Sahityapost
Nabil Bank

क्लासिक कथा : उकास

सनत रेग्मी · पढ्ने समय: 10 मिनेट
क्लासिक कथा : उकास

जग्गा बनाउनु त्यति सजिलो काम होइन । त्यसमाथि पनि बेसर्माको झ्याङ फँडानी गर्नु चानचुने कुरा थिएन तर पनि गाउँलेहरूले दिनरात मिहिनेत गरेर जग्गा फाँडी छोडे । मलिलो माटोको फाँट तयार भयो ।

====

ज्ञानी महतो बिहान उठ्नासाथ नदीको कछारतिर डुल्न हिँड्छ । यो उसको प्रतिदिनको दिनचर्या हो । बिहान ऊ उठ्छ र टाउकोमा रातो गम्छाको मुरैठा बाँधेरनीमको रूखबाट एउटा पातलो दतिवन टिप्छ र चपाउँदै नदीतिर लाग्छ, झन्डै तीन किलोमिटर ओहोरदोहोर गर्दछ ऊ नदी किनारैकिनार । उसको डुलाइसँगसँगै उसको दाँत माझ्ने काम पनि सकिसकेको हुन्छ । अनि ऊ नदीमा मुख पखालेर कुल्ला गर्छ लुगा खोलेर टाउकाको मुरैठा पनि खोल्छ । जीउको लुगा फेरेर ऊ त्यही रातो मुरैठा बेर्छ र ‘जय हो रापती मैयाँ’; भन्दै पानीमा हेलिन्छ ।

नुहाइसकेपछि ऊ पूर्वपट्टि सूर्यनारायणलाई दर्शन गर्छ र भिजेकै लुगाले पानीमा उभिएर सूर्यनारायणलाई अँजुलीको पानीले अर्घ दिएर ऊ पूर्वदिशातर्फ हेर्छ त उसको अगाडि पाँगो माटोले उर्वरा भएको बेसर्माको झाडीहरूको जङ्गल देखा पर्छ । अलिकति बालुवाको कछार र मलिलो माटो भएको बेसर्माको झाडीहरूको जङ्गल ।

विगत दुई-तीन वर्षदेखि रापती पश्चिमतर्फ हानिँदै आइरहेकी छिन् र पूर्वतर्फ निकै जमीन छाडेकी छिन् । पाँगो माटोले उर्वरा भएको त्यो जमीन बाँझो रहन सक्दैन । त्यहाँ बिस्तारै बेसर्मा उग्रँदै जान्छ र त्यो बेसर्माले जङ्गलकै आकार लिन थाल्छ ।

ज्ञानी महतो विस्तीर्ण दृष्टिले बेसर्माको जङ्गलको अवलोकन गर्दछ । झन्डै तीन-चार बिघामा फैलिएको छ त्यो जङ्गल । यो उर्वरा जङ्गल फाँडेर त्यसमा खेती हुने हो भने ? क्यै नभएर अलिकति चना र मुसुरो नै छरिदिने हो भने प्रशस्त अनाज हुन्छ । क्यै नभए पनि गाउँमा अलिकति भए पनि खेती योग्य जग्गा त निस्कन्छ । प्रत्येक वर्ष बाढीले जग्गा काटिरहेकै छ । यही जग्गा आबाद गर्न पाएपछि गाउँलेहरूलाई केही भने पनि राहत हुन्थ्यो । यो ठाउँ पनि अहिरटोलीको ठ्याक्कै पछाडि छ । नदी तरेर पारि जानसाथ आफ्नो खेती हुन्छ । ज्ञानी महतो मनमनै निश्चय गर्छ, त्यो बेसर्मा फाँडेर अहिरटोलीका जमीन नहुनेहरूलाई कल्याण गरिदिनुपर्यो ।

ज्ञानी नदीबाट घर फर्कनासाथ सल्लाह गर्न मुलायम दर्जीकहाँ पुग्छ । मुलायम दर्जी आफ्नो घरअगाडी उभिएर बाख्खाका खोरको हेरविचार गर्दै थियो, ज्ञानी महतोलाई आफ्नो घरतिर आउन लागेको देखेर उसले नजिकै उभ्याइएको खाट भुइँमा ओछ्याउँछ र महतोको स्वागत गर्न तम्तयार हुन्छ ।

“जय नेपाल महतो दादा ! आज कताबाट यो मुलायमलाई सम्झिन पुग्यौ ?”

