त्यस बिहान कोठाको ढोका ढ्याप्प लागेको आवाजले सुमना ब्युँझिइन् । आँखा मिच्दै बिस्तारै उनले परिदृश्य नियालिन् । कोठाभित्र बत्ती झललल बलिरहेको थियो, तर कोठाबाहिर भने अझै घोर अँध्यारो नै थियो । भित्ते घडीमा बिहानको पाँच बजेको थियो । सडकमा मोटर गाडीका आवाजहरू कतै-कतै सुनिन थालेका थिए । कोठाको एक कुनामा पानी तताउने भाँडोबाट बाफ उडिरहेको थियो । ग्यास चुलोमाथि टक्क बसिरहेको चियाको भाँडोबाट पनि हल्का बाफ सनै सनै निस्किरहेको देखिन्थ्यो ।
सुमनाले हिजो आफूसँगै छेवैमा सुत्नुभएका आफ्ना बाबालाई छामछाम-छुमुछुम गरिन् । ओछ्यान खाली थियो; उनले थाहा पाइन्, बाबा काममा हिँडिसक्नुभएछ ।
सुमना आठ वर्षकी थिइन् । उनी भक्तपुरको एक सामुदायिक विद्यालयमा कक्षा ४ मा पढ्थिन् । उनको पढाइ मध्यम खालको भए पनि गुरुहरूको नजरमा उनी मिहिनेती र इमानदार छात्रा थिइन् । त्यसैले, उनलाई सबै गुरुगुरुमाहरूले निकै माया गर्नुहुन्थ्यो ।
काठमाडौँमा उनका बाबाले उनलाई कति धेरै सङ्घर्ष गरेर हुर्काउनु र पढाउनुभएको थियो, त्यो कुरा सुमनाले पनि बुझेकी थिइन् । अरू दिन बिहानैदेखि बुबा सुकदेव काममा व्यस्त भए पनि शनिबारको दिन बाबा-छोरी सँगै हुन्थे । उनीहरू मीठा-मीठा कुराकानी गरेर शनिबार बिताउँथे । बिदाको दिन बाबाले घरको सरसफाइ गर्नुहुन्थ्यो र सुमनालाई गृहकार्य गर्न अह्राउनुहुन्थ्यो । तर, उहाँ आफैँले धेरै नपढेका कारण सुमनालाई सिकाउन भने सक्नुहुन्नथ्यो ।
सुमना आफूलाई जन्म दिने आमाका बारेमा पूर्ण रूपमा बेखबर थिइन् । उनले सानैदेखि आमालाई कहिल्यै देखेकी थिइनन्, न त आमाको अनुहार नै उनलाई याद थियो । कहिलेकाहीँ उनलाई आमाप्रति तीव्र जिज्ञासा जाग्थ्यो र बाबालाई सोध्ने गर्थिन्, “बाबा, ममी अब कहिल्यै पनि फर्किनुहुन्न हो ? तपाईंलाई त थाहा होला नि, उहाँ कहाँ हुनुहुन्छ ?”
यी प्रश्नहरू सुन्नासाथ सुकदेव रिसले चुर हुन्थे र भन्थे, “नकरा भन्या ! अब किन चाहियो तँलाई ममी ? तँलाई यहाँ के कुराको कमी भएको छ र ?”
