सखारै यो सुदुर गाउँबाट आँसुको झन्डा बोकेर आउँदै छु देशको राजधानी बोकेको छु दिमागको सुर्केनी झोलामा खुर्सानीजस्ता पीरा प्रश्नहरूको फिलुङ्गो ।
मैले केही हिसाब गर्नु छ केही प्रश्नको उत्तरहरू माग्नु छ तिमीसँग ।
मैले हिँड्नुअघि, भोकको पटुका बाँधेर कम्मरमा, अभावको साँवल र वितृष्णाको पछ्यौरा भिरेको छु । र बोकेको छु बसाैँदेखि प्रश्नहरूको धारे ढुङ्गामा उब्जाएर राखेको बेचैनीको तरबार टिपेको छु दिमागी डायरीमा र राजधानीसम्मको ठेगाना ।
हो, महाशय ! म भर्खरै तिमीले उधारो सपना बेचेर गएको त्यही सुदूर ठेगानाबाट प्रश्न गरिरहेछु जस्तो कि, यता झुपडीमा जस्तै कहिलेकाहीँ हुन्छ कि हुँदैन तिम्रो अगेनामा चिसो चुलो ? भत्काउँछ, भत्काउँदैन वर्षे झरीले मन र आफ्नै हत्केला बिछ्याएर बनाएको मायाको घर ? उडाउँछ उडाउँदैन दुःख र अभावको हुरीले तिम्रो रङ्गीन सपनाको छानो ? कि अघाउँछ सुदूरमा पहिरो गएको खबरले तिम्रो भोकको साम्राज्य ?
के कहिल्यै तिमीले उठाउनुपूर्व लहलह तिम्रा सपनाको फाँटहरूमा पहिरो गएको भोगेका छौ ? कि देखेका छौ ? वर्षे बाढीमा घरसँगै डुब्दै उत्रदै बगिरहेका बा, आमा र नानीहरू ?
हेर, यता, राजधानीबाहिर पनि छ देश, राजधानी बाहिर पनि राजधानीको जस्तै इच्छा, सपना र आवश्यकताको आकाश छ ।
यता वर्षातले घरसँगै चिस्याउँछ जाउली पाक्दै गरेको अगेनो र चिस्याउँछ मनसँगै आँखाको आँसु पनि बरु एकोहोरो तातिन्छ रगत ।
किन बग्दैन तिम्रो राजधानीमा संवेदना ?
झलमल उज्यालो हुन्छ तिम्रो राजधानी किन अँध्यारो छ तिमीले भर्खरै सपना बेचिगएको यो सुदूर गाउको अनुहार ? भन, देशभित्र राजधानी हुन्छ कि राजधानीभित्र हुन्छ देश ?
महाशय ! के अब मैले देशभित्रै अर्को देश खोज्नुपर्ने हो ? कि खोज्नुपर्ने हो युद्धमा छापामारहरूले छाडिआएको खन्जरहरूको सन्दुक ? म तिम्रै हस्ताक्षरित नागरिकता बोकेर असली देश खोजिरहेछु र हेर्दै छु यो देशको नक्सा र उसले ओगटेको आकाश ।
लौ तिमी नै भन, के यो ढुङ्गा-माटो मात्रै हो देश ?

