मध्यरातमा एक्कासि जीवित हुन्छन् एउटा पृथ्वीको एकजना मानिस ।
ब्युँझिएदेखि चराचुरुङ्गीको ब्रह्ममुहूर्तको स्वर सुन्नसम्म उनले विश्वका लागि मौन प्रार्थना गरिरहे ।
सुप्त सबै प्राणीप्रति उनलाई अकारण माया जाग्छ अनि ब्युँझिएपछि प्राणीहरूले गर्ने विभिन्न कर्म–आचरणहरू एक–एक गरेर उनका आँखामा तैरिन्छन् ।
मध्यरातको गहिरो अँध्यारोमा पनि उनका आँखाहरू चम्किन्छन् वरिपरिका घटनाहरू दृश्यमान हुन्छन् ।
दृश्यमान चित्रहरूले बिस्तारै बोल्न थाल्छन् केही समय कुरा सुनेपछि उनी बिस्तारै ओछ्यानबाट ओर्लेर प्रातः भ्रमणमा निस्कन्छन् ।
प्रात भ्रमणको बेलामा उनी मानवताको जयगान गाउँछन् पृथ्वीका पहरेदार रूखहरूले कान थापेर सुन्छन् खुट्टाभित्र मुख लुकाई सुतिरहेका भुस्याहा कुकुरहरूले पनि चिच्याएर जवाफ दिँदैनन् । झुल्के ताराले साक्षी बनेर मानवदयालु मानिसलाई साथ दिन्छन् ।
सूरज उदाएसँगै उनी जन–जङ्गलमा अदृश्य हुन्छन् । कसैलाई थाहा हुँदैन, कसैले देख्दैन एउटा पृथ्वीको एकजना मानिसलाई ।
मूल असमिया पर्या-कविता: गुण मरान अनुवाद: डा. देवेन सापकोटा