त्यसको केही क्षणपछि उनी फेरि बाबालाई नम्र भएर सोध्थिन्, “अनि हामी मामाघरचाहिँ कहिले जाने त बाबा ? हजुरआमाले बाबालाई पनि सँगै लिएर आइज भन्नुभएको छ ।”
यस प्रश्नमा उनका बाबाले छोटो प्रतिक्रिया दिँदै भन्नुहुन्थ्यो, “अब मन्थली जाँदा एकफेर जानुपर्छ छोरी ।” आफ्नै बाबासँग आमाका बारेमा थप सोध्ने आँट सुमनामा थिएन । उनलाई कहिले मामाघर गएर हजुरआमालाई सबै कुरा सोधौँ जस्तो भइरहन्थ्यो । पहिलो पटक मामाघर जाँदा उनी धेरै सानी थिइन् । आमाका बारेमा बुझ्ने जिज्ञासा नै पलाएको थिएन ।
आफ्नो मनमा खेलिरहने कुरा र जिज्ञासाहरू सुनाउन सुमनासँग कुनै नजिकको साथी थिएनन् । उनले आफ्नी आमा नभएको कुरा साथीहरू वा गुरुहरू कसैलाई पनि सुनाएकी थिइनन् । दिनहरू बित्दै जाँदा सुमनालाई बाबासँग आफ्नी आमाबारे धेरै कुरा सोध्न मन लाग्थ्यो, तर बाबाले प्रश्नको उत्तर नदिने, उल्टै रिसाउने र झर्किने गरेकाले उनी डराउँथिन् । अन्ततः उनी चुपचाप बस्न बाध्य भइन् ।
उनलाई जीवन जिउन सहज थिएन । कोठामा धेरै कुराहरूको अभाव थियो । उनका साथीहरूलाई स्कुलका लागि तयारी गरिदिने उनीहरूका आमाबुबा हुन्थे, तर उनले भने सबेरै उठेर आफ्ना सबै काम आफैँ गर्नुपर्थ्यो । पछिल्लो समय अरूका आमा देख्दा उनलाई लाग्थ्यो, “मेरी पनि आमा भइदिएकी भए म कति राम्री देखिन्थेँ होला…।”
कहिलेकाहीँ स्कुल जाने बेलामा खाना पकाउँदा-पकाउँदै उनी रुन्थिन् । भाँडाकुँडा माझ्दा पनि उनका आँखा आँशुले भरिन्थे । तर, कसैले देख्ला कि भन्दै उनी मन दह्रो बनाएर आँशु पुछ्थिन् । यस्तो बेला उनी मामाघरकी हजुरआमालाई निकै सम्झन्थिन् ।
महिनाको अन्त्यतिर कोठामा प्रायः रासनपानी सकिन्थ्यो । बाबा ज्यामी काम गर्ने मजदुर भएकाले कहिले पैसा हुन्थ्यो, त कहिले हुँदैनथ्यो । चामल र तरकारी सकिएका बेला उनका बाबाले उनलाई चोकको काभ्रेली होटलमा गएर खानू भन्नुहुन्थ्यो । त्यसैले, महिनाको अन्तिमतिर सुमना प्रायः त्यही होटलमा खाना खाएर विद्यालय जान्थिन् ।
एक दिनको कुरा हो, कक्षामा गुरुआमाले ‘बाबाबारे एक अनुच्छेद लेखेर देखाउनू’ भन्नुभयो । बाबाका बारेमा कसरी लेख्ने भन्ने तरिका पनि उहाँले सिकाइदिनुभयो । सोही तरिका अपनाएर सबैभन्दा पहिले सुमनाले नै लेखेर देखाइन् । त्यसपछि अरू साथीहरूले क्रमशः देखाउँदै गए । सुमनाले राम्रा अक्षरमा बान्की मिलाएर लेखेकी थिइन् । गुरुआमाले उनको लेखन निकै मन पराएर स्याबासी दिनुभयो । गुरुआमाको प्रशंसाले सुमना निकै खुशी भइन् ।
तर, चौथो घन्टी लाग्नुअगाडि गुरुआमाले अर्को गृहकार्य दिएर जानुभयो:
“यसरी नै आफ्नी आमाबारे एक अनुच्छेद लेख्नुहोस् र छेवैमा आमाको एउटा सानो तस्विर पनि बनाउनुहोस् ।”
यो सुनेर सुमनामा चिन्ता बढ्यो । उनको अघिको खुशी धेरै बेर टिक्न पाएन । कक्षामा उनी आत्तिन थालिन् र उनको अनुहार रातोपिरो भयो । उनले त्यतिखेरै गुरुआमासँग भन्न पनि सकिनन्- “म्याम, मैले मेरी आमालाई देखेकी छैन । म आमाका बारेमा के लेखूँ ? तस्बिर कसरी बनाऊँ ?” कक्षाकोठाका अरू सबै विद्यार्थीले ‘हस् म्याम’ भन्दै गृहकार्य स्वीकारे, तर उनले मनमनै, “हुन्न म्याम, म त सक्दिनँ, कत्ति पनि सक्दिनँ” भनिरहिन् ।
बिचरी सुमना ! उनको मनको यो आर्तनाद कसले बुझिदिने र ?