“मुलायम भाइ ! यो गाउँमा हाम्रो खोजखबर लिने, हामीलाई ज्ञानगुन दिने तिमी नै त छौ । फेरि तिमी भनेका गाउँका नेता, तिमीलाई पनि बिर्सन सकिन्छ र ?”

“के नेता ? महतो दादा, नेता त भए ठाकुर रणवीर सिंह, ग‌ङ्गाराम पटवारी र मुखिया हरभजन सिंह । हामी त जनताका सेवक, हिजो पनि सेवक थियौँ, आज पनि सेवकै छौँ ।”

“बसौँ ।”

मुलायम दर्जाको आग्रहमा ज्ञानी महतो खाटमा बस्छ, अर्को कुनामा मुलायम पनि टुक्रुक्क बस्छ र भन्छ- “भन्नुस् महतो दादा, के सेवा गरौँ तपाईंको ?”

“सेवा एवा होइन । एउटा सल्लाह लिन आएको । आज नदीमा नुहाउन जाँदा एउटा विचार फुर्यो । त्यसै विषयमा सल्लाह गर्नुपर्यो भनेर । आज नदीमा स्नान गरेर यसो पारिपट्टि हेरेको नदीले झन्डै चारपाँच बिघा उकास जग्गा दिएकी रहिछन् । त्यहाँ बेसर्माको झ्याङ मात्रै छ । हामीले त्यो बेसर्मा फाँड्यौँ र त्यसमा खेती गर्यौँ भने झन्डै पचास घरको छाक टर्छ । नदीकिनारमा त्यत्रो जग्गा फाल्तू खेर गैरहेको छ । हामी भने जग्गा नभएर दुःख पाइरहेका छौँ । रापती मैयाँले हाम्रो जग्गा निलेकी छिन् । उनले नै दिएको उकासमा खेती गरे हुँदैन ? तिमीले सल्लाह दिन्छौ भने म पुरवाको मिटिङ बोलाएर कुरा अघि बढाउँछु ।”

“कुरा त ठिकै भन्यौ महतो दादा, तर त्यत्रो बेसर्मा फाँड्ने कसरी ? त्यो मोरो बेसर्मा फाँड्ने पनि गाह्रो । अलिकति जराको तुस मात्र बाँच्यो भने फेरी उम्रिहाल्छ, अनि ?”

“मिहिनेत त गर्नैपर्छ मुलायम भाइ, मिहिनेत नगरी त केही फल पाइँदैन । पाँच बिघाजति उकास छ, यो उकासमा एउटा परिवारलाई दश कट्ठाका दरले खेती गर्ने बाँडियो भने पनि दश परिवारको समस्या समाधान हुन्छ । म साँझ मिटिङ बोलाउँछु, लच्छी अहिर र तिमी दुई जनाले नै हेरी विचारी ककसलाई उकासको जमीन खेती गर्न दिने हो छुट्याइदेऊ । तिमीहरूको कुरा गाउँलेहरूले मान्छन् पनि ।”

“हुन्छ, महतो दादा, तपाईं साँझ मिटिङ बोलाउनुस्, लच्छीलाई पनि बोलाउनुहोला । म पनि आउँछु अनि त्यहीँ सल्लाह गरौँला ।”

