहित्यसम्म, व्यवसायदेखि समाजसेवासम्म, सबै क्षेत्रमा टोलीको शक्ति आवश्यक हुन्छ । तर अहिले धेरै मानिसहरू “म” मा केन्द्रित छन् । श्रेय एक्लैले लिन खोज्ने प्रवृत्तिले सहकार्य कमजोर बनाइरहेको छ । वास्तविक नेतृत्व त्यही हो जहाँ नेता आफैं चम्किन खोज्दैन, बरु अरूलाई चम्किन मद्दत गर्छ ।
समय व्यवस्थापन आधुनिक जीवनको अर्को चुनौती हो । प्रविधिले समय बचाउने भनिए पनि मानिसहरू झन् व्यस्त र अस्तव्यस्त भएका छन् । मोबाइलको एउटा सूचना हेर्न खोज्दा घण्टौं बित्ने अवस्था छ । समयलाई व्यवस्थापन गर्न नसक्दा प्रतिभाशाली मानिस पनि पछाडि पर्छ । समय वास्तवमा जीवन नै हो । गुमेको धन फर्किन सक्छ, तर गुमेको समय फर्किंदैन । त्यसैले, प्राथमिकता छुट्याउने कला सिक्नुपर्छ । सबै काम आफैं गर्न खोज्दा मानिस थाक्छ । आवश्यक र अनावश्यकबीच भिन्नता छुट्याउन सक्नु बुद्धिमत्ता हो ।
धैर्यता र निरन्तरता सफलता प्राप्त गर्ने मूल मन्त्र हो । अहिलेको पुस्ता छिटो परिणाम चाहन्छ । मेहनत नगरी उपलब्धि खोज्ने प्रवृत्ति बढ्दो छ । तर प्रकृतिको नियम हेर्ने हो भने कुनै पनि फल पाक्न समय लाग्छ । बीउ रोप्नेबित्तिकै फल लाग्दैन । मानिसको जीवन पनि त्यस्तै हो । संघर्ष, प्रतीक्षा र निरन्तरताले मात्र स्थायी सफलता सम्भव हुन्छ । कठिनाइ आयो भन्दैमा हार मान्ने मानिस कहिल्यै गन्तव्यमा पुग्न सक्दैन ।
अर्को महत्त्वपूर्ण पक्ष हो परिस्थिति बुझ्ने क्षमता । मानिसको अनुहार, बोली र व्यवहारबाट उसको अवस्था बुझ्न सक्नु संवेदनशीलताको परिचायक हो । अहिले मानिसहरू अत्यधिक व्यस्त छन् । कसैको पीडा सुन्ने समय छैन । यान्त्रिक जीवनले मानवीय स्पर्श हराउँदै लगेको छ । यस्तो अवस्थामा सहानुभूति र संवेदनशीलता सबैभन्दा ठूलो मानवीय गुण बनेको छ । कहिलेकाहीँ एउटा सान्त्वनाको शब्दले औषधिले भन्दा ठूलो काम गर्छ ।
सहकर्मीभाव पनि जीवनको सुन्दर पक्ष हो । अरूसँग मिलेर काम गर्न सक्ने क्षमता मानिसलाई प्रिय बनाउँछ । कठोर प्रतिस्पर्धाले मानिसलाई आत्मकेन्द्रित बनाइरहेको छ । तर वास्तविक सफलता त्यही हो जहाँ आफू अगाडि बढ्दै गर्दा अरूलाई पनि साथमा लैजान सकिन्छ । सहयोग गर्ने मानिस कहिल्यै एक्लो हुँदैन । उसको वरिपरि विश्वासको घेरा निर्माण हुन्छ ।
इमानदारी सबैभन्दा ठूलो सम्पत्ति हो । अहिले संसारमा झूट बोल्ने कला बढेको छ, तर सत्य बोल्ने साहस घटेको छ । मानिसहरू छवि बचाउनका लागि वास्तविकता लुकाउन तयार छन् । तर सत्य ढिलो भए पनि बाहिर आउँछ । इमानदार मानिस कहिलेकाहीँ तत्काल फाइदामा नदेखिन सक्छ, तर दीर्घकालमा उसैले सम्मान पाउँछ । चरित्रविहीन सफलता वास्तवमा असफलता हो ।