घर पुगेपछि सुमना झन् चिन्तित बनिन् । उनले धेरै पटक आमाका बारेमा रित्तो पाना भर्ने प्रयास गरिन्, तर हरेक पटक उनका आँखा आँशुले भरिए । उनले त्यहाँ आमाको रूपरङ, कपाल, मनपर्ने कुरा, पढाइलेखाइ र इच्छा-चाहनाहरूका बारेमा लेख्नुपर्ने थियो । तर उनलाई आमाका यी यावत् कुराहरू थाहै थिएन । बाबा साँझपख घर आइपुग्नुभयो, तर उहाँसँग सोध्ने आँट सुमनामा आएन । उनले धेरै चोटि जन्म दिने आमाको प्रसङ्ग कोट्याउन त खोजिन्, तर दिनभरिको कामले लखतरान भएर आएका सुकदेव चुँइक्क नबोली ओछ्यानमा लडिरहे ।
त्यस रात उनी सोच्दा-सोच्दै गलेरै सुतिन् । भोलिपल्ट बिहान सबेरै बाबा काममा गइसकेपछि उनी ब्युँझिइन् । उठ्नेबित्तिकै उनी त्यही गृहकार्य पूरा गर्न जोडतोडले लागिन् । उनले आमाको तस्विर बनाउन खोजिन् । कोर्दै जाँदा तस्विरले एउटा आकार लियो, तर त्यो को जस्तो थियो, उनैलाई थाहा थिएन ।
उनको मनमा लाग्यो- “मेरी आमा पनि यस्तै अनुहारकी हुनुहुन्थ्यो होला ।” उनले तस्विरमा लामो कपाल बनाइदिइन्; लुगामा रातो रङ पोतिन्; खुट्टामा अग्ला-अग्ला स्यान्डल सजाइदिइन् । कानमा झुम्का र नाकमा फुली हालिदिइन् । हातमा एउटा गुलाबी रङको ब्याग बोकाइदिइन् । ओठमा लाली र कपालमा थोरै रातो रङको हाइलाइट थपिन् । क्रमशः उनले आफ्नो कल्पनाअनुसार अरू कुराहरू पनि थप्दै गइन् ।
बनिसकेको सो तस्विर हेरेर सुमना निकै भावुक भइन् । एक्कासि उनले त्यो तस्विरलाई आफ्नो छातीमा टाँसिन् । तस्विर छातीमा राख्दा-राख्दै आफैँलाई थाहा नपाई उनका आँखाबाट आँशुका धारा बग्न थाले ।
उनी एक्कासि आत्तिँदै चिच्याउन पुगिन्- “मामू ! मामू ! आउनुस् न मसँग । कता हुनुहुन्छ तपाईं ? म यहाँ एक्लै भएँ !” केही बेर उनी त्यस तस्विरसँग नाता गाँसेर बर्बराइरहिन् ।
उता समय घर्किसकेको थियो । हतार-हतार स्कुलको पोशाक लगाएर उनी पाठशालातिर दौडिइन् । त्यस दिन उनलाई भोकभन्दा पनि आमाको तस्विरले बढी सताइरहेको थियो । त्यो तस्विरले घरी उनलाई क्षणिक खुशी दिन्थ्यो, त घरी उनको छाती भतभती पोलेर आउँथ्यो । उनमा पीडाको कुनै सीमा थिएन ।
चौथो घन्टी लाग्यो । सीमा मिस कक्षामा आउनुभयो र गृहकार्य सोध्न थाल्नुभयो । उता सुमना भने असामान्य रूपमा उदास भएर चुपचाप बसिरहेकी थिइन् । अरू साथीहरू कसको तस्विर राम्रो भयो भन्दै बेन्चमा कापी निकालेर हेराहेर र तुलना गर्दै थिए । तर सुमनाले आफ्नो गृहकार्य झोलाबाट निकालेकी समेत थिइन ।
मिसले एक्कासि सुमनालाई हेर्दै भन्नुभयो- “लौ, सुमनाको हेरौँ त । हिजो त साह्रै राम्रो लेखेकी थियौ ।” सुमनाको नजिकै आएर उनको मलिन अनुहार देखेपछि अचम्म मान्दै मिसले थप्नुभयो— “किन रुन्चे अनुहार लगाएर बसेकी सुमना ? होमवर्क गरेनौ कि कसो आज ? ल ल, ठीकै छ, भोलिचाहिँ गरेर आउनू है ।”
त्यत्तिकैमा पल्लो पङ्क्तिबाट एउटा छात्रले प्याच्च बोल्यो- “म्याम, सुमनाकी आमा त ऊ सानै छँदा पोइला गाको रे !”
यो सुनेर सुमना एकाएक भक्कानिन पुगिन् । त्यो छात्रको कुरा सुनेपछि कक्षाकोठामा केही क्षण सन्नाटा छायो । गुरुआमाको अनुहार पनि अँध्यारो भयो । अन्त्यमा, उहाँले कुरा मोड्दै भन्नुभयो- “ल, भैगो, भैगो ।”
त्यस दिनपछि सुमनाको मनभित्र आमाको त्यो कल्पित तस्विर कहिल्यै नमेटिने अमिट छाप बनेर टाँसिइरह्यो ।