मुलायमबाट सकारात्मक सल्लाह पाएर ज्ञानी महतो प्रसन्न हुँदै घरतिर लाग्छ ।

ज्ञानी महतोको यसै गाउँमा चार बिघा खेत थियो, तर पोहोर र परारको नदीकटानमा सबै जमीन नदीमा गयो । पाँच बिघाको किसान अहिले ठाकुर रणवीरको खेत अधियाँ बटैया गरेर जीविकोपार्जन गरिरहेको छ । गोठमा दुइटा भैंसी पालेको छ । त्यसकै दूध बेचेर दैनिक खर्च टार्ने गरेको छ उसले । तर उसलाई अहिले घरखर्च धान्न धौधौ परेको छ । जे भए पनि, हिङ नभए पनि हिङ बाँधेको टोलो त हो ऊ, राणाकालमा ठुलाठालुमा गनिन्थ्यो ऊ, ऊ अहिरहरूको महतो हो । समयको फेर, पुर्खाहरूको सानसौकत सबै हरायो । पहिलेको महतो अहिले शृङ्गारको वस्तुझैं भएको छ । नदीको प्रकोपले उसको महतो पदवीबाहेक सबै सम्पत्ति सखाप भइसक्यो ।

महतो भनेपछि जातिको प्रमुख नै मानिन्छ ऊ, तर महतोको त्यो सम्मान पनि धान्न नसक्ने भइसकेको छ । उसको घरको काम गर्ने ठिटो लच्छी अहिर, अहिले ऊभन्दा सम्पन्न र सम्मानित पनि भइसकेको छ ।

२००७ सालको क्रान्तिमा लच्छीले उसलाई पनि सामेल हुन अनुरोध गरेको थियो, तर राणाहरूले दिएको यही महतोको पगरीले उसलाई रोकेको थियो । लच्छी त्यही बेलादेखि गाउँको नेता भयो । पन्ध्र सालको चुनाउमा पनि ऊ निकै सक्रिय थियो । जिल्लामा उसको इज्जत, मानप्रतिष्ठा थियो, तर २०१७ सालमा ऊ र मुलायम दर्जी फेरी जेल परे । गाउँमा फेरी ठाकुर रणवीर सिंह, ग‌ङ्गाराम पटवारी, मुखिया हरभजन सिंहकै जगजगी भयो । उनीहरू नै पालैपालो प्रधान भए । ज्ञानी महतो जातको मुखिया भए पनि उनीहरूकै गुमास्ना पो हुन पुग्यो । ज्ञानी महतो उनीहरूको हतियार हुन पुग्यो । जुन हतियारलाई कहिले रणवीर सिंह चलाउँथे, कहिले ग‌ङ्गाराम पटवारी त कहिले मुखिया हरभजन सिंह ।

जे भए पनि लच्छी भने उसको अत्यन्त आदर गर्दछ । जातको मुखिया महतो, त्यसमाथि अहिले सर्वहारा भइसके । उसलाई आफ्नो राजनीतिमा केही अप्ठेरो पर्यो भने ऊ ज्ञानी महतोको शरण पर्दथ्यो । ज्ञानी महतोलाई गाउँलेहरू अझैँ पनि आफ्नो महतो नै मान्छन् र उसले भनेपछि अहिरहरूको ठूलो जमात जे गर्न पनि तयार हुन्थ्यो । लच्छी र मुलायम नै वास्तवमा यहाँका साँचो अर्थमा जनप्रतिनिधि हुन् । जनताले उनीहरूलाई जति पत्याएर पनि, जिल्लाका नेताहरूले भने उनलाई पत्याउन छोडेका छन् ।

ज्ञानीको सहयोग र मुलायमको क्रान्तिकारी भाषणले लच्छी कहिल्यै पनि गाउँको प्रधानमा जित्न सकेन । अहिले फेरि उनीहरू पछि नै परेका छन् । जनबल धेरै भए पनि धनबल छैन भनेर पार्टीले उनीहरूलाई टिकट दिँदैन । अहिले गाउँका ठूला नेता फेरि उनी रणवीर सिंह, गङ्गाराम पटवारी र हरभजन सिंह हुन पुगेका छन् ।