आजको शिक्षाले धेरै कुरा सिकाइरहेको छ, तर मानवीय मूल्य सिकाउने पक्ष कमजोर बन्दै गएको छ । विद्यार्थीहरू परीक्षामा राम्रो अंक ल्याउन सिकिरहेका छन्, तर जीवनसँग कसरी जुध्ने भन्ने कुरा सिकिरहेका छैनन् । त्यसैले, विद्यालय र विश्वविद्यालयले पनि सफ्ट स्किल्सलाई प्राथमिकतामा राख्न आवश्यक छ । केवल पाठ्यपुस्तकको ज्ञानले समाज बदलिँदैन । समाज बदल्नका लागि संवेदनशील, जिम्मेवार र नैतिक मानिस चाहिन्छ ।
परिवार पनि सफ्ट स्किल्स सिक्ने पहिलो विद्यालय हो । बच्चाले पहिलो पटक सम्मान, धैर्यता, संवाद र सहकार्य घरमै सिक्छ । तर अहिले परिवारहरू सँगै बसे पनि भावनात्मक रूपमा टाढिँदै गएका छन् । एउटै घरभित्र सबैजना मोबाइलमा व्यस्त छन् । संवाद घट्दै गएको छ । यसले भावनात्मक सम्बन्ध कमजोर बनाइरहेको छ । बच्चाहरूलाई केवल राम्रो विद्यालयमा पढाएर मात्र पुग्दैन, उनीहरूलाई राम्रो व्यवहार पनि सिकाउनुपर्छ ।
कार्यस्थलमा पनि सफ्ट स्किल्सको महत्त्व दिनप्रतिदिन बढिरहेको छ । अहिले कम्पनीहरूले केवल प्राविधिक दक्षता मात्र हेर्दैनन् । उनीहरू “यो व्यक्ति टोलीमा काम गर्न सक्छ कि सक्दैन ?”, “यसले दबाबमा निर्णय लिन सक्छ कि सक्दैन ?”, “यसको व्यवहार कस्तो छ ?” भन्ने कुरा पनि हेर्ने गर्छन् । किनकि अन्ततः संस्थालाई अगाडि बढाउने शक्ति मानवीय सम्बन्ध नै हो ।
राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, सञ्चार, व्यापार, सबै क्षेत्रमा सफ्ट स्किल्सको अभावले समस्या सिर्जना गरिरहेको छ । कटु भाषा, असहिष्णुता, घमण्ड, गैरजिम्मेवारी र असंवेदनशीलताले समाजलाई विभाजित बनाइरहेको छ । यदि मानिसहरूले एकअर्कालाई सम्मानपूर्वक सुन्न सिके, फरक विचारलाई स्वीकार गर्न सिके, र जिम्मेवारीपूर्वक व्यवहार गर्न सिके भने समाज धेरै सुन्दर बन्न सक्छ ।
मानिसको वास्तविक सुन्दरता उसको अनुहारमा होइन, व्यवहारमा हुन्छ । नम्रता, धैर्यता, सहयोग, इमानदारी र संवेदनशीलता जस्ता गुणहरूले नै मानिसलाई महान बनाउँछ । समय बदलिन्छ, प्रविधि बदलिन्छ, तर मानवीय गुणहरूको मूल्य कहिल्यै घट्दैन । बरु समय जति जटिल हुँदै जान्छ, यस्ता गुणहरूको आवश्यकता त्यति नै बढ्दै जान्छ ।
त्यसैले, सफ्ट स्किल्स कुनै अतिरिक्त कुरा होइन, जीवनको आधार हो । यसले मानिसलाई केवल सफल मात्र होइन, सम्मानित पनि बनाउँछ । संसारमा धन कमाउने मानिस धेरै भेटिन्छन्, तर मन जित्ने मानिस कम भेटिन्छन् । वास्तविक सफलता त्यही हो जहाँ उपलब्धिसँगै मानवता पनि बाँच्छ । आजको युगलाई केवल बुद्धिमान् मानिस होइन, संवेदनशील, जिम्मेवार र नैतिक मानिस चाहिएको छ । किनकि अन्ततः सभ्यता प्रविधिले होइन, मानिसको व्यवहारले मापन गरिन्छ ।

