उ मलाई भन्छे, उ मेरा घाउहरूमा फुउउउउ गरिदिन्छे रे शीतल बनाइदिन्छे रे मेरा सारा पीडाहरू हरिदिन्छे रे ! उ मलाई भन्छे उफफफफ नगर उ मलाई निको गराइदिन्छे रे फुउ गरिदिने, उफ नगराउने प्रीतसँग मलाई कसम खान मन लाग्यो ! म उसलाई भन्छु तिमी मेरो प्रार्थना उ भन्छे तिमी मेरो तपस्या जब म सुटुक्क भन्छु तिमी मेरो अनन्त पर्खाइ उ ढुक्क भई भन्छे तिमी मेरो अन्तिम लक्ष्य !
म उसलाई भन्छु तिमी मेरो धड्कन उ भन्छे तिमी मेरो हर श्वास जब म छरिदिन्छु आभास, उ फुलाइदिन्छे अनुराग म जगाउँछु प्यास, अनि उ बर्साइदिन्छे मधुमास ।
उसँग हुँदा लाग्छ, म एक शिवलिङ्ग हुँ र उ ममा लपक्क टाँसिएकी चन्दन उफ नगराई फुउ गरिदिने यो प्रीतले मेटियो जुनी–जुनीको तिर्खा, र भयो अमर मिलन !
उसको निष्ठा र अगाध समर्पणका सामु जीवनका घाम–छायामा सँगै मुस्कुराउँदै उसको खुसी र गौरवको बलियो सारथी बन्न मलाई फेरि एउटा कसम खान मन लाग्यो !