लच्छी र मुलायमलाई आफ्नो पार्टीमा आएमा टिकट दिन्छौँ भनेर प्रतिपक्षी पार्टीले धेरै पटक फकाउन खोजेको हो, तर तिनीहरू आफ्नो पार्टी र सिद्धान्तप्रति प्रतिबद्ध नै रहे । बरु गङ्गाराम पटवारी भने दुई पटक प्रतिपक्षी पार्टीमा लागे पनि टिकट नपाएपछि पुनः आफ्नै पार्टीमा फर्केर आएका छन् ।

ज्ञानी अहिले पनि ठाकुर रणवीर सिंहकै जोताहा छ । ग‌ङ्गाराम पटवारीले मतिमीलाई जग्गा दिन्छु, तर मलाई तिमीले जिताउनुपर्छ, म कम्युनिस्ट पार्टीको टिकट लिएर लड्छु भनेका थिए । तर मुलायमले, आफ्नो पार्टीसँग गद्दारी गर्नु हुन्न, जे भए पनि ठाकुर आफ्नै पार्टीका हुन्, उनलाई नै साथ दिनुपर्छ भनेकाले ज्ञानी महतोले उनको साथ छोडेको थिएन ।

अहिरटोलीका गाउँलेहरूको भेला ज्ञानीको आँगनमा भएको थियो । त्यहाँ अधिकांश मानिसहरू अहिर नै थिए । मुलायम दर्जी, लच्छी अहिर, हसनु धोबीबाहेक दुई-चार जना कोरी, चमार, धोबीहरू थिए ।

मुलायम दर्जीले सभालाई सम्झाउँदै भन्यो- “हेर, रापती मैयाँको कृपाले नदीपारि झन्डै पाँच बिघा जमीन ‘उकास’मा निस्केको छ । हामीहरूमध्ये जजससँग जग्गा छैन तिनीहरूले, दश कठ्ठाका दरले जग्गा पाउँछन् । तर मिहिनेत गरेर बेसर्माको झ्याङ फाँड्नुपर्छ, तपाईंहरू सहमत हुनुहुन्छ भने भोलिदेखि नै फाँड्ने काम शुरू हुन्छ ।”

जग्गा बनाउनु त्यति सजिलो काम होइन । त्यसमाथि पनि बेसर्माको झ्याङ फँडानी गर्नु चानचुने कुरा थिएन तर पनि गाउँलेहरूले दिनरात मिहिनेत गरेर जग्गा फाँडी छोडे । मलिलो माटोको फाँट तयार भयो । मुलायम दर्जी, लच्छी अहिर र ज्ञानी महतोको नेतृत्वमा एक धुर पनि जग्गा नहुनेलाई जग्गा बाँडियो । जग्गा नहुनेले पसिना बगाए । वर्ष दिन नपुग्दै नदीपारि बेसर्माको जङ्गलमा बाली झुल्न थाल्यो ।

ज्ञानी महतो, मुलायम दर्जी र लच्छी अहिरको गुन गाउन थालियो तर नदी उकासको लहलहाउँदो फसल हेरे ग‌ङ्गाराम पटवारी, ठाकुर रणवीर सिंह र हरभजन सिंहहरूका तीन नेत्र बले । उनीहरूले जग्गा आफ्नो भएको र जग्गाको स्वामित्वको खेतमा उम्रेको बालीमा समेत आधा पाउनुपर्ने दाबी गर्न थाले ।

गाउँलेहरू, आफ्नो त्यत्रो खेती र मिहिनेत खेर जाने र जग्गासमेत खोसिने आशङ्काले आक्रोशित भए । अहिरटोलीमा व्यापक तनाव बढ्यो । किसानहरू आफ्नो हकका लागि मर्न-मार्न तयार भए । ठाकुर र पटवारीहरू जालझेल र कागज मिलाउन थाले । नदीले छोडेको उकासले एउटा मुद्दाको आकार ग्रहण गर्यो । गाउँलेहरूको नेतृत्व मुलायम दर्जी, ज्ञानी महतो, लच्छी अहिरहरूले गरे । गाउँ विकास समितिको अध्यक्ष ठाकुर रणवीर सिंह भएकाले न्याय माग्न सबै जिल्ला सदरमुकाम धाए ।

पार्टी कार्यालयमा गुनासो पोखे । एकातिर गाउँ विकास समितिका अध्यक्ष ठाकुर रणवीर सिंह, ग‌ङ्गाराम र हरभजन सिंहजस्ता पार्टीका प्रभावशाली नेता, अर्कोतिर सात सालदेखि नै पार्टीका लागि त्यागतपस्या, जेलनेल भोगेका त्यागी नेता मुलायम दर्जी अर्थात् मुलायम बाबा र लच्छी अहिर । पार्टी नेता किंकर्तव्यविमूढ भए नदी उकास मुद्दामा उनी तटस्थ नै बस्ने भए । पार्टी नै तटस्थ देखेपछि प्रशासन पनि अन्यौलमै पर्यो । उसले पनि कुनै निर्णय दिन सकेन । सतासीन पार्टीको भीडन्तमा प्रतिपक्ष पनि रमायो । न्यायको पक्ष दिने ठाउँमा, प्रतिपक्षीको झगडामा थपडी बजाउने र दुवै पक्षलाई उकास्नु नै प्रतिपक्षको रणनीति रह्यो । ‘उकास’को जग्गाले ठूलै विवाद जन्मायो । झगडा उग्र हुँदै गयो, बाली काट्ने, भित्र्याउने समय बित्न लाग्यो र एक दिन त्यो उकासको जमीन कुरुक्षेत्रको मैदान भयो ।

बालीको बिचोबिच हँसिया, डोरी लिएर गाउँलेहरू बाली काट्न तम्तयार भएर उभिएका छन् भने आफ्नो हकको जमीनमा लागेको बाली काट्न नदिन ठाकुरहरू उभिएका छन् । उनीहरू बन्दुक लिएर उभिएका छन् । मुलायम बाबा र ज्ञानी महतो निहत्था र लाठी लिएका भए पनि लच्छी अहिर भने बन्दुकै लिएर उभिएको छ ।

“ठाकुर ! यो जमीन बेसर्माको जङ्गल थियो । त्यति बेला तिमीलाई यसको स्वामित्वमा बोध भएन, जब किसानहरू बेसर्मा फाँडेर खेत तयार पार्दै थिए त्यति बेला पनि तिमीलाई यसको वास्ता भएन । आज जब खेतमा फसल पाकेर तयार भएको छ तब तिमी यी गरीब जनताको खुन चुस्न तयार भएर आएका छौ । तर तिम्रो छलप्रपञ्च अब चल्ने छैन । चुपचाप किसानहरूलाई आफ्नो बाली भित्र्याउन देऊ ?” मुलायम बाबाले ठाकुर रणवीर सिंहलाई सम्झाउन खोजे ।

“हेर मुलायम बाबा, तिमी बुज्जुग छौ, तिमीलाई थाहै छ, त्यो जमीन हाम्रो हो । पटवारीको खातापातामा पनि जमीन हाम्रै प्रमाणित भएको छ । पहिला तिमीहरूले निर्णय देऊ, यो जमीनको स्वामित्व हाम्रै हो । अनि यसको उब्जनीको अधियाँ हामीलाई दिन्छौ अनि मात्र बालीलाई हात लगाउन दिन्छु । मान्दैनौ भने खुनखराबा हुनेछ, त्यसको जिम्मेदार तिमी नै हुनेछौ ।“

“के कुरा गर्दै छौ ठाकुर ? सधैँ तिमीहरूकै युग रहिरहने हो के ? अस्ति राणाहरूको एकतन्त्री शासनमा तिम्रै जगजगी, हिजो पञ्चायतका शासनमा पनि तिमीहरू नै मालिक, आज जनताको युगमा पनि तिमीहरूकै हैकम ? अब यो सब चल्दैन । अहिलेको युग जनताको युग हो । जनतालाई बर्बाद गरेर तिमीहरू बस्न सक्दैनौ । चुपचाप यिनीहरूलाई आफ्नो मिहिनेतको फल काट्न देऊ । अनावश्यक बाधाअड्‌काउ नगर ।” लच्छी अहिर उनीहरूलाई सम्झाउँछ र किसानहरूलाई बाली काट्न आदेश दिन्छ ।

गाउँलेहरू हँसिया लिएर खेततिर बढ्छन् । ठाकुर तिनीहरूलाई अघि नबढ्न आदेश दिन्छ । उनीहरू अटेर गरेर खेतमा पस्न खोज्छन् । अनि ठाकुर हावामा बन्दुक पड्‌काउँछ । गाउँलेहरू हच्किन्छन् र टक्क अडिन्छन् । मुलायम बाबा सोचमा डुबेको छ । आजको जनतान्त्रिक युगमा पनि यिनै सामन्तहरूको हैकम अस्ति पनि यिनैको बिगबिगी, हिजो पनि यिनैको हैकम आज पनि यिनैको शोषण, अस्तिका मालिक, हिजोका शासक, आजका नेता । जहिले पनि यिनै अगुवा, यिनकै हैकम, हामी जहिले पनि यिनको शोषणबाट शोषित हुनुपर्ने । जहिले पनि यिनीहरूसँगै सङ्घर्ष गर्नुपर्ने । यिनीहरूले जित्नुपर्ने, हामीले हार्नुपर्ने जब यिनीहरूको समाप्ति हुँदैन, हाम्रो उदय हुँदैन । सामन्तहरूको समाप्ति नै जनताको उदय हो । यिनको समाप्ति नहुँदासम्म जनताले आफ्नो स्वाभिमान र हक उपभोग गर्न पाउँदैनन् । मुलायम दर्जी अर्थात् मुलायम बाबा बिस्तारै आक्रोशित हुँदै जान्छ । लच्छी अहिरको हातबाट बन्दुक तान्छ र उत्तेजनाको आवेगमा बन्दुक पड्‌काउँछ…ढ्याम्म… ढ्याम्म… ढ्याम्म  ।

ठाकुर रणवीर सिंह, पटवारी ग‌ङ्गाराम र हरभजन सिंह तीनै जना छातीमा हात समाउँदै आ-आफ्ना बन्दुकसँगै भुइँमा पछारिन्छन् । उनको छातीबाट रगतको भल बगिरहेको हुन्छ, र उकासको जमीन रगतको आहलमा डुब्छ ।

घटना घटेको एक घण्टामै प्रहरीहरू आइपुग्छन् । मुलायम, लच्छी र ज्ञानी महतो पक्राउ पर्छन् । उकासको जमीनबाट तीनवटा लाश उठ्छ । मुलायम बाबा सनकी, पागल र हत्यारा घोषित हुन्छ । उकासको भाग्यको फैसला हुन सक्तैन । यो उकास कसको ? ठाकुर पटवारी र हरभजनका सन्तानहरूको ? बेसर्मा फाँडेर, वर्षभरि मिहिनेत गर्ने गरीब गाउँलेको ? युग र समयले अझै यसको न्याय गर्न सकेको छैन ।

* * *

साझा गर्नुहोस्:

लेखकको बारेमा

सनत रेग्मी

सनत रेग्मी — साहित्यपोस्टका सर्जक। नेपाली साहित्यमा निरन्तर सक्रिय।

थप रचनाहरू पढ्नुहोस् →
© 2026 Sahityapost — सर्वाधिकार सुरक्षित विकास टिम